पहिले नागरिकता माग्ने, अब राज्य नै चाहिने !?

देवप्रकाश त्रिपाठी
९ पुष २०७३, शनिबार ०३:२२ मा प्रकाशित

मध्यतराईका कतिपय नेता कुनै समय नागरिकताको प्रमाणपत्र उपलब्ध गराउने विषयमा राज्य ज्यादा अनुदार भएको गुनासोसहित दबाब दिने गर्दथे । नागरिकता पाउन पहाडी र हिमाली जिल्लामा पनि सजिलो थिएन, तर तराईवासीहरू नागरिकता प्राप्त गर्न आफूहरूलाई अलिक बढी कठिनाइ परेको ठान्थे । राजधानी काठमाडौंमा मोफसलबाट आएकाहरूमध्ये एकथरीलाई यहाँका रैथानेहरू ‘खें’ या ‘खेंचा’ अर्थात् पाखे भन्थे भने अर्काथरीलाई ‘मस्र्र्या’ । मस्र्या नाम–विशेषण पाउनेहरूले यसलाई ‘इगो’को विषय बनाए र मधेसकेन्द्रित राजनीतिमा रमाउनेहरू आफ्नो मन्तव्यमा पटक–पटक ‘मस्र्या’को सन्दर्भ ल्याउने गर्दछन् । तराईको सिम्रौनगढ, जनकपुर र कपिलवस्तु मात्र इतिहासमा बेग्लै राज्यका रूपमा थिएनन् । पहाडको बझाङदेखि विजयपुरसम्ममा करिब चार दर्जन स्वतन्त्र राज्य थिए । नेपालको मध्यतराईदेखि बिहारको बृहत् क्षेत्रमा फैलिएको मैथिल सभ्यता राजनीतिक रूपले विभाजित भयो, मैथिलहरूले एकीकृत सभ्यतालाई राजनीतिक तहसम्म जीवित राख्न सकेका भए नेपाल या भारतको आजको राजनीतिक नक्सा बेग्लै हुनसक्थ्यो ।

सभ्यता जति स्थिर देशका सीमाहरू हुन सक्दैनन्, तर आधुनिक विश्वमा हामी समाज र सभ्यतालाई भन्दा देश र सीमालाई प्राथमिकतामा राखेर अभ्यास गर्दै छौँ । संसारमा देशहरूको अस्तित्व भङ्ग हुनु-गर्नुपर्छ भन्ने विचार–दर्शन बोक्ने कम्युनिस्टहरूसमेत देशका पक्षमा दृढतापूर्वक उभिन (प्रचण्डहरूबाहेक) थाल्नुले देश र सीमाको औचित्य प्रगाढ बनाउन मद्दत गरेको छ । अङ्गे्रजी सभ्यताका आधारमा देश र सीमा निर्धारण गरिने भए ब्रिटेनभन्दा फरक मुलुक या राज्य भएर अष्ट्रेलिया, अमेरिका र क्यानडालगायतका देशहरू बस्नुपर्ने हो कि होइन भन्ने प्रश्न उठ्न सक्छ । धर्मका आधारमा एउटै देश बन्नुपर्ने भए विश्वमा चार दर्जनभन्दा बढी इस्लामिक र ६ दर्जनभन्दा बढी इसाई मुलुक अस्तित्वमा रहन सम्भव र आवश्यक नहुन सक्थ्यो । प्राग ऐतिहासिक कालमा पुर्खाले रूखका बोक्रा शरीर ढाकछोप गर्न प्रयोग गर्थे, सिकार गरेर खान्थे । पुर्खाले कुनै खास जङ्गलमा सिकार खेलेको या कुनै नदी, खोला या धारा, पँधेरामा पानी पिएको कारण बताउँदै त्यसमाथिको हक या पहिचानको दाबी गर्नुलाई सायद अहिले तर्कसम्मत र युक्तिसङ्गत मानिँदैन । शताब्दीयौँ पहिले बझाङ बेग्लै राज्य भएका कारण बझाङवासीहरूले अहिले समृद्धिको खोजीबाहेक अर्को कुनै माग अघि सारेका छैनन्, न भिरकोटे, पाल्पाली, लमजुङ्गे, मकवानपुरे या विजयपुरे राजाका कुनै समय प्रजा भएका कारण अब हामी नेपाल र नेपालीभन्दा भिन्नै हुनुपर्छ भनेर त्यहाँका बासिन्दाले भनेका छन् ।

पृथ्वीनारायण शाहको नेतृत्वमा देश एकीकृत हुने अभियान चल्यो, हिमाल, पहाड र तराई समेटिने गरी पृथ्वीमा एउटा बेग्लै नक्सा बन्यो, हामी सबैले त्यसलाई स्वीकार ग¥यौँ, गरेका छौँ । यद्यपि नेपाल नामक देशको स्थापना नै पृथ्वीनारायण शाहले गरेकाचाहिँ होइनन् । बेदमा समेत नेपाल देशको नाम उल्लेख हुनुले यो मुलुक हजारौँ वर्षदेखि अस्तित्वमा रहेको दर्शाउँछ । कहिले फैलिएर र कहिले खुम्चिएर नेपाल जीवित रहिरहेको तथ्य इतिहासबाट जानकारी पाइन्छ । आधुनिक नेपाल स्थापनाको मुख्य जस (क्रेडिट) मात्र पृथ्वीनारायण शाहले पाएका हुन् । पहिले हामी कसको र कस्तो आकार–प्रकारको राज्य (देश) अन्तर्गत थियौँ भन्ने आधारमा आफ्नो वर्तमान र भविष्य खोज्ने हो भने बिस्मार्क र नेपोलियनले कष्टसाथ पैदा गरेको आजको फ्रान्स अनेक देशमा विभाजित हुनसक्छ । चङ्गेज खाँअघिको अवस्थामा पुग्न जनताले खोजे भने सम्भवतः मङ्गोलिया नामको बेग्लै देश पृथ्वीको नक्साबाट गायव हुनसक्छ । छिमेकी मित्रराष्ट्र भारतकै जनता मात्र सय वर्षअघि फर्कन चाहे भने त्यहाँ कति देश सृष्टि होलान्, त्यसको सहज अनुमान गर्न सकिन्छ । यसप्रकारका अनेक दृष्टान्त संसारमा छन् । १७औँ शताब्दीपछि विश्वमा देश बन्ने र भत्कने एउटा नयाँ लहर चल्यो । राजा, महाराजा या महत्वाकाङ्क्षी कुनै व्यक्तिले ठूलो देशको शासक बन्ने मनसायले नै एकीकरण अभियान चालेका भए पनि कालान्तरमा एकीकृत मुलुकका रूपमा जनताले स्वीकार गरे । त्यसैले युगोस्लाभिया या पूर्वसोभियत सङ्घ या क्राइमिया र इथियोपियालगायतका कतिपय मुलुकलाई अपवादका रूपमा लिने हो भने करिब दुई सय वर्षअघिदेखि २०औँ शताब्दीको प्रारम्भसम्म आकार लिइसकेका देशहरू अहिलेसम्म स्थिर छन् ।

सन् १८१५ मा सुगौली सन्धि भएपछि नेपालको एकीकरण अभियानमा विराम लागेको हो । पराजित भएर विराम लाग्दा पनि नेपाली भूभागभित्र तराई समेटिएको थियो र तराईका निश्चित ठाउँबाहेक अधिकांश स्थान वन–जङ्गलले घेरिएको तथ्य इतिहास जाहेर छ । तराईमा वन–जङ्गल मासेर बस्ती विस्तार हुने क्रममा नेपालको पहाडी र हिमाली क्षेत्रबाट पनि मानिस तराईतिर बसाइँ सरे र भारतको बिहार तथा उत्तर प्रदेशलगायतका भूभागबाट पनि मानिस आएर बसोवास गर्न थालेका हुन् । तात्कालिक श्री ३ महाराजा जंगबहादुर राणा बेलायत भ्रमणबाट फर्कने क्रममा ब्रिटिस इन्डियाका भाइसरायले भारतका केही ग्वालाहरूलाई गाईपालन गरी बस्नु उपयुक्त हुने तराईका केही स्थानमा बसोवासको अनुमति मागेको इतिहासमा पढ्न पाइन्छ । त्यसबेला कति सङ्ख्यामा यादव र तिनका सहयोगी नेपालको तराईमा आए र कुन–कुन ठाउँमा उनीहरूलाई बसोवासको अनुमति प्राप्त थियो भन्ने अनुसन्धानको विषय हुनसक्छ । यसरी भारत र नेपालको पहाडी भूभागबाट बसाइँ सरेर तराईमा बसोवास गर्न पुगेकाहरूमध्ये अहिले एकथरीको मात्र आवाज सुन्नुपर्ने, अर्काथरीले चाहिँ बाह्र पुस्तादेखि बसिआएको थातथलो छोडेर भाग्नुपर्ने अवस्था बनाइँदै छ । अस्ति भर्खर नागरिकता माग्नेहरूले अब राज्य माग्न थालेका छन् र राज्य बनेमा नेपालबाट निश्चित भूभाग अलग्याएर स्वतन्त्र मुलुक निर्माणका निम्ति लड्नेहरू तम्तयार देखिँदै छन् । तराईवासी नेपाली जो पुस्तौँपुस्तादेखि नेपालमा छन् उनीहरूको देशप्रतिको ममतामा कसैले शङ्का गरेको छैन र शङ्का गर्नुपर्ने कारण पनि छैन । तर, अङ्गीकृतले शासन गर्न पाउने अवस्थामा तराईका पुराना बासोवासी तथा थारू र राजवंशीलगायतका आदिवासीमाथि कस्तो व्यवहार होला त्यसको अनुमान गर्न अहिले नै सकिँदैन ।

तराईका जनताको भावना र नेताहरूको बुझाई तथा तिनको चाहनाबीच समानता रहेको भए विमलेन्द्र निधि र रघुवीर महासेठको एउटै आवाज हुनुपथ्र्यो । काङ्ग्रेसका मधेसी नेताहरूले क्षेत्रीयताबारे चिन्ता प्रकट गरिरहँदा एमालेका मधेसी नेताहरूबाट एक मन एकताका साथ राष्ट्र–चिन्ता प्रस्तुत हुनुले पनि तराईमा जनता र नेताका समस्याबीच तालमेल नमिलेको स्पष्ट बुझ्न सकिन्छ ।

नेपालको पहाडी क्षेत्र, उपत्यका र दुनहरूमा बसोवास गर्ने क्षेत्री, ब्राह्मण, दलित, नेवार आदि जातीय समुदायको नवीनतम् अर्थात् अन्तिम उद्गम खोजियो भने पुग्ने भनेको भारतकै कुनै न कुनै प्रान्तमा हो । उनीहरू पनि आर्य हुन् र हिन्दू या बौद्धधर्मलाई आफ्नो मौलिक धर्मका रूपमा अवलम्बन गरिआएका छन् । भारतमा पैदा भएको देवनागरी लिपिलाई नै उनीहरूले अपनाएका छन् । तर, मधेसतिर राजनीतिमा क्रियाशील कतिपय मानिस क्षेत्री, ब्राह्मण, नेवार र दलितहरू भारत भूमिबाट आएको नभई अन्तरिक्षबाट सीधै नेपालमा अवतरित भएको ठान्छन् र पृथक् व्यवहार गर्न रमाइलो मान्छन् । नेपालका पहाडवासीहरूले तराई–मधेसलाई कुन रूपमा लिन्थे भन्ने कुराको दृष्टान्त नेपालगन्ज, वीरगन्ज, चन्द्रनिगाहपुर, अमलेखगन्ज, बुटवल र विराटनगरलगायतका सहरहरूको इतिहास पढ्दा हुन्छ । नेपालगन्ज एकजना नेवारले बसाएका हुन् भने वीरगन्ज वीरशमशेरले र चन्द्रनिगाहपुर चन्द्रशमशेरले आवाद गराएका हुन् । विराटनगर र बुटवललगायतका सहर बन्दै गर्दा राजेन्द्र महतो या महन्थ ठाकुरहरूका पितापुर्खा के गर्दै थिए– त्यसको खोजी गर्दा स्पष्ट हुन्छ ।

तराई–मधेसमा पहाडी र हिमाली क्षेत्रमा जस्तै गरिबी छ, अशिक्षा, अभाव र कुरीति छन् । विकास र समृद्धि प्राप्तिको दिशामा तराई र सिङ्गै देशलाई लैजान मुलुकमा दृढ इच्छाशक्तिसहितको नेतृत्व आवश्यक देखिँदै छ । तराई–मधेसका राजनीतिकर्मीले काठमाडौंको मन या विश्वास जित्न सकेका छैनन् भने त्यसमा यहाँका रैथानेहरू मात्र दोषी छन् भन्ने होइन । जब ‘खेंचा’ भनिएकाहरू काठमाडौंको विश्वास जित्न सफल भएका छन् भने ‘मस्र्या’ भनिएकाहरू किन सक्दैनन् ? कसैको मन जित्न तिनमा विश्वास र भरोसा जागृत गर्न सक्नुपर्छ । हिमाल, पहाड र तराई नै वास्तविक नेपाल हो भनेर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बोलिदिँदा उनले क्षणभरमा नेपाली मनमा बास पाएका थिए भने नेपालमै बसोवास गर्ने तराईवासी नेपालीलाई आमदेशवासीको मन जित्न मुस्किल पर्ने कुरै भएन । मधेसका केही जिल्लातिर क्षेत्रीयतावादी आन्दोलन चलिरहँदा डा. रामवरण यादवले पृथक् दृष्टिकोण प्रस्तुत गरे, उनको प्रस्तुतिलाई आमनेपालीले मन पराए, उनी राष्ट्रपतिसम्म बने । एमालेमा आबद्ध तराईका नेता लालबाबु यादव, लालबाबु पण्डित र वंशीधर मिश्रदेखि वैजनाथ चौधरीसम्म अहिले जे–जसरी आफूलाई प्रस्तुत गरिरहेका छन् त्यसले पनि मधेसी मोर्चासम्बद्ध नेताबाहेक आमनेपाली जनताको मन जितेकै छ । तराई–मधेसका जनता र त्यहाँ मधेसका नाममा राजनीतिक खेतीपाती गर्नेहरूबीचको दूरी कति छ भन्ने तथ्य विवरण २०७० सालमा सम्पन्न संविधानसभा निर्वाचनको परिणामले पनि दर्शाएकै हो । काङ्गे्रस र एमालेजस्ता राष्ट्रिय राजनीतिक दलहरूले प्राप्त गरेको स्थानले पनि त्यहाँका जनता वास्तवमा के चाहन्छन् भन्ने पुष्टि गरेकै छ ।

तराईका जनताको भावना र नेताहरूको बुझाई तथा तिनको चाहनाबीच समानता रहेको भए विमलेन्द्र निधि र रघुवीर महासेठको एउटै आवाज हुनुपथ्र्यो । काङ्गे्रसका मधेसी नेताहरूले क्षेत्रीयताबारे चिन्ता प्रकट गरिरहँदा एमालेका मधेसी नेताहरूबाट एक मन एकताका साथ राष्ट्र–चिन्ता प्रस्तुत हुनुले पनि तराईमा जनता र नेताका समस्याबीच तालमेल नमिलेको स्पष्ट बुझ्न सकिन्छ । जनताले नपत्याएपछि क्षेत्रीयतावादी राजनीतिकर्मीहरू आफ्नो वैयक्तिक स्वार्थका निम्ति छिमेकी मित्रराष्ट्र भारतलाई समेत बलजफ्ती उपयोग–प्रयोग गर्न खोज्छन् । नेपालमा भारतविरोधी भावना सधैँ जीवित रहोस् भन्ने चाहना भारतीय जनता, राजनीतिकर्मी र प्रशासकको अवश्य होइन । भारत नेपालप्रति सद्भाव राख्छ, तर तराईका कतिपय राजनीतिकर्मी या तराईका केही मुद्दाप्रति विशेष सद्भाव र सहानुभूति राख्छ भन्ने सन्देश बदलिएको अवस्थामा नेपालभित्र भारतीय छविमा व्यापक परिवर्तन आउन सम्भव छ । कस्मिरमा पाकिस्तानी चासो जुनसुकै रूपमा प्रकट हुँदा त्यसले आमभारतीय देशभक्तमा जसरी बिझाउँछ । नेपालीहरूलाई पनि कस्मिरमा पाकिस्तानी व्यवहारले त्यत्तिकै बिझाउने गर्दछ । काठमाडौंसँग ‘डिल’ भइसकेपछि अरू कसैसँग बेग्लै ‘डिलिङ’ हुँदा त्यसले नकारात्मक मनोवैज्ञानिक प्रभाव पारेको छ भन्ने भारतले अवश्य बुझेको छ । कुनै खास भूक्षेत्र या त्यहाँका बासिन्दामाथि विशेष चासो, ममता या सद्भाव छ भन्ने भ्रम या विश्वास कायम रहेसम्म आमजनताको विश्वास जित्न मुस्किल हुने यथार्थलाई स्वीकार गर्दै त्यसअनुरूपको व्यवहार गरियो भने नेपाल र भारतबीच संसारमै उदाहरणीय मित्रता र सम्बन्धको विकास हुनसक्छ भन्ने सुझाबलाई भारतले ढिलो या चाँडो आत्मसात् गर्ने आशा नेपालमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौं । आज देशका धेरैजसो स्थानमा बिहानैदेखि वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। देशका विभिन्न क्षेत्रमा आज

काठमाडौँ । सरकारले विभिन्न पाँच देशमा वैदेशिक अध्ययन स्वीकृति पत्र (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको छ । मुलुकमा कोभिड-१९