बलियो प्रतिपक्षीबिनाको सरकार तानाशाही बन्न सक्छ: देउवा

२५ फाल्गुन २०७२, मंगलवार २२:४६ मा प्रकाशित

काठमाडौँ, २५ फागुन । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफू निर्वाचनमा विजयी हुनुलाई जितभन्दा पनि जिम्मेवारी थपिएको बताउनुभएको छ । निर्वाचित भएपछि आज पहिलो पटक आफ्नो निजी निवास बुढानिलकण्ठमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले पार्टीको आन्तरिक निर्वाचनमा जित हार नहुने बताउनुभयो । उहाँले पार्टीका साथीहरुले यसपालि आफूलाई जिम्मेवारी दिएको बताउँदै भन्नुभयो, “पार्टीलाई एक गरेर मजबुत बनाउनाका साथै मुलुकका समस्या समाधानका लागि पहल गर्न मलाई जिम्मेवारी दिइएको हो ।”

काँग्रेसको अधिवेशनको दौरानमा गाउँदेखि जिल्ला र जिल्लादेखि केन्द्रसम्म सहज रुपमा आन्तरिक प्रजातन्त्रको अभ्यास भएको बताउँदै नेता देउवाले मुलुकका सबै पार्टीलाई मिलाएर अघि बढ्ने बताउनुभयो ।

अत्यन्तै शान्तिपूर्ण रुपमा निर्वाचन प्रक्रिया सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो । अरु साथीको भावनाको पनि कदर पूरा वाचा गर्दै उहाँले भन्नुभयो, “उहाँहरु ९निर्वाचनमा पराजित०को पनि मलाई सहयोग रहने विश्वास छ, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला लगायत सबैलाई मिलाएर अघि बढ्नेछु, उहाँहरुको सम्मान र प्रतिष्ठा कायम राख्दै पार्टीमा अघि बढ्ने छु ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको महाधिवेशनपछि काँग्रेस पनि सरकारमा सहभागी हुन्छ भन्नुभएको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता देउवाले पार्टीमा अहिलेसम्म त्यसबारेमा कुनै छलफल नभएको बताउनुभयो । “प्रजातान्त्रिक पार्टी हो, मैले एक्लै भनेर केही हँुदैन” उहाँले भन्नुभयो ।

मुलुकका ठूला दल मिलेर सरकार सञ्चालन गरे मनपरी हुने काँग्रेसको धारणा रहेको बताउँदै उहाँले बहुदलीय प्रजातन्त्रमा नियन्त्रण र सन्तुलनका लागि पनि बलियो प्रतिपक्षी चाहिने काँग्रेसको धारणा रहेको जानकारी दिनुभयो । “बलियो प्रतिपक्षीबिनाको सरकार तानाशाही बन्न सक्छ” पूर्वप्रधानमन्त्री देउवाले भन्नुभयो ।

तराई–मधेसको असन्तुष्टिलाई कसरी समाधान गर्नुहुन्छ भन्ने जिज्ञासामा नेता देउवाले असहमतिमा रहेका पक्षसँग वार्ता गरेर सीमाङ्कन लगायत सबै विषयमा छलफल गरी समाधान गरिने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौंको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जंगलमा डढेलो लागेको छ । नागार्जुनस्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो निभाउनका

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न

काठमाडौं । नेपाल पत्रकार महासङ्घको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानलले जित हासिल गरेको छ । महासङ्घ

काठमाडौं । पूर्व महाराज ज्ञानेन्द्र शाहले भारतका गृहमन्त्री अमित शाहसँग भेटघाट गरेका छन् । उनी दुई दिनअघि भारतको हरिद्वारमा जारी