‘काङ्ग्रेसको १३औँ महाधिवेशनले नयाँ आशाको सञ्चार गर्छ’

राजीवविक्रम शाह सांसद, नेपाली कांग्रेस
१८ फाल्गुन २०७२, मंगलवार १२:१० मा प्रकाशित

० महाधिवेशन कत्तिको लागेको छ ?

हाम्रो पार्टीको महाधिवेशन आउन अब एक साता पनि बाँकी छैन । यस्तो अवस्थामा महाधिवेशनले नछुने भन्ने कुरै छैन । स्थानीय अधिवेशन सुरु हुनुअघिदेखि नै महाधिवेशनले मलाई मात्र होइन, नेपाली कांग्रेसका साथै सिंगो देश र अन्तर्राष्ट्रिय समुदायलाई पनि हाम्रो महाधिवेशन लागिसकेको छ ।

० कांग्रेसको महाधिवेशनले नेतृत्व मात्र चयन गर्छ कि अहिलेको देशले भोगिरहेको संकट समाधान गर्ने गरी केही नीतिगत पहल गर्छ ?

तपाईले राम्रो प्रश्न गर्नुभयो । नेपाली कांग्रेस यो देशको सबैभन्दा ठूलो र जिम्मेवार पार्टी पनि हो । कांग्रेसले सही निर्णय गरे मात्र देशले सही निकास पाउने कुरा मैले भनिराख्नुपर्दैन । त्यसकारण अहिलेको महाधिवेशन कांग्रेसको मात्र महाधिवेशन भए पनि यसले समग्र राष्ट्रिय राजनीति र हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धमा समेत प्रभाव पार्छ । यसैले महाधिवेशनले नयाँ नेतृत्व त चयन गर्ने नै भयो । यो महाधिवेशनको अनिवार्य प्रक्रियाअन्तर्गत पर्ने कुरा हो । अर्काे कुरा, अहिले देशले जुन जुन समस्या भोगिरहेको छ, त्यसको निकास गर्दै देशलाई आर्थिक समृद्धिको बाटोतर्फ डो¥याउने मार्गनिर्देशन पनि हाम्रो महाधिवेशनले गर्छ ।

० बाहिर हेर्दा त खाली नेतृत्वको जोड–घटाउको चर्चा मात्र सुनिन्छ ?

महाधिवेशनको सबैभन्दा ठूलो काम नेतृत्व चयन पनि हो । त्यसो भइसकेपछि यसबारे चर्चा नहुने भन्ने त हुँदैन नि । कस्तो नेतृत्व आउने, कसको नेतृत्व आउने, नेतृत्वका गुणदोषका विषयमा जति धेरै छलफल भयो, उत्ति नै पार्टीलाई राम्रो हो नि । नेतृत्व सही आएन भने भोलि पार्टी राम्रोसँग चल्न सक्दैन । यसैले सबैको चासो पार्टीको भावी नेतृत्वका बारेमा हुनु स्वाभाविक हो । तर यसो भन्दै गर्दा पार्टीको नीतिमाथि छलफल नै भएको छैन कि जस्तो गरी जसरी बाहिर चर्चा भईरहेको छ, त्यो साँचो होइन । पार्टीभित्र विभिन्न मोर्चामा कस्तो नीति तथा कार्यक्रम तय गर्ने भन्नेमा छलफल जारी छ । यो त्यति धेरै चर्चामा नआएको हो कि भन्ने मलाई लाग्छ ।

० कस्तो नीति हुनुपर्ला पार्टीको ?

संविधान आएपछि समृद्धितर्फ मुलुक जाने हामी सबैले अपेक्षा गरेका थियौं । लामो समयदेखिको राजनीतिक द्वन्द्वको अन्त भई शान्ति कायम हुने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुने हामीले अपेक्षा गरेका थियौं । दुर्भाग्यवश त्यस्तो भएन र हामीले कल्पना पनि नगरेको पीडा नेपाली जनताले भोग्नुप¥यो । मधेसमा संविधानलाई लिएर जसरी असन्तुष्टि चुलियो र करिब ५३ जना व्यक्तिले ज्यान गुमाउनुप¥यो । यो दुःखद विषय थियो । यस्तै भूकम्पले तहसनहस भएको देशलाई पुनर्निर्माणको बाटोमा लैजानुपर्ने बेला हामीले संविधान जारी भएपछि जुन खालको संकटको सामना गर्नुप¥यो, यसले जनताको दैनिकी मात्र होइन, राज्यलाई नै ठप्पको स्थितिमा पु¥याइदियो । अर्थतन्त्र पनि तीन दशकअघिको अवस्थामा पुग्यो । छिमेकी देशहरूसँगको सम्बन्धमा पनि केही चिसोपन देखियो । अहिले यी विषयलाई सम्बोधन गर्ने गरी हामीले पार्टीको नीति बनाउनु जरुरी छ । बेरोजगार समस्या कहालीलाग्दो छ । युवाको पलायन डरलाग्दो अवस्थामा भइरहेको छ । यस्तै, पार्टी सञ्चालनमा पनि समस्या देखिएका छन् । यी विषयलाई पनि सम्बोधन गर्नुपर्ने छ । यसरी हेर्दा हाम्रो महाधिवेशन सामान्य अवस्थामा भइरहेको छैन । निकै जटिल र कठिन समयमा भइरहेको महाधिवेशनले नेपाली जनतालाई नयाँ आशा र विश्वास दिनु जरुरी छ ।

० तपाईले भने जस्तो नीति तथा कार्यक्रम आउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?

मैले माथि भनेका विषय अहिलेका राष्ट्रिय मुद्दा हुन् । यसबाट कांग्रेस पन्छिने कुरा कल्पना पनि गर्न सकिँदैन । कांग्रेसको महाधिवेशनपछि यी सबै विषय छु मन्तर गरे जस्तै सबै एकैपटक हल हुन्छन् भन्ने कुरा पनि नसोचौं, तर समस्या समाधानतर्फ हाम्रा पाइला अवश्य अगाडि बढ्ने छन् । कांग्रेसको महाधिवेशनपछि देश सहज बाटोतर्फ अगाडि बढ्दै जानेमा म विश्वस्त छु ।

० महाधिवेशनमा तपाईको पनि उम्मेदवारी छ कि ?

साथीहरूसँग छलफल भइरहेको छ । सबैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन सुझाव दिइरहेका छन् । साथीहरूको सल्लाहअनुसार म केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सोचाइमा छु । आफ्नो योग्यता, क्षमता र अनुभवलाई पार्टीमा प्रयोग गर्दै कांग्रेसलाई अझ बलियो बनाउने मेरो योजना छ । सक्षम व्यक्तिहरू र भिजन भएका व्यक्ति पार्टी नेतृत्वमा आउनुपर्छ भन्ने साथीहरूको भनाइ छ । युवा साथीहरूको जुन खालको यो पटक महाधिवेशनमा उपस्थिति हुँदैछ, यसले पनि कांग्रेसमा परिवर्तनको संकेत गर्छ । अर्काे कुरा, मैले नेपालको अति नै दुर्गम क्षेत्र जाजरकोटबाट प्रतिनिधित्व गरेको छु । काठमाडौंमा मेरो बसाइ छ । विकासमा निकै पछाडि परेको जाजरकोटलाई काठमाडौंसँग जोड्ने राम्रो पुलको काम म गर्छु । त्यहाँबाट अहिलेसम्म पार्टीको माथिल्लो तहमा प्रतिनिधित्व नभएको अवस्थामा म केन्द्रीय सदस्यका रूपमा त्यहाँको विकास र समृद्धिका लागि अनवरत लाग्नेछु ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रत्येक स्थानीय तहमा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ ।

बाबा राजेश्वरी थापा, भियना, अष्ट्रिया । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण आजको

नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको

लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व