‘जसले वास्तविक तवरमा कांग्रेसको विचारको नेतृत्व वहन गर्ने औकात राख्छ, ऊ नै नेतृत्वमा आउनु पर्छ’

डा. सशांक कोइराला
६ फाल्गुन २०७२, बिहीबार ००:१६ मा प्रकाशित

० नेपाली कांग्रेसलाई महाधिवेशन लागेको छ, तपाईंहरू मूलत: कुन मुद्दामा बहस गर्दै हुनुहुन्छ यतिबेला ?

हाम्रो १२औँ महाधिवेशन भएकै पनि साढे पाँच वर्ष गुज्रिसकेको छ । यस क्रममा मुद्दा पनि धेरै छन् हाम्रासामु । नयाँ संविधानपछि मुलुक सङ्घीयतामा गएकाले त्यसअनुरूप पार्टीको रूपान्तरण कसरी हुन्छ भन्ने एउटा मुद्दा छ । सभापतिको भर्खरै निधन भएको छ, यस हिसाबमा नेतृत्व चयन आफैँमा एक मुद्दा भएको छ । भुइँचालोले नेपाललाई क्षतविक्षत तुल्याएको छ, यो पनि एक अहम् मुद्दा छ । मधेस आन्दोलनसँग जोडिएर आएको नाकाबन्दी हटे पनि जनतालाई पिल्स्याएको अवस्था छ, यसबाट कसरी बौरिने भन्ने पनि एउटा मुद्दा हो । यस्ता यावत् मुद्दा नेपाली कांग्रेसले अनुभूति गरिरहेको छ ।

० कांग्रेसमा वैचारिक बहस हुँदैन केवल नेतृत्व परिवर्तनको विषयलाई मात्र मुद्दा बनाइन्छ भन्ने आरोप छ नि ?
त्यस्तो नहुनुपर्ने हो, तर विडम्बना यो छ कि यो आरोप पूर्णतया असत्य भन्न नसकिने अवस्था छ । यहाँ ०३६ देखि नै हरदम अस्थिर राजनीति चलिरहेको छ । शान्त किसिमबाट भोलिको राजनीति अघि बढ्नुपर्छ–बढाइनुपर्छ भन्नेमा सोचसमझ पुर्‍याएर व्यवहार गर्न नेताहरूलाई समय नै मिलेन । राजनीतिक स्थिरता नै नआएकाले यस्तो नियति आइपरेको हो । नर्थ कोरियाजस्तो मुखले मात्र डेमोक्रेटिक रिपब्लिक भन्ने, व्यवहार अर्कै गर्ने ? सङ्घीयतामा गएको भनिँदै छ, तर अझै पनि त्यसअनुसारको ढाँचामा पार्टी सङ्गठन र हाम्रा सोचविचार बदलिन सकेको छैन । त्यसैले हामी पनि अब परिवर्तित हुनुपर्छ । सङ्गठनात्मक ढाँचा पनि समय–सन्दर्भअनुरूप बदलिनुपर्छ । यसका लागि वैचारिक बहस पनि हुनुपर्छ । जहिले पनि अप्ठ्यारो–अप्ठ्यारो अनि एकैचोटि महाधिवेशन । यसरी स्थिरता नभएपछि वैचारिक बहसले अवसर नै पाउँदोरहेनछ । अब यस्तो विडम्बनाबाट मुक्ति खोज्नैपर्छ ।

० आफ्नो पार्टीको महाधिवेशनजस्तो अहम् कार्यको निम्ति पनि कांग्रेसले एउटा कार्यतालिका बनाउन सकेन भनिँदै छ, यस्तो पार्टीले मुलुकलाई कसरी व्यवस्थित तुल्याएर हाँक्न सक्ला त ?
यो पनि राजनीतिक अस्थिरतासँग जोडिएर आउने प्रश्न हो । हामी कार्यतालिका बनाएर अर्थात् व्यवस्थित हिसाबले चल्न खोज्छौँ, तर मुलुक अनेक अकल्पनीय अस्तव्यस्ततामा अल्झिन पुग्छ । बितेको चार–पाँच वर्षलाई नै हेरौँ, कति खालका उथलपुथल र अस्थिरताहरू पैदा भएका छन् † भुइँचालो, नाकाबन्दीदेखि लिएर संवैधानिक तवरले सङ्घीयतामा प्रवेशसम्मका घटना–परिघटना यसबीच भएका छन् । यस्ता विषयवस्तुले कुनै पनि पार्टीका कार्ययोजना या कार्यतालिकालाई खल्बल्याइदिनु अस्वाभाविक छैन । यसको मतलब यो होइन कि नेपाली कांग्रेस युगअनुरूप मुलुकलाई डोर्‍याउने क्षमता नै राख्दैन ।

० पार्टीनेतृत्वको कमी–कमजोरीले पनि भूमिका खेल्यो कि ? किन अस्थिरतालाई मात्र दोष दिने ?
नेतृत्व अक्षम भयो भन्ने कुरा मान्न म तयार छैन । हामी तमाम कांग्रेसजन आफैँले चयन गरेको नेतृत्व हो, यदि नेतृत्व अक्षम हो भने त समस्त कांग्रेसजन या सिङ्गै कांग्रेस नै अक्षम भन्नुपर्ने हुन्छ । यस्तो मान्न तयार छैन म ।

० कांग्रेसभित्र कोइरालाको लिगेसीको कुरा पनि व्यापक रूपले उठेको छ नि, यसबारे तपाईंको धारणा के छ ?
लिगेसीको कुरा गर्ने नै हो भने सर्वप्रथम कृष्णप्रसाद कोइरालालाई सम्झनुपर्ने हुन्छ । उहाँले सामाजिक हिसाबले दिएको सन्देशलाई विश्वेश्वरप्रसाद कोइरालाले रूपान्तर गरेर राजनीतिक रूप दिनुभएको हो । भन्नैपर्दा म त भन्छु रगतको लिगेसी हुँदैन विचारको हुन्छ । यस अर्थमा भन्नुपर्दा आजसम्म जो–जो कांग्रेस सभापति बने ती सबै बीपीको विचारकै लिगेसीको आधारमा बनेका हुन् । बीपीको विचार छोडेर कांग्रेसको सभापति हुन सकिन्न । त्यसैले जसले बीपी या कांग्रेसको विचारको नेतृत्व गर्छ लिगेसी पनि उसैलाई हासिल भएको ठान्नुपर्छ ।

० लिगेसी त रगतको आधारमा पनि हासिल हुनसक्ने कुरा होइन र ?
होला, रगतको सम्बन्धको आधारमा पनि हुन सक्ला । तर, सबभन्दा ठूलो आधारचाहिँ विचारको आधार नै हो । तपाईं विचार बोक्न सक्नुहुन्छ भने लिगेसी पनि लिन सक्नुहुन्छ, अन्यथा त्यो मिल्दैन । रगतको कुरा गर्ने हो भने त म शशांक कोइराला बीपीको छोरा हुँ, त्यसमाथि म सुशील कोइरालाको काखमा हुर्किएको हुँ । मेरा बुबा त जेलमा हुनुहुन्थ्यो । सुशील, भीमबहादुर तामाङहरूको काखमा म हुर्किएको हुँ भने अब उहाँहरूको लिगेसी सोझै मलाई हासिल हुने त ? होइन, मैले कांग्रेसको विचार बोकेर नेतृत्व दिन सक्नुपर्छ । यो कार्यमा म अगाडि पर्छु भने स्वत: पार्टीको नेतृत्व गर्ने लिगेसी पनि मलाई हासिल हुन सक्छ ।

० कोइराला परिवारको लिगेसीको कुरा गर्दा आजको दिनमा तपाईं, सुजाता र शेरखरमध्ये कोचाहिँ यो लिगेसीको वास्तविक हकदार हो त ?
जो पनि हुन सक्छ । तीनैजनाको उत्तिकै भूमिका हुनुपर्छ, तीनैजनाले त्यो भाव बोक्नैपर्छ । यो समयको माग हो । परिवारको सदस्यको नाताले हामी तीनैजना बराबरी हिस्सेदार छौँ । हामीबीच एकता छ, कुनै किसिमको फाटो छैन र हुँदैन पनि ।

० कोइराला परिवारबाट पार्टीको प्रमुख नेतृत्व लिनका लागि उम्मेदवारी पर्ला कि नपर्ला त यसपटक ?
यो हाम्रो मात्र निर्णयले हुने कुरा होइन । पार्टीका नेताहरू, हाम्रा शुभचिन्तक र समकालीन मित्रहरू र सबभन्दा महत्त्वपूर्ण तमाम कांग्रेस कार्यकर्ताको चाहनाबेगर हामी कसैले पनि कुनै ओहोदा या जिम्मेवारीमा आफूखुसी दाबेदारी प्रस्तुत गर्न मिल्दैन भन्ने मान्यता राख्छु म ।

० कोइराला परिवारभित्र तत्काल सक्षम नेता नभएर यसो भन्नुभएको हो ?
– पटक्कै होइन, हामी सबै सक्षम छौँ । कार्यकर्ताले ‘कोइराला परिवारबाटै हुनुपर्छ’ भने भने हामी अगाडि सर्नैपर्छ । तर, आफैँ दाबी गर्नुपर्ने आवश्यकता छैन । जसले वास्तविक तवरमा कांग्रेसको विचारको नेतृत्व वहन गर्ने औकात राख्छ, ऊ नै नेतृत्वमा आउँछ, आउनु पनि पर्छ ।

० तपाईंको व्यक्तिगत चाहना या लालसाचाहिँ के छ, १३औँ महाधिवेशनमा अध्यक्ष बन्ने हो कि होइन, खुलस्त पारिदिनुस् त ?
भोलिको अवस्था कठिन छ, त्यसैले तपाईं अगाडि आइदिनुपर्छ भनी कार्यकर्तापङ्क्तिले भन्छ भने त म अगाडि आउन हिच्किचाइरहनुपर्ला जस्तो लाग्दैन । तर, समय–परिस्थिति हेरेर के अपरिहार्य छ त्यसमा तमाम कांग्रेसजनबीच बहस हुनुपर्छ । को सभापतिको उम्मेदवार हुने हो त्यसैबाट तय हुनुपर्छ र हुन्छ भन्ने मेरो धारणा हो । कार्यकर्ता, परिजन, शीर्षस्थ नेताहरू र समकालीन मित्रहरू, यत्तिसँगको छलफल, विचार–विमर्श या रायसुझावपछि मात्र तय हुन सक्छ कि म या अर्को कोही नेतृत्वमा अग्रसर हुने हो । कसैसँग कन्सल्ट नगरी यत्तिकै मै हुँ भनी अघि बढ्न खोज्नुको कुनै तुक रहँदैन ।

० नेतृत्वको अवसर पाए तपाईंलाई सक्छु भन्ने लाग्छ कि लाग्दैन ?
सक्दिनँ भन्ने त लाग्ने कुरै छैन । किनकि, समयअनुकूल भोलि पार्टीलाई कसरी नेतृत्व गर्ने, देश र जनताका लागि कसरी जिम्मेवारी निभाउने, राष्ट्रको नीति के हुनुपर्ने, पार्टीको नीति र व्यवहार कस्तो हुनुपर्ने, भारतसँग कस्तो सम्बन्ध रहनुपर्ने, चीनसँग कसरी व्यवहार गर्नुपर्ने, विश्वका अन्य कुन–कुन मुलुकसँग के–कस्तो सम्बन्ध र व्यवहार हुनुपर्ने आदि यावत् कुरामा कांग्रेसजस्तो अहम् दलको नेतृत्व प्रस्ट हुनुपर्छ । यो क्षमता नेपाली कांग्रेसभित्र थुप्रै नेतामा छ र मसँग पनि छ । अनि नेतृत्व गर्न नसक्ने भन्ने कुरा कसरी आउँछ ? तर, सक्छु भन्दैमा मैले आफू नै हुनुपर्छ भनी दाबी गर्नचाहिँ मिल्दैन । आजको विषम अवस्थामा पार्टी एकढिक्का भएर अघि बढ्नु अपरिहार्य छ । पार्टी एकढिक्का हुनका लागि कसैले पनि अनावश्यक दाबेदारी र ढिठपन दर्शाउनुहुँदैन । सबै कुरा छलफलबाट तय गरिनुपर्छ ।

० संस्थापन पक्ष र अर्को पक्ष भनी तपाईंहरू अलग–अलग बैठक बसेर आ–आफ्ना रणनीति बनाउँदै हुनुहुन्छ भने एकढिक्का कसरी होला त कांग्रेस ?
के हो संस्थापन पक्ष भनेको ? यो म जान्दिनँ । वास्तवमा ‘संस्थापन पक्ष’ भन्ने शब्दले वाक्कै पारेको छ । यस्तो शब्द कुनै कांग्रेसजनले प्रयोग नगरुन्, मेरो आग्रह छ । पार्टीमा विभिन्न सोचविचार या धारणाहरू प्रकट हुन सक्छन् । व्यक्तिका आ–आफ्ना विचार र धारणा हुन्छ । त्यसअनुसार पार्टीभित्र विचार मिल्नेहरूको बेग्लै समूह बन्न पनि सक्छ । तर, यसको मतलब यो होइन कि अलग गुट बनाएर पार्टीलाई नै तहसनहस तुल्याउने दिशामा जानुपर्छ † मैले कहिल्यै संस्थापन पक्ष भनी बेग्लै कित्तामा आफूलाई उभ्याएको छैन । के हो यो संस्थापन पक्ष भनेको ? एउटै पार्टीमा पनि संस्थापन र अर्को भन्ने हुन्छ ? नयाँ नेतृत्व चयन गर्ने सिलसिलामा फरक उम्मेदवार खडा हुन सक्छ, यो प्रजातान्त्रिक अभ्यास हो । तर, फरक–फरक व्यक्तिले उम्मेदवारी दिनु भनेको अलग गुट जन्माउनु भन्ने हो र ? कुनै पनि चुनावमा गुट–उपगुट त हुन्छ, तर त्यसको आधारचाहिँ विचारबाट निर्देशित हुन्छ । अनि, जो नेतृत्वमा पुगे पनि सबैलाई समेटेर अघि बढ्नैपर्छ ।

० कथित तवरमा संस्थापन पक्ष भनिएको समूहबाट यसपटक रामचन्द्र पौडेललाई अध्यक्षको उम्मेदवार बनाइने तयारी भइरहेको छ भनिन्छ, यो सत्य हो कि होइन ?
संस्थापन पक्ष भन्ने शब्द उच्चारणै गर्न चाहन्नँ म । जहाँसम्म रामचन्द्रजीको उम्मेदवारीको सवाल छ, उहाँले पहिलेदेखि नै आफू उम्मेदवार बन्ने कुरा गर्दै आउनुभएको छ । उहाँ मात्र नभई शेरबहादुर देउवाजीले पनि आफू उम्मेदवार बन्ने कुरा गरिसक्नुभएको छ । पछिल्ला दिनमा आएर प्रकाशमान सिंह, कृष्ण सिटौलाहरू पनि मैदानमा उत्रने कुरा गर्दै हुनुुहुन्छ । यस्तोमा उम्मेदवार त मै पनि हुन सक्छु, सुजाता पनि हुन सक्छिन्, शेखर पनि हुन सक्छन् । किन पौडेलजीको मात्र कुरा गर्ने ?

० कांग्रेसले युवालाई नेतृत्वको अवसर दिने कुरै गर्दैन भन्ने आरोपबारे के भन्नुुहुन्छ ?
कुनै पनि कामको अगुवाइ गर्न अनुभवको पनि निकै दरकार पर्छ । युवालाई दिने भन्दैमा अनुभवजस्तो अहम् गुणलाई भुल्न मिल्दैन । सबै कुरा पैसाले किन्न सकिएला, तर अनुभव किन्न सकिन्न । वर्षौंदेखि जेलनेल भोगेर, सङ्गठनमा भिडेर, खारिएर आएका नेताको अनुभवलाई उमेर बूढो भयो भन्दैमा के त्यसै दुत्कार्न मिल्ला र ? युवालाई नेतृत्व दिने–नदिने विषय यसैसँग जोडिएर आउँछ । हो, योग्यता–क्षमता र रुचि हेरेर उपयुक्त अवसर युवा नेतालाई पनि दिँदै जानुपर्छ । नेतृत्वको विकास गर्दै लैजानुपर्छ । यस्तोमा पार्टीले विशेष ध्यान पुर्‍याउनैपर्छ भन्ने मान्यता राख्छु म ।

प्रतिक्रिया
सम्बन्धित खवर

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या

काठमाडौं । ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएको डकुमेन्टलाई आधार बनाएर ‘रअ र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सहमति’ भनी सामग्री सम्प्रेषण

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ महानगरपालिकाले विद्यार्थी, शिक्षक वा अन्य कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भए मात्र विद्यालय बन्द गर्ने भएको छ । कामपाले