प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीको भेट ः राष्ट्रपति सीलाई नेपाल भ्रमण गर्न पुनः आग्रह

३२ श्रावण २०७४, बुधबार २२:४९ मा प्रकाशित

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनको राज्य परिषद्का उपप्रधानमन्त्री वाङ याङले आज अपराह्न प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका साथै पारस्परिक सहयोग विस्तारबारे विचारविमर्श भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिनुभयो ।

नेपाल र चीनबीचको शताब्दीऔँ पुरानो मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा व्यापार, पर्यटन, भौतिक पूर्वाधार निर्माण, सीमापार सम्पर्क विस्तार तथा दुई देशका जनताबीचको सम्पर्क र सम्बन्धलाई थप मजबुत बनाउनेबारेमा चिनियाँ उपप्रधामन्त्रीसँग छलफल भएको उहाँले बताउनुभयो ।

“चिनियाँ राष्ट्रपतिले अघि सार्नुभएको ‘एक क्षेत्र, एक मार्ग’ (ओबिओआर)मा सहभागी हुने सम्बन्धी समझदारीमा नेपालले हस्ताक्षर गरिसकेको वर्तमान सन्दर्भमा त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्नेबारेमा उहाँहरुबीच कुराकानी भयो”– सल्लाहकार भट्टराईले भन्नुभयो ।

उहाँका अनुसार पर्यटन प्रवद्र्धन तथा सहयोग विस्तारका साथै परम्परागत जडीबुटीजन्य औषधि उत्पादन तथा विकासबारे पनि छलफल भएको थियो ।

नेपाल र चीनबीच उपप्रधामन्त्रीस्तरीय वार्तापछि हिजो भएका तीन वटा सम्झौताले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन मद्दत मिलेको बताउँदै दुवै नेताले सन्तुष्टि व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो ।

सौहार्दपूर्ण वातावरणमा भएको उक्त भेटमा प्रधानमन्त्री देउवालाई उपप्रधानमन्त्री वाङले चीन भ्रमणका निम्ति आमन्त्रण गर्नुभएको र प्रधानमन्त्री देउवाले राष्ट्रपति सी जिनपिङ्गलाई नेपाल भ्रमणका लागि पुनः अनुरोध गर्नुभएको सल्लाहकार भट्टराईले बताउनुभयो ।

“चीनका राष्ट्रपति नेपालको भ्रमण गर्न इच्छुक हुनुहुन्छ, उहाँले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिनुभएको छ, अनुकूल समयमा राष्ट्रपति सीले नेपालको भ्रमण गर्नुहुनेछ”– उपप्रधानमन्त्री वाङको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो ।

भेटमा नेपालका लागि चिनियाँ राजदूत यु होङसहित आठ उच्च चिनियाँ अधिकारी उपस्थित हुनुहुन्थ्यो । त्यसैगरी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव शंकरदास बैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुनुहुन्थ्यो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।

काठमाडौं । समाजसेवी उत्तम कार्कीले वडास्तरीय आइसोलेसन सेन्टरका लागि १८ थान अक्सिजन सिलिण्डर सहयोग गर्नुभएको छ । मुलुकमा अक्सिजन अभाव