त्रिदेशीय साझेदारीको रणनीतिबाट अगाडि बढ्नुपर्छ ः प्रम दाहाल

२५ भाद्र २०७३, शनिबार २३:११ मा प्रकाशित

काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल, भारत र चीनबीचको त्रिदेशीय साझेदारीको रणनीतिबाट मात्रै शान्ति, स्थिरता, विकास र राष्ट्रिय स्वाधिनतालाई अगाडि बढाउन सकिने बताउनुभएको छ ।

नेपाल इन्स्टिच्यूट अफ इन्टरनेसनल रिलेसन्सले आज यहाँ आयोजना गरेको ‘नेपाल भारत सम्बन्ध र प्रधानमन्त्रीको आसन्न भारत भ्रमण’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले मुलुकको आर्थिक समृद्धिका लागि विश्व राजनीतिमा शक्तिशाली दुई मुलुकको सम्बन्धलाई सन्तुलनमा राख्नुपर्ने धारणा राख्नुभयो ।

प्रधानमन्त्री दाहालले नेपाली जनताको परिवर्तन र समृद्धिको आकांक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि दुई देशबीचको सम्बन्धलाई सन्तुलित गर्नुपर्नेमा जोड दिनुभयो ।

ठूलो चुनौती र जोखिमका बीचबाट मुलुक जनयुद्ध, शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा र संविधानसभाबाट संविधान जारी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेताले नेतृत्व गर्ने हो, लकिरको फकिर हुने होइन, नेतृत्वले नेतृत्व गर्ने क्रममा जोखिम लिन्छ, त्यो छुट दिनुपर्छ । यदि जोखिम लिने छुट दिनुहुन्न भने नेता बनाउन सकिँदैन । पछिल्लो समय तराई र पहाडलाई एकताबद्ध गर्न नेताले नेतृत्व लिँदैछ, त्यसमा तपाइँहरुको सहयोग चाहिएको छ ।”

दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “नेपाल–भारत सम्बन्धमा दरार पैदा गर्दै जानेतिर होइन समस्या समाधान गर्नेतिर नेपालको हितमा अधिकतम कुटनीतिक र राजनीतिक पहल लिने आवश्यकतामा नेतृत्व गर्न खोजेको छु, यसमा सहयोग चाहिएको छ ।”

उहाँले भारत भ्रमणका समयमा नेपाली जनताको आधारभूत हित र सार्वभौमसत्ता र भौगोलिक अखण्डताको विपक्षमा कुनै पनि काम नहुने स्पष्ट पार्दै संविधान जारी भएपछि दुई देशबीचको सम्बन्धमा आएको तिक्तताका विषयमा छलफल गर्ने र अब आइन्दा त्यस्तो अवस्था आउन नदिने वातावरण बनाउने विश्वास दिलाउनुभयो ।

प्रधानमन्त्री दाहालले नेपाल–भारत सम्बन्धमा नयाँ आयाम र समझदारी पैदा गर्ने दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशको आन्तरिक नीतिले विदेश नीतिमा असर पार्ने भन्दै त्यसमा मुलुकका सबै शक्तिले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा सुझाव दिँदै पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाल भारतको सम्बन्ध नयाँ तरिकाबाट अगाडि बढाउने समय आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाल–भारत सम्बन्ध सन् १९६० को जस्तो होइन, सन् २०१६ को जस्तो हो, नेपाली जनताको भावनाअनुसार नै सम्बन्धलाई विकास गरिनुपर्छ ।”

नेत्री कोइरालाले भारतसँगको सम्बन्धमा कुनै खोट देखिए त्यसलाई वार्ताबाट समाधान गरिनुपर्नेमा जोड दिँदै भन्नुभयो, “नेपाली जनताको भावनालाई कुल्चेर होइन, राष्ट्र र मुलुकप्रति जिम्मेवार भएर सम्बन्धलाई मजबुत बनाउनुपर्छ ।”

नेकपा (माओवादी केन्द्र)का परराष्ट्र विभाग प्रमुख तथा पूर्व उपप्रधानमन्त्री तथा पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफूहरुले भारतसँग असल मित्रको सम्बन्ध बनाउन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाल भारत सम्बन्ध असल मैत्रीपूर्ण हुनुपर्छ, यो अनिवार्य कुरा हो, दुबै मुलुकलाई केन्द्रमा राखेर छलफल गर्नुपर्छ ।”

नेता श्रेष्ठले मुलुकको परराष्ट्र मामिलामा सबै राजनीतिक दलबीच न्युनतम सहमति आवश्यक भएको बताउँदै राजनीति र कुटनीतिलाई सहीरुपले अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल भारत प्रबुद्व समुहका संयोजक तथा पूर्व राजदूत भेषबहादुर थापाले मुलुकको परराष्ट्र नीति राष्ट्रिय सहमतिका आधारमा तय गर्नुपर्नेमा जोड दिँदै सोहीअनुसार दुई देशबीच छलफल हुनुपर्ने बताउनुभयो ।

सीमाविद् वुद्धिनारायण श्रेष्ठले नेपाल–भारतबीचको सीमालाई छाडा छाड्न नहुने सुझाव दिँदै त्यस विषयमा प्रधानमन्त्रीको भारत भ्रमणका अवसरमा छलफल हुनुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको