प्रधानमन्त्रीले चिनेपछि विनिता दङ्ग

२० असार २०६९, बुधबार २१:२६ मा प्रकाशित

राजन घिमिरे , काठमाडौ । कुरा गत साताको हो । प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई भेट्न कलाकर्मीहरूको ठूलै झुण्ड पुगेको थियो । विभिन्न राजनीतिक नेताहरूलाई भेट्दाभेट्दा दिक्क भएका प्रधानमन्त्रीको मुड पनि केही फ्रेस देखिन्थ्यो कलाकर्मीहरूलाई भेट्न पाएकोमा । यो चाँजोपाँचो भने कलाकर्मी अशोक शर्माले मिलाएका थिए । ‘अशोकजीको सीधै सम्पर्क रहेछ नि प्रधानमन्त्रीसँग । त्यसैले त सजिलै समय पाइयो नि प्रधानमन्त्रीको,’ यसै भन्दै थिए कलाकर्मीहरू ।
चलचित्रकर्मी कल्याण कोषमा रकम जम्मा गरिदिनका लागि आग्रहसहित यो टोली प्रधानमन्त्रीसमक्ष पुगेको थियो । प्रधानमन्त्रीनिवासमा सुरक्षा अवस्था निकै ‘टाइट’ हुने गरे तापनि टेलिभिजन र सिनेमाको पर्दामा देखिने अनुहार आफ्नै आँखाअगाडि देखापर्दा सुरक्षाकर्मीहरूले पनि खासै ‘टाइट’ गरेको देखिँदैनथ्यो । उनीहरू पनि कलाकारहरूलाई हेरेर दङ्ग देखिन्थे । प्रधानमन्त्री आगन्तुकको कोठामा पुगेपछि सबैले आ–आफ्नो परिचय प्रस्तुत गर्ने समय आयो । सबैले आ–आफ्नो परिचय पनि दिए ‘म फलानो, म फलानो’ भन्दै । चिनेकालाई प्रधानमन्त्रीले टाउको हल्लाए भने नचिनेकालाई मुस्कानबाट जवाफ दिए । तर, एकजना नवोदित महिला कलाकारले परिचय प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीले दोहोरो कुराकानी नै गर्न भ्याए । त्यहाँ कलाकारिता क्षेत्रमा लागेर कपाल फुलाएका थुपै्र कलाकर्मी पुगेका थिए तर ती युवतीप्रति भने प्रधानमन्त्रीले बढी नै चासो दिएको देखिन्थ्यो । प्रधानमन्त्रीको यो चासो देखेपछि उपस्थित चलचित्रकर्मीहरूबीच गाइँगुइँ पनि चल्न थाल्यो । उनीहरू भन्दै थिए, ‘खै हाम्रो त मतलबै छैन नि प्रधानमन्त्रीलाई…।’
यसरी प्रधानमन्त्रीले अलि चासो दिएर कुरा गरेकी अभिनेत्री थिइन् विनिता बराल । बरालले ‘नमस्कार ! मेरो नाम विनिता बराल’ मात्र के भनेकी थिइन् प्रधानमन्त्रीले थपिहाले, ‘हो तपाईंको काम हेर्न पाएको छैन तर नाम त बारम्बर सुनेकै हो ।’ प्रधानमन्त्रीले यो भनेपछि विनिता निकै फुरुङ्ग भएकी थिइन् ।
तर विनिताले यो कुराको हेक्का राखिनन् कि उनी राम्रो काम गरेका कारण प्रधानमन्त्रीको नजरमा परेकी होइनन् कि थुपै्र विवादास्पद समाचारहरूमा बारम्बार छाइरहँदा आफूलाई प्रधानमन्त्रीले चिनेको हो ।
यो कुराले के प्रमाणित पनि गर्‍यो भने पत्रिकामा नेपाली कलाक्षेत्रका समाचार पनि प्रधानमन्त्रीले ध्यान दिएर पढ्दा रहेछन् । त्यसैले त चलचित्र क्षेत्रको अवस्थाबारे राम्रो अध्ययन भएकै कारण होला अशोक शर्माले कलाकर्मीको समस्याबारे अवगत गराउना साथ प्रधानमन्त्रीले कलाकर्मी कल्याण कोषका लागि एक करोड रुपैयाँ दिने वचनबद्धता व्यक्त गरे ।
प्रधानमन्त्रीको यो वचनबद्धतासँगै उपस्थित कलाकर्मीहरू प्रधानमन्त्रीको जयजयकार गर्दै फर्किए । यता यो अगुवाइका नेता अशोक शर्माले भने, ‘प्रधानमन्त्रीको आश्वासनसँगै गृह मन्त्रालयले पनि रकमका लागि हामीसँग सम्पर्क गरिसकेको छ । यो हप्ता रकम उपलब्ध हुनेछ ।’ आइतबार अर्को एक चलचित्रसम्बन्धी कार्यक्रममा भेटिएका शर्माले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अमीषा पटेल अभिनेत्री अमीषा पटेल अभिनेता ऋतिक रोशनको फिल्म ‘कहो ना प्यार है’बाट अभिनयमा डेब्यु गरेकी हुन् । त्यसपछि उनले

काठमाडौं । कुसुम गुरुङको नयाँ गीत ‘काफल पाक्यो’ सार्वजनिक भएको छ । दिनेश ‘काजी’ बान्तवाको संगीत रहेको गीतमा शब्द मदन

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश ‘छटपटी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो

काठमाडौं । गायक पुष्पन प्रधान र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ऐना हेरी हेरी’ बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक