प्रचण्डको शिर किन अँध्यारो ?

बबिता बस्नेत
२१ श्रावण २०७३, शुक्रबार २२:०८ मा प्रकाशित

प्रधानमन्त्री केपी ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गरेपछि प्रधानमन्त्रीले आफूमाथि उठेका प्रश्नहरूको संसद्मा जवाफ दिइरहँदा माओवादी अध्यक्ष प्रचण्डको मुहारमा एकप्रकारको छटपटी देखियो । प्रमले जवाफ होइन प्रश्न गर्न थालेपछि अगाडिको पङ्क्तिमा बस्नुभएका उहाँको मुहारमा फुङ्ग उडेजस्तो, अपराधबोध भएजस्तो, कस्तोकस्तो फरकफरक भाव पैदा भएको देखियो । प्रधानमन्त्रीको सम्बोधन टेलिभिजनमा हेरिरहेकाहरूलाई प्रधानमन्त्रीका प्रश्न र भनाइहरूले जति छोयो त्योभन्दा बढी आश्चर्य नेता प्रचण्डमा देखिएको छटपटीले बनायो । उहाँले पानी खानुभएको देखिएन, तर उहाँको अप्ठ्यारो अवस्था हेर्दा कसैले एक ग्लास पानी दिए पनि हुन्थ्यो भन्ने प्रकारको थियो ।

आखिर त्यस दिन के भएको थियो प्रचण्डलाई ? प्रधानमन्त्रीले बोल्दै गर्दा उहाँमा त्यसप्रकारको छटपटाहट किन भयो ? धेरैको मनमा यो प्रश्न उठ्यो तर जवाफ खोजिएन । प्रधानमन्त्रीले बोली सकेर ड्यासबाट फ्लोरमा झरेपछि सबैभन्दा पहिला प्रचण्डसँगै हात मिलाउनुभयो । शायद त्यो हातमिलाई उहाँका लागि अनपेक्षित थियो । पहिला हात दिनुभयो अनि उठ्नुभयो । खासमा त्यस दिन प्रचण्डको मुहारमा जुन अवस्था देखियो त्यस्तो हुनुपर्नेचाहिँ पद छोड्दै गरेका प्रधानमन्त्रीको मुहारमा, तर ठीक उल्टो देखियो । भावी प्रधानमन्त्रीका रूपमा अगाडि रहेका प्रचण्ड असिनपसिन र ज्यादै अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहनुभएको थियो र राजीनामा गरेका प्रधानमन्त्रीचाहिँ शान्त र शालीन भावमा आफ्ना कुरा राखिरहनुभएको थियो । आउने र जाने प्रधानमन्त्री या कुनै पनि पदाधिकारीबीच यति धेरै ‘कन्ट्रयास्ट’ कमै देख्न पाइन्छ । प्राय: आउनेहरूमा एकप्रकारको उत्साह हुन्छ र जानेहरूमा अलि फरक अनुभूति । त्यो फरक अनुभूतिको ‘रिफ्लेक्सन’ कतिपयको मुहारमा झल्कन्छ र कतिको भने थाहा हँुदैन । अझ अविश्वासको प्रस्ताव नै राखेका प्रधानमन्त्री केपी शर्मा ओलीको मुहारमा त धेरै नै असन्तुष्टि देखिनुपर्ने हो, तर देखिएन । उहाँको मनमा असन्तुष्टिहरू पक्कै थिए होला, कति कुरा त उहाँले व्यक्त गर्नु नै भयो, तर ती असन्तुष्टिहरू उहाँको अनुहार र ‘बडिल्याङ्ग्वेज’मा देखिएन ।

यता भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिनुभएका प्रचण्डको मुहार र ‘बडिल्याङ्ग्वेज’ दुवै अस्वाभाविक देखियो । अनुहारमा कुनै चमक देखिएन अलग कुरा हो, तर ग्लानिभाव नै प्रकट भएझैँ किन भयो होला ? धेरै मानिसको मनमा यो प्रश्नले ठाउँ लियो । प्रधानमन्त्रीले आफ्नो भाषणमा प्रतिपक्षसँगभन्दा आफ्नाहरूसँगै धेरै चित्त दुखाउनुभएको थियो । शब्दहरू मार्मिक भए पनि उहाँको मुहारमा कुनै दु:खको भाव देखिएको थिएन । नेपाली काङ्ग्रेससङ्गको उहाँको भनाइ ठूला दलहरू मिलेर मुलुकका लागि केही गर्न सकिन्थ्यो, तर ठूला दलहरू मिल्नै हँुदैन भन्ने कसम नै खाएपछि के लाग्छ ? सिद्धान्त नै त्यस्तो बनाएपछि के लाग्छ ? हुन पनि जनताले दिएको म्यान्डेट हेर्ने हो भने नेपाली काङ्ग्रेस र एमालेलाई मिलेर मुलुक बनाऊ भन्ने हो । माओवादी त तेस्रो दल हो, जसको निर्णायक भूमिका जनताले खोजेका होइनन् या भनौँ निर्णायक भूमिका होस् भनेर जनताले चाहेका होइनन् । उक्त दिन प्रधामन्त्रीको सबैभन्दा चित्त दुखाइ माओवादी र आफ्नै पार्टीका नेताहरूसँग भएको देखियो । उहाँले भन्नुभो, ‘रूख हतियारले काटे पनि त्यसलाई सहारा दिने बिँड त काठकै हुन्छ ।’ काठलाई काट्न काठकै प्रयोग गरिन्छ । अर्थात् कम्युनिस्टहरूको सरकार ढाल्न कम्युनिस्टहरूलाई नै प्रयोग गरियो, त्यसमा पनि आफ्नै साथीहरू लागिपरे । यसो भन्दै गर्दा प्रधानमन्त्रीमा चिटचिटाहट या इगो कतै देखिएन ।

०६३ मा माओवादीहरू सार्वजनिक हुँदा प्रचण्डमा जुन चार्म थियो त्यो चार्म सकिएको त धेरै भयो । आफ्नै बोलीका कारण सस्तिँदै जाँदा मानिसले उहाँको विश्वास गर्न छोडेका हुन् । नत्र त त्यत्तिका मानिस मारे पनि, विगतमा जे–जे भएको भए पनि देश बनाउने सर्तमा उहाँको नेतृत्व स्वीकार गर्नका लागि जनताले मत मात्र दिएनन्, भरोसा पनि त्यत्तिकै गरेका हुन् । तर खै के–के भयो, राजनेता बन्नुहोला भनेर विश्वास गरिएका उहाँ आफ्नै पार्टीका लागि समेत गतिलो नेता बन्न सक्नुभएन जसका कारण पार्टी तीन चिरामा विभाजित भयो । आफ्नै साथीभाइले छोडे, कार्यकर्ताले जुत्तासमेत प्रहार गरे । सार्वजनिक हुँदा नायकका रूपमा ज्वाजल्यमान उहाँको उपस्थिति कालान्तरमा जगबिनाको घरझैँ हुन पुग्यो । उहाँसँग नेपाली जनताका अपेक्षा धेरै थिए, तर एउटा दूरगामी भिजन भएका नेताको रूपमा उहाँ स्थापित हुन सक्नुभएन । समय बित्दै जाँदा खुम्चिँदै जानुभएका उहाँले नसोचेको पद फेरि प्राप्त हुने स्थिति छ । उहाँ आफैँले इमानदार भएर भन्ने हो भने पुन: यति छिट्टै यस्तो अवस्थामा प्रधानमन्त्री हुन्छु भन्ने शायद प्रचण्ड आफँैले सोच्नुभएको थिएन । नसोचेका कुरा धेरै हुन्छन् जीवनमा, उहाँलाई त्यस्तो अवसर आयो, तर किन खुसी हुन सक्नुभएन ?

प्रधानमन्त्रीले राजीनामा दिएको दिन मात्रै होइन, त्यसपछिका दिनमा पनि नेता प्रचण्डको मुहारमा खुसी देखिएको छैन । नेताहरूसँगको छलफलमा होस् या अन्य सभा–समारोहमा उहाँ एकप्रकारले ‘डिमोरलाइज्ड’ देखिनुभएको छ । मुलुकको प्रधानमन्त्रीजस्तो पद प्राप्त हुँदै गर्दा त उहाँमा चमक देखिनुपर्ने हो, तर शिर ठाडो नै देखिएको छैन । मुहारमा एकप्रकारको तनाव छाएको देखिन्छ । अपराधबोध केही भए सुरुमै हुनुपर्ने थियो । आखिर जाबो सत्ताका लागि हामीले त्यति धेरै मान्छे मार्‍यौँ ? या त्यति धेरैको जिन्दगी उजाड बनायौँ ? भनेर ०६३ सालताका नै शिर निहुरिनुपर्ने थियो, तर त्यतिबेला त्यस्तो देखिएको थिएन । मुलुक बनाउन भनेरै चम्किला भाषणसहित हाँसीखुसी संविधानसभाको निर्वाचनमा होमिनुभएको थियो । त्यसपछिको उत्साह त झनै फरक थियो, यद्यपि त्यो उत्साह लामो समय टिक्न सकेन ।

तर, अहिले मुलुकको सबैभन्दा ठूलो प्रजातान्त्रिक दल नेपाली काङ्ग्रेसको साथ पाउँदापाउँदै पनि नेता प्रचण्ड किन खुसी देखिनुहुन्न ? उहाँको मुहारमा किन त्यति धेरै तनाव छाएको देखिन्छ ? समयक्रममा फुलेका उहाँका कपाल र बढ्दै गएका धार्साहरूसहितको मुहारमा किन परिपक्वताभन्दा बढी छटपटी देखिएको छ ? विगतमा जस्तो व्यवहार भएको भए पनि नेपाली जनताले एकपल्ट नेताको रूपमा स्वीकारिसकेका कारण सर्वसाधारणको मनमा यो प्रश्न उब्जिएको छ । जे–जे भएको भए पनि उहाँको यो छटपटी भोलि मुलुकप्रतिको इमानदारीमा परिणत होस् भन्ने अपेक्षा गरिएको छ । व्यक्तिगत रूपमा धोखाधडीका कथा धेरै होलान्, तर यो मुलुकले धोखा नपाओस् भन्ने अपेक्षा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक