पुनःनिर्माण प्राधिकरणमा काँग्रेसको २२ बुँदे असन्तुष्टि

१० असार २०७३, शुक्रबार २०:५५ मा प्रकाशित

काठमाडौँ, १० असार । नेपाली काँग्रेसले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको बैठकमा पुनःनिर्माणमा राजनीति र ढिलासुस्ती भएको भन्दै २२ बुँदे असन्तुष्टि पेस गरेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकमा काँग्रेसको तर्फबाट सहभागी हुनुभएका नेता प्रकाशमान सिंहले सो असन्तुष्टि पेस गर्नुभएको हो ।

काँग्रेसले पुनःनिर्माणलाई गति दिनभन्दा शब्दमा मिठास थपेर अवास्तविक आकाङ्क्षाको सूची जनतामा पस्कन सरकार व्यस्त भएको आरोप लगाएको छ ।

त्यस्तै सो पार्टीले प्राधिकरणले अहिले प्रयोग गरेको सात कार्यविधि र १७ प्रकारका घरको नक्सा सुशील कोइराला नेतृत्वको सरकारले गत वर्ष नै तयार गरिसकेकाले प्रभावित जिल्लामा पठाउन ढिला भएको जनाएको छ ।

नेकपा (एमाले)ले आफू निकटका गैरसरकारी संस्थालाई काम दिन अव्यावहारिक र लामो प्रक्रियाबाट अनुदान दिँदा अहिलेसम्म पाँच हजारले मात्र पहिलो किस्ताको अनुदान पाएको काँग्रेसको भनाइ छ ।

एक लाख ५१ हजारसँग अनुदान सम्झौता

प्राधिकरणले एक लाख ५१ हजार १६४ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले समितिको आजको बैठकमा अहिलेसम्मको प्रगति र आगामी चौमासिक लक्ष्य प्रस्तुत गर्दै यो जानकारी गराउनुभएको हो ।

एक लाख ७१ हजार ६७७ घरधनीलाई पहिलो किस्ताको अनुदान रकम बैंकमार्फत वितरण गर्न क्षेत्रगत विभाजन गरी बैंकका शाखा तोकिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिनुभयो ।

“आवश्यकताअनुसार जिल्ला तहमा छलफल र समन्वय गरी परिष्कृत गर्न सक्ने व्यवस्था मिलाइएको छ, बाँकीका लागि क्षेत्रगत विभाजन गरी बैंकको शाखा तोकेर एकहप्ताभित्र प्रतिवेदन प्राधिकरणको केन्द्रीय कार्यालयमा पठाउन जिल्ला समन्वय उपसमितिलाई निर्देशन दिइएको छ” – उहाँले भन्नुभयो ।

अनुदान रकम वितरणका लागि प्राधिकरण, नेपाल बैंकर्स एसोसिएसन, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल एवम् नेपाल फाइनान्सियल इन्स्टिच्युसन्स एसोसिएसनबीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । समझदारी पत्रअनुसार प्राधिकरण, ‘क’, ‘ख’ र ‘ग’ वर्गमा परेका ५९ वटा बैंक तथा वित्तीय संस्थासँग सम्झौता पनि भइसकेको निर्देशक ज्ञवालीले बैठकमा जानकारी गराउनुभयो ।

समितिको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली संसद् बैठकमा जानुपर्ने भएकाले बेलुकी ५ बजेसम्मका लागि बैठक स्थगित गरिएको प्राधिकरणले जनाएको छ ।

शुक्रबारसम्म पाँच हजार ८४१ घरधनीकोे पहिलो किस्ताबापत रु २४ करोड ५९ लाख ५० हजार अनुदान रकम बैंक खातामा जम्मा भइसकेको छ ।

दोलखा, रामेछाप, सिन्धुपाल्चोक, गोर्खालगायतका जिल्लामा करिब पाँच हजार घर पुनःनिर्माणको थालनी भएको जानकारी जिल्ला समन्वय कार्यालयबाट प्राप्त भएको प्राधिकरणले जनाएको छ । भूकम्प प्रतिरोधी घर बनाइसकेका घरधनीलाई प्राविधिक जाँच गरी अनुदान उपलब्ध गराउने निर्णय भएको प्रवक्ता थपलियाले बताउनुभयो ।

निजी आवास पुनःनिर्माणका लागि गत वैशाख १७ गते सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत रु १२ अर्ब ४४ करोड ६८ हजार निकासा भइसकेको छ । आवश्यकताअनुसार क्रमशः थप रकम निकासा गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युतीय प्रणालीबाट पठाएको सूचनाका आधारमा व्यक्तिको बैंकमा उपस्थितिबिना नै सम्बद्ध लाभग्राहीको नाममा एकमुष्ट खाता खोल्ने व्यवस्था मिलाएको छ । लाभग्राही घरधनीले सम्झौता फाराम र नागरिकता लिई बैंकमा गएपछि अनुदान रकम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बोलाइएको हो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका

काठमाडौं । सरकारले कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएकाहरुलाई आजदेखि दोस्रो मात्रा खोप दिन सुरु गरेको छ । पहिलो चरणमा

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय