पाते फटाह प्रचण्ड सत्ता लम्ब्याउने बागचाल चाल्छन त्यसरी जसरी देउवा भन्छन प्रजातन्त्र

४ फाल्गुन २०७३, बुधबार ११:०२ मा प्रकाशित

जयप्रकाश त्रिपाठी, काठमाडौँ, ४ माघ । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डमा देश बनाउने ‘भिजन’ र इमानदारीको अभाव देखिए पनि राजनीतिक चालबाजीमा उनी अन्य नेताहरूभन्दा अगाडि छन् भन्ने तथ्य एकपटक फेरि उजागर भएको छ । काङ्गे्रस र माओवादीबीचको सम्झौताअनुसार वर्तमान सरकारको निर्धारित समय समाप्त हुन दुई महिनाभन्दा कम बाँकी रहँदा प्रधानमन्त्री प्रचण्डमा छटपटी बढेको छ र उनी आफ्नो कार्यकाल लम्ब्याउने उपायको खोजीमा छन् । चैत मसान्त (२०७३) सम्मको कार्यकाल रहेको प्रधानमन्त्रीले आगामी जेठमा गराउने गरी निर्वाचनको मिति घोषणा गरेर थप दुई महिना पदमा रहने बाटो निकाल्न खोजेका छन् । काङ्गे्रस सभापति शेरबहादुर देउवा र प्रचण्डबीच गत असारमा भएको चारबुँदे सम्झौतामा चैत मसान्त (२०७३) सम्म प्रचण्ड र वैशाख १ गते (२०७४) देखि देउवाले सरकारको नेतृत्व सम्हाल्ने व्यहोरा उल्लिखित छ । सोही सम्झौताको एउटा अर्को बुँदामा भने स्थानीय निर्वाचन प्रचण्डले तथा सङ्घीय निर्वाचन देउवा नेतृत्वको सरकारले गराउने भन्ने स्पष्ट रूपमा लेखिएको छ ।

सम्झौताअनुसार चैत मसान्त नजिकिँदै जाँदा सत्ता हस्तान्तरण गर्न आफूमाथि देउवाको दबाब बढ्न सक्ने सम्भावनाप्रति प्रचण्ड अहिलेदेखि नै सचेत देखिएका छन् । देउवाको सम्भावित दबाबलाई शिथिल तुल्याउनका लागि प्रचण्डले स्थानीय निकायको निर्वाचन मिति आगामी साताभित्रै घोषणा गर्ने गृहकार्य गरिरहेका छन् । चुनाव घोषणा भएपछि चुनावको मितिसम्म आफ्नो नेतृत्वको सरकारले निरन्तरता पाउने विश्वासमा प्रचण्ड छन् । चुनावको घोषणा मात्रले देउवाबाट उत्पन्न हुन सक्ने दबाबलाई शिथिल बनाउन सकिँदैन कि भनी उनले गत शुक्रबार (माघ २८ गते) प्रमुख प्रतिपक्षी नेता केपी शर्मा ओलीसँग विशेष बैठकको रचना गरे । वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवासमा ओलीसँग संवाद गरेर प्रचण्डले देउवा र अन्य कतिपय शक्तिकेन्द्रलाई एक साथ झस्काएका छन् ।

यसरी बैठक गरी त्यसको सूचना चुहाइदिँदा देउवा र अन्य शक्तिकेन्द्रहरू झस्किने र उनीहरूबाट पद त्याग गर्न दबाब आउनेछैन भन्ने विश्वासका आधारमा प्रचण्डले अचानक उक्त बैठक रचना गरेको बुझिन्छ । प्रचण्ड र ओलीबीचको भेटवार्ता नारायणकाजी श्रेष्ठको निवासस्थानमा भएको भए पनि समाचार सूत्रका अनुसार उक्त बैठकको आयोजना श्रेष्ठले गरेका थिएनन् । प्रचण्ड आफैँले ओलीसँग सम्पर्क गरी भेटवार्ता गर्न चाहेको बताउँदै नारायणकाजी श्रेष्ठको निवासमा आउन निमन्त्रणा दिएका थिए । ओलीसँगको भेटवार्तालाई लिएर कसैले अलिक गम्भीर ढङ्गले प्रश्न उठाए भने बैठक आयोजकको रूपमा नारायणकाजी श्रेष्ठलाई देखाउँदै आफू ‘पानीमाथिको ओभानो’ बन्नका लागि प्रचण्डले बैठकस्थलका रूपमा नारायणकाजी श्रेष्ठको निवासस्थानलाई रोजेको बुझिन्छ । यसरी प्रचण्डले एक तीरले अनेका सिकार गर्ने चाल चलेका हुन् । त्यस दिन नेता श्रेष्ठ नयाँदिल्ली प्रस्थान गर्दै थिए र उनी कुनै बैठक, संवाद या छलफल कार्यक्रम आयोजना गर्ने–गराउने परिस्थिति र मनस्थितिमा नभएको बताइन्छ । प्रचण्डको आग्रहलाई टार्न नसकेर मात्र श्रेष्ठले दुई शीर्ष नेताहरूको संवादका लागि आफ्नो घर उपलब्ध गराएको बुझिन्छ ।

प्राप्त जानकारीअनुसार ओलीसँगको संवाद प्रचण्डले काङ्गे्रस सभापति शेरबहादुर देउवाको आलोचनाबाट सुरु गरेका थिए । देउवासँग काम गर्न निकै अप्ठ्यारो परेको बताउँदै प्रचण्डले ‘एमालेसँग काम गर्न सजिलो’ भन्दा ओलीका आँखा चम्किएका थिए । ‘देउवाले हैरान बनायो, तपाईंहरूसँग काम गर्दाजस्तो सहजता मैले महसुस गरिरहेको छैन,’ प्रचण्डको भनाइ थियो । प्रचण्डका कुरा सुनेपछि मुसुमुसु हाँस्दै ओलीले भने, ‘अलिकति धैर्य गर्न सक्नुभएन, केही समय पर्खिएको भए म नै तपाईंलाई प्रधानमन्त्री बन्न सहयोग गर्थें ।’ ओलीको यस्तो भनाइमा प्रतिक्रिया जनाउँदै प्रचण्डले भने, त्यही त, त्यसबेला कहाँ–कहाँ के–के भयो–भयो ।’

ओलीले चुनावको मिति जतिसक्दो चाँडो घोषणा गर्न बारम्बार आग्रह गर्दा प्रचण्डले मधेसी मोर्चाका साथीहरूलाई कसरी सहमतिमा ल्याउने भनी चिन्ता प्रकट गरेका थिए । प्रचण्डलाई आश्वास्त पार्दै ओलीले ‘मधेशी मोर्चाले केही गर्न सक्दनैन्, चुनाव घोषणा गर्नुहोस्, चुनाव सम्पन्न हुन्छ, उनीहरूबाट कतै केही खतरा पैदा हुनेवाला छैन’ भनेका थिए । ओलीले वरियताक्रमको आधारमा नवराज सिलवाललाई आईजीपी नियुक्त गर्न आग्रह गर्दै संवादका क्रममा भनेका थिए, ‘नवराजलाई आईजीपी बनाउनुहोस्, काङ्गे्रसले सरकार छोड्यो भने हामी तपाईंलाई साथ दिउँला, राप्रपा पनि हामीतिर नै हुन्छ । सङ्घीय निर्वाचनसम्म तपाईं नै सरकारको नेतृत्व गर्नुहोला, आवश्यक परे एमाले पनि सरकारमा सहभागी हुन्छ ।’

यसरी ओलीसँग संवाद गरेर प्रचण्डले जो–जसलाई तर्साउनु थियो तर्साए र ओलीले भनेका सबै कुरा फूलबुट्टा भरेर ‘तर्सिने पक्ष’लाई सुनाउन पनि भ्याइसकेका छन् । आफूलाई समर्थन गर्न ओली तयार भएको सन्देश दिँदा देउवाका निम्ति भनेर चैत–वैशाखमै सत्ता छोड्नु नपर्ने विश्वास प्रचण्डमा पैदा भएको छ । स्थानीय निकायको निर्वाचन गराउने नाममा थप दुई महिना (जेठ मसान्तसम्म) आफू प्रधानमन्त्री बन्न सक्दा त्यसैबीच बजेट पेस गर्न पाइने र बजेट पेस गरिसकेपछि पनि देउवाले दबाब दिन थाले भने एमालेको साथ लिएर आफ्नो प्रधानमन्त्रित्व लम्ब्याउने खेलमा प्रचण्ड रहेको प्रचण्डकै निकटवर्तीहरूको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण