देश बर्बादीका ‘यी पाँच’ नाइके

देवप्रकाश त्रिपाठी
२८ माघ २०७३, शुक्रबार ०२:४६ मा प्रकाशित

राजनीतिक परिवर्तनको मुख्य उद्देश्य देशको बर्बादी होइन र हुनु पनि हुँदैन, तथापि संसारका कैयन मुलुकले परिवर्तनपछि भीषण बर्बादीको सामना गर्नुपरेको छ । दक्षिण एसियाली मुलुक अफगानिस्तानले दशकौँदेखि जुन सङ्कट झेलिरहेको छ त्यो राजनीतिक परिवर्तनपछि नै सुरु भएको हो । राजतन्त्रको अन्त्य गरेर गणतन्त्र घोषणा गरिनुलाई महान् क्रान्ति दाबी गर्दै अफगान जनतालाई सुखद भविष्यको सपना देखाउनेहरू कहाँ पुगे कुन्नि! अफगानिस्तानचाहिँ त्यहीँ छ जहाँ युद्ध र त्रासदीका अनेकौँ रूप देशको एउटा अभिन्न पाटो बनेको छ । इजिप्सियन नागरिकले होस्नी मुवारकको शासनबाट मुक्ति खोजेको अहिले भोग्नु परिरहेको तनावका निम्ति थिएन । बुरुण्डी र रुवाण्डाले विष्मयकारी गृहयुद्ध हिंसाको सामना गर्नुपरेको पनि राजनीतिक परिवर्तनपछि नै हो ।

राजनीतिक परिवर्तनपश्चात् सुरु भएको अराजकताले युगोस्लाभियाको विघटन गराएको र इथियोपियालाई विभाजन गराएको दृष्टान्त हामीसँग छ । छिमेकी मित्रराष्ट्र भारतले पनि राजनीतिक परिवर्तनपश्चात् विभाजनको पीडा सहनुपर्यो। परिवर्तन र क्रान्तिकै नाममा सिक्किमले आफ्नो अस्तित्व गुमाएको हो । राजनीतिक परिवर्तन (१९४९) पश्चात् माओ त्से तुङ नेतृत्वको चाइनाले पनि धेरै ठूलो सकस व्यहोर्नुपरेको थियो । चिनियाँ अर्थतन्त्र तहसनहस भएर माओका विरुद्ध नै विद्रोह हुने स्थिति उत्पन्न भएपछि सांस्कृतिक क्रान्तिका नाममा ६ करोडभन्दा बढी मानिसको संहार गरेर उनले जसोतसो आफूलाई जोगाउनुपरेको थियो । सन् १९७८ मा देङ सियाओ पिङको उदयपश्चात् आर्थिक विकासको नयाँ नीति अवलम्बन नगरिएको भए आजको अवस्थामा चीन पुग्न सम्भव थिएन । परिवर्तन गर्नुभन्दा परिवर्तनको औचित्य पुष्टि गर्ने कार्य महत्वपूर्ण हुन्छ । औचित्य पुष्टि हुने प्रकारले राजनीतिक नेतृत्वले व्यवस्थापन गर्न नसकेपछि देश विघटन र विभाजन भएका यस्ता अनेक दृष्टान्त छन् । कतिपय मुलुकमा चाहिँ विस्थापित राजसंस्थालाई पुनस्र्थापित गरेर स्थायित्व खोजेको पनि उदाहरण छ ।

ब्रिटेन, स्पेन र थाइल्याण्ड ती मुलुक हुन् जहाँ विस्थापित भइसकेको राजसंस्थालाई पुनस्र्थापित गरेर स्थायित्व खोजियो । स्पेनको राजसंस्था ३३ वर्षको अन्तरालपछि पुनस्र्थापित भएको हो । राजतन्त्रको अन्त्य गरी सुखद भविष्यका निम्ति गरिएको राजनीतिक परिवर्तन अफगानिस्तानका निम्ति अत्यन्त दुःखद् बन्न पुग्यो । दशकौँ लामो गृहयुद्धबाट मुक्ति दिलाउन निर्वासनमा रहेका राजालाई फिर्ता बोलाइँदा युरोप बसोवास गरिरहेका अफगान राजाले स्वीकार गरेनन्, आउँदा कति दशक अफगानिस्तानले गृहयुद्धको सामना गरिरहनुपर्ने हो, त्यसको अनिश्चितता छ । त्यसैले राजनीतिक परिवर्तन नै सबै प्रकारका समस्याको समाधान होइन, हुन सक्दैन र हुँदैन । दक्षिण कोरियाली सैन्य जनरल पार्क चुङ हीले सत्ता कब्जा गरेर (सन् १९६२ मा) एकप्रकारले राजनीतिक परिवर्तन नै गरेका हुन् । उनी दूरदर्शी, इमानदार र देशभक्त रहेछन्, त्यसैले सत्ता हातमा परेको दशक नबित्दै उनले चामत्कारिक परिवर्तन ल्याए । जम्मा पचासी (अमेरिकी) डलर प्रतिव्यक्ति आम्दानी भएको दक्षिण कोरियालाई पार्कले आफ्नै शासनकालमा करिब चार हजार डलर प्रतिव्यक्ति आम्दानी पुर्याए । पार्क कुनै राजनीतिक कार्यकर्ता या नेता थिएनन्, न उनी क्रान्तिका भ्रान्तिपूर्ण गफ दिने लफ्फाजी नै थिए । तथापि आज लाखौँ विदेशीलाई समेत रोजगारी दिन सक्ने समृद्ध दक्षिण कोरिया बन्नुको सम्पूर्ण जस (क्रेडिट) उनैलाई दिनुपर्ने हुन्छ । तर, हामीलाई उपलब्ध राजनीतिजीवीहरूको औकात हेर्दा यिनले देश बनाउने सपना देख्नु भनेको गैँडाले सगरमाथा आरोहण गर्ने कल्पना गर्नु बराबर भएको छ । वास्तवमा व्यवस्थापन गर्न नसक्दा–नजान्दा राजनीतिक परिवर्तन नै बर्बादीको मुख्य कारण बन्दोरहेछ भन्ने उदाहरण नेपालले पनि प्रस्तुत गर्दै छ, गरिरहेको छ ।

राजनीतिक नेतृत्व अदूरदर्शी, अक्षम र बेइमान हुनुको परिणाम संसारका कैयन मुलुकले जसरी भोगिरहेका थिए– छन्, हामी पनि भोग्दै छौँ, परिवर्तनलाई व्यवस्थापन गर्न र मुलुकलाई स्थायित्व दिन नसक्ने देशहरूको सूचीमा हामी पनि परेका छौँ । आकाशमा चिल देखाएर भुइँको कुखुरा चोर्नेहरूको कब्जामा मुलुक परेको दशक नाघ्दै छ, शान्त, स्थिर र समृद्ध नेपालको सपना देख्ने हामी नेपालीको हातबाट देश नै ठगिने खतरा पैदा भएको छ, त्यसैले देशलाई आजको यो दारुणिक अवस्थामा पुर्याउने मुख्य पात्रहरूको पहिचान गर्नुपर्ने बेला आएको छ ।

देश बर्बादीका निम्ति सबै राजनीतिजीवीहरूलाई एकुमष्ट दोषी ठान्छन् सर्वसाधारण जनता । उद्यम–व्यवसाय गर्न चाहने र चेतनाको तह केही माथि भएका मानिस कर्मचारीतन्त्रलाई बर्बादीका निम्ति मुख्य दोषी ठान्छन् भने महन्थ ठाकुर, राजेन्द्र महतो, विजय गच्छदार, केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, रामचन्द्र पौडेल र शेरबहादुर देउवालाई बर्बादीको दोषी मान्नेहरू पनि नभएका होइनन् । त्यस्तै, तात्कालिक राजाहरू वीरेन्द्र र ज्ञानेन्द्रलाई बर्बादीको स्रोत मान्नेहरूको पनि कमी देखिँदैन । खासगरी वि.सं. २०६१ सालमा कार्यकारी अधिकार लिएर तात्कालिक राजाले ठूलो गल्ती गरेको, त्यही गल्तीको परिणामस्वरूप नेपालीले आजको दारुण अवस्था व्यहोर्नुपरेको भन्ने धारणा धेरैले बनाएका छन् र यस्तो धारणा राख्नेहरूलाई गलत भन्नुपर्ने स्थिति पनि छैन ।

नेपाली इतिहासको एउटा कालखण्ड (वि.संं. १८२५–१८७२) का शासकहरूको मुख्य समय देशको एकीकरण र राज्यको सीमा विस्तारमै बित्यो । त्यस समयमा राज्यको मूल उद्देश्य नै एकीकरण र विस्तार बनेको थियो । सन् १८१५ को सुगौली सन्धिपश्चात् नेपालको सीमा विस्तार अभियानमा पूर्णविराम लाग्यो । त्यसपछि देशको राजनीति केवल सत्ता–सङ्घर्षको चरणबाट गुज्रियो । काम नभएपछि मानिस व्यर्थ विवादमा रुमल्लिन थाल्छ भन्ने युक्तिअनुरूपको परिदृश्य नेपाली राजनीतिमा वि.सं. १९०३ सम्म देखिन्छ । १९०३ मा जंगबहादुर राणाले शासनसत्ता हालमा लिएपछि नेपाली राजनीतिले धेरै हदसम्म स्थिरता प्राप्त गरेको, नेपाललाई अन्तर्राष्ट्रिय जगत्सम्म पुर्याउने काम भएको र सुधारका पर्याप्त प्रयास गरिएको पाइन्छ । राणा शासकहरूमध्ये जंगबहादुरबराबर योगदान अन्यले पुर्याएको नदेखिए पनि चन्द्रशमशेर, वीरशमशेर र देवशमशेरलाई विशेष स्मरण गरिन्छ । उनीहरूको कार्यकालमा कैयन राम्रा कार्य भएका थिए ।

त्यसपछि नेपालीले दूरदर्शितासहितको नेताका रूपमा बीपी कोइरालालाई पाएका हुन् । प्रजातान्त्रिक विचार र मूल्य–मान्यतासहित सत्ताको केन्द्रबिन्दुमा पुगेका बीपी कोइरालाले निर्धारित कार्यकाल पूरा गर्न पाएका भए जनहितका केही महत्वपूर्ण कार्य हुने थिए कि भन्ने स्मरण धेरैले गरेका छन् । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजसुधार तथा विकासबारे बीपीका विचार उपयोगी र दीर्घजीवी प्रकृतिका छन् । नेपाली राष्ट्रियताको चिरायुका निम्ति संवैधानिक राजतन्त्रको अपरिहार्य बीपीले देख्नुभएको थियो । जुन राजतन्त्रले आफ्नो नेतृत्वको जननिर्वाचित सरकारसहित प्रजातन्त्र विस्थापित गर्यो, बिनाकसुर आठ वर्षसम्म बन्दी बनाएर राख्यो र राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गरेर स्वदेश फर्किंदा पनि चैनले बस्न दिएन, बरु विभिन्न प्रकारले ‘ह्युमिलिएट’ गर्यो त्यही राजसंस्थाका प्रतिनिधि राजासँग राष्ट्रियताको सवालमा आफ्नो घाँटी जोडिएको सार्वजनिक घोषणा गर्न बीपी हिचकिचाउनुभएन । उहाँ नेपाली राष्ट्रियता र प्रजातन्त्रमाथि राजाभन्दा बढी कम्युनिस्टबाट खतरा देख्नुहुन्थ्यो । तसर्थ कम्युनिस्ट नेताहरूसँग मित्रवत् सम्बन्ध र सम्पर्क हुँदाहुँदै पनि कम्युनिस्ट पार्टीसँग कार्यगत एकता गर्न कहिल्यै तयार हुनुभएन । किन बीपीले राजाभन्दा कम्युनिस्टलाई पराया ठान्नुभएको रहेछ भन्ने जिज्ञाशाको जवाफ २०४६ को परिवर्तनपछि केही भेटिएको थियो, यो दशकमा पूरै जवाफ मिलेको छ । कम्युनिस्टहरू राजनीतिमा हावी हुँदा देश यस प्रकारले अस्तव्यस्त हुनेछ र राष्ट्रिय अस्मिता नै धरापमा पर्नेछ भन्ने दृश्य सम्भवतः बीपीको अन्तरदृष्टिले पहिल्यै बोध गरेको थियो । बीपीपछि नेपालीले पाएका महानेताहरूमा कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहलाई लिन सकिन्छ । कम्युनिस्ट पार्टीका नेता भए पनि मनमोहन अधिकारी र मदन भण्डारीलाई अलिक पृथक् ढङ्गले बुझ्नु उपयुक्त हुनेछ ।

इतिहासमा बितेका दुई दशक सर्वाधिक पीडादायी हुन पुगेको छ । अघिल्लो एक दशक ‘नयाँ नेपाल’को सपना देखाउँदै ‘जनता मार्ने जनयुद्ध’का कारण बर्बाद भयो र कथित जनयुद्धकारीहरूको मूलप्रवाहीकरणका नाममा पछिल्लो दशकभित्र जे भए यसले नेपालीको एकता र नेपालको अस्तित्वलाई नै सङ्कटग्रस्त अवस्थामा पुर्याईदिएको छ । शान्ति, स्थिरता, विकास, सुशासन, कानुनीराज र प्रजातान्त्रिक मूल्यमान्यताको अङ्गभङ्ग गर्ने कार्य त यो दशकमा भयो नै, देशको स्वतन्त्र सार्वभौमिकताको रक्षा पनि अब नहुने हो कि भन्ने अभेद्य त्राससमेत पैदा भएको छ । यस्तो अवस्थामा देशलाई यसप्रकार बर्बादीमा पुपुर्याउने राजनीतिजीवीहरू को–को हुन् तिनको नाम पहिचान गर्नु वाञ्छनीय ठानिएको छ ।

देशलाई बर्बाद गर्नेहरूको नाम खोज्न थालियो भने चन्द्रशेखर दाहाल उपाध्याय र गजराज मिश्रदेखि नन्दकिशोर पुनसम्मका दर्जनौँ व्यक्तिको सूची तयार हुन सक्छ । तर, हामीले बाँचिरहेको वर्तमानमा बर्बादीका जे–जस्ता रूप र सार प्राप्त भएको छ, यसका निम्ति चाहिँ केवल पाँचजना व्यक्ति मात्र मुख्य दोषी देखिएका छन् । गिरिजाप्रसाद कोइराला, प्रचण्ड, बाबुराम भट्टराई, सुवास नेम्वाङ र कृष्णप्रसाद सिटौलाबाहेकका राजनीतिजीवीले मतियारसम्मको भूमिका निर्वाह गरेका हुन् । उल्लिखित पाँच राजनीतिजीवीहरू नै देश बर्बादीका मूल पात्र हुन् भन्न केही आधारहरू रहेका छन् ।

गिरिजाप्रसाद कोइराला पछिल्लो बर्बादीका मूल पात्र हुन् । अग्लो शारीरिक कद र गोरो छालाले छोपिएको उनको आत्मकेन्द्रित राजनीतिका दृष्टान्तहरू यो सङ्क्षिप्त लेखमा वर्णित हुने प्रकारको छैन । आफूभन्दा माथि उठ्न कहिल्यै नसकेका कोइराला प्रतिशोध, बदला र स्वार्थपे्ररित राजनीतिबाट जीवनभर माथि उठ्न सकेनन् । यिनी मानिसलाई उपयोग गर्न र धोखाधडी गर्न किञ्चित हिचकिचाउँदैनथे । तर, यति मात्र कारणले कोइराला बर्बादीका मुख्य पात्र बनेका भने होइनन् । दूरदृष्टि, इमानदारी र राष्ट्रनिर्माणको प्रतिबद्धता उनमा कतै थियो भने परिणामले त्यसको पुष्टि गर्दैन । २०४८ सालमा पञ्चायत ढलेपछिको प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालालाई सुशासन, सुसंस्कार र समृद्धि प्राप्तिको मार्गदिशामा देशलाई लैजान ऐतिहासिक अवसर प्राप्त भएको थियो, उनले अवसरको सदुपयोग राष्ट्रहितमा गर्न सकेनन्, यति नै मात्र कारणले कोइराला नकारात्मक पात्र बनेका होइनन् । मूलतः दुईवटा कारणले उनलाई बर्बादीको मुख्य नाइके भन्न सकिने बनाएको छ । पहिलो, कोइरालाले बीपी कोइरालाद्वारा प्रतिपादित आदर्श, विचार, सिद्धान्त, मूल्यमान्यता र कार्यक्रमबाट आफू तथा आफ्नो पार्टीलाई च्यूत गरे । दोस्रो, माओवादीसँग गठबन्धन गरी कम्युनिस्टका एजेण्डाअनुरूपको नीति, विचार र कार्यक्रमलाई उनले सम्पूर्ण रूपमा आत्मसात् गरे । गिरिजाकै कारण काङ्गे्रस यतिबेला विचारविहीन झुण्डमा रूपान्तरित हुन पुगेको छ । आफ्नो मौलिक विचार–दर्शन परित्याग गरेको, कम्युनिस्टका एजेण्डा कार्यान्वयनमा ‘योगदान’ पु¥याएर पनि आफूलाई वामपन्थी मान्न हिचकिचाएको अवस्थाबाट काङ्ग्रेस गुज्रँदै छ । राजासँग बदला लिने र केवल राजासँग बदला लिने मानसिकताले गिरिजाप्रसादलाई जहाँ पुर्यायो, उनको त्यही मानसिकताको उपज आजको ‘बर्बाद नेपाल’ हो । बीपीको सहोदर भाइ भन्नै नमिल्ने गरी गिरिजाप्रसादले जे गरे, एक्लै गरे र उनको एकल निर्णयको बन्दी अहिलेसम्म काङ्गे्रस बनिरहेको छ । उनकै एकल निर्णयको परिणाम देशले भोगिरहेको छ । गिरिजाप्रसादले गलत नीति र निर्णय नलिएका भए देशको राजनीति र देशले आजको जस्तो बेथिति भोग्नुपर्ने थिएन ।

प्रचण्ड

जंगबहादुर राणा या भीमसेन थापाका पालामा निर्वाचनका माध्यमबाट सत्ता केन्द्रमा पुग्न सकिने स्थिति थिएन, त्यसैले उनीहरूले सत्तामा पुग्न र टिकिरहन षड्यन्त्र र हिंसाको सहारा लिनुप¥यो । तर, प्रचण्डले हिंसात्मक सङ्घर्ष सुरु गर्दा मुलुकमा प्रजातान्त्रिक पद्धति स्थापना भइसकेको थियो । जनतालाई विश्वासमा लिएर शान्तिपूर्ण र विधिसम्मत् ढङ्गले सत्तामा पुग्न पाइने अवस्था हुँदाहुँदै प्रचण्डले सत्ता प्राप्तिका निम्ति हिंसात्मक मार्ग अवलम्बन गरे, उनको नेतृत्वमा भएको हिंसात्मक सङ्घर्षका क्रममा सत्र हजारभन्दा बढी निर्दोष नेपालीले ज्यान गुमाउनुप¥यो । देशको अर्बौं रुपैयाँबराबरको क्षति भयो, हिंसात्मक सङ्घर्ष रचिएकै कारण मुलुक दशकौँ पछि पर्ने स्थिति बन्यो, प्रचण्डको पहिलो तर अक्षम्य गल्ती यही हो । देशमा जाति, भाषा र क्षेत्रीयतावादी अवधारणालाई संस्थागत गर्ने घातक कार्य पनि प्रचण्डकै अगुवाइमा भएको हो । उनको यही अवधारणा अहिले देशको महासङ्कटको मुख्य कारण बनेको छ । जतिसुकै खराब साधन प्रयोग गरेका भए पनि उनले प्रधानमन्त्री पद पाएका (२०६५) थिए र त्यसबेला प्रचण्डले चाहेबमोजिमको दिशामा मुलुकलाई लैजान सक्ने आन्तरिक माहोल थियो । सुशासन, स्थिरता, शान्ति, विकास र समृद्धिका नीति, कार्यक्रम र प्रतिबद्धता यिनीसँग सायद रहेनछ । त्यसैले त्यस्तो उर्वर काल उनले कहिले पशुपतिको मूल पुजारी हटाउने त कहिले सेनापति हटाउने खेल खेलेर बिताए । पार्टीका लागि लडेका लडाकुको व्यवस्थापन उनको यति उच्च प्राथमिकतामा पर्यो कि देशको व्यवस्थापनतर्फ यिनले ध्यान पुर्याउन सकेनन् । प्रचण्डले २०६५ मा पहिलोपटक प्रधानमन्त्री बन्दा देश बनाउने जुन अवसर पाएका थिए बीसौँपटक प्रधानमन्त्री बनेछन् भने पनि त्यति उर्वर मौका अब उनलाई प्राप्त हुनेछैन । देशमा हिंसा भड्काएर हजारौँ निर्दोष नागरिकको ज्यान लिएको, देशको अर्बौं रुपैयाँबराबर क्षति पुर्याएको, मुलुकमा जातीयता र क्षेत्रीयतावादलाई संस्थागत गरेको र सुवर्ण मौका पाएर पनि त्यसको उपयोग गर्न नसकेका कारण प्रचण्डलाई गिरिजाप्रसादपछिका बर्बादीको नाइकेका रूपमा लिनुपर्ने भएको हो ।

डा. बाबुराम भट्टराई

प्रचण्ड नेतृत्वमा भएको देशविरुद्धका अधिकांश कार्यबाट बाबुराम भट्टराईलाई अलग्याएर बुझ्न सकिँदैन र त्यसरी बुझ्नु पनि हुँदैन । हिंसाको भुङ्ग्रोमा देशलाई फसाउन बाबुरामले पनि प्रचण्डबराबर नै भूमिका निर्वाह गरेका हुन् । जाति र क्षेत्रीयतावादलाई प्रोत्साहन गर्ने कार्यमा पनि बाबुरामको प्रचण्डबराबर भूमिका देखिन्छ । बहुसङ्ख्यक जनताले अपनाउने मौलिक धर्म, संस्कृति र परम्परागत मूल्यमान्यता भत्काएर देशलाई धर्मनिरपेक्ष बनाउनमा पनि बाबुरामको भूमिका सुवास नेम्वाङको भन्दा कम स्तरको थिएन । परिवर्तनका निम्ति भन्दै हिंसात्मक सङ्घर्षको अगुवाइ गर्ने बाबुराम भट्टराई आफू प्रधानमन्त्री भइसकेपछि माओवादी र माओवादी पार्टीको औचित्य नरहेको भन्दै बेग्लै राजनीतिक दल निर्माणतिर लागे । आफ्नै नेतृत्वमा (हालको) संविधान निर्माण गरेर त्यही संविधानका विरुद्ध बकबक गर्ने काम पनि बाबुरामबाट भइरहेको छ । यिनी गल्ती हो भन्ने जान्दाजान्दै पनि नियतबस गल्ती गर्ने र बारम्बार गल्ती गरिरहने राजनीतिजीवीको कोटिमा पर्दछन् । माओवादी पार्टीबाट यिनको बहिर्गमन र आफैँले निर्माण गरेको संविधानविरुद्धको (संशोधन हुनुपर्छ भन्नु पनि विरोध या असहमति नै हो) गतिविधिका आधारमा बाबुरामको मूल्याङ्कन गर्दा उनी अति महत्वाकाङ्क्षी, अवसरवादी, सिद्धान्तहीन तथा गिरिजा र प्रचण्डझैँ आत्मकेन्द्रित व्यक्तिका रूपमा देखिन्छन् । आफ्नो महत्वकाङ्क्षा पूरा गर्न (गिरिजा र प्रचण्डझैँ) देशलाई दाउमा राख्न तयार हुने व्यक्ति बाबुराम भट्टराई होइनन् भन्न सकिने अवस्था छँदैछैन, त्यसैले यिनलाई पनि देश बर्बादीका एक नाइकेका रूपमा चिन्नु उचित र जायज हुनेछ ।

कृष्णप्रसाद सिटौला

आकार र पृष्ठभूमिका दृष्टिले कृष्णप्रसाद सिटौलालाई गिरिजा, प्रचण्ड र बाबुरामको हाराहारीमा राखेर बर्बादीकै भए पनि नाइके मानिरहनुपर्ने त होइन, तर गिरिजाको बुढ्यौली र प्रतिशोधी मानसिकताको फाइदा उठाउँदै यिनले आफूलाई स्थापित गर्न जे गरे त्यो निन्दनीय रह्यो । सत्ता र शक्ति प्राप्त गर्न तथा पदीय हैसियत बढाउन सिटौलाले देश, प्रजातन्त्र र काङ्गे्रस पार्टीको हित प्रतिकूल गरेको काम विस्मृतिमा जाने प्रकारको छैन । एकाध वर्षका निम्ति उच्च पद पाउनकै लागि पनि मानिस कतिसम्म तल झर्न सक्छन् भन्ने कुराको उदाहरण सिटौला बनेका छन् । उनको काम, कार्यशैली र सोचले देश, प्रजातन्त्र र काङ्गे्रसबाहेक माओवादीसहित अन्य कतिलाई लाभ पु¥याएको थियो आमनेपालीले स्मरण गरिरहेका छन् । गिरिजाका नाममा सिटौलाले ‘एक्का’ भएर गरेको कामकै आधारमा उनलाई पनि बर्बादीका नाइकेका रूपमा बुझ्न सकिन्छ ।

सुवास नेम्वाङ

सुवास नेम्वाङको बाह्य आवरण शान्त, शालीन र भद्र देखिने कारण यिनको भित्री तरबार कति धारिलो छ भन्ने भेउ पाउन हतपती सकिँदैन । सभामुखको रूपमा नेम्वाङले निर्वाह गरेको भूमिका राष्ट्रहित प्रतिकूल रहेको तथ्य समयाक्रममा खुल्दै जाने नै छ । बहुसङ्ख्यक जनताको चाहनाविपरीत हिन्दू राष्ट्रको संवैधानिक पहिचान मेटेर नेपाललाई धर्मनिरपेक्ष बनाउन नेम्वाङले रचेको जाल इतिहास–स्मरणीय छ । देशको पक्ष असन्तुष्ट रहने संविधान निर्माण गरी जारी गराउन सक्नुलाई नेम्वाङले सायद आफ्नो जीवनकै महानतम् उपलब्धि ठानेका हुन सक्छन्, जनदृष्टिमा यिनी ‘धर्म विक्रेता’का रूपमा स्थापित छन् र त्यसैले बर्बादीका नाइके मानिएका हुन् ।

यसरी पछिल्लो बीभत्स बर्बादीका निम्ति गिरिजाप्रसाद कोइराला (मृतक), प्रचण्ड, बाबुराम भट्टराई, कृष्णप्रसाद सिटौला र सुवास नेम्वाङ मुख्य जिम्मेवार ठहरिएका छन्, तर यिनलाई इतिहासले कसरी दण्डित गर्ने हो प्रतीक्षा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको

काठमाडौँमा होटल व्यवसाय गरी बस्नुभएका म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँटका दुर्गाबहादुर थापा सपरिवार गाउँमा फर्किएर केराखेती र कुखुरापालन गर्न लागेको

काठमाडौ । कुम्भ मेलामा सहभागी हुन भारतको हरिद्वार पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह शाही स्नानको रथयात्रामा सहभागी भएका छन् । भारतको