समस्या मधेसमा होइन, मधेसी नेताहरूमा छ :: माधवकुमार नेपाल

८ बैशाख २०७३, बुधबार २२:५३ मा प्रकाशित

‘माधवकुमार नेपाल यस्तो व्यक्ति हो जसले गणतन्त्र ल्याउँछु भन्ने सङ्कल्प गर्‍यो र ल्याइछाड्यो । ऊ यस्तो व्यक्ति हो जसले प्रचण्डलाई शान्तिप्रक्रियामा ल्याउने निर्णय गर्‍यो र ल्याइछाड्यो । माधव नेपाल यस्तो व्यक्ति हो जसले ०४७ सालको संविधान बनाउँछु भनेर लाग्यो र संविधान बनाइछाड्यो । माधवकुमार नेपाल यस्तो व्यक्तित्व हो जसले ‘आगामी सरकार कस्को– एमालेको’ भन्ने नारा अघि सार्‍यो र त्यो नारा साकार पार्दै एमालेको नौमहिने सरकार गठन गर्‍यो । ऊ यस्तो व्यक्ति हो जसलाई गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीका रूपमा अगाडि बढाउनुपर्छ भनेर सात दलको बैठकमा प्रस्ताव राख्दा सबैले एकमतले स्वीकारे र पछि जिम्मेवारी लिने बेला लिएर चुनौती सामना गर्‍यो । तसर्थ माधव नेपाल त्यस्तो व्यक्ति होइन जो कुरा बदल्छ र चुनौतीबाट भाग्दछ ।’ पार्टीभित्र सर्वमान्य भएर बसेको भए हुन्थ्यो नि भनी ध्यानाकर्षण गर्दा माधव नेपालको भनाइ छ, ‘सर्वमान्य भनी गणेशमान भएर बस्न को सक्छ ? मेरो स्वभाव सर्वमान्यको नाममा गणेशमानजी जस्तो भएर बस्ने छैन । मेरो स्वभाव गतिशील छ । कार्यकारी स्वभावको मान्छे हुँ म । म कृष्णप्रसाद भट्टराईजस्तो आदर्शको कुरा गरेर रहने मान्छे पनि होइन । म यो मुलुकलाई परिवर्तन गर्नुपर्छ भन्ने भावना बोकेको, ऊर्जा रहेको, खुवी र क्षमता भएको अनि कसरी मुलुक हाँक्नुपर्छ भन्ने योजना बोकेको व्यक्ति हुँ । त्यो व्यक्ति सर्वमान्यको नाममा थन्किएर बस्न सक्छ ?’

० मुलुक विभिन्न समस्याबाट ग्रस्त छ, वर्तमान सरकारले यसको निकास दिन सक्नेमा आशङ्का देखियो नि, तपाईं के ठान्दै हुनुहुन्छ ?
वर्तमान सरकार नेकपा एमालेको नेतृत्वको सरकार हो । यसको अगुवाइ गर्ने जिम्मेवारी केपी ओलीले पाउनुभएको छ । यसर्थ उहाँले नेपाली जनताको भावना, एमालेको चाहना र अन्य सबै पार्टीहरूको समेत अन्तर्य बुझ्दै देशको हित समाजको कल्याणका लागि आपसी परामर्श, छलफल गरी अघि बढ्नुपर्छ ।

० केपी ओली नेतृत्वको सरकारले आजका दिनसम्म जनचाहना र एमालेको भावनाअनुसार काम गर्न सकेको छैन भन्ने तपाईंको आशय हो ?
कुरो र कुलो जता लगे पनि हुन्छ भन्ने कहावत छ । यसरी कुरो बटार्न भएन । केपी ओलीको नेतृत्व सफल या असफल भन्ने सवालमा म प्रस्ट्याउन चाहन्छु कि कुनै पनि व्यक्ति ‘पूर्ण’ हुँदैन । त्यसैले सामूहिक भावनालाई अङ्गीकार गरेर अघि बढ्दा सफल होइन्छ । आवश्यक सबैको परामर्श लिएर, सबैको मन र विश्वास जितेर जो अघि बढ्न खोज्छ, उसलाई अवश्य पनि सफलता हासिल हुन्छ । ओलीजी पनि सायद यस्तै प्रयत्नमा हुनुहुन्छ होला । हामी यस्तै कामना गरिरहेका छौँ ।

० तपाईं मुलुकले भोगेको अनेकौँ कठिन अवस्थामा पनि विशेष भूमिका निर्वाह गरेर एउटा उचाइ बनाएको नेता हुनुहुन्छ, तर आज आफ्नो पार्टीमै कसैले तपाईंको कुरा सुन्दैनन् भनिन्छ नि, घर न घाटको भएको हो र तपाईं ?
म घर न घाटको अवस्थामा पुगेको कल्पना कसैले गर्छ भने त्यो घोर मिथ्या हो, त्यस्तो अवस्था छैन । म आफ्नै स्थानमा छु, आफ्नै व्यक्तित्व र पहिचान छ मेरो । मेरो जो इतिहास छ त्यो छँदै छ । मेरो योग्यता, क्षमता कसैले हरण गरेर हरण हुने पनि होइन र ममा कुनै कमी–कमजोरी छँदै छैन भन्न पनि सक्दिनँ । जे छु म आफ्नै प्रकारको छु । पार्टीमा पनि मेरो आफ्नै स्थान छ । पदीय जिम्मेवारीका आधारमा तलमाथि त भइरहन्छ नि ।

० पार्टीका अध्यक्षले नै तपाईंलाई वास्तै गर्दैनन् भन्ने चर्चा एमालेवृत्तमै चल्छ त ?
यस्तो चर्चा खै कता चलेको छ मलाई त सुइँको छैन । म यति मात्र भन्न चाहन्छु कि सबैको मन जित्ने, सबैको भरोसा र विश्वास राख्ने तरिकाले लिडरसिप चल्यो भने सबै खुशी हुन्छन्, सबैको भलो हुन्छ ।

० माधवजी बिहान एउटा र बेलुका अर्को बोली बोल्नुहुन्छ, उहाँले मलाई सहयोग पनि गर्नुभएन भन्ने गुनासो ओलीजी गर्नुहुन्छ भन्ने सुनिन्छ नि ?
माधवकुमार नेपाल यस्तो व्यक्ति हो जसले गणतन्त्र ल्याउँछु भन्ने सङ्कल्प गर्‍यो– ल्याइछाड्यो । ऊ यस्तो व्यक्ति हो जसले प्रचण्डलाई शान्तिप्रक्रियामा ल्याउने निर्णय गर्‍यो र ल्याइछाड्यो । माधव नेपाल यस्तो व्यक्ति हो जसले ०४७ सालको संविधान बनाउँछु भनेर लाग्यो र संविधान बनाइछाड्यो । माधवकुमार यस्तो व्यक्तित्व हो जसले ‘आगामी सरकार कसको ?– एमालेको’ भन्ने नारा अघि सार्‍यो र त्यो नारा साकार पारेर एमालेको नौमहिने सरकार गठन गर्‍यो । ऊ यस्तो व्यक्ति हो जसलाई गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रीका रूपमा अगाडि बढाउनुपर्छ भनेर सात दलको बैठकमा प्रस्ताव राख्दा सबैले एकमतले स्वीकारे र पछि जिम्मेवारी लिने बेला लिएर चुनौती सामना गर्‍यो । तसर्थ, माधव नेपाल त्यस्तो व्यक्ति होइन जो कुरा बदल्छ, अठोट बदल्छ र चुनौतीबाट भाग्दछ ।

० माधव नेपाल पदलोलुपचाहिँ हो कि होइन ?
माधव नेपाल पदको लोभी भइदिएको भए पार्टीको महासचिवबाट राजीनामा दिन्थ्यो ? दुई दिनको निम्ति भए पनि गिड्गिडाएर थामिन खोज्थ्योहोला नि । पदलोलुप भइदिएको भए प्रधानमन्त्री पदबाट पनि हट्ने थिएन होला नि । प्रधानमन्त्री पदमा एक दिन मात्र बढी रहन पनि मर्नै खोज्छन् मान्छे । मलाई कसैले छोड भनेको थियो ? थिएन । तर छोडेँ । अहिलेसम्म पनि मैले त्यो पद खुरुक्क छोडिदिएँ भनेर विभिन्न दलका साथीहरू नै रिसाएका छन् ।

० तपाईं एमालेजस्तो पार्टीको १५ वर्ष शक्तिशाली महासचिव भएर रहेको व्यक्ति फेरि अध्यक्षमा उम्मेदवारी दिएर पराजित हुनुपरेकोचाहिँ किन होला नि ?
यो कुन ठूलो कुरो भयो ?

० पार्टीभित्र सर्वमान्य भएर बसेको भए हुने नि ?
सर्वमान्य भनी गणेशमान भएर बस्न को सक्छ ? मेरो स्वभाव सर्वमान्यको नाममा गणेशमानजी जस्तो भएर बस्ने छैन । मेरो स्वभाव गतिशील स्वभाव हो । कार्यकारी स्वभावको मान्छे हुँ म । म कृष्णप्रसाद भट्टराईजस्तो खालि आदर्शको कुरा गरेर रहने मान्छे पनि होइन । म यो मुलुकलाई परिवर्तन गर्नुपर्छ भन्ने भावना बोकेको ऊर्जा रहेको, खुवी र क्षमता भएको अनि कसरी मुलुक हाँक्नुपर्छ भन्ने योजना बोकेको व्यक्ति हुँ । त्यो व्यक्ति सर्वमान्यको नाममा थन्केर बस्न सक्छ ?

० ओलीजीले त पदमा नदोहोरिने कुरा गर्नुभएको छ नि, के भन्नुहुन्छ ?
ठीकै छ, म पनि दोहोरिन चाहन्नँ । त्यसैले एकपटक म अध्यक्ष भएरै छाड्छु । सारा कार्यकर्ताले भनिरहेका छन् कि तपाईंले पार्टी हाँक्नुपर्छ, मुलुक चलाउनुपर्छ भनेर । के त्यसै सुस्ताएर बसुँ ?

० यसको मतलब अध्यक्ष बन्नका लागि पार्टीमा गुट चलाउनुहुन्छ तपाईं ?
कुनै गुट चलाएर बस्ने सोख मलाई छैन, म त पार्टी चलाउने हो । पार्टीलाई एउटा निश्चित र उज्यालो दिशा दिने हो ।

० तपाईं ईश्वर पोखरेललाई भविष्यमा एमालेको अध्यक्ष बन्न नदिने सुरमा हुनुहुन्छ कि कसो हो ? युवापुस्तालाई नेतृत्व हस्तान्तरण गर्न चाहनुहुन्न ?
युवापुस्ता भनेको को ? फेरि ईश्वर पोखरेलजी त मेरै उमेर हाराहारीको व्यक्ति हुनुहुन्छ ।

० त्यसो भए घनश्याम भुसाल र योगेश भट्टराईहरूलाई दिन चाहनुहुन्छ त ?
कार्यकर्ता सबैले त्यही भन्छन् भने त मैले नदिएर हुन्छ र ? दिनैपर्छ नि । नेतृत्व भनेको त्यसरी हुँदैन । अमेरिकाजस्तो मुलुकमा पनि ७३ वर्षका व्यक्ति राष्ट्रपतिमा उठेका छन्, ६७ वर्षका व्यक्ति प्रतिस्पर्धी छन् । त्यहाँ युवापुस्ताका कुरा चल्दैनन् भने यहाँ के कुरा गर्ने ? युवा मात्र भनेर हुँदैन, लिडरसिप भनेको विश्वासको कुरा हो ।

० तीन वर्षपछि अध्यक्ष बन्न अहिलेदेखि नै तपाईं गाउँ–गाउँ पुग्न थाल्नुभयो, हगि ?
आफ्ना कार्यकर्तामाझ जानै नहुने ? के मैले तीन वर्ष बाँकी छ भनेर कोठैमा थन्किएर बस्नुपर्ने ? कार्यकर्तामाझ जानुको अर्थ के गुट बनाएको बुझिन्छ ? मकहाँ कार्यकर्ता लुँडिएर आउँछन् त के नआऊ भनेर ढोका लगाएर बस्ने ? हँ ? कार्यकर्ताले मलाई माया गर्छन्, म उहाँहरूलाई सम्मान गर्छु । कार्यकर्ताले माधव नेपाललाई मनपराउँछन् भनी कोही इष्र्या राखेर, डाह गरेर, भित्रभित्रै पोलेर–पाकेर बस्छन् भने मैले के गर्न सक्छु ? माधवकहाँ कोही नजानु भनी कार्यकर्तालाई उर्दी जारी गरेर तुच्छ र निच ढङ्गको व्यवहार अपनाउनेलाई त खै के भन्ने र !

० एमालेमा गुट छ कि छैन प्रस्ट पारिदिनुस् त ?
एमालेमा गुट छ । गुट चलाइरहेका छन्, यसरी गुट चलाउनेले मनपरी बेथिति गरिरहेका छन् । यो हुनुहुँदैन भनेर हामी भनिरहेका छौँ ।

० अध्यक्ष ओली त गुट छैन भनिरहनुभएको छ नि ?
– यी मीठा कुरा हुन्, मीठा कुराले हुँदैन, काम चाहियो काम– परिणाम ! अनेरास्ववियुका विद्यार्थीको एउटा पङ्क्तिलाई बिहानदेखि बेलुकासम्म बालुवाटारमा भोजभतेर, एक पक्षलाई उपेक्षा किन ? यसरी पनपक्ष किन गरिँदै छ ? यसले समस्या बढाउँछ कि घटाउँछ ? गुटबन्दीले कसलाई फाइदा गर्छ ?

० सरकारले जनचाहना पूरा गर्न नसकेको गुनासो चौतर्फी सुनिएको छ, यसरी केपी शर्मा असफल हुँदा एमाले पार्टीलाई घाटा पर्‍यो भन्ने तपाईंलाई लाग्दैन ?
यसरी निजी व्यक्तिका बारे म कुनै टीका–टिप्पणी गर्न चाहन्न । तर, यो सरकारले आफ्नो काम या गतिलाई तीव्र बनाउनुपर्छ । भ्रष्टाचारलाई पहिलो शत्रु ठानेर त्यसविरुद्ध उभिनुपर्छ । कमिशनतन्त्र र कालाबजारी, मूल्यवृद्धि गर्नेहरू, तस्कर र माफियाहरूको जालो तोड्नुपर्छ र सरकारले समयमै काम सुरु गरेर समयमै सक्ने क्षमता प्रदर्शन गर्न सक्नुपर्छ ।

० यो सब गर्न सकेन, सरकारले उल्टै तस्कर, भ्रष्टहरूलाई संरक्षण दिएको आरोप लाग्न थालेको छ ?
सरकारले केही गर्न सकेको छैन भने प्रधानमन्त्रीजीले जनताका यी कुरा सुन्नुपर्‍यो र सुधार गर्न के गर्नुपर्छ गर्नुपर्छ । तर, प्रधानमन्त्रीले सर्वप्रथम आफ्ना वरिपरि भएका मानिसको अनुहारचाहिँ राम्ररी हेर्नुपर्‍यो । सरकारका मान्छेहरूको साँठगाँठ भ्रष्टहरूसँग पक्कै छ धेरैले ठानेका छन् । मलाई पनि त्यस्तै लाग्छ । दुनियाँले देखिरहेका छन् कि खास–खास व्यापारीहरू कुनै मन्त्रीविशेषको निवासमा चक्कर लगाइरहेका हुन्छन् । बेडरुममा समेत तिनले प्रवेश पाइरहेका हुन्छन् । यो कस्तो सम्बन्ध हो ? कतै उनीहरू आर्थिक पार्टनर भएका त होइनन् ?

० यो सरकार परिवर्तन गर्ने बेला भयो भन्छन् नि, तपाईं के भन्नुहुन्छ ?
सरकारले कमी–कमजोरी सुधारेर अगाडि बढ्ने समय छ भन्ने लाग्छ । आफ्नो पार्टीले नेतृत्व गरेको सरकारलाई मैले ढाल्ने कुरा गर्न त मिल्दैन नि !

० राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने रहर छैन तपाईंलाई ?
बेला न कुबेला मुख मिठ्याएर मात्र त हुँदैन नि । त्यस्ता चाहना या आकाङ्क्षामा तरङ्गित हुनेभन्दा पनि अहिले मुलुकको अर्थिक विकास र निर्माण कसरी हुनसक्छ, युवालाई रोजगारी कसरी दिलाउन सकिन्छ, भूकम्पपीडितलाई कसरी पुनस्र्थापित र पुनर्निर्माण गर्न सकिन्छ भन्नेमै चिन्तन गर्ने, क्रियाशील हुने हो ।

० तपाईं मधेसबाट प्रतिनिधित्व गर्नुहुन्छ, मधेसको समस्या समाधान गर्न त सक्नुभएन नि ?
वास्तवमा मधेसमा त्यस्तो खास समस्या केही छैन । निर्वाचन क्षेत्र बढाउनुपर्ने कुरा गरिएको छ, तर रौतहटकै कुरा गरौँ । हिजो २ सय ५ सङ्ख्या हुँदा पनि रौतहटले चार सिट पाएको थियो भने अहिले एक सय पैँसट्ठी हुँदा पनि चारै सिट पाएको छ । धनुषा, सर्लाहीले हिजो चार सिट पाएकोमा अब पाँच सिट पाउँदै छ । बारा, पर्साले पनि हिजो पाएको भन्दा कम पाइरहेको छैन । त्यसैले यहाँ संविधानमा लेखिएको यथार्थ लुकाएर झुठा र हावादारी प्रचार गरिँदै छ भन्ने सबैले बुझ्नुपर्‍यो । मधेसमा होइन समस्या मधेसका नेताहरूमा छ ।

० तपाईंलाई त मधेसविरोधी नेताका रूपमा पनि चित्रित गर्न थालिएको छ नि ?
छैन–छैन । मलाई त मधेसी जनताले आफ्नो मधेसको नेताका रूपमा ठान्छन् । तब त मलाई विजयी बनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रत्येक स्थानीय तहमा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ ।

बाबा राजेश्वरी थापा, भियना, अष्ट्रिया । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण आजको

नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको

लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व