संविधानसभा पुनःस्थापना तयार रहेको दाहालको भनाइ

३१ असार २०६९, आईतवार ११:०४ मा प्रकाशित


काठमाडौं, असार ३१- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले विघटित संविधानसभाको पुनःस्थापना गर्न आफ्नो पार्टी अत्यन्तै सकारात्मक रहेको बताएका छन्। संविधानसभाको पुनःस्थापनाका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग अनुरोध गर्दै आएका विभिन्न दलसम्बद्ध पूर्वसभासद्को प्रतिनिधिमण्डलको आज ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले राजनीतिक दलको सहमतिमा संविधानसभाको पुनःस्थापना गर्न सकिने बताएका हुन्।

‘नेपाली काँग्रेस र नेकपा (एमाले) लगायतका दललार्ई पनि तपाईंहरु दबाब दिनुस्, संविधानसभाको ठूलो दल हुनाको हैसियतले हाम्रो पार्टी त्यसका लागि सकारात्मक छ।’

आफ्नो पार्टीले संविधान निर्माण प्रक्रियामा सहजता पैदा होस् भनेर सेना समायोजनको प्रक्रिया अगाडि बढाएको हो भन्दै पार्टीभित्र विवाद र फुट आए पनि अरु दलले त्यो कुरा बुझ्न नसकेको अध्यक्ष दाहालले आरोप लगाए। संविधानका लागि जोखिम मोल्दा पनि काँग्रेस र एमाले संविधानका लागि तयार नदेखिएको र राज्य पुनःसंरचनाको विषयमा प्रस्ट धारणा बनाउन नसक्दा संविधान निर्माण हुन नसकेको उनको तर्क थियो।

राजनीतिक दलहरुका बीचमा अहिले पनि छलफल र वार्ता जारी रहेकाले संविधानसभा पुनःस्थापनाको सम्भावना बढ्ता रहेको र त्यसका लागि अझै दबाब जरुरी रहेको समेत अध्यक्ष दाहालले बताए।

प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान निर्माण प्रक्रियामा देखिएका विवादित विषय एकमुष्ट समाधान हुने अवस्था आए र राजनीतिक दल त्यसका लागि तयार भए संविधानसभा पुनःस्थापना गर्न सकिने बताएको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले आफ्नो पार्टीभित्र संविधानसभा पुनःस्थापनाको सवालमा कुनै पनि विवाद नरहेको बताए।

पूर्वसभासद्ले संविधानसभाका विभिन्न समितिमा आफ्नो जिम्मेवारी पूरा गरेकाले सबै सभासद् उस्तै दोषी हुन् भनेर तर्क गर्नाको अर्थ नहुने बताउँदै अध्यक्ष दाहालले संविधान निर्माण गर्न नसक्नाको प्रमुख दोष प्रमुख दलका शीर्ष नेताले नै लिनुपर्ने र जिम्मेवारी पनि शीर्ष नेताको नै रहेको बताए।

‘तपाईं सभासद् मित्रहरुले आफ्नो जिम्माको काम दुई वर्षभित्रै पूरा गरिसक्नुभएको छ, तपार्इंहरुको मागअनुसार संविधानमा देखिएका विवादित विषय सहमतिमा टुङ्ग्याएर संविधानसभाको पुनःस्थापना गर्नका लागि पार्टीका तर्फबाट सकारात्मक पहल हुन्छ।’

नेपाली काँग्रेस र नेकपा (एमाले)का नेता पनि संविधानसभाको पुनःस्थापना नै होस् भन्ने पक्षमा रहेको र त्यसको प्रक्रिया कस्तो हुने भन्नेमा मात्रै विवाद रहेको उनको भनाइ थियो।

अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाउनका लागि एनेकपा (माओवादी), नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा-माओवादी, मधेसी मोर्चामा सम्बद्ध राजनीतिक दलका नेता एमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वर पुग्नुभएको थियो।

अध्यक्ष दाहाललाई ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादीकी नेत्री तथा पूर्वसभासद् कल्पना धमलाले संविधानसभाको पुनःस्थापनाका लागि अध्यक्ष सकारात्मक रहेको जानकारी दिए।

यसैगरी नेपाली काँग्रेसका पूर्वसभासद् शोभाकर पराजुलीले संविधानसभाबाटै संविधान बन्नुपर्छ भन्नेमा अध्यक्ष दाहाल सकारात्मक रहेको र उहाँले आफ्नो तर्फबाट विशेष पहल गर्ने बताउनुभएको जानकारी दिए।

नेकपा (एमाले)का पूर्वसभासद् लालबाबु पण्डितले संविधानसभाको पुनःस्थापनाका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेतालाई आग्रह गर्ने कार्यक्रमअनुसार एमाओवादीका अध्यक्षलाई ज्ञापनपत्र बुझाइएको जानकारी दिनुभयो। ज्ञापनपत्र बुझाउनका लागि करिब पचास सभासद् एमाओवादीको केन्द्रीय कार्यालय पुगेका थिए। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी

बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा

साउदी अरबले तीन उच्च सैनिकलाई ‘देशद्रोह’ गरेको आरोपमा मृत्युदण्ड दिएको यहाँको रक्षा मन्त्रालयले बताएको छ । मन्त्रालयले राज्य सञ्चालित समाचार

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न