औषधिले दिमागमा पनि असर गर्छ :: डा. सुन्दरमणि दीक्षित

३० पुष २०७२, बिहीबार १०:५७ मा प्रकाशित

० मिर्गौला प्रत्यारोपण गरिएपछि नियमित औषधि सेवन गर्नुपर्छ या पर्दैन ?
मिर्गौला प्रत्यारोपणको सामान्य अर्थ हुन्छ– कुनै अन्य शरीरबाट मिर्गौला लिएर अर्को शरीरमा राखिनु । यसरी बाहिरी शरीरबाट लिइएको अङ्गलाई शरीरले सहजै ग्रहण गर्न सक्दैन, बरु त्यसलाई सक्दो तिरस्कार गर्न या हुत्याउन खोज्छ, चिकित्सकीय भाषामा त्यसलाई हामी ‘रिजेक्सन’ भन्ने गर्छौं । पहिले–पहिले किड्नी प्रत्यारोपण केसमा धेरैजसो व्यक्तिको किड्नी फेल हुने गथ्र्यो, र पटक–पटक अप्रेसन गर्नुपर्ने अवस्था आउँथ्यो । यसलाई रोक्नको निम्ति अहिले किड्नी प्रत्यारोपण गरिएको व्यक्तिलाई यस्तो औषधि दिइन्छ जसले अर्काको शरीरबाट ल्याएको अङ्गलाई हुत्याउन खोज्ने आफ्नै शरीरका विभिन्न सेल्सलाई थिच्ने, दबाउने या कमजोर तुल्याउने काम गर्छ । यसरी त्यो बाहिरिया किड्नी त बाँच्ने भयो, तर आफ्नो शरीरमा साइडइफेक्ट हुने सम्भावनाचाहिँ बढाइदिन्छ । किनकि, त्यो औषधि निकै कडा हुन्छ ।

० यसका लागि कस्तो या कुन औषधि सेवन गर्नुपर्छ र कहिलेसम्म ?
औषधि विभिन्न हुन सक्छ, किनकि साइडइफेक्टको प्रकृति हेरेर यस्तो भएमा यो औषधि दिने, यस्तो लक्षण देखिए योचाहिँ चलाउने भनी बिरामीको अवस्था या लक्षण हेरेर सम्बन्धित चिकित्सकले औषधि रिफर गर्छ । जहाँसम्म कहिलेसम्म भन्ने सवाल छ, यस्तो औषधि त जिन्दगीभर नै सेवन गर्नुपर्छ । वर्षौं बितेपछि चाहिँ पेसेन्टमाथि कम निगरानी गर्दा पनि हुन्छ, अन्यथा दह्रो निगरानी राखेर औषधि चलाउनुपर्ने हुन्छ ।

० साइडइफेक्टचाहिँ के–कस्ता प्रकारका देखिन सक्छन् नि ?
सामान्यतया किड्नी ट्रान्सप्लान्ट गरिएका बिरामीलाई ‘कटिकोस्टेरोइड’ भन्ने एउटा औषधि दिइन्छ । त्यसले निम्त्याउन सक्ने साइडइफेक्टहरूमा विभिन्न इन्फेक्सन हुन सक्छ, सुगर नभएकालाई सुगर देखिन सक्छ, त्यसका कारण बिस्तारै मसल्सहरू सुकेर जान सक्छ, हड्डी कमजोर बनाउन सक्छ । आँखामा समस्या ल्याउन सक्छ । कति मात्रामा कुन–कुन औषधि लिएको छ त्यसमा भरपर्छ । मतलब, औषधि राम्रो हुँदाहुँदै पनि त्यसले अनेक साइडइफेक्टचाहिँ गर्न सक्छ । अर्को एउटा महत्त्वपूर्ण कुरा यस्ता औषधिले मस्तिष्कमा पनि धक्का पुर्‍याउन सक्छ । अलिक कडासँग नै धक्का पुर्‍यायो भने त ब्रेनमा ट्युमर भएसरह नै व्यवहार गर्छ त्यसले । यसरी तत्काल देखिन सक्ने लक्षणमा बान्ता हुने, टाउको दुख्ने, आँखा नदेख्ने आदि पर्दछन् । अन्यथा त्यसले थाहा नपाउने चालमा मस्तिष्कमा असरचाहिँ पार्छ नै ।

० दिमागमा असर पुर्‍याउने कुरा गर्नुभयो, खास कस्ता समस्या आउन सक्छन् ?
मानिसमा युफोरिया देखिन सक्छ । त्यो भनेको कस्तो भने, सम्बन्धित व्यक्तिले ‘म एकदम ठूलो, सर्वशक्तिमान व्यक्ति हुँ, मलाई सबथोकमा आनन्द छ, म एकदम ठीकठाक छु, मैले जे चाह्यो त्यही हुन्छ, म जे पनि गर्न सक्छु’ भन्ने ठान्दछ । यस्तै, किड्नी ट्रान्सप्लान्ट गरी त्यस्ता औषधि खुवाइएकामध्ये कुनै व्यक्तिलाई चाहिँ एकदम डिप्रेसनमा लैजान पनि सक्छ । मलाई सबैले शत्रु ठानेका छन्, मलाई सबैले अनाहकमा खेदो गरेका छन्, म कुनै अस्तित्व नभएको व्यक्ति हुँ, म कमजोर छु भन्ने भाव उसमा पलाउन सक्छ । पुरानो तथ्याङ्क हेर्दा ‘कटिकोस्टेरोइड’ खुवाइएका ५ देखि ३५ प्रतिशत बिरामीलाई यसरी मानसिक प्रभाव परेको देखिन्छ, असर पर्न सक्छ । हुन त कसैलाई घरायसी समस्या परेर मानसिक समस्या देखिएको होला, कसैलाई अर्कै कारणले टाउको दुख्ने गरेको होला, कसैको जन्मजात रूपमै ठूला–ठूला कुरा अस्वाभाविक व्यवहार गर्ने स्वभाव पनि होला । हुन त सबैलाई यही औषधिकै कारण त्यस्तो समस्या देखिएको होला भनी दाबी गर्न त मिल्दैन, तथापि उक्त औषधिको प्रभावस्वरूप युफोरिया र डिप्रेसनका लक्षण देखिनचाहिँ सक्छ । एक लाइनमा बुझ्नुपर्दा त्यस्तो औषधि खाएको व्यक्तिको काम गर्ने क्षमतामा चाहिँ धक्का पुगेकै हुन्छ ।

० दिमागी असरको पक्ष यो भयो, शरीरका अन्य अङ्गमा पनि नकारात्मक असर पार्न सक्छ कि ?
सक्छ नि, किड्नी स्टोन ल्याउन सक्छ, त्यसले आँखामा क्याटर्‍याट ल्याउन सक्छ, ब्लडप्रेसर बढ्न सक्छ, सुगर बढ्न सक्छ, अल्सर ल्याउन सक्छ, रगतका सेलमा कमी–कमजोरी ल्याउन सक्छ । मेडिकल साइन्सलाई बुझ्ने हो भने सिटामोल मात्र खाए पनि साइडइफेक्ट हुन्छ भन्ने बुझ्न सकिन्छ । एकप्रकारले त औषधि भनेको पनि विष नै हो भन्दा पनि हुन्छ ।

० ‘मेगालोमानिया’ भएका बिरामीका क्रियाकलाप कस्ता हुन्छन् र यिनले केसम्म गर्न सक्छन् ?
हो, ‘मेग्निक डिप्रेसन इलनेस’ यसमा हुन सक्छ । म महान् व्यक्ति हुँ भनेर पनि प्रस्तुत हुन सक्छ र त्यसको केही अन्तरालमै म केही पनि होइन भन्ने खालको डिप्रेसिभ व्यवहार पनि देखाउन सक्छ । यस्तो व्यवहार गर्ने व्यक्तिले हुनै नसक्ने कुरा पनि गर्न सक्छ, साधारण काम–कुरा पनि ‘गर्नै नसकिने’ कोटिमा राख्न पनि सक्छ । यस्ता व्यक्तिले कतिबेला के भन्छ, के व्यवहार गर्छ भनी खासै ठेगान गर्न गाह्रै हुन्छ ।
० अरूले दिएको ‘जेन्युइन’ सुझावलाई पनि वास्ता गर्दैनन् पनि भनिन्छ नि, हो ?
हो, राम्रा सुझाव नलिन पनि सक्छन्, कतिले चाहिँ मनोचिकित्सककहाँ जाने प्रस्ताव इन्कार गर्न पनि सक्छन् । किनकि यो रोग नै त्यस्तै हो, बिरामीले आफू ठेगानमा नभएको स्वीकार गरिरहेकै हुँदैन । आफूलाई शारीरिक तथा मानसिक रूपले एकदम ठीकठाक नै ठानिरहेको हुन्छ । अरूलाई विश्वास नगर्न सक्छन् यस्ता व्यक्तिले ।

० यतिबेला हाम्रा प्रधानमन्त्री केपी ओलीज्यूका कतिपय अभिव्यक्ति हास्यास्पद भएको भन्दै टीकाटिप्पणी भइरहेको छ, उहाँको पनि मिर्गाैला प्रत्यारोपण भएको हुनाले उहाँमा मेगालोमानियाको प्रभाव देख्नुभएको छ कि छैन तपाईंले ?
– मेरो बुझाइमा प्रधानमन्त्रीज्यूले यतिबेला बोल्नुभएका या प्रदर्शन गर्नुभएका बोली–व्यवहारमाथि आमजनमानसले जे–जस्ता टीकाटिप्पणी गरेका छन्, यसमा पटक्कै दम छैन भन्न त म सक्दिनँ । केही आशङ्का त जन्माएकै छ । हुन त उहाँ देशको प्रधानमन्त्री हुनुहुन्छ, तर शङ्का पर्ने ठाउँ त छ नै । पूरा जनसमुदायलाई नै यस्तो लागेको छ, कुनै एक–दुईजनालाई मात्रै त होइन नि । वर्ष दिनमा भान्सामा ग्यासको पाइपलाई जोडिदिने, वर्ष दिनमै लोडसेडिङ खत्तम गरिदिने भन्ने अभिव्यक्ति दिनु सकारात्मक कुरा हो, तर यसले मूर्तरूप लिने जग पनि त नियाल्नुपर्‍यो । प्रधानमन्त्रीजस्तो व्यक्तिले यसरी बोल्नु अस्वाभाविक हो । त्यसो त, म जान्दिनँ कि उहाँको यो जन्मजात स्वभाव नै पो हो कि ? सानैदेखि यस्तै कुरा गर्ने आदत भएर बोल्नुभएको पनि त हुन सक्छ । यो विश्लेषण गर्न त उहाँलाई नजिकबाट बुझेका व्यक्तिले मात्र सक्छ । हामीले बाहिरबाट हेर्दा त अस्वाभाविक अभिव्यक्ति दिएको देखिन्छ । अब यो के कारणले भएको हो भन्ने कुरा त सम्बन्धित विज्ञले परीक्षण नगरी भन्न सकिने कुरा भएन ।

० यस्तोमा प्रधानमन्त्री ओली र नेपाली जनतालाई बेग्लाबेग्लै सुझाव दिनुपर्दा कस्ता सुझाव दिनुहुन्छ ?
प्रधानमन्त्रीलाई त हामीले पहिलेदेखि नै सुझाव दिँदै आएका हौँ कि तपाईंका अभिव्यक्ति असाध्यै चर्का भए, यसरी प्रस्तुत हुनुभएन । तपाईं मीठा चुट्किला सुनाउनुहुन्छ, तर चुट्किलाले मात्रै त काम चल्दैन । तराईका जनतालाई ‘जनावर’ भन्दिनुभयो, यस्तो पनि बोल्ने हो प्रधानमन्त्री भएर ? यति मात्र होइन, पछिल्लो चरणमा आएर जनताले पत्याउनै नसक्ने अभिव्यक्ति दिन थाल्नुभएको छ । यस्तो किन गर्नुपर्‍यो ? सक्ने कुरा मात्र बोलिदिँदा हुन्छ नि, नसक्ने बोलेर जनतालाई किन निराश बनाउने ? एक साधारण नागरिकको रूपमा जे बोले पनि हुन्छ, म रातारात बिल गेट्स बनिदिन्छु, भोलि नै म रोल्स रोयल चढ्छु आदित्यादि जे–जे बोल्नु छ बोल्दा भयो । तर, प्रधानमन्त्री भएर त यस्तो बोल्न मिल्दैन नि † यसरी हामीले दिएको सुझाव लागेन ओलीजीलाई । पार्टीले दिएको सुझाव त मान्नुहुन्थ्यो होला, खै पार्टीका नेताहरू, पोलिटब्युरोले पनि सुझाव दिँदा रहेनछन् कि ? यहाँनेर अलिक गम्भीर कुराचाहिँ के पर्‍यो भने यदि केपी ओलीज्यूको बोली–व्यवहार यस्तो थिएन र आज आएर उहाँका परिजन, आफन्त, साथीभाइ, पार्टीका नेता–कार्यकर्ताहरूले नै उहाँमा परिवर्तन आएको, नबोल्नुपर्ने कुरा बोलेकोजस्तो अनुभूति गरेका हुन् भने यसप्रति सबै गम्भीर हुनुपर्छ । उहाँको प्राकृतिक स्वभावमा यस्तो आनीबानी पर्दैन, तर अचानक यसरी प्रस्तुत हुन थाल्नुभएको हो भने यसलाई स्वाभाविक रूपमा लिन सकिँदैन ।

हामीलाई त ओलीजीको आनीबानी र स्वभाव थाहा छैन, नजिकबाट चिन्ने–जान्नेहरूले मात्रै यो बुझ्न सक्छन् । देशकै प्रमुख कार्यकारी ओहोदामा रहेका व्यक्ति मानसिक रूपले स्वस्थ नरहँदा त अनेक अकल्पनीय परिस्थिति निम्तिन सक्छ भन्ने चिन्ता सबैमा जाग्न सक्छ । आज त ग्यास दिन्छु, बत्ती दिन्छु भनेर पूरा हुन नसक्ने भए पनि राम्रै कुरा बोल्नुभएको छ, तर बोल्दै जाँदा भोलि कुनै देशबारे, मित्रराष्ट्रहरूसँगको सम्बन्धबारे कुनै नकारात्मक कुरा बोल्दिनुहोला, अनि के हुन्छ ? ओलीजीकै राइटह्यान्ड भएर यतिबेला प्रस्तुत भइरहनुभएका कमल थापाले हालै ‘सरकारले नसके पनि तस्करहरूले सघाइरहेका छन्’ भन्ने जुन अभिव्यक्ति दिनुभयो, त्यही कुरा प्रधानमन्त्रीले नै बोल्दिनुभयो भने के होला ? खतर्नाक कुरा बोलेर मुलुकलाई नै हानि हुने कुरा गरिदिनुभयो भने के गर्ने ?

तसर्थ यहाँ म यो पनि थप्न चाहन्छु कि अमेरिकी राष्ट्रपतिको शपथ खानुअघि मेडिकल चेकअप हुन्छ, फिजिकल, मेन्टल दुवै । त्यहाँको कानुनी व्यवस्था नै हो त्यो । ओहोदा र गम्भीर जिम्मेवारीको कारणले त्यसो गर्नुपरेको हो । हामीकहाँ पनि एउटा पियनको जागिर खान पनि मेडिकल चेकअपमा पास हुनुपर्छ । यदि एउटा पियनको स्वास्थ्य जाँच हुन्छ भने मुलुक नै चलाउने व्यक्तिका लागि यस्तै व्यवस्था हुनुपर्छ कि पर्दैन ? संविधानमा यस्तो व्यवस्था गरिएको छ–छैन मलाई जानकारी भएन, यदि यस्तो प्रावधान छैन भने भविष्यका लागि विचार गर्नुपर्ला । संविधानमै यस्तो व्यवस्था गर्नु आवश्यक छ कि राज्य चलाउन आउनेहरूको कुनै इन्डिपेन्डेन्ट अथोरिटी वा ‘प्यानल अफ डक्टर्स’द्वारा फिजिकल, मेन्टल चेकअप गर्ने प्रावधान गरिनुपर्छ । यस्तै, जनता पनि एकदम सतर्क हुनुपर्छ । कुनै पनि घटना चाँडै बिर्सने बानी छ नेपाली जनताको । तात्तातो अवस्थामा विचारै नगरी मच्चिने तर छिट्टै बिर्सने आदतलाई सही ठान्न सकिन्न । आफूले विचार–विश्लेषण नगर्ने, अर्काले जे हौवा चलाइदियो त्यसैमा बहकिने कुरा राम्रो होइन । कसैमाथि कुनै आरोप लगाइन्छ भने बुझेर मात्र लगाउनुपर्छ र आरोप लगाइसकेपछि त्यस्तो व्यक्तिलाई कुन थान्कोमा राख्नुपर्ने हो राख्न सक्नुपर्छ । मुलुकलाई अगाडि लैजान जन–जनले कम्मर कस्नुपर्‍यो । हरेक कुरामा मितव्ययी बन्ने कोसिस गर्नुपर्‍यो ।

प्रतिक्रिया
सम्बन्धित खवर

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रत्येक स्थानीय तहमा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति गठन गरिएको छ ।

बाबा राजेश्वरी थापा, भियना, अष्ट्रिया । सन् २०१९ को अन्त्यमा चीनको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणका कारण आजको

नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको

लोकतान्त्रिक आन्दोलनको सफलतासँगै नयाँ संविधान जारी गरिएपछि मुलुकमा स्थिरता र समृद्धिका लागि जनादेशप्राप्त सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेतृत्व