सुशील’दा ले छोडेर गएका कार्यभार

ई. महेन्द्र पराजुली
५ फाल्गुन २०७२, बुधबार २३:५५ मा प्रकाशित

१) ०७२ साल माघ २६ गते बिहान १२:५० बजे नेपालको राजनीतिबाट अस्ताएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीर २७ गते अपराह्न ५ बजे चितामा राखी दागबत्ती दिएपछि आगोको लप्कासँगै भौतिक शरीर खरानीमा परिणत भयो, अर्थात् कोइरालाको महाप्रस्थान भयो । सुशीलका जीवनमा सबल र दुर्बल दुवै पक्ष थिए । सबल पक्षको अगाडि दुर्बल पक्ष ओझेल र छायामा परे । लोकतन्त्रप्राप्तिको अविचलित यात्राका अथक योद्धा, निष्ठापूर्ण राजनीतिका प्रतिमूर्ति कोइराला सरकार सञ्चालनमा भन्दा पनि पार्टी सञ्चालनमा कमजोर देखिएका थिए । सरकार सञ्चालनमा स्वच्छ छवि बनाएका कोइरालालाई पार्टी सञ्चालन गर्न भने उनको मात्र वशभित्र थिएन । मानवीय गुण हो सुशीलका पनि केही कमी–कमजोरी थिए । जीवनको ६ दशक लामो राजनीतिक यात्रामा धेरै उतारचढाव व्यहोरे सुशीलले । यसबीचमा उनले आलोचक, विरोधीभन्दा पनि धेरै आफ्ना हितैषी र समर्थक कमाउन सफल भए । सुशीलको लोकप्रियतामा कसी लगाउनुपर्दैन । पशुपति क्षेत्र वरिपरि र आर्यघाट परिसरमा प्रिय नेता सुशील’दालाई अन्तिम श्रद्धाञ्जली दिन उर्लिएको मानवसागरले सुशीलका आलोचक तथा विरोधीलाई गतिलो झापड दिएको छ । सुशीलले सफलताको शिखर चुमेको प्रमाण हो त्यो । सफलताको उचाइ नाप्न जति समय लाग्छ, ओरालो लाग्न केही क्षणै लाग्दैन, यसमा भाग्यमानी ठहरिए सुशील’दा ।

२) सुशीलले मृत्युलाई जित्न नसके पनि नेपाली जनताको मन जित्न सफल भएका छन् राष्ट्र र जनताको लागि अविष्मरणीय कार्य गरेर । हलिउडको नायक हुने सपना बुनेका सुशील साँच्ची नै देश र जनताको नायक बन्न पुगे । समकालीन नेताको पङ्क्तिमा आफूलाई अब्बल दर्जाको राजनेताको रूपमा प्रमाणित गरे । हारेको होइन जितेको इतिहास लेखेर बिदा भए सुशील । सात दशकदेखि थाती रहेको नेपाली जनताको सपना साकार पारे सुशीलले आफ्नो प्रधानमन्त्रित्व कालमा गणतन्त्र नेपालको संविधान संविधानसभाबाट जारी गराएर । धेरै वर्षसम्म पनि आयोजना हुन नसकेको सार्क शिखर सम्मेलनको आयोजना गरेर सार्क राष्ट्र तथा राष्ट्र–सरकार प्रमुखबीच अरू विश्वासको वातावरण बनाउन सफल भए, त्यति मात्र होइन, एक–अर्काको कट्टर दुस्मनको रूपमा चिर–परिचित भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफलाई मित्रताको हात मिलाउनसमेत सुशीलकै भूमिकाले काम गरेको थियो । महाभूकम्पले पुर्‍याएको क्षतिमा कति पनि विचलित नभई संयमित र जिम्मेवार भएर राहत तथा पुनस्र्थापना कार्य व्यवस्थित रूपमा सम्पन्न गरे भने उनै सुशील पुनर्निर्माण कार्यमा दातृ संस्थाहरूबाट ठूलो सहायता रकम जुटाउन सफल भए । पुनर्निर्माण विधेयकसमेत उनकै प्रधानमन्त्रित्वकालमा व्यवस्थापिका–संसद्मा पेस गरे । तराई–मधेसका मुद्दालाई सम्बोधन गर्न आफ्नै सरकारको पालामा व्यवस्थापिका–संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गरी एमालेले नेतृत्व गरेको सरकारको पालामा स्वीकृत गराए । आफू प्रधानमन्त्रीबाट हटेपछि पनि तराई–मधेस आन्दोलन मत्थर गर्न, भारतीय नाकाबन्दी खुलाउन अहम् भूमिका खेल्दै समस्या समाधानका लागि अग्रिम मोर्चामा रही कमान सम्हालिरहे । तराई–मधेस आन्दोलन फिर्ता र भारतीय नाकाबन्दी खुलेसँगै फादर अफ कन्स्टिच्युसन सुशील कोइरालाले श्वास–प्रश्वास बन्द गरी चिरनिद्रामा विश्राम लिए ।

३) राजनीतिमा त्याग, समर्पण, सादगी र सरल जीवनशैलीका पर्याय बनेका सुशील कोइरालाको अवसानसँगै कांग्रेसको गुट–उपगुट तेह्रौँ महाधिवेशनको जोड–घटाउमा जुटेका छन् । सुशीलले छोडेर गएको नासो र बिरासत कसको पोल्टामा जाने हो नेताको टाउकोदुखाइ भएको छ । त्यस्तै गरेर संस्थापन वा शेरबहादुर देउवा पक्ष कसको उत्थान र पतन हुने हो भन्ने विषय पनि नेपाली कांग्रेसको तेह्रौँ महाअधिवेशनको सङ्घारमा चर्चाको शिखरमा छ । सुशीलका उत्तराधिकारीहरू वरिष्ठ नेता शेरबहादुर देउवा, कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको काँधमा अबको जिम्मेवारी आएको छ । सबैलाई समेटेर सक्षम, गतिशील र जुझारू नेतृत्व चयन गर्न नेतृत्वले ध्यान दिनुपर्छ न कि आफ्ना गोजीका मान्छे । पार्टीका उच्च तहका नेता तथा अन्य नेतालाई समेत स–सम्मान व्यवस्थापन गरेर, फुटेर होइन जुटेर, शोकलाई शक्तिमा बदल्दै, पार्टी एकढिक्का भएको सन्देश दिन सक्नुपर्छ नेताहरूले तेह्रौँ महाधिवेशनबाट । कांग्रेसको डाइनामिक्समा केही परिवर्तन हुने सङ्केत देखिए तापनि नेपाली कांग्रेसको गौरवमय इतिहास कायम राख्न समक्ष हुनुपर्छ महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू ।

४) केही नेता लगामबिनाको घोडा भए । नेता प्रशंसाको भोका छन्, आफ्नो आलोचना सुन्नै चाहँदैनन् । नेता सुविधाभोगी हुँदै गएका छन् । मुलुककै जेठो र ठूलो पार्टी नेपाली कांग्रेसमा नीतिभन्दा पनि नेता प्रधान भए । पार्टीभन्दा गुट–उपगुटले प्राथमिकता पायो । नेताका अलग–अलग धार छन् । जुँगाको लडाइँ छ कांग्रेसमा । कांग्रेसका भ्रातृ सङ्गठनहरू एक दशकदेखि अधिवेशनविहीन छन् । तेह्रौँ महाधिवेशनमा पनि क्रियाशील सदस्यता वितरण विवादित बन्यो । कांग्रेसका नेता कोठेराजनीति र गुट–उपगुटमा रमाउने गरेका छन् । डेमोक्रेसीको अभ्यास आन्तरिक रूपमा हुनै पाउँदैन । उदारवादी धारको नेतृत्व गर्ने कांग्रेसका नेता व्यवहारमा अनुदारवादी चरित्र प्रस्तुत गर्छन् । नेताहरूको हस्तक्षेपकारी भूमिका रहने गरेको छ, पार्टीमा मात्र नभएर भ्रातृ सङ्घ–संस्थामा समेत । विचार होइन व्यक्तिप्रधानको भन्ने पक्ष हाबी हुँदै गएको छ । राजनीति दूषित अनि घृणित भयो केही छद्मवेशी नेताका कारण । कांग्रेसमा शुद्धीकरणको जरुरी छ । तेह्रौँ महाधिवेशनले यसलाई चिर्न सक्नुपर्छ, कांग्रेस बचाउने हो भने ।

५) कार्यकर्ता अपमानको विष पिउन बाध्य छन् । नातावाद, कृपावाद, चाकरी र चाप्लुसीको आधारमा कार्यकर्ताको मूल्याङ्कन हुने गरेको छ । इमानदार र सक्षम कार्यकर्तालाई पाखा लगाउने कार्यले गति लिएको छ । गुटगत र कोठेराजनीतिको मारमा परेका कार्यकर्ता नेताको कोपभाजनमा परी तेजोबध भएका छन् । राम्रो हाम्रो होइन, तेरो र मेरो भन्ने सोच र संस्कृतिको विकास भएको छ । डन, गुण्डा, पैसावालाको पहुँच र हालिमुहाली राम्रै छ पार्टीमा । नेतासँग उनीहरूकै साँठगाँठ र बाक्लो उठबस छ । नेता–कार्यकर्ताभन्दा पनि डन र गुण्डालाई चिन्छन् । कांग्रेस मासबेस पार्टी भएको हुनाले मात्र आजसम्म टिकेको छ । कांग्रेसको सम्पत्ति भनेको कांग्रेसका सिपाही साधारण र क्रियाशील सदस्य नै हुन् । कांग्रेसका आगामी दिन दुर्गतिका दिन हुन नदिन कार्यकर्ताले पनि गम्भीर भएर सोच्न जरुरी छ । आफ्नो धरातल आफँै कमजोर बनाउनुहुँदैन कांग्रेसले भागबन्डा गरेर । कांग्रेसमा मौलाएको साठी र चालसिको भागबन्डा तेह्रौँ महाधिवेशनबाट अन्त्य हुनुपर्छ ।

६) कांग्रेसमा अहिले मोटाघाटा, चिल्ला, सुकिला, विदेशी एजेन्ट तथा युरोपियन युनियनबाट हन्डी खाने वा भारु र डलरको खेती गर्नेको चल्ती–फिर्ती छ । नेताको मानमर्दन गर्ने, कार्यकर्ताको घाँटी रेट्ने, पछाडिबाट छुरा धस्ने, आफूलाई मात्र कांग्रेसको मठाधीश र मसिहा ठान्ने डनका सारथिजस्ताको कमी छैन कांग्रेसमा । त्यागी र सादगी नेताको खडेरी परेको बेलामा, गुण्डा र डनसँग रमाउने यिनै भुइँखुट्टा घैँटे कांग्रेस नेताले कांग्रेसको राजनीतिमा स्पेस बनाएर तर मारिरहेका छन् । महेन्द्रनारायण निधि, शेख इद्रिस, शैलजा आचार्य, भीमबहादुर तामाङजस्ता निष्कलङ्क छवि भएका नेताले मलजल गरेको अनि श्रद्धेय सहिदहरूको आलो रातो रगतले लेखिएको इतिहास हो कांग्रेसको । जिउँदा सहिदहरू, जेलनेल भोगेका, निर्वासनमा बसेका, सम्पत्ति जफत गरिएका र दु:ख पाएका तमाम कार्यकर्ताको पसिनाले सिञ्चित पार्टी हो नेपाली कांग्रेस । महामानव बीपी कोइराला, नेता सुवर्णशमशेर, फादर अफ डेमोक्रेसी गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, शिखरपुरुष गिरिजाप्रसाद कोइराला, फादर अफ कन्स्टिच्युसन सुशील कोइरालाको दु:खले आज्र्याको हो नेपाली कांग्रेस चेतना भया ।

कांग्रेसप्रति विश्वास र भरोसा गर्ने त्यागी, निस्वार्थी, इमानदार कार्यकर्ताको अझै पनि कमी छैन कांग्रेसमा । यसैको जगमा टेकेर पार्टीको नेतृत्व चयन गर्न सक्नुपर्छ कांग्रेसको तेह्रौँ महाधिवेशनले । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले संविधानसभाबाट जारी गराएको संविधानको सफल कार्यान्वयन गराउनु नै सुशीलले कांग्रेस नेतृत्वलाई छोडेर गएको सबैभन्दा महत्त्वपूर्ण कार्यभार हो ।

(लेखक सहिद श्रीप्रसाद पराजुलीका पुत्र हुन् ।)

प्रतिक्रिया
सम्बन्धित खवर

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नामसम्बन्धी विवादबारे रिट निवेदक ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएपछि नेकपा विघटन भएको छ