काङ्गे्रसकै कारण बढ्यो बाबुरामको आयु

२८ असार २०६९, बिहीबार ०३:४७ मा प्रकाशित

जय प्रकाश त्रिपाठी, काठमाडौं, २८ असार । नेपाली काङ्गे्रसभित्रको अप्रकट द्वन्द्वको कारण प्रधानमन्त्री डा. बाबुराम भट्टराई र एनेकपा माओवादीलाई थप राजनीतिक लाभ प्राप्त हुने सङ्केतहरू देखिएका छन्। भट्टराईपछिका प्रधानमन्त्रीका रूपमा काङ्गे्रस सभापति सुशील कोइरालाको नाम चर्चामा आउन थालेपछि यसअघि प्रधानमन्त्रीको उम्मेदवार बन्दै आएका उपसभापति रामचन्द्र पौडेल सशङि्कत र चिन्तित बन्नुभएको छ भने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा यस अवसरलाई आफ्नो हितमा उपयोग गर्न ‘जोखाना’ हेरेर बस्नुभएको छ। सम्भावित प्रधानमन्त्रीका रूपमा कोइरालाको नाम भित्रभित्रै चर्चामा आउन थालेपछि नेताहरू पौडेल र देउवा त्यस दिनको प्रतीक्षामा रहेको बताइन्छ जुन दिन कोइरालाले केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुहुनेछ। प्रधानमन्त्रीबारे छलफल गर्न बैठक बोलाइए उक्त बैठकमा देउवा आफैंले उम्मेदवारी दाबी गर्ने तयारी भइरहेको बुझिएको छ। आफूलाई कार्यवाहक पार्टी सभापति बनाइएको अवस्थामा मात्र देउवा सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन राजी हुने देउवाका निकटवर्तीहरूको भनाइ छ। एक सूत्रबाट प्राप्त जानकारीअनुसार चलखेल गर्नमा अभ्यस्त मानिएका देउवाले नेता रामचन्द्र पौडेललाई आफ्ना केही मागमा सुनुवाइ हुन्छ भने प्रधानमन्त्री बन्न सहयोग पुर्‍याइने सन्देश पठाउनुभएको छ। पौडेलले अहिलेसम्म देउवाको सन्देशलाई गम्भीरतापूर्वक लिनुभएको छैन। तत्कालै सरकार परिवर्तन हुन्छ भन्नेमा विश्वास नभएकोले अहिले प्रधानमन्त्रीका विषयलाई लिएर विवाद या छलफल गर्नु उचित नहुने पौडेलको धारणा छ। अहिले जे–जस्तो किसिमका चर्चा–परिचर्चा सुरु भएको भए पनि अन्ततः सुशील कोइरालाले प्रधानमन्त्रीका रूपमा आफैंलाई प्रस्तुत गर्ने विश्वास पौडेलमा रहेको देखिन्छ। यही विश्वासका कारणले पनि पौडेल आक्रामक ढङ्गले अघि बढ्न सक्नुभएको छैन। सभापति सुशील कोइरालामा पदाशक्ति नभएको र पार्टी तथा प्रजातन्त्रलाई क्षति पुग्ने कुनै कार्य पनि हुने छैन भन्ने जुन आमविश्वास छ, त्यसलाई जोगाउन कोइराला संवेदनशील हुनुहुन्छ। आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नसक्छ भने त्यसलाई स्वीकार गर्ने सोच मात्र कोइरालाले बनाउनुभएको देखिन्छ। आफू प्रधानमन्त्री बन्नकै निम्ति पार्टीभित्रको सन्तुलन खलबल्याउने पक्षमा कोइराला हुनुहुन्न। तर, पार्टीभित्र एकथरी नेता तथा कार्यकर्ताहरूबाट आफूलाई प्रधानमन्त्री बन्न भइरहेको दबाबलाई भने सभापति सुशील कोइरालाले सकारात्मक रूपमा नै लिनुभएको छ। आफू प्रधानमन्त्री बन्न तयार भइदिँदा काङ्गे्रस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनसक्ने र तयार नभएको अवस्थामा काङ्गे्रसलाई प्राप्त अवसर गुम्ने हो भने त्यस्तो अवसर गुमाउन नहुने सोच सुशील कोइरालाको छ। उहाँको यस्तो सोचलाई कतिपयले रामचन्द्रको बाटो छेक्दै सुशील कोइराला प्रधानमन्त्री बन्ने खेलमा लागेको भनेर पनि अर्थ लगाएका छन्। तर, कोइराला अहिलेसम्म त्यसप्रकारको कुनै खेलमा लाग्नुभएको छैन। कारणबस आफूले प्रधानमन्त्रीको जिम्मेवारी लिनैपर्ने अवस्था आयो भने काङ्गे्रसभित्र कस्तो प्रतिक्रिया हुने हो त्यसको जायजा लिने काम भने कोइरालाबाट भइरहेको छ। काङ्गे्रसमा सुशील कोइरालालाई प्रधानमन्त्रीको जिम्मेवारीका निम्ति अनुपयुक्त मान्नेहरूको सङ्ख्या ठूलो छैन। उहाँले प्रधानमन्त्री बन्ने चाहना साँच्चै राख्नुभयो भने पार्टी केन्द्रीय समितिबाट उहाँको नाम अनुमोदन हुने सम्भावना पनि छ। तर, धेरैमा चिन्ता के कुराको देखिएको छ भने सुशील कोइराला प्रधानमन्त्री बन्नुभएमा कृष्ण सिटौला हर्ताकर्ता बन्नेछन्, जसका कारण काङ्गे्रस थप सङ्कटमा पर्नेछ। सुशील कोइरालाबाट सिटौला मात्र ‘माइनस’ हुने हो भने कोइरालालाई प्रधानमन्त्री बन्ने कार्यमा सघाउन अरू धेरै नेता तयार छन्। तर, कोइरालाले आफूमा सिटौला हावी नहुने विश्वास दिलाउन अहिलेसम्म सक्नुभएको छैन। रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. रामशरण महत, खुमबहादुर खड्का र अर्जुननरसिंह केसीलगायतका नेताहरूको विश्वास गुमाएर प्रधानमन्त्री पद प्राप्त गर्दा पार्टीको आन्तरिक राजनीतिमा गम्भीर ढङ्गको असर पर्नसक्छ भन्ने यथार्थलाई सभापति कोइरालाले धेरै राम्रोसँग बुझ्नुभएको छ। त्यसैले नेकपा एमालेका तर्फबाट प्रधानमन्त्री तोक्न दिइएको ‘अल्टिमेटम’लाई पनि कोइरालाले वास्ता गर्नुभएन। एमालेले प्रधानमन्त्री तोक्न काङ्गे्रसलाई सातदिने ‘अल्टिमेटम’ दिएको अहिले तीन साता नाघिसकेको छ। तर, यसरी निर्णय लिन
काङ्गे्रसले ढिलाइ गर्दा त्यसको राजनीतिक लाभ भने प्रधानमन्त्री डा. बाबुराम भट्टराई र उहाँको पक्ष तथा मधेसी मोर्चाका केही नेतालाई मात्र पुगेको छ। बाबुराम भट्टराईको नेतृत्वविरुद्ध मोहन वैद्य नेतृत्वको माओवादी पार्टीसहित नेपाली काङ्गे्रस र नेकपा एमालेलगायत क्रियाशील साढे दुई दर्जन राजनीतिक दल उभिएका छन्। तर, तिनले आफ्नो ‘कमान्डर’ प्रस्तुत गर्न सकिरहेका छैनन्। नेकपा एमालेले प्रधानमन्त्री बनाउने मौका पायो भने केपी ओलीको नाम अगाडि आउने निश्चित मानिन्छ। माधवकुमार नेपालसमेत प्रधानमन्त्रीका निम्ति उपयुक्त मानिए पनि एमालेबाट उहाँको नाम प्रस्तुत हुनसक्ने सम्भावना कम देखिएको छ। नेकपा–माओवादीले रामबहादुर थापा बादललाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्नसक्ने सङ्केतहरू देखिएका छन्। तर, काङ्गे्रस पार्टी जसलाई सरकारको नेतृत्व लिने सुवर्ण अवसर प्राप्त भएको छ, उसैले प्रधानमन्त्रीका लागि नेता छान्न सकेको छैन। त्यसैले डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले अरू केही समय निरन्तरता पाउने सम्भावना बढेको छ। गत जेठ १४ पछि परस्पर संवादमा समेत नरहेका राजनीतिक दलहरूबीच दुई साताअघि काङ्गे्रस सभापति सुशील कोइरालाले एक बैठक आयोजना गरी छलफल गराउनुभएपछि दलहरूबीच छलफलको प्रक्रिया सुरु भएको छ। प्रधानमन्त्रीले आयोजना गरेको बैठक बहिष्कार गर्ने घोषणा गरेका काङ्गे्रस र एमाले पनि प्रचण्डले आयोजना गरकोे बैठकमा सामेल भएका छन्। दलहरूले छलफल सुरु गर्नुलाई सकारात्मक मानिए पनि तत्काल ठोस सहमति बन्ने स्थिति छैन। कदाचित दलहरूबीच सहमति नै बने पनि प्रधानमन्त्री डा. बाबुराम भट्टराई सकारात्मक नभएको अवस्थामा केही जटिलता पैदा हुनसक्ने देखिन्छ। भट्टराई संविधान निर्माणसमेतको विषयमा सहमति नभईकन सत्ता नछोड्ने सोचमा दृढ हुनुहुन्छ। जस्तोसुकै प्रतिकूल अवस्था पैदा भए पनि प्याकेजमा सहमति नभएसम्म पदत्याग नगर्ने अडान प्रधानमन्त्री भट्टराईले लिनुभएको छ।
आगामी केही साताभित्र पनि नयाँ नेतृत्वको टुङ्गो लाग्न सकेन भने देशमा बाबुराम नेतृत्वकै सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिने या राष्ट्रपतिले नै चुनाव गराउनुपर्ने अवस्था विकसित हुने देखिन्छ। विभिन्न शक्तिकेन्द्रहरू बाबुराम नेतृत्वकै सरकारमा काङ्गे्रस–एमालेलगायतलाई सामेल गरेर राष्ट्रिय सरकारको स्वरूप दिन क्रियाशील भएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । नेकपा (एमाले) झलनाथ खनाल र माधव नेपाल समूहले कञ्चनपुर जिल्ला कमिटी अध्यक्षमा तारा लामा, उपाध्यक्ष जीवन राज थापा,

काठमाडौं । नेकपा एमलेका नेता भीम रावलले तक्मामा चुच्चे नक्सा नराख्नुको कारणबारे प्रश्न उठाउनु भएको छ ।रावलले प्रधानमन्त्रीले यसबारे तुरून्त

काठमाडौं । सिरहाको लाहान नगरपालिका–२२ गड्डा चोकमा लुटेराको एक समुहले गोली प्रहार गरी एक जनाको हत्या गरेको छ । सुनचाँदी