राप्रपा (प्रजातान्त्रिक)को रिट हेर्दाहेर्दैमा, राप्रपा संविधान संशोधनको विपक्षमा

४ भाद्र २०७४, आईतवार २१:२१ मा प्रकाशित

काठमाडौँ, ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)को दल दर्ता कायम गर्ने विषयमा सर्वोच्च अदालतमा परेको रिट आज ‘हेर्दाहेर्दै’मा राखिएको छ ।

न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले अध्ययन गरेको सो रिट समय अभावका कारण हेर्दाहेर्दैमा राखिएको अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले जानकारी दिनुभयो । उक्त रिटमाथि भोलि पनि वहसपैरवी हुने उहाँले जानकारी दिनुभयो ।

निर्वाचन आयोगमा गत साउन २२ गते आवश्यक केन्द्रीय सदस्यको दस्तखत सनाखत गरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भई नयाँ पार्टी कायम गर्न माग गर्दै अध्यक्ष पशुपतिशम्शेर राणाले गत शुक्रबार अदालतमा निवेदन दर्ता गर्नुभएको थियो ।

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टीले संसद्मा प्रस्तुत संविधान संशोधन विधेयकको विपक्षमा मतदान गर्ने भएको छ । पार्टीका प्रवक्ता भुवन पाठकले आज जारी गर्नुभएको विज्ञप्तिमा संसद्मा हाल विचाराधीन सो विधेयकमा राप्रपाका तर्फबाट संसद्मा पेश गरिएको हिन्दू राष्ट्र पुनःस्थापनासम्बन्धी संविधान संशोधन विधेयक छलफलमा नल्याइएकाले त्यसको विपक्षमा रहने उल्लेख गरिएको छ ।

विज्ञप्तिमा मधेश र मधेशी जनताको मूलभूत हक, हित र समस्यालाई सम्बोधन गर्न नसकेको तथा मधेश केन्द्रित राजनीतिक दलले विधेयक पारित भए पनि नभए पनि निर्वाचनमा भाग लिने प्रतिबद्धता व्यक्त गरिसकेकाले अब त्यसको औचित्य नरहेको भनिएको छ ।

विधेयक पारित गराउने बारे स्वयम् सत्तारूढ दल, सरकार र राजपासमेत गम्भीर नरहेको उल्लेख गर्दै विज्ञप्तिमा मधेशका जनताको हक, हित र पहिचानको संरक्षण एवं मधेशको समग्र विकासमा राप्रपा सदैव प्रतिबद्ध रहेको जनाइएको छ ।

मधेश केन्द्रित राजनीतिक दललाई संविधानको मूल प्रवाहमा समावेश गराउन तथा निर्वाचनमा सहभागी हुने वातावरण तयार गर्न राप्रपा सदैव सकारात्मक रहने विज्ञप्तिमा भनिएको छ । यसअघि परिमार्जनसहितको संविधान संशोधनको पक्षमा रहेको पार्टीले सो विषयमा आन्तरिक द्वन्द्वका कारण पार्टीमा आएको विभाजनले पनि नयाँ निर्णय लिएको बताइएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । प्रतिनिधिसभाको बैठकमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश जबर्जस्ती पेश गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बैठक कक्षमा नाराबाजी गरेको छ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको