भारत भ्रमण अगावै सीमाङ्कन संयन्त्र गठन हुने

४ फाल्गुन २०७२, मंगलवार २२:४५ मा प्रकाशित

काठमाडौँ, ४ फागुन । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगावै तराई मधेसमा आन्दोलनरत दलले उठाएको सङ्घीयताको सीमाङ्कनसम्बन्धी माग सम्बोधन गर्न राजनीतिक संयन्त्र गठनको गृहकार्य प्रारम्भ गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले मधेसी दलसँग यसबीचमा भएका वार्ता, संवाद र सहमतिलाई ध्यानमा राखी सीमाङ्कनसम्बन्धी विषयको टुङ्गो लगाउन तत्काल संयन्त्र गठनको आवश्यक कार्यबाही अघि बढाउने निर्णय गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री ओली यही फागुन ७ गते पाँचदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज संसद्मा सम्बोधनका क्रममा पनि भ्रमण अघि त्यस्तो समिति गठन गरी अब मुलुकलाई सहमति र समृद्धिको दिशामा अघि बढाउने बताउनुभएको थियो ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले नेपाल सरकारको मार्गचित्र र प्रतिबद्धतामा आधारित रही व्यवस्थापिका–संसद्बाट अनुमोदन हुने सो संयन्त्रको कार्यावधि तीन महिनाको हुने बताउनुभयो । उहाँले सम्बन्धित दलसँग भइरहेको वार्ता र सहमतिका आधारमा संयन्त्र बन्ने पनि स्पष्ट गर्नुभयो ।

गत असोज ३ मा जारी भएको नयाँ संविधानमा सात प्रदेशको सङ्घीयता र अन्य केही सवालमा असन्तुष्टी जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भारतीय सीमामा नाकाबन्दीलगायत विरोध कार्यक्रम र भारतको पनि अघोषित नाकाबन्दीका कारण मुलुकमा पेट्रोलियम पदार्थको आपूर्ति असहज बनेको थियो ।

प्रधानमन्त्री ओलीले नाकाबन्दी अन्त्य नभएसम्म भारत भ्रमणमा नजाने अडान लिनुभएको र मोर्चाले उठाएका समानुपातिक÷समावेशीकरणसम्बन्धी विषय संविधानको पहिलो संशोधनमा सम्बोधन भएपछि स्थिति सहज हुँदै गएको हो ।

सरकार र मोर्चाबीच विभिन्न चरणमा भएका वार्तामा सीमाङ्कनसम्बन्धी विषयको टुङ्गो लगाउन संयन्त्र गठन गर्ने अनौपचारिक सहमति भएको थियो तर मोर्चाले सो संयन्त्रले तराई मधेसमा दुई प्रदेशको सिफारिस गर्ने जिम्मेवारी पाउनुपर्ने अडान राख्दै आएको छ । (रासस)

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ। नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । सोमबार दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो पार्टी मिलेनियम च्यालेन्ज कर्पोरेशन(एमसिसी) सम्झौताप्रति सकारात्मक भएको जनाएको छ। कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला सङ्ग्रौलाले नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा बादललाई गृहमन्त्रीमै पुनः नियुक्ति गर्ने