खाजाको जोहो – कृष्णदीप सिग्देल

१० असार २०६९, आईतवार १२:०१ मा प्रकाशित


दीलशोभाका बाआमा खाजाका लागि कहिल्यै पनि पैसा दिंदैनन् । उहांहरू जसरी भए पनि किताब किनिदिनुहुन्छ, स्कुलको शुल्क तिरिदिनु हुन्छ । तर खाजाका लागि भने उहांहरूसंग कहिल्यै पनि पैसा हुंदैन ।
‘मेरा बाआमा गरिबै त हुनुहुुुन्न,’ दीलशोभा सोच्छिन् । उनका बाबा भारी बोक्छन् । आमा घरघरमा गएर काम गर्छिन् । पैसा त कमाउंछन् जस्तै लाग्छ उनलाई । उनीहरूको सानो आफ्नै घर पनि छ । अझ त्यसमाथि पनि बाआमा दुवैलाई दिनहुं रक्सी चुरोट खान पैसा पुग्छ । नपुग्ने त उनको खाजालाई मात्रै हो ।
खाजाका लागि पैसा जुटाउन उनले केकेसम्म गरिनन् । एउटै किताबलाई पांच पटकसम्म किनिसकिन् । कापी पनि कति किन्नु ! ‘भातको सट्टामा कापी खान्छे कि क्या हो ?’ भनेर बाआमाले गालि गर्न मात्रै बांकी छ ।
साथीहरूसंग पनि कति मागेर खानु ! हुंदा हुंदा त मगन्ते वा भिखारीलाई जस्तो व्यवहार गर्न पनि के बेर ! अब के गर्नु ! चोर्न भएन, ढांट्न भएन, छल्न पनि भएन । तर खाजाको जोहो पो कसरी गर्ने ?
दीलशोभालाई खाजाको चिन्ताले सताइरह्यो । त्यसदिन उनी टोलाइरहिन् । उनको दिमागमा खाजा मात्रै थियो । एकदिनका लागि मात्रै भए त भोकै बस्न पनि सकिन्थ्यो । तर उनी त सधैंका लागि पो सोच्दै थिइन् ।
“दीलशोभा !” कक्षामा पढाएकोतिर ध्यान नदिई टोलाएको देखेर मिसले चर्को स्वरले उनलाई बोलाइन्, “के
टोलाइरहेको ? के सोच्दैछ्यौ ?”
“खाजा !” उनको मुखबाट फुत्त निक्लिहाल्यो । हुनत दिमागमा खाजाबाहेका अरु के नै थियो र ! तर पनि खाजाका बारेमा उनले के सोचेकी थिइन् भनेर जवाफ के दिने खै ? मुखबाट फुत्किहाल्यो, कुरा त मिलाउनै प¥यो, भन्न थालिन्, “खाजा शुद्ध नहुंदा हामी सबैको स्वास्थ्य बिग्रिरहेको छ । बजारको खाना पनि त्यति सफा हुंदैन । अस्वस्थ खाजा खाने बानी त त्यति राम्रो होइन नि मिस ।”
दीलशोभाको कुरा मिसले ध्यान दिएर सुनिन् । कुरा त वास्तवमा ठीक हो । बजारका अस्वस्थ र सस्ता खाजाले बेलाबेलामा रोग निम्त्याइरहेको हुन्छ । यस समस्याको समाधान त खोज्नै पर्छ भन्ने उनलाई लाग्यो । उनले अरु सरमिसहरूबिच यसबारेमा छलफल गरिन् । प्रिन्सिपलले पनि छलफलमा भाग लिए । अन्तमा समाधान फेला
प¥यो । सबै मिली निर्णय गरे – अबदेखि बजारका तयारी खाजा स्कुलमा ल्याउन नपाउने । सबैजनाले घरबाटै बनाएर ल्याउनु पर्ने भयो ।
प्रायःजसा विद्यार्थी यस निर्णयबाट खुसी थिएनन् । खुसी त दीलशोभा मात्रै थिइन् । यस खबरले उनका बाआमा पनि कहां खुसी भए र ! “यी मास्टरमास्टर्नीको काम अरुलाई दुःख दिने मात्रै हुन्छ,” दुवैको एउटै विचार थियो ।
घरमा बाआमाबिच गम्भीर छलफल चल्यो । दीलशोभासंग त्यति बोलेनन् । तर उनी ढुक्क थिइन् । खाजाको व्यवस्था त अब हुन्छ हुन्छ ।
अन्तमा बाआमाले पनि निर्णय सुनाए । दीलशोभाका लागि एउटा टिफिन बट्टा भोली नै किनेर ल्याइदिने । तर खाजाभने घरमै भएका सामग्रीबाट दीलशोभा आफैंले नै बनाउनु पर्ने । ‘लौ अर्को समस्या पो थपियो,’ उनले चिन्ता मान्दै सोचिन्, ‘तर केही छैन, हुंदै नहुनुभन्दा त केही भएकै राम्रो हो । खाजाको जोहो त भइहाल्यो ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साहित्यकार डा वानीरा गिरिको गए राति कोरोना सङ्क्रमणले निधन भएको छ । काठमाडौँ बानेश्वरस्थित निजामती अस्पताल पु¥याइएको आधा

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

नेपालमा पहिलोपटक चिकित्सासम्बन्धी सम्पूर्ण शब्दको परिभाषा रहेको ‘चिकित्सा शब्दसागर’ विमोचन गरिएको छ । डा विपिन नेपाल, विनयकुमार शर्मा, प्रकाशमणि दाहाल

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद