पचास लाख बुझेपछि अनुमतिको तयारी

१३ असार २०६९, बुधबार १८:२९ मा प्रकाशित


काठमाडौं, १३ असार । चितवन राष्ट्रिय निकुञ्जभित्रका विभिन्न सातवटा होटलले म्याद थप गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईपत्नी हिसिला यमी र वनमन्त्री यदुवंश झा हात धोएर लागिपरेका छन् । सरकारले मनाइरहेको ‘लुम्बिनी भ्रमण वर्ष २०१२’ लाई बहाना बनाई उनीहरू होटलको म्याद थप गर्न लागिपरेको हुन् । स्रोतका अनुसार होटलको म्याद थप गरिदिने भन्दै प्रधानमन्त्रीपत्नीले निकुञ्जका व्यवसायीहरूसंग पचास लाख बैनास्वरूप हात पारिसकेकी छिन् । उनलाई होटलको म्याद थप भएपछि थप पचास लाख दिने वचन व्यवसायीहरूले संयुक्त रूपमा दिएका छन् ।
वन मन्त्रालय स्रोतका अनुसार चितवनभित्र होटल सञ्चालन गरेका व्यवसायीले प्रधानमन्त्रीपत्नी यमीसंग होटलको म्याद थप गर्ने विषयमा तीनपटक छलफल गरेका छन् । छलफलमा यमीले आफूहरूले ब्राजिल भ्रमण सकेर आएपछि सरकारलाई होटलहरूको म्याद थप गर्न लगाउने वचन दिएकी छिन् । व्यवसायीहरू होटलको म्याद कम्तीमा पनि दुईदेखि चार वर्षसम्म थप गराउने पक्षमा छन् । होटलको म्याद चार वर्षसम्म थप भए दुई करोडसम्म सजिलै खर्च गर्न सक्ने व्यवसायीहरूले बताउंदै आएको वन मन्त्रालयका एक अधिकृतले बताए । स्रोतका अनुसार उनीहरूले वनमन्त्री यदुवंश झाको मात्र भर पर्दा होटलको म्याद थप हुन नसक्ने भन्दै चितवनस्थित शक्तिखोरका लडाकु कमाण्डरमार्फत प्रधानमन्त्रीपत्नी यमीसमक्ष पुगी होटलको म्याद थप गराउन पुगेका हुन् ।
होटलमा म्याद थपबारे आवश्यक प्रक्रिया पूरा गर्न वन मन्त्रालयमा आएका निकुञ्जका एक व्यवसायीले म्याद थपका लागि विभागीयमन्त्री राजी भएकाले होटलको म्याद थप हुनेबारेमा आफूहरू ढुक्क रहेको बताए । ती व्यवसायीले भने, ‘म्याद थप हुनेमा विश्वस्त रहेकाले निकुञ्जभित्रको होटलहरूले आगामी कात्तिकसम्मका लागि होटलका कोठाहरू बुक गराइसकेका छौं । ‘होटलका कोठाहरू धेरै अघिदेखि नै बुकिङ हुने भएकाले सबैजसो होटलमा आगामी कात्तिक मङ्सिरसम्मका लागि कोठा बुक भइसकेको छ,’ उनले थपे । स्रोतका अनुसार म्याद सकिन लागेको होटलहरूको जानकारी वनमन्त्रीले पनि लिइसकेका छन् भने उनी म्याद थपकै पक्षमा छन् ।
२०६७ मा ‘पर्यटन वर्ष २०११’ का लागि भन्दै तत्कालीन वनमन्त्री दीपक बोहोराले दुई वर्षका लागि म्याद थप गर्ने मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेका थिए । स्रोतका अनुसार त्यतिबेला होटलको म्याद थप्नका लागि निकुञ्जभित्र रहेका विभिन्न ६ वटा होटलले मन्त्री बोहोरालाई एक करोडभन्दा बढी रकम घुस खुवाएका थिए । सरकार र होटल सञ्चालकबीच होटल सञ्चालनसम्बन्धी १६ मङ्सिर २०३८ मा गरिएको करारनामा संशोधन गरी २२ मङ्सिर २०५० देखि २०६६ असार मसान्तसम्म मात्रै होटल सञ्चालनको अनुमति दिइएको थियो । त्यस्तै टाइगर टप्स प्रालिलाई १ साउन २०४६ मा २० वर्षसम्म मात्रै होटल सञ्चालनको अनुमति दिइएको थियो । जसअनुसार सबै होटलको म्याद दुई वर्षअघि २०६६ को असार मसान्तमा सकिएको थियो ।
वनसचिव नवीनकुमार घिमिरे भने होटलको म्याद थप गर्नु नहुने पक्षमा उभिएका छन् । उनले भने, ‘ती होटलको म्याद थप्नुहुंदैन प्रतिस्पर्धाको आधारमा अघि बढ्नुपर्छ ।’ उनले निकुञ्जभित्र होटल नै नराख्ने सरकारको सोचाइ रहेको पनि बताए । उनकै पहलमा निकुञ्जभित्रका होटल हटाउन होटलको म्याद सकिन सात महिना बांकी छंदै होटलको लगत सङ्कलन सुरु गरेको थियो । तर, अझै सङ्कलन गरिसकेको छैन । होटलको म्याद असार मसान्तमा सकिंदै छ । सरकारले गत चैतमै लगत सङ्कलन गरिसक्ने भने पनि व्यवसायीहरूको अवरोधका कारण लगत सङ्कलन गर्ने म्याद लम्ब्याइएको थियो । लगत सङ्कलनका लागि सरकारले चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमक कार्कीको संयोजकत्वमा वन मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, क्षेत्रीय वन निर्देशनालय, राष्ट्रिय प्रकृति संरक्षण कोष र होटल व्यवसायीको प्रतिनिधि सम्मिलित एक समिति गठन गरेको थियो ।
एकसिङ्गे गैंडा र बाघका लागि प्रसिद्ध मानिने निकुञ्जमा आइल्यान्ड जङ्गल होटेल, टेम्पल टाइगर्स प्रा.लि., टाइगर टप्स, सफारी नारायणी होटल, चितवन जङ्गल लज प्रा.लि., मचान वाइल्ड लाइफ रिसोर्ट र गैंडा वाइल्ड लाइफ क्याम्प नेपाल गरी सात होटल छन् । त्यहां सञ्चालित होटलका कारण वन्यजन्तु घट्दै गइरहेको, जनावरको वासस्थानमा नकारात्मक असर परेको विभिन्न अध्ययनले देखाएका छन् । वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा ६ मा सरकारले स्वयम् वा तोकेबमोजिमको कार्यनीति अपनाई निकुञ्ज तथा आरक्षमा कसैसित करार गरी होटल, लज, सार्वजनिक यातायात वा अन्य सेवा सुविधा व्यवस्था गर्न सक्नेछ भन्ने कानुनी व्यवस्था छ भने नियमावली २०३० को नियम ३ मा सरकारले कुनै सेवासुविधा कसैबाट सञ्चालन गराउन चाहेमा टेण्डरमार्फत दिन सक्ने कानुनी व्यवस्था रहेको उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । माओवादी अध्यक्ष प्रचण्डले स्थायी कमिटी

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ८ सय ९९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २० जनाको

काठमाडौँ । नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ । कांग्रेसको क्रियाशील सदस्यता

काठमाडौं । चौधौं महाधिवेशनको निकट आइपुगेको दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहान बस्न लागेको छ। आज बिहान ९ बजे