काँग्रेस १३ औँ महाधिवेशन: परिवर्तनको नयाँ दिशा पहिल्याउँदै काँग्रेस

२१ फाल्गुन २०७२, शुक्रबार २३:०६ मा प्रकाशित

सिबी अधिकारी, काठमाडौँ, २१ फागुन । मुलुकको राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति मानिने सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काँग्रेसको १३ औँ महाधिवेशनबाट सिङ्गो दल मात्र हैन मुलुकले पनि परिवर्तनको नयाँ दिशाको सम्भावना बोकेको छ ।

पार्टीको १२औँ महाधिवेशन भएको साढे पाँच वर्षपछि १३ औँ महाधिवेशनसम्म आइपुग्दा लोकतान्त्रिक अभ्यास पार गर्दै दलले नीति, नेतृत्व र सङ्गठनलाई नयाँ दृष्टि, दिशा र ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ । विसं २००७ को ऐतिहासिक जनक्रान्ति सफल पार्ने, २०१७ पछिको अत्यन्त कठिन र प्रतिकूल परिस्थितिमा पार्टीलाई जीवन्त बनाइराख्ने र २०४६ को जनआन्दोलन सफल पार्ने तथा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ भएको विसं २०६२÷०६३ को शान्तिपूर्ण जनआन्दोलनलाई निष्कर्षमा पु¥याउन काँग्रेसले खेलेको नेतृत्वदायी भूमिका अद्वितीय छ ।

जननायक बिपी कोइराला, नेता सुवर्णशम्शेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सन्तुलित र बुद्धिमतापूर्ण अथक योगदानले काँग्रेसलाई आजको अवस्थामा ल्याएको हो । पछिल्लो कालखण्डमा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले परिवर्तनको दिशामा पार्टीलाई लैजान महत्वपूर्ण भूमिका खेल्नुभयो । काँग्रेसको १३औँ महाधिवेशनलाई मुलुकमा विद्यमान अन्य राजनीतिक शक्ति र आम नागरिकले समेत गम्भीरतापूर्वक हेरिरहेका छन् ।

बिहीबारदेखि सुरु भएको महाधिवेशनको आज दोस्रो दिन भृकुटीमण्डपमा बन्द सत्र चलिरहेको छ । बन्द सत्रमा पार्टीले अवलम्बन गर्ने आगामी नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ । चार दिनसम्म चल्ने महाधिवेशनले सभापति, महामन्त्री, कोषाध्यक्ष र समानुपातिक, समावेशी प्रतिनिधित्वसहितका ६४ जना केन्द्रीय सदस्य निर्वाचित गर्नेछ । काँग्रेसको विधानानुसार बाँकी सदस्य मनोनयन प्रक्रियाद्वारा पूर्णता दिई ८५ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ ।

महाधिवेशनका लागि देशभरका २४० निर्वाचन क्षेत्रबाट दुई हजार ८८०, विदेशस्थित १७ जनसम्पर्क समितिबाट १२६ , १७ भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ र वर्तमान केन्द्रीय कार्यसमितिका ८४ सदस्य गरी तीन हजार १८८ महाधिवेशन प्रतिनिधिको सहभागिता छ ।

नेपालको राजनीतिमा निर्णायक शक्तिका रुपमा रहेको काँग्रेसको महाधिवेशनलाई अन्तर्राष्ट्रिय समुदायले पनि निकै चासो र उत्सुकताका साथ अवलोकन गरिरहेको छ । अघिल्लो महाधिवेशनभन्दा भिन्न परिवेशमा रहेको राष्ट्रिय राजनीतिलाई काँग्रेस र समग्र राष्ट्रले सामना गर्नुपर्ने चुनौती, राजनीतिक अवस्था र अवसर पनि भिन्न प्रकृतिका छन् । काँग्रेस नवीन अवसर, अनुभव र चुनौतीका बीचमा उभिएको छ । आजको सन्दर्भमा काँग्रेसले आफ्ना नीति, नेतृत्व र सङ्गठनलाई समयसापेक्ष रूपमा रूपान्तरण गर्न सक्छ कि सक्दैन, यो सबैको चासो र उत्सुकताको विषय भएको छ ।

झन्डै साढे छ दशकपछि काँग्रेसकै नेतृत्वमा संविधानसभामार्फत समावेशिता, सङ्घीयता र लोकतान्त्रिक गणतन्त्र सहितको नयाँ संविधान आएको छ । महाधिवेशनको यस ऐतिहासिक क्षणमा परिवर्तनले सिर्जना गरेका यी नवीन अवसरको उपयोग गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीको सामना गर्न सक्ने दूरदृष्टि, आँट र सङ्कल्पका साथ भावी कार्यनीति, रणनीति, नेतृत्व चयन र सङ्गठन निर्माणको कार्यदिशा निर्धारण गर्नुपर्ने अवस्था आएको छ । संविधानको कार्यान्वयनको चुनौतीपूर्ण घडीमा राजनीतिक दृढता, सुझबुझ र सन्तुलित सोचको आवश्यकतालाई शिरोपर गर्दै काँग्रेसले नेतृत्वदायी भूमिका खेल्न जरुरी छ ।

नयाँ संविधानले सङ्घीयतालाई संस्थागत गरेको अवस्थामा यसलाई व्यावहारिक कार्यान्वयन गर्न काँग्रेसले विशेष भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी छ । महाधिवेशनको नीति तथा कार्यक्रममा काँग्रेसले समानुपातिक समावेशी नीति अवलम्बन गर्दै आधुनिक र सभ्य सामाजिक मूल्य र मान्यताको स्थापना, नागरिक स्वतन्त्रता, अधिकार र स्वामित्व, सामाजिक उत्तरदायित्वको विकास, सीमान्तकृत वर्गको सुरक्षा र संस्थागत व्यवस्था, सशक्तीकरण तथा समावेशीकरण, सामाजिक सुरक्षाको विषयलाई प्राथमिकता दिएको छ ।

दलितका सन्दर्भमा काँग्रेसले विगतका सामाजिक आन्दोलन र अभियानलाई निरन्तरता दिँदै बदलिँदो विश्व र नेपालको परिवेशलाई ध्यानमा राख्दै यस कार्यलाई प्रभावकारी र परिणाममुखी बनाउने जनाएको छ । महिलाको विकास र सशक्तीकरणका लागि संवैधानिक अधिकारलाई समेत ध्यानमा राखी काँग्रेसले महिलाको प्रतिनिधित्व, अवसरमा पहुँच र नेतृत्व विकासलाई प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्ने, ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा तथा अपाङ्गता भएका समुदायको समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा उनीहरुलाई रोजगारी र उद्यमशीलताको अवसर दिलाउने नीति लिएको छ ।

युवा शक्तिलाई राष्ट्र निर्माणमा उपयोग गर्ने मान्यताका साथ काँग्रेसले युवाको क्षमता अभिवृद्धिका साथै समानुपातिक प्रतिनिधित्व र सहभागिता सुनिश्चित गरिने तथा स्वदेशमै रोजगारी सिर्जना गरिने काँग्रेसको योजना छ । प्रजातान्त्रिक आन्दोलनदेखि अहिलेको अवस्थासम्म आइपुग्दा मधेस नै मुख्य आधार भूमि ठानेको काँग्रेसले तराई–मधेसभित्रका विविधतामा एकता स्थापित गर्न, अल्पसङ्ख्यक मुसलमान, महिला, भूमिहीन, दलित, पिछडा वर्ग, अपेक्षाकृत पछि परेका थारु र मधेसीको हकहित सुरक्षित गर्न समानुपातिक र सन्तुलित विकास योजनालाई अगाडि बढाउने जनाएको छ ।

दुर्गम क्षेत्रमा पूर्वाधार विकास, आदिवासी जनजातिलाई समावेशी र समानुपातिक सिद्धान्तका आधारमा उम्मेदवार बनाउन प्राथमिकता दिने, विश्वका विभिन्न देशमा रहेका नेपालीलाई सङ्गठित गर्दै उनीहरुलाई राष्ट्र निर्माणमा परिचालित गर्ने नीति र कार्यक्रम छ ।

आर्थिक नीतिअन्तर्गत काँग्रेसले अर्थतन्त्रको सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रलाई प्रभाव पार्ने भूमि र श्रमलाई विशेष महत्व दिँदै जमिनमा कृषकको पहुँच सुनिश्चित गर्ने नीति आगाडि ल्याएको छ । विश्वको आर्थिक अवस्थालाई ध्यानमा राख्दै खुला अर्थतन्त्र र उदार अर्थ नीतिलाई आर्थिक उन्नतिको मूल नीतिका रूपमा अगाडि ल्याई निजी क्षेत्रको भूमिकालाई बढी महत्व दिँदै नीतिगत र प्रशासनिक सुधारका कार्यक्रम पनि अघि सारेको छ । आर्थिक पुनःनिर्माणलाई जोड दिँदै काँग्रेसले लगानीलाई प्रोत्साहन, आर्थिक उन्नति र युवालाई रोजगारी सिर्जना गर्ने तथा गरिबी न्यूनीकरण गर्न सक्ने आर्थिक नीति अवलम्बन गरिने आफ्नो नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

बजार अर्थतन्त्रलाई दरिलो बनाउने र दोस्रो चरणको नीतिगत सुधारको श्रृङ्खलालाई तीव्रता दिनाका साथै मानव विकास र भौतिक पुँजी निर्माणमा जोड दिने काँग्रेसले प्राथमिकतामा राखेको छ । आर्थिक विकासका लागि प्राथमिकताका क्षेत्र छनोट गर्दै काँग्रेसले कृषि, पर्यटन, ऊर्जा र मानव क्षमता विकासलाई अभियानका रुपमा अघि बढाउने जनाएको छ ।

भौतिक पूर्वाधारको विकास, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा तथा श्रम तथा रोजगारलाई व्यवस्थापन गर्ने नीति लिएको काँग्रेसले अन्तर्राष्ट्रिय सम्बन्धलाई थप प्रभावकारी बनाउनाका साथै क्षेत्रीय सहयोग सङ्गठन, अन्तर्राष्ट्रिय दातृ निकाय र गैरसरकारी संस्था, पार्टीगत अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार तथा पार्टी, सङ्गठन, सुदृढीकरण र सङ्गठन विस्तारलाई विशेष प्राथमिकता दिएको छ । नयाँ संविधानको व्यावहारिक कार्यान्वयन गर्दै काँग्रेसले नेपाललाई लोकतान्त्रिकीकरण गर्ने दिशामा समग्र शक्ति लगाउने र समाजमा दिगो शान्ति स्थापना गर्ने प्रतिबद्धता जनाएको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रहरीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र पेश गरेर काम गरिरहेका ७ जना ‘नक्कली

काठमाडौँ । सरकारले सार्जवनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको

काठमाडौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको छ। नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमाले(नेकपा)को केन्द्रीय कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा