बाढीप्रभावित जिल्लाका करिब ८० प्रतिशत जनता महामारीको जोखिममा

३२ श्रावण २०७४, बुधबार २३:०० मा प्रकाशित

काठमाडौँ, ३२ साउन । स्वास्थ्य विभागले बाढी र पहिरो प्रभावित २९ जिल्लाका ७० देखि ८० प्रतिशत जनता महामारीको जोखिममा रहेको हुनसक्ने बताएको छ ।

विभागले आज पत्रकार सम्मेलन गर्दै प्रभावित जिल्लामा पर्याप्त औषधिसहितको स्वास्थ्यकर्मी परिचालन गरिसकेको जानकारी दिएको छ । विभागका महानिर्देशक डा राजेन्द्र पन्तले बाढीग्रस्त जिल्लामा महामारी फैलिएको भन्ने कुरामा कुनै सत्यता नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले बाढीको अवस्था हो, महामारी फैलिसकेको छैन तर फैलनसक्ने सम्भावना उच्च भएकाले यो समयमा शुद्ध पानी र स्वस्थ खाना खानु नै बच्न सकिने एक मात्र उपाय हो ।” मन्त्रालयले गत आइतबार नै बाढी प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाई सकेको छ । विराटनगर, जनकपुर, रौटहट, सप्तरी र नेपालगन्जमा खटिएका टोलीले वरपरका जिल्ला पनि हेर्ने बताइएकोछ ।

विभागका उपमहानिर्देशक चुडामणि भण्डारीले भन्नुभयो, “पूर्वका रौतहट, महोत्तरी र पश्चिममा बाँकेका कतिपय स्वास्थ्य संस्थामा पानी पसेको भएपनि सेवा अवरुद्ध भएको छैन, कतिपय स्वास्थ्य संस्थालाई विद्यालयमा सारेर पनि उपचार गर्न सुरु गरिएको छ ।”

सबै स्थानमा औषधि र चिकित्सक पुगिसकेको र कुनै स्थानमा विद्युत् अवरुद्ध भएकाले सम्पर्क हुन गाह्रो परिरहेको विभागले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले बाढीपश्चात् देखिने झाडापखाला, हैजा, आउँ, कमलपित्त, टाइफाइड, हेपाटाइटिस र सर्पदंशलगायत रोगव्याधि र संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र औषधि व्यवस्थापन गरिएको जानकारी दिनुभयो ।

प्रभावित जिल्लाका अस्पतालले ७ दिनसम्मका लागि निःशुल्क स्वास्थ्य सेवा दिइरहेको मन्त्रालयले जनाएको छ । निर्देशक आचार्यले संक्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखी पानी उमालेर, शुद्धीकरण गरी पिउन आग्रह गर्नुभयो ।

महोत्तरीको मुसहर बस्तीमा ३७ व्यक्ति झाडापखालाबाट प्रभावित भएको र झापाका केही बाढीपीडितमा झाडापखालाको प्रकोप देखिएको अपुष्ट खबर आएको उहाँले बताउनुभयो । पानी शुद्धीकरण गरी पिउनका लागि प्रभावित जिल्लामा पियुष, क्लोरिन झोल वितरण गरिएको निर्देशक आचार्यले बताउनुभयो ।

मन्त्रालयले सरुवा रोग महाशाखाको हटलाइन नम्बर ०१—४१००१८७, ०१—४२६२२६८ र मोबाइल नं ९८५१०९६०८९ मा सम्पर्क गरी सहयोग समन्वय गर्न पनि सबैमा आग्रह गरेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय महाधिवेशन स्थगन गरेको छ । यही जेठ २२ देखि २५ गतेसम्म काठमाडौंँमा

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८१६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्