बाबुरामजीले आफैंलाई राज्य ठान्न थाले – शेखर कोइराला (नेता, नेपाली कांग्रेस)

१४ असार २०६९, बिहीबार १३:१७ मा प्रकाशित

कांग्रेसका पूर्वसभासदहरु त संविधानसभा ब्युंताउन अघिसरे नि, कांग्रेस संविधानसभा ब्युंताउनै लागेको हो त ?
– होइन, कांग्रेसको केन्द्रिय समितिमा यस्ता एजेण्डा उठेका पनि छैनन् र यस विषयमा कुनै छलफल पनि भएको छैन । हाम्रा ६१–६२ जना पूर्वसभासदहरुले संविधानसभा ब्युंताउनु प¥यो भनेर आवाज उठाउन थालेका छन्, उहांहरुले आफूलाई लागेको कुरा बोल्न नपाउने कुरा पनि होइन । मैले नबुझेको र मैले बुझाउन नसकेको कुराचाहिं के हो भने जुन कारणले संविधानसभा बिघटन भयो त्यो कारण त अझै बांकी छ नि । के कसरी संघीयतामा जाने भन्ने आदि नसुल्झिएका विषयका विवाद त कायमै छ नि । यस्ता कारणहरुलाई नसुल्टाइकन यदि संविधानसभा पुनस्र्थापना गरियो भने यो देशमा गृहयुद्ध हुन्छ भन्नेमा म पूर्ण विश्वस्त छु ।

त्यसो हो भने संविधानसभा पुनस्र्थापना हुन सक्दैन ?
– हुन सक्दैन होइन कि हुनु हुंदैन ।

पूर्वसभासद्हरुले दिनदिनै छलफल गरिरहेका किन होलान् त ?
– उहांहरुले कुरा उठाउन, छलफल गर्न नपाउने त कुरै होइन । आफ्नो विचार राख्न पाउनु पर्छ । मलाई दुःख लागेकोचाहिं केमा भने जुन साथीहरुले यो मुद्दा उठाइरहनुभएको छ के उहांहरु संविधानसभा विघटन भएपछि आफ्नो गाउं–जिल्ला फर्केर जानुभएको छ ? यदि जानुभएको छ भने जनता के भन्छन् भन्ने सुन्नुभएकै होला । के जनता संविधानसभा पुनस्र्थापन होस भन्ने चाहन्छन् ? जनता र कार्यकर्ताको भावना नबुझी यस्तो कुरा गर्दा आफ्नो जागिरका लागि मात्र संविभानसभा ब्युंताउन खोजेको भन्ने सन्देश जान्छ अहिले ।

पूर्वसभासदहरुको यो मागलाई कांग्रेसले गम्भीरताका साथ लिएको छैन त्यसोभए ?
– गम्भीरताका साथ लिएको–नलिएको भन्दा पनि केन्द्रीय समितिमा यो कुरा आएकै छैन, छलफल भएको छैन भन्न चाहन्छु म ।

त्यसोभए कांग्रेस यसलाई छलफलको मुद्दा बनाउन चाहंदैन ?
– छलफलको मुद्दा नबनाउंदा पार्टी र सबैको हित हुन्छ । नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्ने मुद्दालाई पो उठाउनु पर्छ त यतिबेला सबैले ।

कहिलेसम्म हुन्छ त कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार ?
– नेपाली कांग्रेसले पहिला आफ्नो तर्फबाट एउटा उम्मेद्वार तय गर्नुप¥यो । यही साताभित्रै हामीले यो गर्न सक्नुपर्छ । त्यसपछि प्रक्रिया अघि बढ्छ ।

कांग्रेसभित्र उम्मेद्वारीमा सहमति बन्ने सम्भावना छ त ?
– किन छैन त ? एकसाताभित्र यो गर्ने गृहकार्य हुन्छ, हुनुपर्छ । अहिले हाम्रा शीर्षनेता तथा उपसभापति रामचन्द्र पौडेल बिरामी परेर अस्पताल हुनुहुन्छ । उहां स्वस्थ भएर आउनुभएपछि केन्द्रीय समितिको बैठकले छलफलबाट उम्मेद्वार टुंगो लगाउंछ । त्यसपछि एमालेलगायत अन्य राजनीतिक दलहरुसंग हामी कुरा राख्छौं र त्यो प्रसताव राष्ट्रपतिसमक्ष पु¥याउंछौं ।

कांग्रेसले कसलाई अघिसार्छ त प्रधानमन्त्रीमा ?
– संसद रहेको अवस्थामा संसदीय दलका नेता रामचन्द्र पौडेलज्यूलाई हामीले अघिसारेका हौं । अब अहिले संसद छैन र पनि पौडेलज्यू उत्तिकै स्ट्रोङ्ग उम्मेदवार हुनुहुन्छ । तर, हामी छलफल गरीकन यसमा निर्विवाद ढंगले उम्मेद्वार प्रस्तुत गर्नेछौं ।

यति भनिसकेपछि तीन शीर्षनेतामध्ये कोचाहिं प्रधानमन्त्रीको उम्मेद्वार बन्नु उचित होला बताइदिनुस्न ?
– छिचोलेर भन्नुपर्दा हाम्रो तर्फबाट प्रवल उम्मेद्वार भनेको अहिलेको परिस्थितिमा पार्टीसभापति सुशील पौडेल र रामचन्द्र पोडेल नै हुन सक्नुहुन्छ भन्ने लाग्छ । यसमा कांग्रेसको मात्र चाहनाले पनि हुंदैन, अन्य दलले के भन्छन् भन्ने पनि हामीले सुन्नुपर्ने हुन्छ ।

तपाईंको मतलब सुशलि कोइराला अथावा रामचन्द्र पौडेल नै कांग्रेसको उम्मेद्वार हुन सक्नुहुन्छ, होइन त ?
– यही हो । तर जसको नाम तय गरिए पनि तीनवटै नेताको सहमतिबाट हुनुपर्छ । शेरबहादुरजीलाई नै दिने हो भने पनि तीनैजनाको सहमतिबाट हुनुपर्छ ।

प्रधानमन्त्री डा. भट्टराईले राजीनामा नदिने कुरा गर्नुभएकोलाई चाहिं तपाईंले कसरी लिनुभएको छ नि ?
– बाबुरामजी जस्ता व्यक्तिले ‘म नै राज्य हुं’ भनेजस्तो व्यवहार प्रदर्शन गर्लान् भन्ने मलाई लागेको थिएन । बहुत विद्वान प्रधानमन्त्री पाइयो भनेर हामी सबै नेपाली दंग थियौं । तर, उहांले त आफ्नो विद्वत्तालाई नै धरापमा पारिदिनुभयो । हामीलाई दुःख लागेको छ । ब्राजिलबाट फर्केर बाबुरामजीले जस्तो अभिव्यक्ति दिनुभयो त्यसले सिंगो माओवादीको चरित्र उदांग पारेको ठानेको छु मैले ।

कुनैबेला यिनै माओवादी नेताहरु तपाईंहरुलाई नभइभएन, बडो आत्मिय बनेर हिंड्नुहुन्थ्यो, त्यो सम्झना छ कि छैन ?
– यो दोष लगाउन सक्नुहुन्छ तपाईंहरु, म केही भन्दिनं । बाबुरामजी मेरा साथी नै हुनुहुन्छ, अहिले कामको विरोध गरेको हो मैले, व्यक्तिको होइन । राजनीतिमा राम्रो काम गर्दै गए समर्थन र प्रशंसा पनि गर्दै जाने हो । बाबुरामजीको नेतृत्वमा सरकार बन्नुपर्छ भनेर वकालत मैले पनि गरेकै हुं, तर हामी गलत रहेछौं भन्ने उहांको व्यवहारले देखाइदियो । उहांले कांग्रेसलाई मात्र होइन सबै राजनीतिक दल र नेपाली जनतालाई पनि धोका दिनुभयो ।

त्यसोभए अब बाबुरामजीकै नेतृत्वमाचाहिं नेपाली कांग्रेस सरकारमा जांदैन ?
– जिरो प्वाइन्ट एक प्रतिशत पनि सम्भावना छैन । एक घण्टाका लागि पनि हामी बाबुरामजीको नेतृत्वमा अब सरकारमा जांदैनौं ।

अब बाबुरामजीले राजीनामा दिनुभएन भनेचाहिं कांग्रेसले के गर्छ त ?
– आन्दोलनबाट हटाइनेछ नि ।

तपाईंहरुले भनेर जनता आन्दोलनमा उत्रलान् त ?
– जनतालाई सडकमा ल्याउनका लागि कांग्रेसले प्रयास गरिरहेको छ । समय लाग्न सक्छ भन्ने बोध हामीलाई भउको छ । तर, नेपाली जनता कांग्रेससंग रिसाउनुपर्ने कुनै कारण त छैन । समर्थन हासिल हुनेमा म ढुक्क छु । एकैचोटी त को पो सडकमा आउंछ र ? माहोल बन्नुपर्छ, समय आउंछ ।

प्रधानमन्त्रीले सहमतिमा म बाधक बन्दिनं त भनिरहेका छन् नि ?
– अब उहांले भन्नुको कुनै तुक देखिएन । कोठामा बसेर कोसंग के भन्नुहुन्छ, राष्ट्रपतिसंग के बोल्नुहुन्छ या अर्कोसंग के भन्नुहुन्छ भन्नेसंग मतलब भएन । उहांले एयरपोर्टमा संसारले सुन्नेगरी के भन्नुभयो त्यो महत्वपूर्ण छ । उहांको अभिव्यक्ति सहमति गर्न चाहने व्यक्तिकोजस्तो छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, १९ बैशाख । विश्वमा कोरोना माहामारीका कारण नेपाल लकडाउन भएको १ महिना भन्दा बढी भइसक्यो । यो एक महिनाको

निरोज कुमार थापा, काठमाडौँ, १० असार । सबै मानिसहरु आफ्नो कर्ममा सफल हुन्छन् भन्ने छैन । तर निरन्तरको लगाव, कामप्रतिको

पर्यटन प्रवद्र्धनका लागि सन् २०१७ बाट हरेक वर्ष हिमालय ट्राभल मार्ट आयोजना हुँदै आएको छ । यसवर्ष पनि जुन ६

निरोज कुमार थापा, काठमाडौँ, ६ बैशाख ।  नेपालमा होमस्टेको इतिहाँस लामो छैन। यो अभियानले गति लिएको एक दशक पनि भएको