नेपाली महिलाले उद्यमबाट परिचय स्थापित गर्न बाँकी छ

प्रमिला आचार्य रिजाल (अध्यक्ष, दक्षिण एसियाली महिला विकास मञ्च)
२६ जेष्ठ २०७३, बुधबार १९:१० मा प्रकाशित

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को आधिकारिक निकाय ‘दक्षिण एसियाली महिला विकास मञ्च’मा अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनुभएकी प्रमिला आचार्य रिजाल उद्यमी महिलामाझ सुपरिचित नाम हो । सार्क रिजनमा डेढ दशकभन्दा बढीको संलग्नताका अलावा जुन्ता इन्टरनेसनल (नेपाल च्याप्टर)को अध्यक्ष, सार्क चेम्बर वेमन इन्टरप्रेनिअर्स काउन्सिलको निवर्तमान सभापति, महिला उद्यमी महासङ्घको संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष, राष्ट्रिय महिला आयोगमा औद्योगिक प्रवद्र्धन बोर्डको पूर्वसदस्य, परराष्ट्र मन्त्रालयमातहतको इन्स्टिच्युट अफ फरेन अफेयर्सको बोर्ड मेम्बर, प्रतिष्ठा कन्स्ट्रक्सन कम्पनीको डाइरेक्टरलगायत विभिन्न व्यावसायिक कम्पनी एवम् सङ्घसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै रहेको अवस्था उहाँको परिचयका थप आधार हुन् । डेढ दशकभन्दा अघिदेखि एक उद्यमी महिलाको रूपमा सम्बन्धित क्षेत्र तथा सङ्घ–संस्थामा क्रियाशील रहँदै आउनुभएकी प्रमिलाले नेपालमा गत वर्ष आयोजित सार्क सम्मेलनपछि ‘सार्क रेकग्नाइज बडी’को स्टेटस पाएको ‘दक्षिण एसियाली महिला विकास मञ्च’मार्फत नेपालका अलावा सार्क क्षेत्रकै उद्यमी महिलाका लागि काम गर्ने अवसर या जिम्मेवारी पाउनुभएको छ । एक महिला उद्यमीका साथै सार्क क्षेत्रका महिलाको सामाजिक तथा आर्थिक पाटोमा काम गर्ने सार्कआबद्ध स्वायत्त निकायको नेतृत्व गर्ने जिम्मेवारीमा रहेपछिका अनुभव–अनुभूति, अवसर र चुनौतीबारे उहाँका धारणा बुझ्ने अभिप्रायले गरिएको कुराकानीका सम्पादित अंश प्रस्तुत गरिएको छ ।

० दक्षिण एसियाली महिला विकास मञ्च कुन उद्देश्यले कहिले र कसरी गठन भयो, कुरा यहाँबाट सुरु गरौँ न ?
गत वर्ष नेपालमा सार्क सम्मेलन भएको बेला सार्क चेम्बर वेमन इन्टरप्रेनिअर्स काउन्सिललाई सार्कसँग जोडिएको एउटा खास परिचय दिलाउनुपर्‍यो भन्ने प्रस्ताव परराष्ट्र मन्त्रालयसमक्ष गरियो । परराष्ट्रलाई प्रस्ताव उचित लागेकोले सार्कको सम्मेलनमा एउटा एजेण्डाको रूपमा उक्त प्रस्ताव समावेश हुन पुग्यो । आठ राष्ट्रका सचिवस्तरीय बैठकले ‘सार्क रेकग्नाइज बडी’को रूपमा स्टेटस दिने भनी प्रस्ताव लैजानुभयो मन्त्रीस्तरमा । अनि आठै राष्ट्रका मन्त्रीले एकमतले प्रस्ताव लगे सम्मेलनमा । यसप्रकार महिलाको विकासबारे काम गर्ने सार्क स्तरमा यो एउटा मात्र संस्था बन्न पुगेको छ, जसले ‘सार्क रेकग्नाइज बडी’को स्टेटस पाएको छ । यो हाम्रा लागि ठूलो उपलब्धि हो । जहाँसम्म मञ्चको उद्देश्यको कुरा छ, सार्कका आठ राष्ट्रमध्ये महिलाको सामाजिक र आर्थिक विकास तथा उद्यममा कुन देशले के कुरामा बढ्ता उपलब्धि हासिल गरेको छ, त्यसको अध्ययन गरी त्यसबाट सिक्ने, अनुशरण गर्ने । त्यहाँका महिला हामीभन्दा अगाडि कसरी बढ्न सके भन्ने सूक्ष्म अध्ययन गरी त्यो कुरा नेपालमा पनि लागू गर्न सकिन्छ कि सकिन्न त आफ्नै मोडलमा भनी प्रयास गर्नु यस संस्थाको उद्देश्य हो । यस्तै, राम्रा परियोजना र नीतिहरू नेपालमा भित्र्याउने, छिमेकी मुलुकका जुन सङ्घ–संस्था या चेम्बर्स फेडरेसन्स आदिले गरेका काम यहाँ ल्याउने । जस्तो कि, ग्रामीण विकास बैंक डा. युनुसले बंगलादेशबाट सुरु गरेका थिए । यो अत्यन्त उत्तम अवधारणा भएकाले अहिले विश्वव्यापी बन्न पुगेको छ । हो, राम्रा अवधारणा, राम्रा परियोजनालाई हामी रिजनल बनाऔँ, क्षेत्रीयस्तरमा फैलाऔँ, सार्क क्षेत्रका एक देशको नीति राम्रो छ भने अर्कोले अपनाओस्, महिलासम्बन्धी सङ्घ–संस्था या समूहहरूले त्यसको लबी गरून् भन्ने हाम्रो उद्देश्य हो । यसरी बाहिरका राम्रा परियोजना या अवधारणा ल्याएर यहाँका उद्यमी महिलासमक्ष राख्छौँ, अनुभव आदान–प्रदान गराउँछौँ, ता कि नेपाली महिलाले पनि ज्ञान–सीप पाऊन् र त्यसको लाभ उठाउन सकून् । यस मञ्चको मुख्य उद्देश्य यही नै हो ।

० उद्देश्यअनुसारको काम कत्तिको भइरहेको छ त ?
पहिले हामी सीमित थियौँ, अहिले सञ्जाल ठूलो भइसकेको छ । हामीले गरेका काम, उठाएका मुद्दाहरू, विषयवस्तुहरू सार्क सेक्रेटेरियटमा सुझाव तथा प्रस्ताव दिन आधिकारिकता पाएका छौँ । करिब दश महिनाअघि हामी एउटा ठूलै कार्यक्रम गर्न सफल भयौँ । सार्कराष्ट्रलगायत म्यानमारदेखिका चालीस उद्यमी महिला भेला गरेर हामीले एउटा कन्फ्रेन्सजस्तै गर्‍यौँ । त्यसबाट दुईवटा परिणति निस्कियो, एक, सार्क मुलुकमा त हामीले विभिन्न कन्फ्रेन्स, मिटिङ, गोष्ठी, फोरम गर्‍यौँ, अब सार्कराष्ट्रभन्दा बाहिर समेत जाने पो हो कि ? ‘आसियान रिजन’मै किन नजाने ? आसियान रिजनका महिलाको अवस्था कस्तो छ, उनीहरू हामीभन्दा अगाडि कसरी बढे भन्ने कुराको मोटामोटी पहिचान गर्न सक्यौँ । दोस्रो, हामीले कमन एडभान्टेज हुने खालको एउटा प्रोजेक्ट तयार पार्‍यौँ । जस्तो कि, यतिबेला हामीलगायतका एसियन मुलुकबाट युवाहरू कामका लागि बिदेसिने जुन अवस्था हुर्किएको छ, यसमा महिलाको सङ्ख्या पनि कम छैन । जब उनीहरू विदेशबाट फर्किन्छन्, केही ज्ञान र सीप पनि सिकेर आएका हुन्छन्, तिनले मुलुक फर्केर के गर्ने त ? त्यसै बस्ने ? त्यो सीपलाई अझै थप गराइदिएर पेशाकर्मी या उद्यमी नै बनाइदिन हामी किन नलाग्ने ? ता कि फेरि रोजगारीका लागि बिदेसिनु नपरोस् उनीहरूले भन्ने सोच विकास गरेका छौँ उक्त कन्फ्रेन्सबाट हामीले । यस प्रकारको रिजनल प्रोजेक्ट बनाउनैपर्छ भन्ने निचोडमा हामी पुगेका छौँ । यस कार्यमा हामी लागिरहेका छौँ । आगामी सेप्टेम्बरमा सार्क मात्र नभई आसियान रिजन, अरब रिजन र वेस्टर्न रिजन गरी चार–पाँच रिजनका महिलालाई नेपाल ल्याएर अझै ठूलो कन्फ्रेन्स गर्दैछौँ । यसो गर्दा उनीहरूबाट हामीले र हामीबाट उनीहरूले सिक्ने–सिकाउने काम प्रचुर हुने विश्वास लिएका छौँ । मलुक–मुलुकबीचका उद्यमी महिलाको सञ्जाल विस्तार गरेर अनुभव, उपलब्धि र चुनौतीहरू आदानप्रदान गर्ने उद्देश्य बनाएका छौँ ।

० तपाईं पन्ध्र–सोह्र वर्षदेखि निरन्तर महिला उद्यमीलाई बढावा दिने कर्ममा प्रतिबद्ध हुनुहुन्छ, यो सोच सुरुमा कसरी या किन आयो तपाईंमा ?
पढाई सकिएपछि केही गरौँ भन्ने चाहना त त्यत्तिकै थियो मभित्र । तर, के गर्ने–के गर्ने भन्ने अन्योल भने त्यतिबेला थियो नै । तथापि, संयोगवश मैले अम्बिका श्रेष्ठ, शान्ति चड्डाजस्ता अग्रगामी सोच भएका होनहार उद्यमी महिलासँगको साथ पाएँ । उहाँहरू मिलेर ‘महिला उद्यमी सङ्घ’ खोल्नुभएको थियो । त्यसका लागि उहाँहरूले नयाँ पुस्ता खोजिरहनुभएको रहेछ र म पनि व्यवसायीको रूपमा आउँदै गरेको नाताले त्यसमा साधारण सदस्य भई प्रवेश गर्ने अवसर पाएँ । विस्तारै बोर्डमै आएँ र महिला उद्यमी महासङ्घकै अध्यक्षको रूपमा काम गर्ने अवसर पनि पाइयो । त्यसपछि आएर सार्क चेम्बर वेमन इन्टरप्रेनिअर्स काउन्सिलको नेतृत्व गर्ने जिम्मेवारी पाएँ । यो सार्कको आठ–दशवटामध्येको एउटा काउन्सिल हो । त्यसमा तीन वर्ष मैले नेतृत्व दिएँ । यसै क्रममा साउथ अफ्रिकामा भएको एक बैठकको बेला सार्क क्षेत्रका महिला अग्रणीहरूले प्रस्ताव गर्‍यौँ कि यत्रो अनुभव भइसक्यो, अब त हाम्रो पनि अलग्गै परिचय चाहियो नि † दह्रो संस्था चाहियो जहाँबाट महिला उद्यमसम्बन्धी कुनै पनि मुद्दामा आवाज उठाइन सकियोस् र त्यो आवास क्षेत्रीय सम्मेलनहरूमा पुगोस् । यसपछि हो ‘दक्षिण एसियाली महिला विकास मञ्च’को जन्म भएको ।

० समग्रमा नेपाली उद्यमी महिलाको अवस्था कहाँ पुगेको छ नि तपाईंको बुझाइ, भोगाइ र हेराइमा ?
सार्क रिजनका सबै राष्ट्र मैले घुमेर हेरेको छु र आफ्नो मुलुक त आफैँले देखे–भोगेकै कुरा भयो । आजभन्दा डेढ–दुई दशकअघि सामान्यतया महिलाले आफ्नै अग्रसरतामा कुनै उद्यम गर्न सक्छन् भन्ने सोचसम्म पनि राखिँदैनथ्यो हामीकहाँ । महिलाको पढाइ सकिएपछि ‘ए सक्यौ ?’ भन्ने मात्र सोधिन्थ्यो, तर अब के गर्छौ नि ? भन्ने सोधपुछ नै हुँदैनथ्यो । तर, अहिले परिवेश बदलिएको छ । ‘तिमी के गर्दै छौ ?’ भन्ने प्रश्न गरिन्छ । महिलाको अलग अस्तित्व र पहिचान खोजेको रूपमा बुझ्छु म यसलाई । पहिले अत्यन्तै बाध्यात्मक परिस्थितिमा मात्रै स्व–आयआर्जनको काम गर्न महिला अग्रसर हुन्थे भने अहिले महिलाले पनि केही व्यवसाय त गर्नैपर्छ नि भन्ने सोचबाट व्यवसाय गर्ने प्रचलन बढिसकेको छ । यत्रो शिक्षा हासिल गरेर पनि केही गरेकी छैनौ ? भन्ने प्रश्न गर्न थालिएको छ । अर्थात्, सामाजिक सोचमा महत्त्वपूर्ण परिवर्तन आएको छ । तथापि, आर्थिक रूपले उभिने सवालमा अझै धेरै फड्को मार्न बाँकी छ भने राजनीतिक सोच र सचेतनामा चाहिँ भारी विकास भएको मैले पाएकी छु । ३३ प्रतिशत सहभागिता चानचुने कुरा होइन, त्यसमाथि मुलुकमा महिला राष्ट्रपति, महिला सभामुख र महिला प्रधानन्यायाधीश हुनु भनेको ठूलो उपलब्धि हो । यसरी राजनीतिक क्षेत्रमा अवसर र उपलब्धि भए पनि महिलाको व्यवसायीकरणमा अझै पनि ठूलाठूला चुनौती बाँकी नै छन् । आफैँ नयाँ व्यवसायमा प्रवेश गरी आफ्नै खुट्टामा उभिएका महिलाको नाम लिनुपर्दा एउटा अम्बिका श्रेष्ठबाहेक अर्को नाम अझै लिन सकिने अवस्था छैन हामीकहाँ । नयाँ र ठूला व्यवसायमा पुरुषकै वर्चश्व छ, जस्तो कि हाइड्रोपावरजस्ता व्यवसायमा महिलाको पहुँच र प्रवेश नै नभएको अवस्था छ । सोचमा अझै केही अड्को–पड्को बाँकी रहेको उदाहरण हो यो । वास्तवमा नेपाली महिलाले उद्यमबाट परिचय स्थापित गर्न बाँकी नै छ ।

० सङ्घ–संस्था र सरकारी निकायमा त महिलाको प्रवेश र पहुँच निकै बढेको ठानिएको छ, यो मान्नुहुन्छ ?
यो त पक्कै हो । सङ्घ–संस्था र सरकारी निकायमा महिलाको प्रवेश व्यापक मात्रामा भएको छ । सोच निकै फराकिलो भएको छ, हुँदै छ, आशा गर्ने ठाउँ छ । यसमा द्विविधा छैन ।

० दक्षिण एसियाली महिला विकास मञ्चको नेतृत्व गरिरहनुभएको छ, यो मञ्चबाट नेपाली उद्यमी महिलाका लागि के सहयोग हुन सक्छ र नयाँ उद्यमी जन्माउन के गर्न सक्छ, प्रस्ट्याइदिनुस् न ?
यस मञ्चको महत्त्व या दायित्वको कुरा गर्नुपर्दा सर्वप्रथम त यो बुझौँ कि नेपाली महिलाको मात्र नभई आठै राष्ट्रका महिलाको आवाज सार्क समिटजस्तो निकायसम्म पुग्ने भयो, कहिल्यै पुगेको थिएन । अब त हामीले राखेका एजेण्डामाथि सार्क सम्मेलनमा छलफल हुनैपर्छ । यो ठूलो उपलब्धि हो । अब हामी ‘क्षेत्रीय सोच’ या रिजनल कन्सेप्टका साथ अघि बढ्दै छौँ । सार्क क्षेत्रकै महिलाका अनुभव साटासाट गरेर काम गर्ने बाटो अब खुलेको छ । जहाँसम्म नेपाली महिलाले के पाउँछन् भन्ने सवाल छ, नयाँ र ठूला परियोजना यस मञ्चले बनाउँछ र त्यस्ता प्रोजेक्ट एकसाथ सार्कका अन्य मुलुकमा समेत लागू हुन्छ । नेपाली उद्यमी महिलाले पनि बाह्य समुदायसँग काँधमा काँध मिलाएर हिँड्ने परिवेश यसबाट बन्नेछ । यस फोरमले आफै लगानी गरिदिने त होइन, तर लगानीको माहोल बनाइदिन सक्छ । मानौँ कि भारत, श्रीलङ्काका कुनै महिला लगानीकर्ता नेपालमा लगानी गर्न उत्सुक छन् या नेपाली लगानीकर्ता कुनै सार्क मुलुकमा आफ्नो उद्यम लिएर प्रवेश गर्न चाहन्छन् भने त्यसको निम्ति अवसर जुटाउने या माहोल बनाइदिने काम यस मञ्चले गर्छ । आफ्नो सञ्जालभित्र एक–आपसमा बैठक गराएर, अनुभवहरू आदान–प्रदान गराएर यसले त्यस्तो वातावरण बनाइदिन्छ । हामी आफँै लगानीकर्ता नभए पनि लगानीको अवसर, व्यावसायिक साझेदारीको अवसर, परियोजनाहरूको पार्टनरसिप्स, अन्तर्राष्ट्रियस्तरमा भएका कार्यक्रमलाई सञ्जालअन्तर्गत ल्याएर अनुभव आदानप्रदान गराउनेलगायतका काम हामी गर्दछौँ, उद्यम गरिरहेका या गर्न चाहने महिलाका लागि यो अहम् कुरा हो ।
० सार्क मुलुकका महिलामध्ये नेपाली महिला कहाँनेर रहेको पाउनुहुन्छ तपाईं ?
आर्थिक क्षेत्रमा त हामी अत्यन्त कमजोर रहेछौँ । सार्क मुलुकका महिला उद्यमीबीच हामी उभिँदा आफ्नो अस्तित्व निकै कमजोर पाउँछौँ, यो स्वीकार गर्नैपर्छ । पाकिस्तानमा महिला उद्यमीको सशक्त जमात छ भने बंगलादेशमा पनि महिला उद्यमीको कमी छैन । श्रीलङ्कामा महिलाले कत्रा–कत्रा गार्मेन्ट चलाएका छन् । पर्यटन क्षेत्रमा पनि महिलाको अग्रसरता उत्तिकै छ त्यहाँ । मेडिकल टुरिजम फस्टाएको छ त्यहाँ, जसमा महिलाकै वर्चश्व देखिन्छ । भारतका शहरमा त ठूलै स्तरका महिला उद्यमी छन् । यसो भएर पनि नेपाली महिला उद्यमशीलतामा अघि बढ्ने परिस्थितिचाहिँ उज्ज्वल देख्छु म । त्यस्तो परिवेश निर्माण भइरहेको छ । मुलुकले अवलम्बन गरेका पोलिसी पनि महिलामैत्री नै रहेकाले आशावादी हुन सकिन्छ ।

० नेपाली महिलालाई खास के–कस्ता अवसर दिन सकिने देख्नुहुन्छ ?
यहाँ अवसर प्रदान गर्न सकिने क्षेत्र निकै छन् । पहिले सामाजिक सोचमा अझै फैलावट आउनुपर्‍यो । महिलाले एक्लै कुनै उद्योग शुरु गर्ने आँट देखाउँदा परिवार नै हिच्किचाउने प्रवृत्ति बाँकी नै छ । छोराले गरे त ठिकै हुन्थ्यो, तर छोरीले गर्दा लगानी डुब्ने हो कि ? भन्ने भावले महिलाको बाटो कताकता छेकेको छ । महिला आफैँ पनि सङ्कोचमै छन्, आफ्नो कारणले परिवारको सम्पत्ति डुब्ने हो कि भनी डराउँछन् । ‘तिमी निर्धक्क अघि बढ’ भनी परिवारले झकझक्याइदिएमा चाहिँ पर्यटन, कृषिलगायतका क्षेत्रमा महिलाले गर्न सक्ने धेरै कामकुरा छन् । कुनैबेला नर्वेमा कर्पोरेट हाउसहरूमा यति प्रतिशत महिला सहभागिता गराउनैपर्छ भन्ने कन्सेप्ट ल्याइँदा हाँसोको विषय बनेको थियो । तर, पछि त्यसको सकारात्मक प्रभावले जर्मनीले पनि त्यस्तै विधि अपनायो । अहिले त संसारका धेरै मुलुकमा कर्पोरेट हाउसमा महिला प्रतिनिधित्व रहने व्यवस्था छ । हामी अघि बढ्नका लागि यहाँ पनि यस्तै जरुरी देख्छु म । शुरुमा आरक्षण दिनुपर्छ, तर पछिचाहिँ सक्षमतालाई ठाउँ दिनुपर्छ भन्ने मेरो धारणा छ ।

० नेपाली महिलाले राजनीतिक हिसाबले फड्को मारेका छन् भनिन्छ, तर पदप्राप्ति मात्रै गरेका छन् कि काम पनि देखाउन सकेका छन् होला, के देख्नुहुन्छ ?
कुनै पनि कुराको शतप्रतिशत नै फल पाउन सकिन्न । नेपाली महिलाको राजनीतिक सहभागिताका सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । राजनीतिमै लागेका महिलाले खासै काम या क्षमता देखाउन नसकेका छन् भन्ने मलाई लाग्दैन ।

० देशको राजनीतिचाहिँ कस्तो लागिरहेको छ नि ?
यहाँभन्दा खल्लो त खै के पो होला र !

प्रतिक्रिया
सम्बन्धित खवर

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रत्येक स्थानीय तहमा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ ।

बाबा राजेश्वरी थापा, भियना, अष्ट्रिया । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण आजको

नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको

लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व