हात्तीको तनाव र नेपाली बगैँचा

देवप्रकाश त्रिपाठी
१५ असार २०७३, बुधबार २१:१३ मा प्रकाशित

हात्ती र गैंडाजस्ता विशालकाय जनावरहरू रातको समयमा जङ्गलबाट निस्केर आफ्ना बाली–नाली नष्ट गर्न थालेपछि हैरान भएका चितवनका किसान भन्ने गर्थे– ‘गैंडा जुध्दा पनि हाम्रो बाली नाश, गैंडाले प्रीति गर्दा पनि हाम्रै बाली नाश ।’ यसैलाई आधार बनाएर एउटा युक्तिको जन्म भयो, ‘हात्ती आपसमा लड्दा पनि बगैँचा माडिन्छ र हात्तीले प्रीति लगाउँदा पनि बगैँचाकै नाश हुन्छ ।’ चितवनमा उत्पत्ति भएको यही युक्ति भारत, नेपाल र चीनबीचको सम्बन्धमा पनि लागू हुने कतिपय नेपालीको ठम्याइ छ । उनीहरूको विचारमा चीन र भारतबीच वैरभाव हुँदा पनि नेपाललाई अप्ठ्यारो पर्छ र यी दुई मुलुकबीच माधुर्य बढ्दा नेपालले परिपक्व कूटनीतिक व्यवहार प्रस्तुत गर्न सकेन भने त्यसबाट पनि नेपाललाई नै सकस हुन्छ । दुई ठूला छिमेकीबीच मैत्रीपूर्ण सम्बन्ध कायम हुनुहुँदैन भन्ने सोच नेपालीले बनाउन सक्दैनन् र कूटनीतिक तहमा नेपालले बनाउने नीति र कार्यक्रम पनि भारत र चीनबीच मैत्रीभाव पैदा गर्नेबाहेक अर्को प्रकारको हुन सक्दैन । तर, पछिल्लो समय विश्व राजनीतिमा देखापरेको परिवर्तनका सङ्केत र भारत तथा चीनबीचको सम्बन्धमा उत्पन्न असहजताले नेपाललाई थप गम्भीर बन्नुपर्ने सङ्केत दिइरहेको छ ।

भारत र चीनबीचको सम्बन्धमा गतिरोध पैदा हुँदा नेपालले समन्वयकारी भूमिका निर्वाह गरेको इतिहास यसअघि रचना हुन सकेको छैन र दुई मुलुकबीच तनाव बढाउने ‘सामथ्र्य’ पनि नेपाल राख्दैन । भारतमा ब्रिटिसहरूको प्रवेश र उनीहरू भारतको शासनसत्तामा निर्णायक बन्दै गरेको अवस्थामा नेपालको उत्तरी छिमेक तिब्बत चीनबाट भिन्न अङ्ग थियो । तिब्बत स्वतन्त्र देशका रूपमा रहँदा नेपालको व्यापार तिब्बतसँग बढी मात्रामा हुने गर्दथ्यो र झमेला पनि दक्षिणीभन्दा उत्तरी सीमाबाट नै नेपालले व्यहोर्नुपर्दथ्यो । लिच्छविकालमा अंशुवर्माले सुपुत्री भृकुटी तिब्बती राजा स्रङ्चङ्गम्पोलाई सुम्पिएर सुरक्षित हुन खोज्नु र वि.सं. १९११ मा श्री ३ जङ्गबहादुर राणाले तिब्बतसँग युद्ध गर्नुपर्ने परिस्थिति उत्पन्न हुनुसम्मको घटनाक्रमका सूक्ष्म अध्ययन गर्दा कुनै पनि मुलुकको आर्थिक तथा बहुआयामिक गतिविधि जोसँग ज्यादा रहन्छ त्यसैसँग तनाव या असमझदारी पैदा हुनसक्ने सम्भावना पनि बढी हुन्छ भन्ने दर्शाउँछ । व्यापारको निहुँमा भारत प्रवेश गरेका ब्रिटिसको हातमा भारतको शासनसत्ता पुगेसँगै नेपाल र भारतबीच तनाव पैदा हुन थालेको हो । ब्रिटिस शासनकालमा भारत एकीकृत हुँदै गएको र चीनसँग तिब्बती निर्भरता बढ्दै गएको परिप्ेरक्ष्यमा नेपालले आफ्नो रक्षाका निम्ति अलिक बढी नै संवेदनशील हुनुपरेको तथ्य इतिहाससिद्ध छ ।

दक्षिणतर्फ विभिन्न आकारप्रकारका राज्यहरू विलोप भई भारत एउटा समृद्ध एवम् सुगठित सङ्घ (राज्य) बनेको र उत्तरतर्फ तिब्बती सार्वभौमिकता चीनमा विलय भएका कारण नेपालले दुई भीमकाय शक्तिराष्ट्र्रलाई आफ्नो छिमेकीको रूपमा पाएको हो । दुवै छिमेकीले नेपालबाट सुरक्षा चुनौती महसुस नगरेको र दुवैलाई विश्वासमा लिन सकेको अवस्थामा मात्र नेपालको अस्तित्व सुरक्षित रहनेमा शङ्का गर्नुपर्दैन । नेपालमा बेलाबखत पैदा भएका दूरदर्शी नेताहरूले दुवैतर्फका छिमेकीहरूको विश्वास लिएर आफ्नो सार्वभौमिकता सुदृढ तुल्याउने कार्य गरेका थिए, तर अधिकांश अदूरदर्शी र अक्षम नेताहरूले उत्तरको हात्ती देखाएर दक्षिण तर्साउने र ‘दक्षिण’ देखाएर उत्तरसँग लाभ हासिल गर्ने नीति लिए । यो शताब्दीको दुईतिहाइ कालखण्डमा अधिकांश नेपाली नेतृत्वले उत्तर देखाएर दक्षिणलाई तर्साउन खोजेको महसुस भारतीय पक्षले गरेको छ भने त्यो पूर्णत: गलत होइन । शताब्दीयौँदेखि सामाजिक, धार्मिक र आर्थिक निर्भरता रहँदै आएको नेपालले समय–समयमा दक्षिणतर्फ आफ्नो राजनीतिक निर्भरता रहेको सङ्केत र सन्देशसमेत दिने गर्दछ । वि.सं. २००७ सालदेखि २०१७ र २०६२ देखि हालसम्मका राजनीतिक घटनाक्रमले नेपाल राजनीतिक रूपले पनि भारतप्रति आश्रित भएको पुष्टि गर्दछ ।

राजनीतिक आश्रयको निरन्तरताकाबीच सार्वभौमिक स्वतन्त्रताको रक्षा र विकास असम्भवप्राय: छ । पछिल्लो एक दशकभित्र नेपाल र भारतबीचको सम्बन्धलाई राजनीतिकर्मीहरूले निजीकरण गर्दै लगेको महसुस हुन्छ । यो समयका नेपाली राजनीतिकर्मीहरूले आफूसँगको सम्बन्धका आधारमा भारतलाई मित्र या भिन्न रूपमा बुझ्ने गरेका छन् । भारतीय शक्तिकेन्द्रहरूसँग आफ्नो निजी सम्बन्ध मजबुत भएको अनुभूति गर्दा भारतलाई मित्र ठान्ने र ऊसँग मित्रवत् व्यवहार गर्ने, भारतमा आफ्नो पहुँच कमजोर हुँदाचाहिँ भारतसँग नेपालकै सम्बन्ध बिग्रिएको ठान्ने प्रवृत्ति नेपाली राजनीतिक वृत्तमा बलवान् छ । अनि भारततिरबाट आफूलाई नेपाली सत्ताको मालिक बनाउन सहयोग पुगेको अवस्थामा आफ्नो सम्बन्ध बलियो ठान्ने र नेपाली राजनीतिको उतार–चढावमा भारत निरपेक्ष रहँदाचाहिँ भारतसँगको सम्बन्ध कमजोर या अमैत्रीपूर्ण रहेको ठान्ने प्रवृत्ति पनि नेपाली राजनीतिमा छ । भारत देशलाई विश्वासमा लिँदै नेपाल देशको हित गर्ने सोच राजा ज्ञानेन्द्र, वीरेन्द्र र महेन्द्रमा कति थियो त्यो अध्ययन, छलफल या बहसको विषय हुनसक्छ । होइन भने श्री ३ जंगबहादुर राणापछिका अधिकांश नेपाली शासकले भारतसँगको सम्बन्धलाई निजी स्वार्थको तहमा सीमित गरेका छन् । यसमा कृष्णप्रसाद भट्टराई अपवाद हुन सक्छन् ।

नेपाल ‘उत्तर कोरिया’ बन्न असम्भव छ र भुटान बन्न पनि मुस्किल छ । भारतले नेपाललाई भुटान वा सोहीस्तरको सम्बन्धमा राख्न चाहेको छ भन्न प्रमाण पुग्दैन । विशाल भारत कम्तीमा नेपाली सीमापट्टि सुरक्षित र विश्वस्त हुन चाहेको छ भने त्यसलाई अस्वाभाविक रूपमा बुझ्नु नपर्ने पनि हो । तर, हामी भारतको हरेक ‘मूभ’लाई शङ्काका दृष्टिले हेर्छौं र हस्तक्षेपका रूपमा व्याख्या गर्ने गर्छौं । नेपाली राजनीति र राज्यसत्तामा वामपन्थी कम्युनिस्टहरू हाबी भएपछिको डेढ वर्षयता नेपालमा उत्तर ढल्किने अभ्यास भइरहेको सहजै बुझ्न सकिन्छ । यसरी उत्तरतर्फ ढल्किन खोज्दा वामपन्थी कम्युनिस्ट तथा अन्य कतिपयले क्षणिक न्यानोपन महसुस गरेका पनि हुन सक्छन् । तर, यो कोल्टेफेराइको मूल्य दीर्घकालिक रूपमा कसरी चुकाउनुपर्ने हुनसक्छ भन्नेबारे वाम राजनीतिक वृत्तले विश्लेषण गर्न सकेजस्तो लाग्दैन । भारत र चीनबीच सुमधुर सम्बन्ध विकसित हुँदा पनि जोगिनुपर्ने यो बगैँचा दुर्भाग्यवश उनीहरूबीच तनाव बढेका अवस्थामा पनि जोगाउने हैसियत नेपाली राजनीतिकर्मीमा हुनुपर्ने हो । नेपाली राजनीतिकर्मीहरूको अपरिपक्व एवम् आत्मकेन्द्रित सोच–व्यवहारका कारण भारत र चीनबीच सम्बन्धको तह मित्रवत् या अमैत्रीपूर्ण जस्तोसुकै भए पनि ‘बगैँचा मडारिने’ सम्भावना बढेको छ । दुवै शक्तिको विश्वास, सम्मान र प्रेम प्राप्त गर्नुपर्ने नेपाललाई दुवै थरीले अविश्वास गर्ने परिस्थिति यतिबेला निर्माण भएको छ ।

पछिल्लो एक दशकभित्र नेपाल र भारतबीचको सम्बन्धलाई राजनीतिकर्मीहरूले निजीकरण गर्दै लगेको महसुस हुन्छ । यो समयका नेपाली राजनीतिकर्मीहरूले आफूसँगको सम्बन्धका आधारमा भारतलाई मित्र या भिन्न रूपमा बुझ्ने गरेका छन् । भारतीय शक्तिकेन्द्रहरूसँग आफ्नो निजी सम्बन्ध मजबुत भएको अनुभूति गर्दा भारतलाई मित्र ठान्ने र ऊसँग मित्रवत् व्यवहार गर्ने, भारतमा आफ्नो पहुँच कमजोर हुँदाचाहिँ भारतसँग नेपालकै सम्बन्ध बिग्रिएको ठान्ने प्रवृत्ति नेपाली राजनीतिक वृत्तमा बलवान् छ ।
०००
भारत र चीनबीचको सम्बन्धमा असहजताका सङ्केतहरू देखिएका बेला नेपालका राजनीतिकर्मीहरू चीनतर्फ ढल्किन खोज्दा त्यसले भारतीय मनोविज्ञानमा कस्तो प्रभाव पार्न सक्छ र कालान्तरमा उसले कसरी प्रतिक्रिया जनाउन सक्छ भन्नेतर्फ नेपाली राजनीतिकर्मीहरू असंवेदनशील छन् ।

अर्बौं डलरबराबरको व्यापारिक कारोबार रहेको भारत र चीनबीचको सम्बन्धमा पछिल्लो समय न्यानोपन ह्रासोन्मुख हुँदै गएको छ । जम्मु, कास्मिर र अरुणाचल क्षेत्रमा दशकौँअघि उत्पन्न सीमा–विवादले भारत–चीन सम्बन्धलाई विश्वासपूर्ण बन्न अड्चन पैदा गरिरहेको पृष्ठभूमिमा चीनको पछिल्लो व्यवहार भारतलाई दबाबमा राख्ने नियत या उद्देश्यबाट प्रेरित देखिन्छ । संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्य बन्न भारतले गरेको प्रयासमा चीनको भूमिका नकारात्मक हुनु, भारतले परमाणु आपूर्तिकर्ता समूह (एनएसजी)को सदस्य बन्न गरेको भगीरथ प्रयत्नप्रति पनि चीन सकारात्मक नहुनु र केही साताअघि मात्र भारतका राष्ट्र्रपति प्रणव मुखर्जी चीन भ्रमणमा रहनुहँुदा चीनका राष्ट्र्रपति सी जिनपिङले चीनसँगको सम्बन्धमा भारत स्पष्ट हुनुपर्ने भनी एकप्रकारले चेतावनीपूर्ण भाषा बोल्नुले भारत र चीनबीच उत्पन्न तनावको स्तर सङ्केत गर्दछ ।

माओत्सेतुङ नेतृत्वको चीन र तात्कालिक सोभियत सङ्घ (हालका रसिया)बीच सम्बन्ध कमजोर हुँदा पनि रसियाले भारतसँग मैत्रीपूर्ण सम्बन्ध बनाएको थियो । लेनिनका परराष्ट्र्रमन्त्रीले सन् १९२३ मा ‘भारतको साथ जसलाई हुन्छ उसले पूरै एसियामा आफ्नो पकड कायम गर्न सक्छ’ भनी दिएको अभिव्यक्तिको प्रभाव हो या चीनसँगको सम्बन्धमा दरार पैदा भएकोले हो तात्कालिक सोभियत सङ्घले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दियो । रसियासँगको शान्ति तथा मैत्री सन्धिले भारत–रसिया सम्बन्धलाई निकै कसिलो बनाएको थियो । । तर, चीन र भारतले आर्थिक क्षेत्रमा उपलब्धि हासिल गरेसँगै विश्वशक्ति सन्तुलनमा उत्पन्न परिवर्तनले रसिया र चीनबीच निकटता बढाउन सहयोग पुर्‍याएको देखिँदै छ । भारतलाई प्रतिकूल प्रभाव पर्ने कैयन मुद्दामा चीन र रसियाबीच समान दृष्टिकोण बनेपछि भारत र अमेरिका पनि आपसमा नजिकिएका छन् । चिनियाँ राष्ट्र्रपतिले चीनसँगको सम्बन्धमा भारत स्पष्ट हुनुपर्ने भनी टिप्पणी गर्नुको मूल कारण भारत–अमेरिका निकटतालाई लिएर हो भन्ने स्पष्ट रूपमा बुझ्न सकिन्छ । भारत र चीनबीचको सम्बन्धमा असहजताका सङ्केतहरू देखिएका बेला नेपालका राजनीतिकर्मीहरू चीनतर्फ ढल्किन खोज्दा त्यसले भारतीय मनोविज्ञानमा कस्तो प्रभाव पार्न सक्छ र कालान्तरमा उसले कसरी प्रतिक्रिया जनाउन सक्छ भन्नेतर्फ नेपाली राजनीतिकर्मीहरू असंवेदनशील छन् । यसले बगैँचा मडारिने सङ्केत देखाएको छ, तर खड्गप्रसादलगायत नेपालका वामपन्थी र अति दक्षिणपन्थीहरू यसैलाई ‘राष्ट्र्रवादी दृष्टिकोणअनुरूपको व्यवहार’ ठान्ने भूल गर्दै छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले