च्याम्पियन्स लिगमा चम्कियो म्यानचेस्टर सिटी

१४ फाल्गुन २०७२, शुक्रबार २२:०८ मा प्रकाशित

किभ, १४ फागुन, (एएफपी) । घरेलु प्रतियोगितामा म्यानचेस्टर सिटीको प्रदर्शन निराशाजनक छ । तर युरोपियन प्रतियोगिताको अवे खेलमै उत्कृष्ट नतिजा निकाल्ने क्रममा सिटीले बुधबार राति डायनामो किभलाई ३–१ ले पराजित गर्‍यो । च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा निकालेको यस नतिजापछि सिटी अर्को चरणको नजिक पुगेको छ ।

सर्जियो अगुइरो र डेविड सिल्भाको गोलमा म्यानुएल पेलेग्रिनीको सिटीले पहिलो हाफमै खेल आफ्नो पक्षमा मोडिसकेको थियो ।

दोस्रो हाफमा मिडफिल्डर भिटालीय बुयालस्कीको गोलमा डायनामोले खेलमा फर्किने प्रयास गरे पनि याया टोउरेले अन्तिम मिनेटमा गरेको सुन्दर गोलमा सिटीले प्रभावशाली जित हात पार्‍यो । यसले पहिलो पटक सिटीलाई क्वाटरफाइनल नजिक पुर्‍याएको छ ।

‘घरेलु मैदान बाहिर यो अविश्वसनीय नतिजा हो, हामीले यो भन्दा राम्रो नतिजाको आशा गरेका थिएनौं,’ सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले भने, ‘हाम्रो प्रदर्शन राम्रो रह्यो । ३–१ को नतिजा राम्रो हो । हामी यसमा खुसी छौं । हामीले अझ बढी गोल गर्न सक्थ्यौं । म्यानचेस्टर सिटीको यो यस्तो प्रदर्शन हो, जुन हामी देखिरहन खोज्छौं ।’

पछिल्ला दुई सिजनमा सिटी यही चरणमा बार्सिलोनासँग पराजित भएर बाहिरिएको थियो । तर डायनामोसँग नकआउट चरणमा परेसँगै नै सिटीको भाग्य फेरिएको थियो ।

युक्रेनी फुटबलमा डिसेम्बरदेखि हिउँदे छुट्टीका कारण डायनामोले त्यसपछि पहिलो प्रतियोगितात्मक खेल सिटीसँगै खेलेको थियो । सन् १९९९ मा सेमिफाइनल पुगेपछि डायनामो पहिलो पटक यस प्रतियोगिताको नकआउट चरणमा खेलिरहेको हो ।

‘हामीले धेरै गल्ती गर्‍यौं, म्यानचेस्टर सिटी जस्तो टिमसँग त्यो अक्षम्य थियो,’ डायनामोका प्रशिक्षक सर्जिय रेब्रोभले भने । उनले लामो विश्रामका कारण यस्तो नतिजा आएको स्वीकारेनन् । पेलेग्रिनीले भने यस खेलका लागि पर्याप्त समय नपाएको भनेर गुनासो गरे ।

आइतबार चेल्सीसँग एफए कपमा ५–१ ले पराजित भएको खेलमा उनले खासै परीक्षण नै नभएका युवा खेलाडीलाई खेलाएका थिए । तर ओलम्पिक रंगशालामा पेलेग्रिनीले पूर्ण टिम ओरालेका थिए, जसमा चेल्सीसँग खेलेको खेलबाट फर्नान्डोले मात्र स्थान पाएका थिए । गोलरक्षक जोइ हार्ट, कोम्पनी, टोउरे, सिल्भा र अगुइरो प्लेइङ ११ मा फर्किएका थिए ।

एन्ड्रेय यार्मोलेन्कोले राम्रो क्रसमा हार्टको स्थिति बुझेर डायनामोलाई राम्रो सुरुवात दिलाएका थिए । तर सिटीलाई खेलमा फर्किन धेरै समय लागेन ।

सिल्भाको कर्नरमा टोउरेले गरेको हेड पासमा अगुइरोले १५ औं मिनेटमै सिटीको खाता खोले । यस सिजनमा यो उनको १९ औं गोल हो । अगुइरोले नै अगाडि बढाइदिएको बलमा रहिम स्टर्लिङले गरेको प्रयासमा सिल्भाले मध्यान्तर हुनु ५ मिनेटअघि दोस्रो गोल गरे ।

बुयालस्कीले ५८ औं मिनेट डायनामोबाट गोल गरेका थिए । उनले २० यार्डबाट गरेको प्रहार सिटीका अर्जेन्टिनी रक्षक निकोलास ओटामेन्डीसँग डिफ्लेक्ट भएर गोल भएको थियो । ९० औं मिनेटमा फर्नाडिन्होको पासमा टोउरेले सिटीका लागि तेस्रो गोल गरे ।

अन्तिम २० मिनेट १० खेलाडीमा खेले पनि पीएसभी आयनहोभनले बुधबार भएको अर्को खेलमा एट्लेटिको म्याड्रिडलाई गोलरहित बराबरीमा रोकेको छ ।

स्पेनिस क्लबले यस सिजनमा रक्षापंक्तिमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । डिएगो सिमोनीको एट्लेटिकोले यस सिजनमा योसँगै १२ खेलमा कुनै गोल खर्चेको छैन । तर पीएसभीले रक्षापंक्तिमा राम्रो खेलेर घरेलु मैदानमा हार हुनबाट जोगायो ।

२००७ पछि पीएसभी पहिलो पटक नकआउट चरणमा खेलिरहेको हो । तर ६८ औं मिनेटमा ग्यास्टोन पेरेइरो दोस्रो पहेंला कार्ड पाउँदै मैदान छाडेपछि पीएसभी दबाबमा खेल्न बाध्य भएको थियो ।

एट्लेटिकोका रक्षक डिएगो गोडिनमाथि अनावश्यक फल गरेपछि पेरेइरोले रातो कार्ड पाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । प्रतियोगितामा पहिलो जित हासिल

नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार

नयाँ दिल्ली । गएराति सम्पन्न आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा