शोकलाई शक्तिमा बदल्दै काँग्रेस: काँग्रेस अधिवेशन आजदेखि पुनः सुचारु

१ फाल्गुन २०७२, शनिबार ११:४४ मा प्रकाशित

काठमाडौँ, १ फागुन । काँग्रेस सभापति सुशील कोइरालाको निधनपछि स्थगित गरिएको पार्टीको जिल्ला तथा क्षेत्रीय अधिवेशनको निर्वाचन प्रक्रिया आज शनिबारदेखि सुचारु भएको छ । अधिवेशनको उद्घाटन सत्र सकिएर उम्मेदवारी दर्ता र निर्वाचन गर्न बाँकी रहेका जिल्लालाई स्थानीय तहमा आवश्यक समन्वय गरी अगाडि बढ्न केन्द्रीय निर्वाचन समितिको अनुमतिपछि स्थगित अधिवेशन पुनः सुचारु भएको हो । केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले स्थगित जिल्ला अधिवेशन र क्षेत्रीय अधिवेशन शनिबारदेखि सुरु गर्ने जानकारी जिल्लाका निर्वाचन अधिकृतलाई दिएको बताए । आगामी तीनचार दिनसम्ममा जिल्ला अधिवेशन सक्ने तयारी भइरहेको छ । भक्तपुरका जिल्ला सभापति गणेशमान चक्रधरले भक्तपुरमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उल्लेख गर्दै जिल्ला अधिवेशन कहिले गर्ने भन्नेमा छलफल भइरहेको बताए । चक्रधरले एक दुई दिनभित्र अधिवेशनको मिति टुङ्गो लाग्ने जानकारी दिएका छन् । काठमाडौँका जिल्ला सभापति भीमसेनदास प्रधानले उद्घाटन सत्र सकिएकाले अब उम्मेदवारी दर्ता र निर्वाचनको कार्यक्रम मात्र बाँकी रहेको बताए । फागुन २ गते उम्मेदवारी दर्ता गर्ने र सोही दिन निर्वाचन गर्ने गरी काठमाडौँ काँग्रेसले आन्तरिक तयारी गरिरहेको छ । निर्वाचन समितिका सदस्य घिमिरेका अनुसार हालसम्म २५ जिल्लामा सभापतिको निर्वाचन र ६५ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । यसैबीच काँग्रेसको १३औँ महाधिवेशनअन्तर्गत भइरहेको जिल्ला सभापतिको निर्वाचनमा विभिन्न सात जिल्लाका सभापतिको पुनःनिर्वाचन हुने भएको छ । निर्वाचनमा विजयी हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि जिल्ला सभापतिमा पुनःनिर्वाचन गर्न लागेको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिले दिएको जानकारीअनुसार चितवन, बर्दिया, प्यूठान, लमजुङ, अछाम, दैलेख र ललितपुर जिल्लामा सभापतिको पुनःनिर्वाचन हुनेछ । पुनःनिर्वाचन गर्ने जिल्लामा पनि फागुन २ र ३ गतेभित्र निर्वाचन गर्ने तयारी भइरहेको जनाइएको छ । पार्टीको विधानअनुसार सभापतिको निर्वाचनमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनु अनिवार्य हुनेछ । पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुईजना उम्मेदवारबीच पुनः मतदान गरी बढी मत ल्याउने उम्मेदवार विजयी हुने प्रावधान काँग्रेसको विधानले स्पष्ट गरेको छ । तर, पहिलोपटक दुईजना मात्र उम्मेदवार भए बढी मत ल्याउने उम्मेदवार नै विजयी हुनेछ । सचिव र कोषाध्यक्ष पदको निर्वाचनमा भने जतिसुकै उम्मेदवार भए पनि बढी मत ल्याउने उम्मेदवार विजयी हुने प्रावधान छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले नवनियुक्त मन्त्रीहरु विजय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिले प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बताएका छन् । नेपाल

काठमाडौँ । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन भूमिका खेलेको आरोप लगाएर २० जना नेतालाई

काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण देखिएको छ । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको