बालबालिकालाई बन्दुक बोकाएर उनीहरू सत्तामा गए: लेनिन विष्ट (संयोजक, बहिर्गमित जनमुक्ति सेना)

१७ बैशाख २०७३, शुक्रबार २२:२९ मा प्रकाशित

:: बालबालिकालाई युद्धमा प्रयोग गर्न हुँदैन, प्रयोग गर्नेहरूलाई कारबाही हुनुपर्छ भन्ने अभियानमा सक्रिय तपाईं आफैँ माओवादी युद्धमा बालसेनाको रूपमा प्रयोग हुनुभएको थियो, जनयुद्धमा होमिँदा कति वर्षको हुनुहुन्थ्यो ?

म त्यतिबेला भर्खर पाँच कक्षा पास गरी ६ पढ्दै थिएँ । ०५९ सालको कुरा हो यो ।

:: माओवादीको सम्पर्कमा चाहिँ कसरी पुग्नुभएको थियो नि ?
म मामाघर हेटौँडा गएको थिएँ । त्यहाँ नजिकै हटिया भन्ने ठाउँमा केही साथीहरूसहित माओवादी पार्टीले आयोजना गरेको एउटा कार्यक्रम हेर्न गएको थिएँ । माओवादी नेताहरूले बडो मीठो–मीठो भाषण दिए, समानता नभएकाले सबै जनता समान हुनुपर्ने कुरा गरे, राष्ट्रियता र सीमा थिचोमिचो भएको कुरा गरे, देश परिवर्तनको सपना देखाए । मलाई ती कुरा निकै मन परे, बालसुलभ मनका कारण बेस्सरी आकर्षित भएछु, अनि मामाघर गएको मान्छे घरै नफर्की त्यहीँबाट म उनीहरूसँग गएँ ।

:: त्यहाँ कुन स्तरका नेता थिए, याद होला नि ?
ठूला नेता थिएनन्, स्थानीय तह या जिल्लास्तरका नेताहरू हुनुपर्छ । खास स्मरणमा रहने नाम होइनन् । लहैलहैको भरमै छतिवन फापरबारी हुँदै लागियो माओवादीको सेल्टरतिर । खास बस्ती नभएको भित्री गाउँ थियो । गाउँजस्तो तर जङ्गलनजिकै थियो त्यो स्थान ।

:: गएपछि तत्काल के काम गरियो नि ?
एक–दुई महिना त्यत्तिकै बसियो भन्दा पनि हुन्छ । म बोर्डिङ पढेको, अलिअलि इङ्ग्लिस पनि बोल्ने । हामी ५–६ जना सँगै गएकामध्ये अलिक टाठोजस्तो र बालबालिकामाथि कसैले शङ्का नगर्ने भएर होला त्यसक्रममा खबर आदानप्रदान गर्ने (गुप्तचरी) काममा प्रयोग गरियो मलाई । मसँगै गएका केही साथीलाई त तत्कालै लडभिडमै खटाइएको थियो ।

:: सेनाकै रूपमा चाहिँ कहिलेदेखि प्रयोग हुनुभयो नि तपाईं ?
– एक–डेढ वर्षपछि, ०६१ देखि हो म माओवादीको जनसेनाको रूपमा प्रयोग भएको ।

:: स्कुलदेखि नै तपाईं माओवादी पार्टीमा लाग्नुभएको थियो ?
होइन । मैले हेटौँडा पुग्नुअघि माओवादीबारे खास थाहा पाएको पनि थिइनँ, कुनै माओवादी नेता या कार्यकर्ता भेटेको पनि थिइनँ । मेरो घर काभ्रे बनेपातिर, गाउँभरि नेपाली सेना र प्रहरीमा जागिर खाएकाहरू थुप्रै भएकाले त्यहाँ माओवादी थिएनन् ।

:: सेनाको तालिम पनि दिइयो कि त्यत्तिकै बन्दुक बोकाइयो नि ?
तालिम दिइयो । एकहप्ते, पन्ध्रदिने कोर्स गराइन्थ्यो । १५–१६ वर्ष पुग्दा मैले बन्दुक बोकिसकेको थिएँ ।

:: त्यो उमेरमा हातमा बन्दुक बोक्दा त रमाइलै लाग्यो होला, होइन ?
रमाइलो–रमाइलोमै त्यसरी गएकाले होला रमाइलै लाग्यो । त्यसमाथि अब हामी नै हौँ देश परिवर्तन गर्ने शक्ति भन्ने उत्साह पनि जागेको थियो । उत्साह जगाइएको थियो भनौँ न, आफूले सोच्ने र बुझ्ने कुरा थिएन, जे भनिन्थ्यो त्यो पत्याइयो । के–के न गरिने भइयो जस्तो लाग्यो । नेताहरूले के डिजाइन गरिरहेका छन्, भविष्यमा के गर्छन् भन्ने त एकछेउ पनि हामीले सोच्न सक्ने कुरै भएन । ०६३ मा शान्तिसम्झौता भएर ब्यारेक नपुग्दासम्म बालसुलभ हृदय भएर होला जोस र उमङ्गमै रहियो ।

:: ०६३ पछिका घटनाबारे सर्सर्ती सुनाइदिनुस् त ?
शान्तिसम्झौता भएपछि हामी सबै ब्यारेकमा बस्न थाल्यौँ । अनमिनले वर्गीकरण तथा प्रमाणीकरण गर्‍यो । मलगायत चार हजार नौजनालाई ‘नाबालक’ नै भनेको छ अनमिनले त्यतिबेला । ०६३ भन्दा अघि १८ वर्ष नपुगेका जति पनि छन् ती सबै बालसेनाको रूपमा प्रयोग भएका हुन् भनेर त अनमिनले प्रस्टसँग भनेको छ । बालसेना भएको प्रमाण त हामी आफैँ नै हौँ नि । राष्ट्रिय मानवअधिकार आयोगले पनि माओवादी जनयुद्धमा बालसेना प्रयोग भएको स्वीकार गरिसकेको विषय हो । कार्टर सेन्टरको रिपोर्ट हेर्ने हो भने पनि बालसेनाको कुरा उल्लेख छ । यही सिलसिलामा ०६६ मा बहिर्गमनको प्रक्रिया सुरु भएपछि सोही वर्ष माघ १० गते बहिर्गमनमा परेको हुँ म ।

:: तपाईंहरूलाई त अयोग्य भनेर निकालिएको हो क्यारे, होइन ?
बालसेना प्रयोग गर्नु ठूलो अपराधको कुरा हुँदै हो, त्यसपछि पनि झन् ठूलो अपराध हामीमाथि गरिएको छ । त्यो के भने, बहिर्गमनमा पारेर बाहिर निकाल्दै गर्दा हामीलाई ‘अयोग्य’को बिल्ला भिराइयो । तिमीहरू अयोग्य भयौ भनेर ठप्पा लगाइदिएपछि ०६६ मै विरोध जनाएका थियौँ । त्यसरी अयोग्य भन्न पाइन्थ्यो र ?

:: बालक भएकाले लडाइँको निम्ति अयोग्य भन्न मिल्दैन र ?
उमेरकै कारणले योग्य या अयोग्य भन्न त मिल्दैन नि । सम्बन्धित कस–कसले जाँच गर्नुपर्ने हो गरून् न हामी योग्य छौँ कि अयोग्य ? बन्दुक बोकेकै हौँ, गोली चलाएकै हौँ । बरु यसरी भनिदिएको भए अलिक चित्त बुझ्ने थियो कि ‘तिमीहरू स्कुल नै छोडेर सानै उमेरमा बन्दुक समाउन पुग्यौ, त्यसैले पूर्ण साक्षर छैनौ, यसकारण जीवनका विभिन्न प्रतिस्पर्धामा तिमीहरू पछि पर्ने भयौ ।’ हाम्रो बुद्धिविवेक पुगेन, सानै उमेरमा बन्दुक बोक्नेतिर लागियो, बम बनाउन सिकाइयो । अमूल्य समय बर्बाद भइसकेपछि लौ तिमीहरू अयोग्य भयौ घरतिर जाऊ भनियो । अहिले हलो जोत्न पनि आउँदैन, धान–मकै रोप्न जानिँदैन, यता न उताको पारियो । कहाँसम्मको अन्याय गरिएको रहेछ भन्ने अहिले ठम्याउन खोज्दै छौँ ।

:: पढाइचाहिँ तपाईंको त्यतिबेला टुटेपछि टुटेकोटुट्यै भयो ?
सर्वप्रथम म यो प्रस्ट्याउन चाहन्छु कि मेरो व्यक्तिगत कुराका लागि म यो बालसेना प्रयोग गरेको मुद्दाविरुद्धको अभियानमा लागेको होइन । यहाँ युद्धमा प्रयोग गरिएका बालसेनाले पाउनुपर्ने न्याय र भविष्यमा अरू बालबालिका यसरी युद्धमा प्रयोग नगरिने ग्यारेन्टीको सवाल छ । जहाँसम्म मेरो पढाइको प्रश्न छ, सुरुमा त छुटिहाल्यो, ब्यारेक बसेपछिचाहिँ घर बिदामा आएको बेला पारेर दाइहरूसँग कुरा मिलाएर जिल्ला तहको प्राइभेट एक्ज्याम दिएँ । ०६५ मा ब्यारेक बसाइकै क्रममा चितवनबाट एसएलसी परीक्षामा सहभागी भएँ र ब्यारेकबाट निस्किएपछि काभ्रोबाट प्लस टु गरेको हुँ । सो क्रममै बहिर्गमितहरूको आन्दोलन सञ्चालन भयो । आन्दोलनसँगै बानेश्वरबाट ब्याचलर पनि सकाएँ । मैले यसरी पढाइ अघि बढाए पनि नब्बे प्रतिशतभन्दा बढी हाम्रा साथीहरू अन्डरएसएलसी छन् । किनकि हिजो बुर्जुवा शिक्षा काम छैन भन्ने सिकाइयो, पढ्नै नदिएर बेस बिगारियो । पछि त्यत्तिकै मास्टर डिग्रीका सर्टिफिकेट दिनेछौँ भन्ने हावादारी आश्वासनसमेत बाँडियो र त्यसलाई पत्याएर जनयुद्धमा होमिने काम गरे साथीहरूले । अहिले यता न उता पर्नुपर्‍यो । हिजो जुन समाज ठीक छैन भनेर सिकाइएको थियो आज त्यही समाजमा फर्कनुपर्दा समाजले हामीलाई कसरी हेरेको छ, कति अपहेलना सहनुपरेको छ, त्यो हामीलाई नै थाहा छ । हिजो अनमिनले उमेर पुगेन भनेर फालिदियो, जानेको त बन्दुक समात्न मात्र हो भनेर पछि नेपाली सेना र प्रहरीमा भर्ना हुन खोज्दा तिमीहरूको उमेर बढी भइसक्यो भनेर रोकिदियो । यस्तो भोग्ने बहिर्गमित साथीहरू धेरै छन् ।

:: यसको मतलब आफूहरूलाई पूरै उपयोग गरेर अहिले अलपत्र पारियो भन्ने लाग्छ, होइन ?
यसमा त कुनै शङ्कै रहेन नि । अहिले नेताहरू राज्यका उच्च तहमा आसीन छन्, यस्तो परिवर्तन गर्‍यौँ, यसो गर्‍यौँ उसो गर्‍यौँ भनी भाषण ठोकिरहेका छन् । तर, यो सबै हामीले गरेका हौँ । हाम्रो काँधमा टेकेर नेताहरूले फुर्ती गर्नु हामीमाथिको जघन्य अपराध हो । हामीले गरेको परिवर्तनको कामलाई चाहिँ संस्थागत गर्ने, यसैलाई आधार बनाएर प्रधानमन्त्री, राष्ट्रपति बन्ने, हामीलाई युद्धमा कमाण्ड गर्ने व्यक्ति नै अहिले उपराष्ट्रपति छन्, बालबालिकालाई युद्धमा प्रयोग गरेर उपराष्ट्रपति बनेकोचाहिँ वैध हुने हामीले चाहिँ ‘अयोग्य’ पगरी गुथेर बिचल्ली र बद्नाम पनि हुनुपर्ने ? अयोग्य शब्द प्रयोग गरिएकै कारण हाम्रा पाँचजना साथीहरूले आत्महत्या गरे । के यो सानो कुरा हो र ? यसरी भटाभट आत्महत्या गर्न थालेपछि स्वीस एम्बेसीले मनोसामाजिक परामर्श नै चलायो । हामी कुन अनुहार लिएर समाजमा फर्किने भन्ने प्रश्न हामीसामु अहिले पनि ठडिएकै छ ।

:: अनमिनले बिदा गर्दा के दिएर पठायो नि तपाईंहरूलाई ?
बाटो खर्च दश हजार र तीन महिनाको तलब १२ हजार गरी जम्मा २२ हजार र एउटा झोला दिएर पठाएको थियो । जम्मा चार हजार नौजनालाई अयोग्य भनी बहिर्गमन हुन बाध्य पारिएको थियो । तीमध्येका हामी दुई हजारजति साथीले त ‘अयोग्य’ शब्द प्रयोग गरेको विरोधमा त्यो प्रक्रिया नै अस्वीकार गर्‍यौँ । पत्रकार सम्मेलन गरेर विरोध गर्‍यौँ, अनमिनका अफिस र गाडीहरू घेराउ गर्‍यौँ । शान्तिमन्त्री थिए त्यतिबेला वर्षमान पुन अनन्त, उनी हेलिकोप्टर चढेर चितवन पुगे र तपाईंहरूको व्यवस्थापन गरिनेछ भन्दै हामीलाई आश्वासन दिए । हिजो तिनकै एक आदेशमा मर्न हिँडेका हामीले पत्यायौँ, तर एक–डेढ वर्षसम्म केही भएन । अति भइसकेको थियो, यूएनले हामीलाई अयोग्य बनाएर अलपत्र पारेको भन्ने लागेको थियो, पछि माओवादीकै उच्च तहले नै पो हामीलाई यस्तो अवस्थामा पुर्‍याउने भूमिका निर्वाह गरेको रहेछ भन्ने चेत खुल्दै गयो । वास्तवमा गलत त माओवादी पार्टी नै रहेछ । नेतृत्वले अस्वीकार गर्दै हस्ताक्षर नठोकिदिएको भए त हाम्रो यो हविगत हुँदैनथ्यो नि । एक वर्षजति त अनमिनको गाडी तोडफोड गर्नेजस्ता क्रियाकलापमै हाम्रो समय बर्बाद भयो ।

:: पेरिसडाँडा पनि घेरियो क्यारे, केही भएन ?
हो, जब माओवादी नेतृत्वले नै हामी र हाम्रो भविष्यमाथि खेलबाड गरेको बुझेपछि ०६८ पछि हामी नेतृत्वविरुद्धै खनियौँ । ५६ दिनसम्म पेरिसडाँडा घेराउ गर्‍यौँ । त्यहीँ पाल गाडेर धर्ना दियौँ । उपत्यका बन्द गर्‍यौँ । जानेको यस्तै काम मात्र थियो, यस्तै गरिरह्यौँ । तर, व्यवस्थापन गरौँला भन्ने आश्वासन मात्र पायौँ । यसरी मागको सुनुवाइ नगर्ने मात्र होइन त्यतिखेरको माओवादीमा गुप्तचरी काम गर्ने सरल सहयात्री भन्ने व्यक्ति प्रयोग गरेर मेरो कोठा तोडफोड गर्ने, कम्प्युटरलगायतका सामान लुट्ने, कुटपिट गर्ने, तर्साउने र मलगायत केही साथीलाई अनेक दु:ख दिने काम गरियो । मलाई त किडन्याप नै गरियो । माओवादी भन्नेबाटै यतिबेला सुरक्षामा खतरा पैदा भएको छ र पनि हामी पछि हट्नेवाला छैनौँ । हिजो आफूले रगत–पसिना चुहाएको पार्टीबाटै यस्तो दुव्र्यवहार भए पनि अयोग्य भन्ने शब्द फिर्ता गर, हाम्रो योगदानको कदर गर, सम्मानजनक व्यवहार गर, समाजमा उभिएर गरिखान सक्ने परिवेश निर्माण गरिदेऊ भन्ने हाम्रो आवाज निरन्तर उठी नै रहनेछ ।

:: यस्तो माग बोकेर प्रचण्डलाई चाहिँ भेट्नुभएको छैन तपाईंहरूले ?
किन नभेट्नु ? पहिले–पहिले तपाईंहरूको माग सम्बोधन नगरी हामी अरू प्रक्रिया नै अघि बढाउँदैनौँ भन्नुहुन्थ्यो, तर उहाँको बोली उही त हो नि, मुखले ठिक्क पार्ने, कामचाहिँ नगर्ने । बाबुराम प्रधानमन्त्री हुँदा पूर्वलडाकुलाई सेनामा छिराइयो । हामीमाथि गद्दारी गर्ने यी नेताहरूलाई अहिले नेपाली सेनाले सुरक्षा दिइरहेको छ, हामीचाहिँ निरीह भयौँ । ०६९ असोज ४ गते तात्कालिक शान्तिमन्त्री टोपबहादुर रायमाझीसँग वार्ता भएपछि भोलिपल्ट बाबुराम सरकारको क्याबिनेटले प्रतिव्यक्ति २–२ लाख रुपैयाँ दिने भन्ने निर्णय गर्‍यो । तर, त्यो पनि कार्यान्वयन नभएपछि नेपाल बन्द नै गर्नुपर्‍यो । ५६ दिनसम्म पेरिसडाँडा घेर्नुपर्‍यो । जनयुद्धमा पनि नभोगेको पीडा हामीले त्यसबेला भोग्नुपर्‍यो । अयोग्य भनिएकोमा मात्र लड्दै आएका हामीले टोपबहादुर रायमाझीसँग वार्ता भएपछि नै हो युद्धमा बालबालिका प्रयोग गरिएकोसम्बन्धी दह्रोसँग मुद्दा उठाउन थालेको पनि । हामीलाई दुरुपयोग गरी युद्ध लडाउने व्यक्तिहरूचाहिँ योग्य भएर राज्यमा ढलीमली गर्ने, बेलामा लेखपढ गर्न, कुनै सीप सिक्न नपाएका हामीचाहिँ अयोग्य ठहरिएर राज्यमा कुनै स्थान नै नपाई त्यत्तिकै मर्नुपर्ने ?

:: तपाईं त माओवादी सरकारमा भएकै बेला एक वर्ष थुनामा पनि पर्नुभएको थियो, किन हो ?
बालसेना प्रयोग गरेको मुद्दा चर्काएकै कारण मओवादीको उपल्लो तहको नेतृत्व हामीसँग अत्तालिएको मात्र नभई अत्यन्त रिसाएको पनि छ । भोलि साँच्चै मुद्दाको सुनुवाइ भयो भने अन्तर्राष्ट्रिय अदालतको कठघरासम्म उभिनुपर्नेछ भन्ने तिनीहरूलाई लागिसकेको छ । यसर्थ ममाथि अनेक आरोप लगाउने र षड्यन्त्र गरी फसाउने प्रपञ्च गरियो । टोपबहादुर रायमाझीका पीए दिनेश गौतमले लडाकुको रकमबाट कमिसन खान खोजेको थियो, त्यो नपाएर हामीविरुद्ध ऊ लागेको थियो । उसैलाई प्रयोग गरी ममाथि षड्यन्त्र गरिएको थियो । राज्यसंयन्त्रकै दुरुपयोग गरी मलाई फसाउने प्रयत्न गरिएको थियो, तर पछि निरपराध ठहरिएपछि मलाई जेलमुक्त गर्न उनीहरू बाध्य भए ।

० तपाईं आफूमाथि सुरक्षा थ्रेट छ भन्नुहुन्छ, भैगो अब चुपचाप बसुँ भन्ने लाग्दैन ?
– युद्धमा बालबालिका प्रयोग भएको प्रमाण हामी आफैँ हौँ । म मर्नुपरे पनि यो मुद्दा छोड्नेवाला छैन । हाम्रो त भविष्य बिग्रियो–बिग्रियो, तर अबका बालबालिकाको भविष्य यसरी नबिग्रियोस्, उनीहरूमाथि अन्याय नहोस् भन्नाको खातिर पनि यस मुद्दाको किनारा लगाउनुपर्नेछ । भर्खरैजस्तो मैले सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पनि उजुरी दर्ता गराएको छु । उक्त उजुरीमा हामी बालबालिकालाई युद्धमा प्रयोग गर्नेविरुद्ध कारबाही होस् र हामीलाई क्षतिपूर्ति दिइयोस् भन्ने उल्लेख गरिएको छ । मानवअधिकार आयोग, यूएनमा पनि यही भनेर निवेदन हालेका छौँ । हुन त राष्ट्रिय मानवाधिकार आयोगलगायतका यी निकायमा पनि सबै यिनै दलका भागबन्डाबाट आयुक्त नियुक्त भएकाले हाम्रो पक्षमा ठोस कदम चालिहाल्ला भन्ने आशा छैन, तर प्रक्रिया छोड्ने पक्षमा पनि छैनौँ हामी । यूएनले चाहिँ आफैँले प्रमाणीकरण गरेको कुरा हो, उसले त बुझ्नुपर्ने । बालबालिका प्रयोग गरिएको मामलामा अफ्रिकातिर यूएनले कारबाही गरेको छ भने नेपालमा चाहिँ किन आँखा चिम्लिन्छ ? के यूएनको कानुन पनि विश्वका देशपिच्छे फरक–फरक हुन्छ ?

:: अब के गर्ने योजना छ त ?
आगामी जेठ २० गते हामी बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलन आयोजना गर्दै छौँ । सम्मेलनले आगामी एजेण्डा तय गर्नेछ । उनीहरूसँग पैसा छ, सेना छ, शक्ति छ, हामी केहीलाई मार्न पनि सक्लान् । तर, हामी डराएर पछि हट्नेवाला छैनौँ । यो अभियान के हो, मुद्दा के हो भन्ने कुरा हामी स्थापित गरेरै छोड्नेछौँ । युद्धमा बालबालिका प्रयोग गर्नु भनेको अन्तर्राष्ट्रियस्तरकै जघन्य अपराध हो । पीएचडी गरेका बाबुराम र मास्टर गरेका प्रचण्डले यो नबुझेका होइनन्, जानाजान नै हामीलाई प्रयोग गरेर सत्ताको भर्‍याङ चढेका हुन् । हामीलाई लडाउने, घाइते पार्ने, मार्ने, अनि यत्तिकै पन्छिन खोज्ने ? उनीहरूले जिम्मेवारी लिनैपर्छ, भागेर सुख पाउनेवाला छैनन् । हामी छोड्नेवाला छैनौँ । अन्तर्राष्ट्रिय निकायको ध्यान पनि तानिनैपर्छ, गलत ढङ्गले युद्धमा बालबालिका प्रयोग गरी भविष्य चौपट्ट पारिदिएको मुद्दामा यसरी बेवास्ता गरेर बस्न पाइन्न । चार हजार नौजना बालबालिका युद्धमा प्रयोग भएको भनेर प्रमाणीकरण गर्ने अनमिन भनेको यूएनकै निकाय हो, अब यूएन चुप बस्न मिल्छ ?

(हाम्रा अतिथि सम्पादक जयप्रकाश त्रिपाठीले गरेको अन्तर्वार्ताको सार)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज

काठमाडौँ । कोरोना संक्रमित पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । १८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा

एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा, कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत

काठमाडौँ । प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई