विकृत राजनीतिको अर्को रूप – डा. डिल्ली ओली

२९ असार २०६९, शुक्रबार १३:०० मा प्रकाशित


वर्तमान नेपालका राजनीतिकर्मीहरूले अरू कुरा बांकी नराखेर यहांको संरचना, परम्परा, मूल्यमान्यता, सामाजिक व्यवहार, सम्मान, इज्जत, मर्यादा, शिष्टाचारलाई पनि छोडेका छैनन् । उनीहरूलाई पदको इज्जत, प्रतिष्ठा, अपनाउनुपर्ने व्यवहार, आचरणबारे कुनै किसिमको जानकारी र ज्ञान नभएकोजस्तो छ । साथै उच्छृङ्खलता, म भन्ने प्रवृत्ति पनि त्यत्तिकै बढेर गएको छ । अरूलाई इज्जत गर्दा, पदलाई सम्मान गर्दा आफ्नो पनि इज्जत बढ्छ, परिचय खुल्छ भन्ने बुझ्नु सामान्य ज्ञानको विषय हो । यस्ता शिष्टाचारका विषयहरू देश र समाजअनुसार फरकफरक हुने भए पनि धेरै विश्वव्यापी मान्यताका हुन्छन् । सानोले ठूलोलाई आदर गर्नु र ठूलोले सानोलाई स्नेह गर्नु सभ्यता र परम्पराका निरन्तरता हुन् । ठूलोले उमेर, अनुभव, पदलाई इङ्गित गर्दछ ।
केही पहिलेका राजा र राणाहरूले देशका जनतालाई सम्बोधन गर्दा ‘आगे प्यारा प्रजा गैह्रके यथोचित’ भनि सम्बोधन गर्दथे । केही कालपछि राजाहरूले ‘प्यारा प्रजा’ भन्न थाले र तीसको दशकपछि मात्रै ‘प्यारा देशवासीहरू’ भनेर सम्बोधन गर्न थालेका हुन् । यसबाट उनीहरूमा चेत खुल्दै गएको देखिन्छ । प्रजाबाट देशवासीसम्म समयचक्रले ल्याइपु¥याएको थियो । तर, अहिले गंगा उल्टो बग्न थालेको हो कि जस्तो लाग्न थालेको छ । केही पहिले भएका आमसभाहरू, विभिन्न सार्वजनिक कार्यक्रमहरूमा नेताहरूबाट व्यक्त विचार र शैली, आमसञ्चारमाध्यममा नेताका बोली, स्वयम् आमसञ्चारमाध्यमहरूबाट आएका, आइरहेका कुराहरूबाट यसको पुष्टि भएको देखिन्छ । ‘जनताको लागि राजनीति गरेकाहरू’ले देशका नागरिकलाई ‘जनता’ शब्द प्रयोग गर्नु र ‘प्रतिगामी’ कमल थापाले ‘आदरणीय दाजुभाइ तथा दिदीबहिनी’ भनेर सम्बोधन गर्नु अनौठो छ । अस्तिसम्मको संसद्मा प्रतिगामी पृष्ठभूमि भएकाहरूले सम्माननीय सभामुख महोदय पनि सम्बोधन गर्दथे भने अग्रगमनकारीहरूले सभामुखजी मात्र भनेर सम्बोधन गर्ने गरेका रेकर्डहरू संसद् सचिवालयमा होलान् । कुनै बेला गिरिजाप्रसाद प्रधानमन्त्री भएको बेला गोविन्दराज जोशीजस्ता केहीले उनलाई सदनमा सम्बोधन गर्दा सम्माननीय प्रधानमन्त्रीज्यू भन्दथे भने तिनै व्यक्तिले मनमोहन प्रधानमन्त्री हुंदा उनलाई माननीय प्रधानमन्त्रीजी भनी सम्बोधन गरेको दर्शकदीर्घामा बसी पङ्क्तिकारले सुनेको अहिल्यै जस्तो लाग्दछ । यहां त आफ्नो पार्टी, आफ्नो गुट, आफ्नो सिद्धान्तको विदेशी व्यक्तिलाई एक किसिमले सम्मान गर्ने तर अर्को पार्टी, अर्को गुटको व्यक्तिलाई अर्कै किसिमले व्यवहार गर्ने अनौठो चलनको विकास भएको छ । भारतीयहरू अक्सर नामको पछाडि जी प्रयोग गर्दछन् । जी र ज्यूको अर्थ एउटै भए पनि ज्यूको गहनता बढी हुन्छ । यो अर्थमा यहांका आमसञ्चारमाध्यममा पनि मर्यादा, शिष्टाचारको खडेरी देखिन्छ । टेलिभिजनहरूमा मन्त्रीलाई बोलाइएको हुन्छ तर मन्त्रीज्यू भन्न लाज मानेर, अहमता प्रदर्शन गरेर फुच्चेहरूले पनि उनको नाम मात्र भनेर सम्बोधन गर्दछन् । यसको कारण अङ्गे्रजी यू, भारतीय प्रभाव, आफूलाई उपल्लो तहको देखाउने दम्भ, आफूलाई सक्रिय, उच्च र परिवर्तनकारी देखाउन खोज्ने मनोरोग, राजनीतिक गतिविधि, अरूको सम्मान गरे आफू घटिन्छ भन्ने लघुसोचाइ नै हुनुपर्दछ । समकालीन राजनीतिकर्मीहरूमा पनि लक्ष्मण घिमिरे, प्रदीप ज्ञवाली, रमेश लेखक र कमल थापा मिडियामा अरूभन्दा शिष्ट र मर्यादित रूपले प्रस्तुत भएका देखिन्छन् ।
अन्य ठाउंहरूमा स्वास्थ्य, सेना र प्रहरीमा सम्मानभाव केही बढी देखिन्छ । बाहिरको कुरा गर्दा जापानीहरू अभिवादन फर्काउंदा पनि झुकेर प्रस्तुत हुन्छन् । प्रजातन्त्र विकसित भएका मुलुकहरूमा व्यक्तिलाई केही भन्न पाइंदैन । त्यहां राष्ट्रपति, प्रधानमन्त्री वा अन्यको आलोचना गर्दा पदको गरिन्छ । व्यक्ति र पद फरक हुन् । व्यक्ति केही समयको लागि पदमा आसिन हुन्छ । नेपालमा उल्टो छ । अहिले नेपालमा प्रधानमन्त्री बाबुराम भट्टराई छन् । यहां अहिले प्रधानमन्त्रीको आलोचना भइरहेको छैन– छ त बाबुराम भट्टराईको । बुझ्नु के पर्छ भने यहां धेरै बिगारेका बाबुराम भट्टराईले होइन, प्रधानमन्त्री बाबुरामले हो । यदि प्रधानमन्त्री नभएको भए बाबुरामले मात्र के गर्न सक्थे । बाबुरामले सक्ने भए बिप्पा सम्झौता नेहरू विश्वविद्यालयमा पढ्दै गरिसक्थे । त्यो गराएको प्रधानमन्त्री पदले हो । त्यसैले व्यक्तिको होइन पदको स्वस्थ आलोचना हुनुपर्दछ । यसरी व्यक्तिको मानमर्दन गर्दा मानहानिको पनि ख्याल गर्नुपर्दछ । यहां त ऐरे गैरे नत्थु खैरेसम्मले पनि बाबुराम भट्टराईको मानमर्दन गरिरहेको देखिन्छ । अरू त अरू उनकै पार्टी अध्यक्षसम्मले पनि सम्माननीय प्रधानमन्त्रीज्यू भनेको कतै सुनिएको छैन, बरु बाबुरामजी मात्रै भनेको सुनिन्छ । यस्तै स्थिति छ पूर्वराजा ज्ञानेन्द्रमाथि पनि । उनलाई त अझ बढी यहांका राजनीतिकर्मी, कथित लेखक, विश्लेषक, मिडियाकर्मीले उछित्तो काढिरहेका छन् मात्र होइन अपमानित गरिरहेका छन् । यहांका केही तथाकथित, स्वघोषित लेखक, विश्लेषक, बुद्धिजीवी (पार्टीगत आधारमा भनि माग्नेहरू) ले तिनका लेख, अन्तर्वार्तामा प्रसङ्ग नमिल्ने ठाउंमा पनि पूर्वराजा ज्ञानेन्द्रलाई अत्यन्त छुद्र, तुच्छ शब्द प्रयोग गरिरहेका देखिन्छन् । मानौं त्यो उनीहरूको धर्म हो, ज्ञान, बुद्धि, विवेक हो । धर्म, विज्ञान, मनोविज्ञानअनुसार त्यस्ता व्यक्तिको शारीरिक संचरना (केमेस्ट्री) बिग्रिसकेको हुन्छ जसले दिमागका तन्तुहरूमा असर पारिसकेको हुन्छ अर्थात् सम्पूर्णतामा नकारात्मकता मात्र हुन्छ । सन्तुलित व्यक्तिले इतिहासलाई स्वीकार्दछ । स्टालिन, औरंगजेव, इदी अमिनको कर्म जस्तो भए पनि त्यो इतिहास हो ।
देश र समाज भूगोल–इतिहास, धर्म–सभ्यताअनुसार चलिरहेको हुँछ । नेपालका राजनीतिकर्मीमा यी विषयको ज्ञान न्यून भएको प्रमाणित भएको छ । त्यसैले उनीहरू आफ्नो इतिहास र भविष्यप्रति अनुदार देखिन्छन् । मानिससंग जहिले पनि त्रिकाल जोडिएको हुन्छ । यहांका राजा, शासक मात्र होइन, प्रधानमन्त्रीहरूको पनि इतिहास बनिसकेको छ । त्यो कसैले मेटेर मेटिंदैन । इतिहास कस्तो भन्ने मात्र हो । एकातिर नेपाली समाज अर्कोतिर तिनका सन्तान दरसन्तानले आत्मसात् गर्ने विषय हो यो । जसले अरूको इतिहास स्वीकार्दैन उसको इतिहास स्वीकार्ने बाध्यता पनि अरूलाई हुंदैन । उहिले बाइसे–चौबीसे कालमा विभिन्न सरकारी पदहरू थिए– उमरा, द्वारे, कोते, जोईशी, राजगुरु, जेठाबुढा, घाटबुढा आदि । जे त्यसबखत यी पदमा थिए आजपर्यन्त उनका सन्तान दरसन्तानलाई त्यही पदले चिनिन्छ–चिनाइन्छ । त्यस्तै राणाकालमा जिम्मावाल, पटवारी, मुखिया, विचारी, कटकन्दार, मुन्सी, खरिदार, बहिदार, नौसिन्दा स्थानीय जनताले पाउने पद र जिम्मेवारी थिए, उनका सन्तानलाई पनि समाजमा त्यही रूपमा जानिन्छ–बुझिन्छ । इतिहासको निरन्तरता, समाजको कृतज्ञताले यो बचाएको हो । शासनमा बस्ने हरेकले यो कुरालाई विवेकसम्मत ढङ्गले बुझ्नुपर्दछ । मेरो मात्र इतिहास बचो, अरूको नष्ट होस् भन्नेहरूको अन्त्य कहालीलाग्दो किसिमले हुनसक्छ ।
हामी कति कृतघ्न छौं । पृथ्वीनारायण शाहले बनाएको, जंगबहादुरले बचाएको, महेन्द्रले परिचय दिएको देशमा उनीहरूकै कारणले प्रधानमन्त्री, मन्त्री, शासक–प्रशासक, समाजका अगुवा, जाति र क्षेत्रका अगुवा भएका छौं । तर, तिनीहरूकै अपमान गरेर उनीहरूकै लगानी, परिश्रम, पराक्रम, बुद्धिको ब्याज खाइरहेका छौं । पृथ्वीनारायण नभएको भए देश उहिल्यै फिरङ्गीले लिइसक्थ्यो । नेपालको प्राचीन इतिहासदेखि वर्तमानसम्मको अध्ययन विवेकसम्मत किसिमले गर्दा धेरै भ्रमहरू टुट्नेछन् र यथार्थ ज्ञान हासिल हुनेछ । भक्ति थापा, बडाकाजी अमरसिंह थापा, जंगबहादुर, चन्द्रशमशेर देश अक्षुण्ण राख्न मात्र होइन सार्वभौमिकता जोगाउन के–के गरे राम्रोसंग अध्ययन गरेमा यो वर्तमानको बांदरशैली हावी हुने थिएन । राजा महेन्द्रलाई अझै राम्रोसंग अध्ययन गर्दा राजनीतिज्ञहरूले आफ्नो योग्यता, दूरदर्शिता, क्षमता, स्टेटम्यानसिपको विकास गर्न ठूलो सहयोग पुग्ने थियो । त्यति मात्र होइन, उनीहरू मात्र नभए गिरिजाप्रसाद, प्रचण्ड, बाबुराम, माधव नेपाललगायत प्रधानमन्त्री हुन पाउने थिएनन्, यति मात्र होइन, सयौंको सङ्ख्यामा मन्त्री हुन पाउने थिएनन् । यति मात्र होइन भविष्यका राष्ट्रपति, मुख्यमन्त्रीको सपना देख्नेहरू पनि हुने थिएनन् । साथै यिनीहरूको इतिहास पनि बन्ने थिएन । कृतघ्नताको पनि सीमा हुन्छ । पृथ्वीनारायण शाहले भनेझैं सबैलाई चेतना होओस् ।

प्रतिक्रिया
सम्बन्धित खवर

समयको गति पनि कस्तो ? पच्छ्याउदा, पच्छ्याउदै हामी कतिबेला छुट्छौं थाहै हुन्न । आज हामी जुन गतिमा छौं । भोलि

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा