एमालेको सहमतिमा नै संशोधन प्रस्ताव दर्ता गरिएको हो : प्रधानमन्त्री

१९ मंसिर २०७३, आईतवार ०१:३८ मा प्रकाशित

काठमाडौँ, १९ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र मधेस केन्द्रित दलको सहमतिमा नै संविधान संशोधनको प्रस्ताव दर्ता गरिएको बताउनुभएको छ ।

नेकपा(माओवादी केन्द्र)को जारी पोलिटब्युरोको बैठकलाई सम्बोधन गर्दै उहाँले संविधानको सर्वस्वीकार्यता बढाउन सबै पक्षको छलफलमा नै अगाडि बढाइएको प्रस्तावलाई अहिले थाहा छैन भन्दै असन्तुष्टि प्रकट गर्नु जायज नभएको बताउनुभयो ।

सरकारले प्रस्तुत गरेको संविधान संशोधन प्रस्ताव कुनै नयाँ विषय नभएको भन्दै प्रधानमन्त्रीले विगतमा नेपाली काँग्रेस, नेकपा(एमाले)लगायतका दलले प्रस्तुत गरेकै प्रस्तावलाई अगाडि बढाएको भन्दै अहिले आएर विरोध गर्नुको कुनै अर्थ नहुने उल्लेख गर्नुभयो ।

संविधानको सर्वस्वीकार्यता बढाएर मुलुकलाई निर्वाचनको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सरकार अगाडि बढिरहेका बेला सामान्य विरोध प्रदर्शन गर्नु स्वभाविक भए पनि संसद्को काम कारबाही नै अवरोध गरेर नयाँ ऐन कानुन बनाउन नै रोक्नु भने गलत रहेको उहाँको कथन थियो ।

बैठकमा नेकपा(माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका दाहालले सरकारले सदनमा पेस गरेको संविधान संशोधन प्रस्तावमा सबै दलको सहमति जुटाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी र मधेसी मोर्चासँग सरकार निरन्तर संवादमा रहेको जानकारी दिँदै संविधान संशोधनमा सहमति जुटाएर सरकार स्थानीय तहको निर्वाचनको घोषणा गर्ने तयारीमा रहेको बताउनुभयो ।

सरकार स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको जानकारी दिँदै सहमतिभन्दा अरु विषय आफूले नचाहेको तर संशोधनमा सहमति जनाएर बाहिर आएर फरक कुरा गर्ने एमालेको प्रवृत्ति ‘दिउँसै रात पार्ने’ खालको रहेको उहाँले टिप्पणी गर्नुभयो ।

समसामयिक राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक विषयमा धारणा राख्नुहुँदै प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव पारित गराएरै जाने पक्षमा आफू रहेको भए पनि त्यसो नभएको खण्डमा पनि निर्वाचनमा जाने तयारीमा सरकार रहेको उल्लेख गर्नुभयो ।

स्थानीय तह पुनःसंरचना आयोगले एकाध दिनभित्रै स्थानीय निकायको पुनःसंरचनाको खाका पेस गर्ने र सो प्रतिवेदनका आधारमा नै सरकारले निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पार्नुभयो ।

जारी पोलिटब्युरो बैठकमा संविधान संशोधन र राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले नेतालाई जानकारी गराउनुभएको हो ।

प्रधानमन्त्रीले पार्टी कार्यालयमा ढुङ्गा हान्ने, शहिद स्मृति पार्क तोडफोड गर्ने कामले कोही कसैको फाइदा नगर्ने भन्दै हिमाल पहाड, तराई सबैलाई मिलाएर लैजान सरकार लागेको उल्लेख गर्नुभयो ।

पोलिटब्युरोका बैठक आइतबार पुनःबस्ने र अध्यक्ष दाहालले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको प्रवक्ता पम्फा भुसालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

धनुषा । प्रदेश नम्बर २ को नामाकरण र स्थायी राजधानीका लागि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले प्रदेशसभा

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न अनलाइन कक्षा चलाउन सूचना प्रविधि क्षेत्रको पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिइएको छ । सुशील कोइराला मेमोरियल

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक