कोइरालाको अवसानपछि काँग्रेसका चुनौती

कमल रिजाल
२ फाल्गुन २०७२, आईतवार ११:२१ मा प्रकाशित

पूर्व प्रधानमन्त्री तथा नेपाली काँगेसका सभापति सुशील कोइरालाको निधनबाट मुलुकको राजनीतिमा गहिरो रिक्तता महसुस गरिएको छ । काँग्रेसी वृत्तमा महाधिवेशनको जोड–घटाउ भइरहेका बेला सभापति कोइरालाले छाडेर जानुभएको छ । यसले महाधिवेशन नै प्रभावित त नहोला, ‘वैधानिक बाध्यताले पनि उसलाई यो छुट छैन तर नेतृत्व चयनमा भने निकै प्रभाव पर्ने आँकलन गर्न थालिएको छ । वरिष्ठ नेता शेरबहादुर देउवाले पहिले नै आफूलाई सभापतिको उम्मेदवारमा उभ्याई सक्नुभएको छ । कार्यबाहक सभापति रामचन्द्र पौडेल पनि उत्तिकै दावेदार देखिनुभएको छ । यसअघि सभापति सुशील कोइराला आफैँ बोलेको सुनिएको त थिएन तर पार्टी पङ्क्तिमा उहाँलाई नै उठ्न दबाब दिँदै आएको समूह पनि सानो थिएन । यस परिप्रेक्षमा कोइरालाको पक्षमा रहेका महाधिवेशन प्रतिनिधिले जसलाई चाहन्छन् उसैको विजय हुने प्रायः निश्चित जस्तै छ । तथापि काँगे्रसी राजनीतिमा कोइरालाको अभाव भने पछिसम्म पनि नखड्केला भन्न सकिन्न । 

वास्तवमा सुशील कोइराला निष्ठाका राजनीतिज्ञको रूपमा चिनिनु हुन्छ । प्रायः खरो स्वाभावका देखिनु हुने कोइरालाले छ दशकभन्दा लामो राजनीतिक यात्रामा आफ्नो सिद्धान्त विरुद्ध कहिल्यै सम्झौता गर्नुभएन । पूरा जीवन अविवाहित रहेर राजनीतिमा होमिनु भएका कोइराला प्रधानमन्त्री हुँदासमेत उहाँका नाममा तीन थान मोबाइलबाहेकका सम्पति देखिएन । नेपालको इतिहासमा कृष्णप्रसाद भट्टराईपछि सुशील कोइराला नै त्यस्तो राजनेता देखिनुभएको छ, जसले सन्तान र सम्पत्तिलाई तिलाञ्जली दिएर सेवालाई रोज्नुभएको छ । निकै ठूला कहलिएका र समकालीन राजनीतिमा रामै्र पकड जमाएका नेताहरूबाट समेत राजनीति जोगी हुन गरेको होइन भन्ने गरिएको बेलामा उहाँहरूले राजनीति गरेर पनि योगीवत जीवन व्यतीत गर्न सकिँदो रहेछ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ ।
यतिबेला कोइरालाका प्रशंसाका पुल बाँध्नेहरू कम छैनन् । जीवनभर उहाँको आलोचना गर्नेहरू पनि प्रशंसा नै गरिरहेका छन् । प्रायः हामीकहाँ मृत्युपछि प्रशंसा गर्ने परम्परा जस्तै छ । ‘मृतकस्य गुणान् बदेत्’ अर्थात धर्मग्रन्थहरूले पनि मरेका मानिसको गुणगानै गर्नुपर्छ नै भनेको छ तर सुशील कोइराला भने पक्कै मरेपछि मात्र प्रशंसा गर्न लायक पात्र हुनुहुन्न । निःसन्देह उहाँका पनि कमीकमजोरी थुप्रै होलान् । अच्युत त नारायणमात्र हुन्छ । उहाँ त नर अर्थात मानिस हुनुहुन्थ्यो । मानिस भएका नाताले मानवोचित गुण, दोष सबैमा रहेकै हुन्छ । यसमा सुशील कोइराला मात्र अपवादमा पर्ने प्रश्नै रहन्न । गुण र दोष केही पनि नभए त मानिसै हुँदैन । दुनियाँमा महात्मा गान्धीको कति बढी प्रशंसा भइरहेको छ तर के उनमा चाहिं कत्ति पनि दोषै थिएन त । नत्र त गोड्सेहरू किन पो बहुलाउँथे होलान् र । जो होस् कोइराला पनि मानिस नै हुनुहुन्थ्यो । मानिस भएका नाताले उहाँमा पनि मानवोचित कमजोरी पक्कै थिए । अन्यथा उहाँको पनि देवत्वकरण गर्न थाल्नुपर्ने हुन्छ ।
खासगरी पछिल्लोपटक प्रधानमन्त्री निर्वाचन प्रक्रियामा भएको उम्मेदवारीको विषयलाई लिएर उहाँ बढी नै आलोचित हुनुभयो । उहाँले चुनाव लड्दिन भन्दाभन्दै लड्नु भयो र लडेर पनि राम्रैसँग पछारिनुभयो । यसले काँग्रेसीहरूमा निराशा मात्र ल्याएन एककिसिमको हलचल नै मच्चायो । यसै विषयलाई लिएर सहमहामन्त्री पूर्णबहादुर खड्काले त पदबाटै राजीनामा दिनुभयो भने महामन्त्री कृष्णप्रसाद सिटौलाको आक्रोश पनि त्यति नै चर्को थियो । वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति (हाल कार्यबाहक सभापति) रामचन्द्र पौडेलबीच त सार्वजनिक समारोहमै भनाभन चल्यो । हुन पनि तत्कालीन राजनीतिक संरचनामा उहाँले चुनाव जित्नुहुन्न भन्ने चित्र करिब एक हप्ता अघि नै प्रस्ट भइसकेको थियो । राजनीतिका कखरा सिकेका सबैले बुझिसकेको यस तथ्यलाई उहाँ जस्ता राजनीतिका शिखर व्यक्तित्वले नबुझ्ने प्रश्नै थिएन । तैपनि उहाँ चुनावमा किन उठ्नु भयो ? यहाँ कुन तत्व थियो त्यस्तो, जसले बाध्य पा¥यो ? यसको सहज उत्तर अहिलेसम्म पनि कसैले पाउन सकेका छैनन् । हुन त अहिलेसम्म यसबारे प्रशस्तै चर्चा परिचर्चा भइसकेका छन् तर ती सबै
आ–आफ्नै तर्क र अनुमानका कुरा हुन् । वास्तविकता अहिलेसम्म पनि रहश्यमै सीमित छ ।
हुनसक्छ, यही नै उहाँको जीवनको सबैभन्दा ठूलो मानवोचित कमजोरी थियो । अथवा आफ्नै नेतृत्वमा जारी भएको संविधान एउटै फड्को भए पनि आफैँले कार्यान्वयनमा ल्याउने प्रलोभनले पो काम गरेको थियो कि ? किनभने संविधान जारी हुनु पूर्वदेखि नै आन्दोलनमा उत्रेका कतिपय मधेस केन्द्रित दलहरू संविधान जारी हुनासाथ नाकाबन्दीमै उत्रेका थिए । यसैका कारण के कति जिउ धनको क्षति भयो सबैलाई थाहा भएकै कुरा हो । त्यस्तो अवस्थामा आन्दोलनरत पक्षलाई संविधानको बाटोमा ल्याउन कसै न कसैले त्याग देखाउनै पर्ने थियो र त्यस्तो काम कोइरालाजस्तै राजनीतिका निःस्वार्थ पुजारीहरूबाट मात्र सम्भव थियो । अन्ततः भयो पनि त्यस्तै । यस्तो अवस्थामा कसरी भन्ने कोइरालाले प्रधानमन्त्री निर्वाचन प्रक्रियामा उम्मेदवारी दिएर दैलो उघारी दिनुभएकैले मधेस केन्द्रित दलहरूलाई सहमतिको वातावरण मिलाउन सहज भएको होइन भनेर ? यसमा मधेसी नेताहरूको धारणा के छ त्यो त प्रस्ट भइसकेको छैन तर सबैले सहज अनुमान लगाउने विषय भने यही नै हो ।
जे होस् नेका सभापति सुशील कोइराला अब हामी माझ हुनुहुन्न । उहाँले पार्टीको तेह्रौँ महाधिवेशनको पूर्व सन्ध्यामा मुलुक, जनता र सिङ्गो पार्टीपङ्क्तिलाई छाडेर महाप्रस्थान गरिसक्नुभएको छ । यो अस्वाभाविक हुँदा पनि होइन । जसले पनि आएपछि जानैपर्छ । यो प्रकृतिको साश्वत नियम नै हो । ‘अवश्य जन्मने मर्छ मर्नेको जन्म नित्य छ । ’ (कोमल गीता) अब काँग्रेसी नेताहरूमा पार्टीमा उहाँको समेत अभाव महसुस हुन नदिने गरी बढी खट्नुपर्ने दायित्व थपिएको छ । यसै पनि मूल धारमा रहेका पार्टीहरूको महाधिवेशनले मुलुकलाई केही न केही प्रभावित पार्छ । त्यसमा पनि काँग्रेस जस्तो ठूलो र पुरानो पार्टीको, त्यो पनि पार्टी कार्यकर्ताले बढी रुचाएका र उनीहरूमध्येबाटै आगामी कार्यकालका लागिसमेत नेतृत्व लिन आग्रह गरिएका व्यक्तित्वको अभावमा हुने महाधिवेशनले के कति अर्थ राख्ला सोझै अनुमान लगाउन सकिन्छ ।
इतिहास साक्षी छ २००७ साल यता मुलुकमा जति पनि ठूला ठूला परिवर्तन भएका छन् काँग्रेसकै नेतृत्वमा भएका छन् । पछिल्लो अवस्थाकै कुरा गर्ने हो भने पनि संविधानसभाबाट संविधान बनाउने जनताको विगत ६५ वष्दिेखिको चाहना पनि काँग्रेसकै नेतृत्वमा मात्र सम्भव भएको छ । यसैले प्रस्ट पार्छ– अब संविधानको पूर्ण कार्यान्वयनमा पनि काँग्रेसी नेतृत्वकै आवश्यकता छ । त्यसैले आगामी महाअधिवेशनबाट चुनिने नेतृत्वले यसको समेत दायित्व लिन सक्नुपर्छ । यतिबेला सुशील कोइरालाको अनुपस्थितिमा काँग्रेसी नेताहरूसित नेपाली जनताले गरेका पहिलो अपेक्षा भनेको यही हो । त्यसैले उहाँप्रति श्रद्धाञ्जलि दिइरहँदा सबैले के बुझ्नु जरुरी छ भने उहाँका अधुरा काम र अपेक्षाहरू पूरा गर्ने प्रण गर्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ । यसमा विशेषगरी वरिष्ठ नेता शेरबहादुर देउवा र कार्यबाहक सभापति रामचन्द्र पौडेलको बढी भूमिका रहनसक्छ । शेरबहादुरले पनि मेरो गोरुको बाह्रैटक्का भन्नहुन्न र रामचन्द्रले पनि छाती फराकिलो बनाउनैपर्छ ।
खासगरी अहिलेलाई काँग्रेसका अगाडि दुईवटा चुनौती देखिएका छन् । पहिलो त पार्टीको आन्तरिक व्यवस्था नै हो, जहाँबाट पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गरी पार्टीलाई एक ढिक्का बनाएर देश र जनताका आवश्यकता पूरा गर्न सकियोस् । अर्को अन्तरपार्टी समन्वयको हो ।
अन्तरपार्टी समन्वय हुँदा ठूला ठूला परिवर्तन सम्भव भएका छन् । संविधान जारी गर्ने काम पनि अन्तरपार्टी समन्वयकै कारण सम्भव भएको हो । अब कार्यान्वयनमा यसको आवश्यकता उत्तिकै टड्कारो छ । हाल प्रदेश निर्माण वा तिनका सिमाना संशोधनमा पुगेर संविधान कार्यान्वयनको गाँठो कस्सिएको छ । यसलाई सबैको चित्तबुझ्दो ढङ्गले खोल्न सक्ने नेतृत्वको खाँचो छ । यसमा अलिकति तलमाथि प¥यो भने पनि मुलुकले ठूलै मूल्य चुकाउनुपर्ने अवस्था आउनसक्छ । त्यसैले पनि तेह्रौँ महाधिवेशनको चुनावी जोड घटाउ भइरहेका बेला काँग्रेसीजनले यसतर्फ बढी नै चासो दिनुपर्ने देखिन्छ । काँग्रेसको सहयोग विना संविधान कार्यान्वयमा आउन त यसै पनि सक्दैन नै नेतृत्व पनि समय र परिस्थितिले काँग्रेसकै खोजिरहेको भन्ने कुरालाई कसैले बेवास्ता गर्न नसक्ला । सुशील कोइरालाप्रति सच्चा श्रद्धाञ्जली दिने हो भने काँग्रेसीजनको ध्यान त्यस्तै नेतृत्व चयनमै जानुपर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट लिएर विदेश उड्न लागेका ११२ जना यात्रुलाई विमानस्थलबाट फर्काइएको छ । विभिन्‍न देशमा जानका लागि

काठमाडौं । कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा

काठमाडौं । मानिसको स्वाब सङ्कलन नै नगरी कोभिड–१९ परीक्षणको पिसिआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा