“रात त मेरो पनि हो” -मायाँ ठकुरी

११ असार २०६९, सोमबार २०:२० मा प्रकाशित

प्रायः आधी रात बितिसकेको थियो । एक्कासी ढोकामा जोडसँग लात्ती बजार्दै हरिहरले ठूलो स्वरमा भने “ए राँड ! ढोका खोल्छेस् कि भत्काइदिऊँ यो ढोकासोका । हेर,

कस्ती अलच्छिनी आइमाई रहिछे जहिले पनि सम्साँझै ढोका बन्द गरेर सुत्छे । लाज नभएकी नकचरी !”

केही बेरअघि मात्र बिरामी छोरोलाई औषधी खुवाइओरि थम्थुम्याई–थुम्थुम्याई सुताएपछि थकित भएकी अम्बिका भर्खर–भर्खर निदाउन लागेकी मात्र के थिइन् लोग्नेको

कर्कशपूर्ण डाँकोले ब्युँझिइन् । उनी हत्तपत्त ओच्छ्यानबाट उठिन् र दैलो खोलिदिइन् ।
“लोग्ने थाकेर आउला, उसलाई खान दिनु पर्ला भनेर सोच्नु पर्दैन ? डंकिनी ! आफ्नो भुँडी भरेर सुत्न पाए भैगो । यस्तै चाला देखाइरहिस् भने ठीक हुने छैन,

भनिदिएकोछु । म त मर्दको जात हुँ, दशओटी ल्याउन सक्छु । तँ भनेको आइमाई होस्, एकचोटि बिटुलिएपछि भिजेको कागज झैँ कामै नलाग्ने,” रक्सीले मातेर

धङ्धङिएको शरीर अघिपछि हल्लाउँदै भने हरिहरले ।

“भात पस्किदिऊँ…..?” दिनदिनै लोग्नेको कचकच सुन्ने बानी परिसकेकी अम्बिकाले लोग्नेले आफूलाई अकारणमा हप्काएको कुरोलाई वास्ता नगरेर सोधिन् ।
“किन…? भोक तँलाई मात्र लाग्छ ? हामीलाई लाग्दैन ? दिनदिनै सोध्छेस् भात पस्किऊँ कि नपस्किऊँ भनेर । बढ्ता नबोल, भनिदियाछु । बढ्ता बोलिस् भने

लात्ताले हानेर तेरो बङ्गारासमेत झारिदिउँला । गोडामा लाउने जुत्ता गोडामै सुहाउँछ, टाउकामा होइन बुझिस् !” कोठाभित्र पसेपछि मुढामा बसेर जुत्ता खोलेर एकातिर

हु-र्याउँदै भने हरिहरले ।

“होइन, आज पनि उतै खाएर आएको हो कि भनेर सोधेकी …,” मधुरो स्वरमा भनिन् अम्बिकाले ।

“ए… तँलाई सपनासँग आरिस लागेर मलाई कुरा सुनाएकी होइन ? सपनासँग तैंले आफूलाई दाँज्नै पर्दैन । ऊ भनेको अहिलेकी फेसनदार युवती हो । उसको

लवाइखुवाई, उसको बोलीचाली र उसले मानिसलाई रिझाउने तरिका सबै उम्दा छन् उम्दा । ऊ तँजस्ती सधैंभरि तेल–बेसार गन्हाउने मेक्सी लाएर बस्दिन । तेरो अनुहार

हे-यो भने सधैंभरि झरीबादल लाग्या जस्तो देखिन्छ । अनुहार नपरेकी डंकिनी !” लाइराखेको कोट फुकालेर ओच्छ्यानतिर हुत्याउँदै भने हरिहरले ।

हरिहरले बाटामा हात धुँदासम्म अम्बिकाले उनको छेउमा उभिएर पानी खन्याइदिइन् । त्यसपछि खाना तताइओरी पतिको अघि सानो टेबुलमा राखिदिइन् ।

“ए…आज पनि मासु पकाइनस् ! तँलाई थाहा छैन, मासु नभए तेरो पोइको घाँटीबाट भात छिर्दैन भनेर ? कति सम्झाउनु हो तँलाई ? पाँच वर्ष भइसक्यो बिहे

भएको तर तेरो मगजमा बुद्धि पलाएन,” भातमा भएभरिको दाल तरकारी खन्याएर गजगज मुछेर खाँदै भने हरिहरले ।

“बाबु बिरामी भएको थियो त्यही भएर बिहानै डाक्टरकहाँ पु-याएर आउँदाआउँदै ढिलो भयो । घर आएपछि पनि बाबुले एकछिन छोडेको होइन । हप्ता दिन भइसक्यो,

ग्राहकले भनेको बेलामा कपडा सिएर दिन नपाएको । घरमा पैसा पनि थिएन अनि मासु कहाँबाट ल्याउने ?” सहज स्वरमा बोलिन् अम्बिका ।
“ए… अबचाहिँ तैंले मलाई आफ्नो कमाइले घर चलाएकी छु भनेर मलाई ताना मार्न थालिस् होइन ! खान्न जा तेरो भात ! तैं खा ….!” अम्बिकाको कुरो

सहन नसकेर एकाएक उत्तेजित हुँदै भातको थाल हुत्याइदिए हरिहरले र त्यसपछि जेनतेन हात पखालेर झुल्दै लघुशंकाको निम्ति ढोका खोलेर बाहिर गए ।

अम्बिका सदाको झैँ केही नबोलेर हृदयको वेग सम्हाल्दै भूँइभरि छिरलिएको खाना सोहर्न लागिन् ।

“ल, अब त्यो गन्हाउने मेक्सी फेरेर आइज ओच्छ्यानमा !” केही बेरपछि कोठामा पसेका हरिहरले आदेश दिएका थिए पत्नीलाई ।

यस्तै थियो अम्बिकाको जीवन । सत्र वर्षको उमेरमा हरिहरसँग बिहे गरेर आएपछि खप्नुसम्म पीडा खपेकी थिइन् उनले । बिहे हुनभन्दा अघि बिहेको बारेमा जुन प्रकारको

सुन्दर सपना उनले देखेकी थिइन् त्यो सब उल्टो भएको थियो । हरिहरको निम्ति नारी देह भनेको पुरुषको निम्ति एउटा मनोरञ्जनको साधनमात्र थियो । उ त्यो खेलौनालाई

आफ्नो इच्छाबमोजिम संचालन गरेर मात्र तृप्ति अनुभव गर्दथ्यो ।
साँच्चै भन्ने हो भने हरिहरसँगको अम्बिकाको वैवाहिक जीवन नारकीय बनेको थियो । पत्नीलाई जीवनसंगिनीको दर्जा दिन नचाहने हरिहरले कुरैपछि “रात भनेको मेरो हो ।

मैले जसो गर्न भन्छु, तैंले मान्नु पर्छ” भनेर धम्क्याउँदै अम्बिकाको देहलाई पशुतुल्य प्रयोग गरेर आफू पुरुष हुनुको अहम् तुष्टि प्राप्त गर्दथे ।

एक रातको कुरो हो । त्यो रात पनि आधी रातमा ढुनमुनाउँदो शरीर लिएर घर आएका थिए हरिहर । त्यो रात पनि उनले दैलोमा लात बजारेर कोठाभित्र पसेपछि

बिनासित्तिमा अम्बिकासँग निहुँ खोज्दै उनलाई भए नभएको आरोप लगाए । आफूमाथि लगाएको आरोपको प्रतिवाद गरेकी अम्बिकाको कोमल शरीरमा लात्ती र मुड्की बजार्न

पनि पछि परेनन् हरिहर ।
“पख्, आज म तँलाई कसरी ठीक पार्दो रहेछु हेर्लिस्…,” पत्नीलाई निर्घातरुपमा कुटेपछि केही बेरको निम्ति बाहिरिएका थिए हरिहर ।

अब पतिले आफूमाथि कुन प्रकारले उत्पीडन गर्ने हुन् भन्ने भयले भित्रभित्रै त्रसित भएकी अम्बिका आँखाबाट अविरल आँशुका धारा बगाउँदै भित्र सानो कोठामा गएर छोरोको

आडैमा पल्टेकी थिइन् ।

“ए, तँ यहाँ आएर आराम गरिरहेकी छस् ! उठ्, खुरुक्क हिड् ओच्छ्यानमा । चुप लागेर हिड्छेस् कि दिऊँ फेरि लात….!” केही बेरपछि कोठाभित्र पसेका हरिहरले

पत्नीको नगिचमा गएर कर्कश स्वरमा भने ।

“म आज यहीं सुत्छु,” करुण स्वरमा भनिन् अम्बिकाले ।

“के अरे ? के भनिस् ? लोग्नेले भनेको कुरो नमान्ने तेरो कत्रो हिम्मत ? तँलाई त कुटाइ पुगेको छैन जस्तो छ,” हरिहरले एकाएक अम्बिकाको चुल्ठोमा समातेर

उनलाई घिसार्ने जमर्को गर्दै भने ।

कोठामा भएको हल्लाले बालक ब्यूँझियो र चिच्याएर रुन थाल्यो । अम्बिकाले पतिको हातबाट आफ्नो केश छुटाउने प्रयत्न गनै लागिन् । हरिहरले अझ जोडसँग निर्दयतापूर्वक

अम्बिकालाई घिसार्न थाले । अचानक अम्बिकाले पतिको तिघ्रामा जोडसँग टोकिदिइन् ।

“ऐ…या…!” भन्दै हरिहरले अम्बिकाको चुल्ठो छोडिदिए । अम्बिकाले हत्तपत्त रुँदारुँदै निस्सासिएको छोरोलाई उठाएर काखमा राखिन् र फुल्याउनको निम्ति उसको

पिठ्यूँ थप्थपाउन थालिन् ।

स्वास्नीको अघि आफू पराजित भएको जस्तो ठानेर होला हरिहरले दाहिने हातको मुड्की उजाउँदै पत्नीलाई आक्रमण गर्न तत्पर भए, तर त्यति नै खेर हरिहरलाई के भयो

कुन्नि उनी धर्मराउदै भूँइमा ढले । हरिहर भुइँमा ढलेपछि अम्बिकाले उनलाई उठाउनको निम्ति निकै प्रयत्न गरिन् तर सकिनन् । त्यसपछि छिमेकीसँग हारगुहार गरेर उनले

हरिहरलाई अस्पताल पु-याइन् । अस्पतालमा डाक्टरहरूले जाँचेपछि थाहा भयो हरिहरलाई पक्षाघात भएको रहेछ । उनी देख्न सक्थे, सुन्न सक्थे तर शरीर चलाउन सक्दैनथे

प्रायः दुई पहिनासम्म हरिहरलाई अस्पतालमै राखियो र उपचार गरियो । तर उनमा कुनै प्रकारको सुधार आएन । हरिहर अस्पतालमा रहँदासम्म अम्बिकाले पतिको सेवामा

कुनै प्रकारको कमी हुन दिइनन् । उनी त्यसरी दिनरात खटेर पतिको सेवामा लागेको देखेर उनमा आफन्तहरूले उनलाई पतिको प्राण फर्काउनको निम्ति यमराजसँग पनि

जुध्न सक्ने सावित्रीको संज्ञा दिंदै उनको प्रशंशा गर्दथे ।
पुरापुर दुई महिना अस्पतालमा राखेपछि हरिहरलाई जुन दिन घरमा ल्याइयो, त्यो रातको घटना हो । त्यो रात अम्बिकाले चामल, दाल, तरकारी सबै एकै ठाउँमा

मिसाएर जाउलो पकाइन् र आफूले खाइन् र छोरो र हरिहरलाई पनि दुवाइन् । त्यसपछि तोरीको तेलमा मेथी र लसुन फुराएर त्यो तेल आफ्नो हातगोडामा घसिन्, अनि

तेल राखेको दिउरी लिएर पतिको ओच्छ्याननिर गइन् । उनले दिउरीबाट आफ्नो हत्केलामा तेल खन्याइन् र हरिहरको अनुहारभरि घसिदिइन् । अनि दिउरीमा रहेको बाँकी तेल

उनको कपालमा खन्याएर कपाल चिपचिप पारिदिइन् ।
“तपाईंलाई मेथी र लसुनको गन्ध मन पर्दैन होइन ?” विस्फारित दृष्टिले आफूलाई हेरिरहेका पतिको अनुहारमा हेरेर व्यंग्यपूर्वक मुस्कुराउँदै भनिन् अम्बिकाले । “ए

साँच्चै, मैले त मेक्सी फेर्नै बिर्सिएछु…. खोइ यो मेक्सीमा त बेसारको दाग पनि छैन, तेलको टाटो पनि छैन… अलिकति बेसार र तेलको दाग राखेर आउँछु

है…!”

अम्बिका तत्कालै त्यहाँबाट उठिन् र आफूले लगाएको मेक्सीमा जताततै तेल र बेसारको दाग लगाएर आइन् ।

“तपाईंलाई मेरो मुखबाट आउने लसुनको गन्ध एकदमै मन पर्दैन भनेको होइन ? तर के गर्नु मलाई भने लसुन असाध्यै मन पर्छ । खाउँ है ?” भन्दै अम्बिकाले एउटा

पोटी लसुन मुखमा राखिन् ।

लसुन करमकरम चपाएपछि हरिहको नाकैनेर आफ्नो मुख लगी “हा…. !” गर्दै सास छाडेर उनले भनिन्, “सुँघ्नुहोस् त कस्तो राम्रो वासना आएको छ….!”

अम्बिकाले गरिरहेको असामान्य कृयाकलापले गर्दा हरिहरको दृष्टिमा बिस्तारै विष्मयको भाव प्रकट हुन थाल्यो ।

“बिहेपछि आज पहिलो पटक म आफ्नै स्वेच्छाले तपाईंसँग गाला जोडेर सुत्न चाहन्छु । सुतूँ है…!” पतिको अश्रुपूर्ण आँखातिर दृष्टि पु-याउँदै अम्बिकाले तटस्थ स्वरमा

भनिन् । र नभन्दै साँच्चै नै हरिहरको अनुहारमा सुस्तसुस्त आफ्नो अनुहारले स्पर्श गर्दै उनले दृढ स्वरमा भनिन्, “रात त मेरो पनि हो ।”

प्रतिक्रिया
सम्बन्धित खवर

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद

वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट साहित्य सङ्गम मकवानपुरले यस वर्ष प्रदान गर्ने साहित्य क्षेत्रमा क्रियाशील २० जनालाई विभिन्न सम्मान तथा पुरस्कारको

काठमाडौँ । साहित्यकार विन्दु अधिकारी ढकाल नवीनतम् कथासङ्ग्रह मावली दिदी लिएर आउनुभएको छ । ढकालको दोस्रो कृतिको रूपमा आएको पहिलो

जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार । विद्रोह चेत बोकेर कविता लेख्ने