‘काँग्रेसलाई नेतृत्व लिन हतारो छैन, प्रतिपक्षमै बस्छ’ : नवनिर्वाचित सभापति देउवा

२९ फाल्गुन २०७२, शनिबार ००:२७ मा प्रकाशित

काठमाडौँ, २८ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी सरकारको नेतृत्व लिन हतारमा नरहेको टिप्पणी गरेका छन् । सभापति देउवाले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्नो दल सरकारको नेतृत्व लिन हतारमा नरहेको प्रष्ट पारेका हुन् ।

उनले भने. ‘सरकार आफ्नै बोझले ढल्छ, हामी विपक्षीको भूमिका खेल्न चाहन्छौँ किनभने प्रजातन्त्रमा विश्वास गर्नेले बलियो विपक्षी भएको खण्डमा प्रजातन्त्र फस्टाउँछ, फुल्छ, कसैमाथि अन्याय हुँदैन, विपक्षी बलियो भएन भने त्यहाँ तानाशाही हुन्छ भन्ने तथ्य बुझ्न आवश्यक हुन्छ ।’

आवश्यकता र परिस्थितिले माग गरेको खण्डमा राष्ट्रिय सरकार नबन्ने भन्ने होइन भन्दै सभापति देउवाले प्रजातन्त्रको सुन्दर पक्ष भनेको शक्ति सन्तुलन हो, त्यसका लागि पनि नेपाली काँग्रेस विपक्षमा बस्नुपर्छ भने । पार्टीको सिद्धान्त, नीति र आदर्शलाई आत्मसात् गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र र बहुदलीय व्यवस्थालाई कसैले कमजोर बनाउन नदिने कामलाई प्राथमिकता राख्ने उनको भनाइ थियो । लोकतन्त्रको स्थायित्व, संविधानको कार्यान्वयन, प्रदेशको सीमाङ्कनलगायत मधेसका मुद्दा सम्बोधनमा पनि विशेष ध्यान पुर्याउने उनले बताए ।

सभामुखलाई फसाइयो
न्याय परिषद्बाट न्यायाधीश नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न पठाएको पत्र सभामुखबाट फिर्ता पठाएको विषयमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गर्ने जानकारी उनले दिए ।

उनले भने, ‘अत्यन्त सम्मानित पद भएकाले सभामुखले त्यस्तो हस्तक्षेप गर्न हुँदैन, त्यो गर्ने नै होइन । बरु सुनुवाइ समिति बनाएर छिटो काम गरेको भए हुन्थ्यो । कसलाई चित्त बुझ्छ वा बुझ्दैन समितिले छिनोफानो गरिहाल्छ नि । सभामुख विवादरहित र असल मान्छे हुनुहुन्छ, कसैले फसाइदियो जस्तो लाग्छ ।’

सबैलाई समेटेर लान्छु
नेपालमा लोकतन्त्र स्थापनाका लागि २००७, २०४६ र २०६२-६३ सालमा भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको ऐतिहासिक पार्टीको सभापतिको जिम्मेवारी सम्हाल्न पाएकामा आफूलाई अत्यन्त गर्व, सम्मानित र जिम्मेवारी बोधको महसुस गरेको बताउँदै उनले भने, सबैलाई नमिलाउने हो भने केका लागि सभापति ?’

सभापति देउवाले भने, ‘म पार्टीको सभापति हुँ । सबै नेता तथा कार्यकर्तालाई निर्धक्क भएर कुरा राख्ने अधिकार छ । सबैले गुनासो र अन्याय भएको कुरा राख्न पाउँछन् । कसैलाई पनि काखा र पाखा गर्दिनँ । चिन्ता गर्ने काम छैन ।’

तीनपटक प्रधानमन्त्री भइसकेको स्मरण गर्दै उनले भने, ‘भर्खरै पार्टी सभापति भएँ । मैले काँग्रेसबाट धेरै कुरा पाइसकें । अब पार्टीलाई एकीकृत गरेर लैजाने, मिलाउने, चुनौतीको सामना गर्ने मेरो काम हो । शान्ति र प्रजातन्त्रलाई बलियो तुल्याएर देशलाई समृद्धिको दिशामा लैजाने काममा सहयोग पु¥याउन सबैलाई आह्वान गर्दछु ।’

छिमेकीसँग राम्रो सम्बन्ध राख्नुको विकल्प छैन
साथी बदल्न सक्छौँ तर छिमेकी बदल्न सक्दैनौँ भन्ने तथ्यलाई ध्यान पुर्याएर छिमेकीसँग राम्रो सम्बन्ध राख्नुबाहेक अर्काे विकल्प नरहेको उनले बताए ।

राष्ट्रको हितमा छिमेकी भारतसँगको विगतको चिसोलाई हटाएर सम्बन्धमा सुधार ल्याउने र चीनसँगको सम्बन्ध बढाउने पक्षमा आफू रहेको बताउँदै सभापति देउवाले भने, ‘छिमेकी दुई देशका चिन्ता र जायज चासोलाई पनि सम्बोधन गर्न आवश्यक छ ।’ भूकम्पपछिको नवनिर्माण र पुनःनिर्माणका लागि दाता मुलुकले आफ्नो करबाट पठाएको रकम पीडितको आवास निर्माणमा उपयोग गर्न नसकेर फिर्ता हुने अवस्था सिर्जना गर्न नहुने उनको भनाइ थियो । प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले जनताको हितमा आफूले सरकारमाथि दबाब सिर्जना गर्ने विश्वास पनि उनले दिलाए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको