दोश्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लाको १२८ क्षेत्रमा आज मतदान

२१ मंसिर २०७४, बिहीबार ०७:२० मा प्रकाशित

काठमाडौँ, २० मंसिर । प्रतिनिधि सभा तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचन अन्तर्गत ४५ जिल्लामा आज विहान ७:०० बजे देखि मतदान सुरु भएको छ । दोस्रो चरणको निर्वाचन अन्तर्गत राजधानी काठमाडौं सहित पहाड र तराईका ४५ जिल्लामा मतदान हुन लागेको हो । प्रतिनिधिसभा सदस्य तर्फ १२८ र प्रदेशसभातर्फ २५६ गरी जम्मा ३८४ निर्वाचन क्षेत्रका लागि आज मतदान गर्न सकिने छ । निर्वाचन आयोगका अनुसार निर्वाचन क्षेत्रका लागि १५ हजार ३४४ मतदान मार्फत् विहान ७:०० बजे देखि साँझ ५:००  बजेसम्म मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

आयोगले उपलव्ध गराएको जानकारी अनुसार दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा तर्फ १३० महिला सहित एक हजार ६६३ र प्रदेशतर्फ २२० महिला सहित दुई हजार ८१९ जना उम्मेदवार गरी जम्मा चार हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस अघि सम्पन्न पहिलो चरणको निर्वाचनमा दुवै तर्फ गरी ७०२ उम्मेदवार मैदानमा थिए । यस पटक खुल्ला प्रतिष्पर्धा तर्फ महिला उम्मेदवारहरु न्युन रहेका छन् । दोस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाका साथै पूर्व प्रधानमन्त्री र मुख्य दलका शिर्ष नेताहरु मैदानमा भएकाले पनि दोश्रो चरणको निर्वाचनको परिणामलाई लिएर सर्वत्र चासो रहेको छ ।

निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचन अन्तर्गत इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ, सुनसरी सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङजा, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्यूठान, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा आज मतदान हुन लागेको हो । आज बिहीबार विहानै ७ बजे देखि सुरु हुने मतदानको लागि सुरक्षा व्यवस्था सहित सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार नेपाल प्रहरी, शसस्त्र प्रहरी र सेनाको तीन वटा छुटा छुटै सुरक्षा घेराले मतदान स्थलमा मतदाता र उम्मेदवारको सुरक्षा प्रदान गर्ने छन् ।

बुधवार निर्वाचनको तयारीका सम्वन्धमा आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको बताउदै निर्भीकतापूर्वक मतदान गर्न मतदाताहरूलाई अपिल गरे । प्रमुख निर्वाचन आयुक्त यादवका अनुसार विहीबार हुने मतदानमा १५२ जना तेस्रो लिंगी सहित १ करोड २२ लाख ३५ हजार ९९३ जना मतदाताले मताधिकार प्रयोग गर्दै छन्। जसमा पुरुष मतदाता धेरै छन्। ६१ लाख ७१ हजार २ सय पुरुष मतदाता रहेका छन् भने महिला ६० लाख ६४ हजार ६४१ छन्। यस निर्वाचनमा सबै भन्दा धेरै मतदाता मोरङमा छन भने सबै भन्दा कम तेह्रथुममा रहेका छन्। मोरङमा ६ लाख ४४ हजार ७८२ मतदाता रहेका छन् भने तेह्रथुममा ६६ हजार ६६७ मतदाता रहेका छन् ।

आयोगले उपलव्ध गराएको जानकारी अनुसार निर्वाचनमा प्रतिनिधिसभा तर्फ ५२ र प्रदेशतर्फ ४८ दल सहभागि छन् भने समानुपातिक तर्फ ५३ दलको प्रनिनिधित्व छ। यस अघि मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यका लागि ३७ र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भइसकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार निर्वाचनलाई सम्पन्न गर्न १ लाख ५५ हजार कर्मचारी परिचालन गरिएको छ भने सुरक्षाका लागि चार वटै सुरक्षा अंगका गरी २ लाख २७ हजार ९३२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका र प्रदेशसभाका लागि दुई अलग अलग मतपत्र र समानुपातिक तर्फ एउटै सीटमा प्रतिनिधिसभा तथा प्रदेशसभाको मतपत्र गरी तीन खालका मतपत्रको प्रयोग गरिएको छ । प्रतिनिधिसभाका लागि हल्का हरियो रंग र प्रदेशसभाका लागि कालो मसीले छापिएको मतपत्र र समानुपातिक तर्फ हल्का रातो, एउटै पानाको माथिल्लो भागमा प्रतिनिधिसभा र तल्लो भागमा प्रदेशसभाको चुनाव चिन्ह अंकित मतपत्र कायम गरिएको छ ।

प्रवक्ता ढकालका अनुसार निर्वाचनमा थोरै दल सहभागी भएकाले मतपत्र पनि छोटो र निकै छरितो बनेको र मतगणना पनि छिटो सकिने आयोगका आयुक्त नरेन्द्र दाहालले बताए । २०७० सालदेखि मतदाता परिचय पत्र लागू गरेकाले मताधिकार प्रयोगका लागि विकल्प पनि आयोगले खुल्ला राखेको छ। मतदानका लागि जाँदा कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेको परिचयपत्र हराएमा वा नष्ट भएमा पनि मतदाताको मताधिकारलाई सुनिश्चित गरेको आयोगको भनाइ छ । मतदानका लागि नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरिसकेको प्रमुख आयुक्त यादवले बताए ।

यादवका अनुसार अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई पहिलो प्राथमिकता दिई सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मतदान अधिकृतलाई आयोगले निर्देशन पनि दिएको छ । आयोगका प्रवक्ता नवराज ढकालका अनुसार विभिन्न जिल्लामा एक सय वटा अपाङ्ग मैत्री मतदान स्थल निर्माण गरिएको छ ।

मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गले मतदान गरेको मतको सुरक्षाको लागि पनि उचित खालको सुरक्षा प्रबन्ध गरिएको आयोगले जनाएको छ। दोस्रो चरणको पनि बिहीबार नै मतपेटिका संकलन गरी मतगणना गर्ने आयोगले जनाएको छ। पहिलो चरणमा निर्वाचन सम्पन्न भई सदरमुकाममा थन्किएका मतपेटिका पनि मतदान सकिएको साँझबाटै गणना गरिने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन

काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले प्रमुख सचेतकबाट देव गुरुङलाई हटाएकोमा आपत्ति जनाएको छ । सोमबार बिहान बसेको सचिवालय बैठकले प्रधानमन्त्री

काठमाडौँ । स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहको पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकहरूले निष्कर्ष निकालेका

यांगुन । म्यानमारमा सैन्य शासनको विरोधमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर एकै दिन १८ जनाको मृत्यु भएको छ ।