काँग्रेस १३औँ महाधिवेशन: ६५ जिल्लाको जिल्ला अधिवेशन सोमबार

२५ माघ २०७२, सोमबार ००:३३ मा प्रकाशित

काठमाडौँ, २५  माघ । संसदमा सबै भन्दा ठुलो दल र मुलुकको एक मात्र लोकतान्त्रिक दल नेपाली काँग्रेसको आसन्न १३औँ महाधिवेशन कार्यतालिका अन्तर्गत जिल्ला स्तरिय नेतृत्व चयनका लागि भोली सोमबार नेपाल अधिराज्यभर जिल्ला अधिवेशन हुँदैछ ।

काँग्रेसले ७५ वटै जिल्लाको अधिवेशन गर्न यही माघ २५ गतेका लागि समय निर्धारण गरेको भए पनि केही जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न हुन नसकेका कारण भोली सोमबार करिब ६५ जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । पूर्वी तराईका जिल्लामा मधेसकेन्द्रित दलको अवरोध र आन्तरिक विवादका कारण निर्धारित समयमै प्रारम्भिक तहका अधिवेशन हुन नसक्दा जिल्ला अधिवेशनमा ढिलाइ हुने काँग्रेसले जनाएको छ ।

आगामी फागुन पहिलो सातासम्ममा सबै जिल्लाका अधिवेशन सम्पन्न भइसक्ने केन्द्रीय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिए । यही माघ १५ गते गाउँ र नगर वडा तथा नगरको अधिवेशन गरेको काँग्रेसले क्षेत्रीय अधिवेशन तथा महाधिवशेन प्रतिनिधिको निर्वाचन माघ २२ र जिल्ला अधिवेशन माघ २५ गते गर्ने तालिका सार्वजनिक गरेको थियो । काँग्रेसको १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

बारामा भने आइतबारदेखि मात्र पहिलो चरणको गाउँ र नगर वडा तथा नगरको अधिवेशन सुरु भएको छ । छ निर्वाचन क्षेत्र भएको बारामा फागुन २ गते क्षेत्रीय र ७ गते जिल्ला अधिवेशन हुने जिल्ला सभापति राधेचन्द्र यादवले राससलाई जानकारी दिनुभयो । बारामा काँग्रेसको निर्वाचन गर्ने जिम्मा पाएको नेपाल शिक्षक सङ्घकै कारण नै ढिलाइ भएको बुझिएको छ ।

सप्तरीमा माघ २५ गते क्षेत्रीय र २८ गते जिल्ला अधिवशेनको मिति तय भएको सभापति दिनेश यादवले बताए । त्यस्तै महोत्तरीमा पनि चार क्षेत्रका अधिवेशन बाँकी रहेकाले सोमबार जिल्ला अधिवेशन हुन नसक्ने सभापति महेन्द्रकुमार रायले जानकारी दिए ।

त्यस क्षेत्रका अन्य जिल्लामा पनि माघ २५ पछि मात्र अधिवेशन हुने जनाइएको छ । एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा माघ २५ गते नै क्षेत्रीय र जिल्ला अधिवेशनसँगै हुनेछ । शनिबारसम्म ५३ जिल्लाका १९१ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवशेन सम्पन्न भएको समितिका सदस्य घिमिरेले बताए । एक सय ९१ क्षेत्रमा अधिवेशनबाट क्षेत्रीय कार्यसमिति सहित दुई हजार २९२ महाधिवेशन प्रतिनिधि चयन भइसकेको काँग्रेसले जनाएको छ । काँग्रेसमा महाधिवेशन प्रतिनिधिले केन्द्रीय नेतृत्व चयन गर्ने भएकाले पार्टीमा यसले ठूलो महत्व राख्छ ।

काँग्रेसमा केन्द्रीय कार्यसमितिका सबै पदेन र २४० निर्वाचन क्षेत्रबाट १२ जनाका दरले निर्वाचित हुने दुई हजार ८८० र विदेशस्थित जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संस्थाबाट गरी तीन हजार २०० को हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन हुन्छन् । काँग्रेसमा ८५ केन्द्रीय समिति, २५ जनसम्पर्क समिति, १३ भ्रातृ र १७ शुभेच्छुक संस्था छन् ।

जिल्ला अधिवशेनमा सम्बन्धित क्षेत्रका नगर वडा अधिवेशनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा गाउँ कार्यसमिति, नगर वडा र नगर कार्यसमितिका सभापति, सो क्षेत्रका सांसद एवम् संविधानसभाको पछिल्लो निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फबाट पार्टीको उम्मेदवार भएको व्यक्ति र सो क्षेत्रमा रहेका पार्टीको केन्द्रीय समितिका पदाधिकारी एवम् सदस्यले भाग लिन्छन् ।

जिल्ला अधिवेशनमा एक सभापति, एक सचिव र एक कोषाध्यक्षको निर्वाचन हुन्छ । जिल्ला सदस्यको निर्वाचन क्षेत्रीय अधिवेशनबाटै हुन्छ भने बाँकी पदाधिकारी तथा सदस्य मनोनीत हुन्छन् । जिल्ला सभापतिले विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने व्यवस्था काँग्रेस विधानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । जनमोर्चाका अध्यक्षले अध्यक्ष

काठमाडौँ । विश्वव्यापीरुपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ) नेपालले

काठमाडौं । भारत भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिएका छन् । शुभकामना सन्देशमा पूर्व

काठमाडौँ । राष्ट्र बैङ्ककी निर्देशक सुष्मा रेग्मी रिजाललाई कारागार पठाइएको छ । ज्येष्ठ नागरिक सम्बन्धी कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतको