२२ असार २०६९, शुक्रबार १२:०७ मा प्रकाशित

ड्रग्सले बगाएको आंसु र मिडियाको भूमिका
वसन्तराज कुंवर
एउटी आमा विदेशमा भएको श्रीमान्लाई छोडी नेपालमा बसेर छोरालाई प्लस टू पास गराउन सक्रिय रहिन् । ती आमाको धुन भनेको केवल प्लस टू पास गराई बाबु बसेकै देशमा छोरा लिएर जाने मात्रै नै थियो । उनले आफ्नोतर्फबाट दिनुपर्ने सल्लाह, माया, मद्धत दिंदै आइन् । छोरा अहिले कलेज जान थालेको थियो । तर, कक्षा आठ पढ्दा ऊ जति स्वस्थ, अनुशासित आमाबाबुसंग कुरा गर्न चाहने स्वभावको थियो अहिले क्रमशः त्यो व्यवहार देखिएको थिएन । आमाले त्यो बदलिंदो व्यवहारको कारण ड्रग्स होला भन्ने अनुमान गर्ने कुरै थिएन । हेर्दाहेर्दै छोराले डरलाग्दो आकारमा कपाल पाल्न थालेछन्, पैसा पनि बढीबढी माग्न थालेछन्, एक्लै–एक्लै बस्ने र मागेअनुसार पैसा नपाए झैझगडा गर्ने व्यवहार पनि देखाउन थालेछन् । सायद कलेज पढ्ने भएपछि यस्तै हुने होला भन्ने सोचाइ राख्दै ती सोझी आमाले छोराका हरेक माग पूरा गर्दै गइछिन् । तर, कलेजको जांचमा जब ऊ ज्यादै नराम्रोसंग धेरै विषयमा फेल भएछ । त्यस कुराले भने आमाको मन निकै दुःखित बनेछ ।
छोरा दुब्लाउंदै गएको, राति अबेरसम्म नसुत्ने, बिहान अबेरसम्म नउठ्ने भएको, पढाइमा फेल हुन थालेको र व्यवहारमा पूरै परिवर्तन आएको देख्न थालेपछि आमालाई त्यसको कारण छोरालाई कसैको कुदृष्टि परेछ कि भन्ने परेछ र उनले मन्दिरहरूमा भाकल गरी पूजापाठ गर्नुको साथै अक्षता छुवाएर फाल्ने काम गरिछिन् । जति अक्षता फाले पनि कुरो अर्कै थियो । जुन कुरा उनले बुझ्न सकेकी थिइनन् । उता विदेशका बाबुले भने सधैं छोराको पढाइ नेपालमा यो महिनामा सकिन्छ र यो महिनादेखि विदेशमा ल्याउने कागजपत्र तयार गर्न सुरु गरौंला भनी योजना बुनिरहेका थिए ।
एक दिन अबेर रातिसम्म पनि छोराको कोठामा बत्ती जलिरहेको देखेर आमाले उनको ढोका खोल्दा छोरा निदाइरहेझैं देखिएको तर वरिपरि सुईको सिरिन्ज तथा भर्खरै सुई दिएको फुटाएको औषधिको सिसी पनि देखिछिन् । आफ्नै आंखाले त्यो दृश्य देखेपछि भने ती आमाको सातो गएछ । एकछिनसम्म उनले निदाइरहेको छोरालाई हेरेपछि दुवै आंखाबाट बलिद्र धारा आंशु बगाउंदै ह्वां–ह्वां गरेर रुन थालिछिन् । सुनसान रातमा उनको रुवाई सुन्ने त्यहां अरू कोही थिएनन् ।
ड्रग्स खानेले सुई लाउंछन् भन्नेसम्म आमालाई ज्ञान रहेछ, त्यसैले छोराले ड्रग्स लिन थालेछ भन्ने कुराचाहिं आमालाई परेछ । तर, अब के गर्नुपर्छ भन्नेचाहिं उनलाई थाहा थिएन । त्यस रात छोराको कोठामा निकैबेर रोएर उनले ती सुईहरू बटुली आफ्नो कोठामा ल्याएर लुकाइछिन् र बेलाबेलामा कतै छोरा मरेको त छैन भनेर जांच गर्न पटकपटक त्यो कोठामा छिरिछिन् ।
रातभर एकपल पनि नसुती बितेछ । बिहान उठेपछि छोरालाई धेरै कुरा सोध्ने उनको विचार थियो । तर, छोरा बिहान उठेर नबोली राम्रोसंग तयार नै नभई कलेज जान भनेर निस्कन लागेछ । आमाले उसलाई रोकी ‘के तैंले ड्रग्स लिन्छस् हो ?’ भनी सोधिछिन् । उसले होइन भनी जवाफ दिएछ । आमाले मैले ‘सुई पाएं नि त तेरो कोठामा’ भन्नेबित्तिकै त्यो छोराले रौद्र रूप धारण गरी ‘मैले जेसुकै गरौं तिमीलाई के मतलब’ भन्दै आमालाई दुवै हातले समाएर जोडसंग फालिदिएछ । आमा यो अप्रत्यासित बल प्रयोगले ढोकामा उछिट्टिएर लडिछिन् । उनको निधारमा चोट लागेछ । छोराले आक्रामक ढङ्गमा निस्कदानिस्कदै औलो ठड्याएर भनेछ, ‘याद गर्नु मलाई प्रश्न नगर्नु, नत्र म तिमीलाई मारिदिन पनि सक्छु ।’
आमा जुन स्थानमा गल्र्यामगुर्लुम लडेकी थिइन् त्यही ठाउंमा धेरै बेर रोइरहिन् । त्यस दिनपछि त्यो छोरासंग उनलाई अज्ञात डरले सताउन थालेछ । उनले श्रीमान्लाई यो सूचना तत्कालै दिने विचार गरिछिन् तर यसो गर्दा उनले तैंले आमा भएर किन हेरिनस् ? भन्न सक्ने वा त्यहां चिन्ताले विदेशमा भएको पतिलाई दुःखित बनाउन सक्ने ठानी उनले त्यो कुरा श्रीमान्लाई नबताउने निर्णय गरिछिन् ।
जब छोरा ड्रग्स लिन सुरु गरेको कुरा उनले प्रमाणसहित थाहा पाइन् त्यसपछि एक दिन छोराका अगाडि खुब रोइछिन् । छोराले पनि ड्रग्स नखाने प्रण गरेछ । उनी केहीबेर खुसी पनि भइछिन् तर राति आउंदा छोरा फेरि नसामै थियो । केवल आमा–छोरा मात्र भएको त्यो घरमा आमा त्यो समस्याबारे अरूले थाहा नपाओस् भन्ने कुरामा पनि सतर्क भइछिन् । जसले गर्दा त्यो समस्यामा अरू कसैले सहयोग गर्ने पनि सम्भावना थिएन ।
आमाले त्यो छोरालाई ड्रग्स छुटाउन एक दिन एक झापड लगाइछिन्, बदलामा छोराले झन्डै १० मिनेट आमालाई हात्तले, लातले कुट्दै थिलथिलो अवस्थामा पु¥याई ‘आजबाट यो घर छोडेर जानु’ भनी आदेश पनि दिएछ । उसले भनेछ, ‘यदि म रातमा फर्कंदा तिमीलाई यहां भेटें भने मारिदिन्छु ।’
छोरा गएपछि आमा घन्टौंसम्म एक्लोघरमा डांको छोडी रोइरहिन् । रात पर्नुअघि नै सकिनसकी छोरालाई खाना पकाई भान्सामा राखिदिइछिन् र आफ्नो ज्यान जोगाउन कहां जाऊं भनेर सोच्न थालिछिन् । नजिकै छिमेकीमा एक महिला रहिछिन् । उनले रातमा त्यहीं गएर शरण लिने सोच राखिछिन् । सांझपख अनुहारभरि नीलडाम, आंखाभरि आंसु बोकेर आएकी छिमेकीको सम्पूर्ण कथा सुनेपछि उनले ती आमालाई बैठकमा सुत्ने व्यवस्था मिलाइदिइछिन् ।
दिनहरू बित्दै गए । त्यो घरमा आतङ्क झन्झन् बढ्दै गएछ । ती आमाले खाना खानसमेत छोडिछिन् र छोरा देख्नेबित्तिकै थरथर काम्न थालिछिन् । उनी समयसमयमा डरले बेहोस पनि हुन थालिछिन् । सांझमा जबजब छोराले आतङ्क मच्चाउंथ्यो तबतब ती आमा ज्यान जोगाउन छिमेकीकहां पुग्न थालिछिन् ।
एक रात छिमेकीकहां शरण लिन जांदा त्यहां एक रेडियो स्टेसनबाट पङ्क्तिकारले दिएको ड्रग्ससम्बन्धी अन्तर्वार्ता बजिरहेको रहेछ । नार्कोनन नेपालका तर्फबाट मैले दिएको अन्तर्वार्ताले ती आमाको धेरै प्रश्नहरूको जवाफ पनि समेटेछ । उनी नार्कोननमा मद्दत माग्न आउन चाहे पनि त्यहां गएको थाहा पाए छोराले काट्छ भन्ने डरले निकै दिन नार्कोनन आउने हिम्मत जुटाइनछिन् । छिमेकी महिलाले बारबार कर गर्दा पनि उनी डराइनै रहिछिन् । तर एक दिन पैसा नदिएको झोंकमा छोराले आमालाई कसेर मुक्का प्रहार गरेपछि भने उनले ज्यान जोगाउन उपायस्वरूप नार्कोनन नेपाल आउने हिम्मत गरिछिन् ।
जब छिमेकीको साथमा ती आमा नार्कोनन नेपाल आएकी थिइन्, मलाई अझै पनि सम्झना छ उनी भुइंमा बसिन् । मेचमा बस्दा छोराले देख्ला कि भन्ने उनलाई डर थियो । उनी मानसिक रूपले यति धेरै विचलित भइसकेकी थिइन् कि जताततै उनले आफ्नो छोरा देख्ने गर्दथिन् । उनी हरबखत थरर्र कांपिरहेकी हुन्थिन् । ती आमाको हालत देख्नेबित्तिकै उनको एक सिग्नेचर लिएर एक घन्टाभित्रै त्यो छोरालाई मैले नार्कोनन ल्याएं । आमा त्यहीं हुंदा नै छोरा नार्कोनन ल्याइसकेको कुरा ती आमालाई नै थाहा थिएन ।
त्यस दिनबाट छोराको उपचार प्रक्रिया सुरु भयो । वास्तवमै छोरा असल रहेछन् । हेर्दाहेर्दै उनी ठीक भए । नार्कोननकै मद्धतले प्लस टू पास गरे र बाबु भएको स्थानमा पढ्न गए । आज पनि ती आमाले मलाई विदेशबाट फोन गरी आभार व्यक्त गर्नुहुन्छ र म भने उक्त ‘एफएम’लाई आभार व्यक्त गर्दछु जसले ड्रग्ससम्बन्धी सूचना उनको कानमा पु¥यायो ।
हामी अन्तर्राष्ट्रिय ड्रग्स डे मनाउंदै छौं । प्रहरी तथा नार्कोनन नेपालले देशव्यापी रूपमै ड्रग्सविरुद्ध अभियान चालिरहेको छ तर पनि आज हज्जारौं–लाखौं आमाबाबु यसैगरी आफ्नै घरमा आफ्नै सन्तानसंग असुरक्षित भएर बसेका छन् । तिनीहरूले आफूलाई असुरक्षित महसुस गरी एक्लैएक्लै ठानिरहेका छन् । तिनलाई सहयोग गर्न सक्ने ठाउं छ तर तिनलाई थाहा छैन । ती गुमनाम रूपमा डराई–डराई बसेका परिवारलाई मन्त्री–प्रधानमन्त्रीका उद्घाटन, समापन वा भाषणले मात्र सहयोग पु¥याउन सक्दैन । तिनलाई ड्रग्ससम्बन्धी सूचना दिन जरुरी छ । त्यो सूचना पु¥याउन सशक्त माध्यम भनेको मिडिया नै हो । ती महिलाको जीवनमा एफएमले अभूतपूर्व खुसी ल्यायो । आज ड्रग्सविरुद्धको लडाइंमा इलेक्ट्रोनिक, प्रिन्ट र रेडियो मिडियाहरू सबैभन्दा सशक्त माध्यम हुन सक्छन् । मिडियाको सानो सूचनाले पनि कसैको जिन्दगी जोगिन सक्छ, कसैको घर आंसुको तलाउ बन्नुबाट रोकिन सक्छ । म मिडियाकर्मी समस्तजनमा आ–आफ्नोतर्फबाट नार्कोनन नेपाल र नेपाल प्रहरीले दुव्र्यसनविरुद्ध देशव्यापी रूपमा चलाएको अभियानमा साथ दिन अनुरोध गर्दछु ।
तपाईं मिडियाहरूले कसैको ज्यान बचाउन सक्नुहुन्छ । त्यो कुरा तपाईंहरूलाई थाहा नहोला तर ती आमाले राम्ररी बुझेकी छिन् । जो छोराको कुटाइबाट बच्न छिमेकीकहां आश्रय लिन गएकी थिइन् र एउटा एफएम रेडियोको सूचनाले उनको जीवनमा खुसी नै खुसी ल्याइदियो । देशलाई दुव्र्यसनमुक्त बनाउन सबैभन्दा ठूलो भूमिका मिडियाकै हुन सक्छ । अर्थात् धेरै पीडित परिवारजनको आंसु रोक्न सक्छ मिडियाले भन्ने लाग्न थालेको छ मलाई आजकाल ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोरोना भाइरसको प्रकोपसँग लोकप्रिय बनेको भर्चुअल मिटिङले बेलाबेलामा धेरैलाई हैरान बनाउने गरेको छ । विशेष गरेर मिटिङमा देखिने क्रियाकलाप विवादित

अष्ट्रेलियाका दुई जुम्ल्याहा दिदीबहिनी एना र लुसी हरेक क्रियाकलाप एकैसाथ गर्ने गर्दछन् । उनीहरु बीच दुई ज्यान एक प्राण भने

गरीबीका कारण अनलाइन कक्षा लिन नसकेका विद्यार्थीहरुका लागि भारतमा एक शिक्षकले विद्यार्थीहरुका लागि आफ्नो स्कूटरमै लाइब्रेरी बनाएका छन् । विद्यार्थीलाई

सामान्यतया विवाहको मुख्य आकर्षण बेहुला र बेहुली हुने गर्छन् । तर, अमेरिकाको एक विवाहमा भने उनीहरूको छोरी मुख्य आकर्षणको केन्द्र