काँग्रेसको नेतृत्वमा महिला कोटा कम हुँदा नेत्रीहरू निराश

१९ फाल्गुन २०७२, बुधबार ११:०० मा प्रकाशित

राधा चालिसे, काठमाडौँ, १९ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रका महिला नेत्री भने निराश छन् । पार्टीको केन्द्रीय संरचनामा महिलाको प्रतिनिधित्व जम्मा १७ प्रतिशतमा मात्र सीमित गरिएकाले महिला नेत्रीले असन्तोष व्यक्त गरेका हुन् । नेपाली काँग्रेसकै नेतृत्वमा बनेको संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिसकेको छ तर पार्टीको केन्द्रीय संरचनामा भने महिलाको प्रतिनिधित्व जम्मा १७ प्रतिशतमा मात्र सीमित गरिएकाले नेत्रीहरूले असन्तोष व्यक्त गर्नुभएको हो ।

१३औँ महाधिवेशनमा पार्टीको विधान संशोधनको कुनै एजेन्डा नै प्रस्तुत नभएपछि १२औँ महाधिवेशनमा कायम गरेजति मात्र महिला सहभागिता रहने निश्चित भएको नेतृहरूको भनाइ छ । १२औँ महाधिवेशनले केन्द्रीय कार्यसमितिमा घटीमा १३ जना महिला रहने व्यवस्था गरेको थियो ।
पार्टी नेतृत्वका लागि नेत्री सुजाता कोइरालाले सभापतिमा आफ्नो उम्मेद्वारी दिने घोषणा गरिसक्नुभएको छ भने पुष्पा भुसालले आफू कोषाध्यक्षको प्रत्यासी रहेको बताउनुभएको छ । नयाँ संविधान निर्माणको नेतृत्व गरेको पार्टीको आन्तरिक विधान पनि त्यसैअनुरूप नबनाएकोमा नेत्री भुसालले निराशा व्यक्त गर्नुभयो ।
उहाँले केन्द्रीय पदाधिकारीमा पनि महिलाको सहभागिता सुनिश्चित गरिनुपर्ने र पदाधिकारीमा रहिसकेका महिला अर्को महाधिवेशनमा खुला कोटाबाट चुनाव लड्नु सिद्धान्ततः सही हुने बताउनुहुन्छ । अहिलेसम्म पाटीभित्र त्यस प्रकारको वातावरण नभएकाले अधिकांश महिला नेत्री भने आरक्षण कोटामा नै आफैँलाई सुरक्षित राख्ने दाउमा हुनुहुन्छ ।
अघिल्लो महाधिवेशनमा पनि केन्द्रीय सदस्य भइसक्नुभएका नेत्री कमला पन्त यसपटकको महाधिवेशनमा पनि महिला कोटाबाट नै आफ्नो उम्मेदवारी दिने तयारीमा रहनुभएको छ । उहाँले नयाँ संविधान अनुकूल पार्टीको विधान बनाउन आफूहरूले महाधिवेशनको बन्दसत्रमा पनि प्रयास गरिरहने बताउनुभयो । नेत्री मीना पाण्डे पनि महिला कोटामा नै उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ ।
नेत्री महालक्ष्मी उपाध्याय डिना भने महिला कोटाबाट नभई खुलाबाट सदस्यमा आफ्नो उम्मेदवारी दिने बताउनुहुन्छ । उहाँले विगत ३० वर्षदेखि राजनीति गर्दै आएकाले आफू महिला कोटामा सीमित हुन नपर्ने र खुला कोटाबाट नै प्रतिस्पर्धामा जानसक्ने आत्मविश्वास रहेको दाबी गर्नुभयो । पार्टीले अहिलेको व्यवस्थासँगै मनोनीत गर्ने पदहरूमा सकेसम्म बढी महिला ल्याएर पनि ३३ प्रतिशत पु¥याउनसक्ने उहाँको भनाइ छ ।
त्यस्तै यसअघि मनोनीत सांसद भइसक्नुभएकी उदयपुरकी नेत्री प्रमिला राईले भने छ जनाकोे महिला कोटाबाट नै आफ्नो उम्मेद्वारी दिने बताउनुभयो । नेत्री उषा गुरुङले जनजाति कोटाबाट आफूले उम्मेदवारी दिने घोषणा गर्नुभयो । आफूले केन्द्रीय सदस्यका लागि पहिलोपटक उम्मेदवारी दिन लागेको जानकारी दिँदै आरक्षणको कोटा आफूले एक पटकमात्र उपयोग गर्ने बताउनुभयो । जनजाति महिलामा दुईजनाको आरक्षण छ ।
पार्टीको महाधिवेशनका लागि २४० निर्वाचन क्षेत्रबाट दुई जना महिला अनिवार्य गरिएकाले कम्तीमा ४८० महिला सहभागी हुनेछन् । त्यसबाहेक खुला र विभिन्न भ्रातृ सङ्गठन र विदेशस्थित जनसम्पर्क समितिबाट समेत गर्दा महाधिवेशनमा पाँच सयभन्दा बढी महिला सहभागी हुनेछन् । तीमध्ये महाधिवेशन प्रतिनिधिमध्येबाट निर्वाचित छ जना महिला निर्वाचित हुनेछन् ।
त्यसबाहेक सभापतिबाट एक जना महिला मनोनीत हुने व्यवस्था छ । त्यस्तै दलित वर्गका लागि छुट्याइएको पाँच कोटामा पनि दुईजना महिला रहने व्यवस्था छ । त्यस्तै आदिवासी जनजातिका लागि व्यवस्था गरिएको पाँच जनामध्येबाट पनि दुई जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ । मधेसी प्रतिनिधिमध्येबाट पनि दुईजना महिला रहने व्यवस्था छ । पार्टीको सभापतिसमेत बढीमा ८५ सदस्यीय केन्द्रीय पदाधिकारी रहने व्यवस्था पार्टीको विधानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

काठमाडौं । पार्टी ह्वीप उल्लंघन गर्ने कर्णाली प्रदेशका चार जना सांसदलाई प्रदेश संसदीय दलले कारबाही सिफारिस गरेको छ । माओवादी

काठमाडौँ । कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा मतदान गर्ने नेकपा एमाले (नेपाल-खनाल पक्ष) का चार जना सांसदहरूलाई कारबाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा