निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति बिरुद्ध सर्वोच्चमा सुनुवाई सुरु

७ पुष २०७३, बिहीबार २२:१७ मा प्रकाशित

काठमाडाैं, ७ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति असंवैधानिक दावीसहित परेको पुनरावलोकन निवेदनउपर सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशत्रय इश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा विहीबार सुुनुवाइ सुरु भएको हो। कार्कीका कानुन व्यवसायीहरुले विहीबार बार दिवस भएका कारण सुनुवाइ स्थगितका लागि दिनुभएको निवेदनलाई अस्वीकार गर्दै पूर्ण इजलासले सुनुवाइ थालेको हो ।

विहीबार पुनरावलोकन निवेदनकर्ता अधिवक्ता ओमप्रकाश अर्याल तथा उहाँका कानुन व्यवसायीहरु र संवैधानिक परिषद्का तर्फबाट सहन्यायाधिवक्ता किरण पौडेलले बहस गर्नुभएको थियो। शुक्रबार कार्कीका तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्नुहुनेछ।

पूर्ण इजलास बस्ने वित्तिकै कार्कीका तर्फबाट वरिष्ठ अधिवक्ताहरु महादेव यादव र बालकृष्ण न्यौपाने लगायतका कानुन व्यवसायीहरुले विहीबार बार दिवस परेकाले सुनुवाइ स्थगित गर्न आग्रह गर्नुभएको थियो। तर यसअघि सर्वाेच्चले सुनुवाइ स्थगित नगरिने आदेश गरिसकेकाले स्थगित गर्न नमिल्ने भन्दै इजलासले सुनुवाइ थालेको थियो।

निवेदक अर्यालका तर्फबाट विहीबार वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता रविनारायण खनाल तथा अधिवक्ताहरु सुरेन्द्र भण्डारी, गोविन्द बन्दी, विजयप्रसाद मिश्र, सुनील पोखरेल, चन्द्रकान्त ज्ञवाली र टीकाराम भट्टराई लगायतले बहस गर्नुभएको थियो। उहाँहरुले प्रमुख आयुक्तमा कार्कीलाई गरिएको नियुक्ति असंवैधानिक भएको दावी गर्दै नियुक्ति खारेजीको माग गर्नुभएको थियो।

संविधानमा उल्लेख गरेअनुसार सम्बन्धित विषयमा २० वर्ष सेवाअवधिको योग्यता नपुगेको, जनआन्दोलन दबाउन भूमिका निर्वाह गरी निलम्बनमा परेको र कारवाहीका लागि सिफारिश गरिएको, उच्च नैतिक चरित्र नभएको दावी गर्दै उहाँहरुले संविधान र कानुनले तोकेको योग्यता नपुगेका व्यक्तिलाई अख्तियारको प्रमुख आयुक्तमा गरिएको नियुक्ति असंवैधानिक भएको तर्क प्रस्तुत गर्नुभयो ।

उहाँहरुले बहस गर्दा इजलासले पटक पटक छोटो बहस गर्न र समयलाई ख्याल गर्न आग्रह गरेको थियो। त्यसपछि कानुन व्यवसायीहरुले छोटा छोटा बहस गर्नुभएको थियो। सहन्यायाधिवक्ता पौडेलले पुनरावलोकनमा नयाँ प्रमाण प्राप्त नभएको, नजिर पनि कुनै नयाँ प्रस्तुत गर्न नसकेको, न्यायिक निकायबाट दोषी ठहर भएको अवस्था नरहेकोले पुनरावलोकना गर्नुपर्ने अवस्था नदेखिएको तर्क प्रस्तुत गर्नुभएको थियो।

पौडेलको बहससँगै विहीबारको समय सकिएपछि इजलासले शुक्रबार ११ बजे पुनः सुनुवाइ हुने जानकारी गराएको थियो। इजलास उठ्ने क्रममा कार्कीका कानुन व्यवसायीहरु पूर्व महान्यायाधिवक्ताद्वय बद्रीबहादुर कार्की र महादेव यादवले शुक्रबार सम्मान कार्यक्रममा सहभागी हुने भन्दै बहस गर्न नभ्याइने अनुरोध गर्नुभएको थियो । महान्यायाधिवक्ताको कार्यालयले पूर्व महान्यायाधिवक्ताहरुलाई शुक्रबार सम्मान गर्दैछ।

वरिष्ठ अधिवक्ताद्वय यादव र कार्कीको मागप्रति इजलासले सुनुवाइ नरोक्ने तर सबैको बहस सुनेर नै अन्तिम निर्णयमा पुग्ने विश्वास दिलाउनुभएको थियो । ‘तपाईहरुले पनि समय पाउनुहुन्छ, तपाईहरुको बहस नसुनी हामी निर्णयमा पुग्दैनौ, सबैको बहस सुनेर नै अन्तिम निर्णय लिन्छौ’, न्यायाधीश खतिवडाले भन्नुभयो।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ३२ सांसदलाई कारबाही प्रक्रिया अगाडि बढाएपछि सर्वोच्च अदालत पुगेका छन्।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको

भारतमा कोरोना भाइरसको महामारी अति भयावह अवस्थामा पुगेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतमा तीन लाख भन्दा बढि संक्रमित थपिएका

काठमाडौँ । नक्कली पीसीआर रिपोर्ट दिने सुरिया हेल्थ केयरको लाइसेन्स निलम्बन गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नक्कली रिपोर्टका बारेमा