‘अखण्ड सुदूरपश्चिम’को पीडा – बबिता बस्नेत

७ असार २०६९, बिहीबार १२:०२ मा प्रकाशित

मुलुकको अविकसित क्षेत्रका रूपमा चित्रण गरिंदै आएको सुदूरपश्चिमको परिचय अहिले फेरिएको छ । सङ्घीयताका सवालमा सुदूरपश्चिमले देखाएको एकता अभूतपूर्व मात्र नभएर ऐतिहासिक रह्यो । विभिन्न जात र क्षेत्रका नाममा मुलुकको भागबण्डाको कुरा उठिरहेको बेला सुदूरपश्चिमेलीले अनेक दुःखकष्ट सहेर आफ्नो क्षेत्रलाई टुक्रन नदिने प्रण गर्दै ‘एक्सन’मा उत्रिए । भोलि यो देश जे–जस्तो भए पनि आफ्नो राष्ट्र र राष्ट्रियताप्रतिको उनीहरूको खबरदारी सदा अविष्मरणीय रहनेछ । देश टुक्रिनबाट बचाउने हो भने मुलुकका पांचै विकास क्षेत्रका जनताले आ–आफ्नो क्षेत्र जोगाउन आफूहरूले जस्तै पहल गर्नुपर्ने स्थानीयवासीको धारणा छ । गत हप्ता कामविशेषले महेन्द्रनगर र धनगढी पुग्दा विभिन्न क्षेत्रका व्यक्तित्वहरूसंग भेटघाटको अवसर मिल्यो । मुलुकलाई लिएर प्रायः सबैको भनाइ उस्तैउस्तै छ, देशका अन्य भाग टुक्रिए भने सुदूरपश्चिम मात्रै एक भएर के गर्नु ? त्यसैले मुलुक टुक्र्याउन खोज्नेहरूका विरुद्ध अब देशभक्तहरू एक हुन जरुरी छ । संविधानसभाको अन्त्य हुनुअघिका ३२ दिनसम्म अखण्ड सुदूरपश्चिमको माग गर्दै उक्त क्षेत्र बन्द गरिएको थियो । अब सुदूरपश्चिमलाई टुक्र्याउने सपना कसैले देख्न नसक्ने स्थानीयवासीको ठहर छ । भन्छन्, ‘मुलुक बचाउनका लागि हामी आफैंले आफैंलाई दुःख दियौं । देशको अगाडि व्यक्तिगत पीडा नगन्य हुंदोरहेछ ।’ राजनीतिक दलसंग सम्बद्ध व्यक्तिहरूदेखि रिक्साचालकसम्म, फलफूलपसलेदेखि लेखक, पत्रकार हुंदै प्राध्यापकहरूसम्मको एउटै विचार सुन्दा अचम्म लाग्यो । के महिला, के पुरुष, के युवा के वृद्धवृद्धा आफ्नो जन्मभूमिप्रतिको सम्मान उस्तै भेटियो । यो मुलुकको अस्तित्वलाई लिएर सुदूरपश्चिमेलीमा जुन प्रकारको एकताबद्ध धारणा छ त्यो मुलुकको कुनै पनि भागमा भेट्न सकिंदैन ।
समस्या नभएका होइनन्, अनेक छन् तर जसरी मधेसका समस्या भन्दै मुद्दाहरू उठे त्यसरी सुदूरपश्चिम या मुलुकका कुनै पनि भागमा उठेनन्, उठाइएन । अन्य भागमा जस्तै ठूलो समस्या त बेरोजगारी नै हो तर फरक के छ भने पूर्व, पश्चिम र मध्यमाञ्चलका मानिस वैदेशिक रोजगारीका लागि कतार, मलेसिया, साइप्रस, बहराइन, दुबई, साउदी, मकाउ, युरोप, अमेरिकालगायत विश्वका विभिन्न देश पुगेका छन् । अधिकांश सुदूरपश्चिमेलीको गन्तव्य भने भारत बनेको छ । सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा मानिस रोजगारीको क्रममा भारत पुग्ने गरे पनि त्यसलाई वैदेशिक रोजगारीको दायराभित्र भने राख्ने गरिएको छैन । सो क्षेत्रका मानिस रोजगारीका लागि अन्य विकल्प नहेरी सीधै भारततर्फ लाग्नुमा आफ्ना बाबुबाजेदेखि गएको ठाउं भन्नेदेखि लिएर खुला सिमानाका कारण न त पासपोर्टको झन्झट न त भिसाको टेन्सन, भाषा पनि बुझिने, चाडबाड मान्न घरै आउन सकिने, जानलाई धेरै खर्च नलाग्ने, आफन्तहरू त्यतै छन् भन्ने मानसिकताले काम गरेको देखिन्छ । भारतमा अहिले करिब ५० देखि ६० लाखको हाराहारीमा नेपाली रहेका छन् । राष्ट्रिय जनगणना ०६८ अनुसार, मुलुकबाहिर रहेका नेपालीको सङ्ख्या १९ लाख १७ हजार नौ सय तीन रहेको छ जसमा महिलाको सङ्ख्या दुई लाख ५४ हजार ६ सय ६६ छ । प्रतिशतमा यो सङ्ख्या पुरुष ८३.७ प्रतिशत र महिला १३ प्रतिशत हुन आउंछ । जसमध्ये दुई लाख २७ हजार आठ सय ४० जना सुदूरपश्चिमबाट विदेशिएका छन् । क्षेत्रगत हिसाबले यो सङ्ख्या ११.८८ प्रतिशत हुन आउंछ । पांच विकास क्षेत्रमध्ये सबैभन्दा कम सङ्ख्यामा मध्यपश्चिमाञ्चलका मानिस विदेशिएको तथ्याङ्कले देखाएको छ । यो तथ्याङ्कले भारतमा बसेका नेपालीलाई समेट्दैन । भारत नेपालीका लागि ठूलो श्रम बजार हो तर वैदेशिक रोजगारका कुनै पनि नियम, कानुन, नियमावली र सरकारी संयन्त्रहरूले भारतीय बजारमा श्रम बेच्नेहरूलाई समेट्दैन ।
अहिले अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीको प्रवेश बढ्दै गएको र वैदेशिक रोजागरीका विविध पाटाहरूमा छलफल र बहस भइरहेको सन्दर्भमा भारतीय श्रम बजारका सम्बन्धमा पनि अब छलफल र बहस हुन आवश्यक देखिन्छ । गत हप्ता सुरक्षित वैदेशिक रोजगारीका सम्बन्धमा युरोपियन युनियन, यूएन वुमन र पिपुल्स फोरमले महेन्द्रनगरमा गरेको कार्यक्रममा अधिकांश सहभागीहरूले भारतीय श्रम बजारका विषयमा चर्चा गरे । सुदूरपश्चिमका धेरै गाउंमा अहिले पनि कामका लागि परदेश जाने भनेको भारत नै हो भन्ने बुझाइ रहेको उल्लेख गर्दै उनीहरूले भने अन्य देशहरूमा जाने ‘ट्रेन्ड’का बारेमा यो क्षेत्रमा खासै चर्चा हुंदैन । भारतबाहेकका मुलुकमा पनि मानिस नगएका होइनन्, गएका छन् तर वैदेशिक रोजगारीले अन्य क्षेत्रमा जुन प्रकारको चहलपहल ल्याएको छ त्यसको प्रभाव भने उक्त क्षेत्रमा कम नै पर्ने गरेको छ । जिल्लागत आधारमा काठमाडौं, झापा, मोरङ र रूपन्देहीपछि कैलाली जिल्लाबाट वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या बढी देखिएको तथ्याङ्कले देखाएको छ । कञ्चनपुर जिल्लामा भने वैदेशिक रोजगारीको चहलपहल र चर्चा कमै हुने गरेको छ । जिल्लामा वैदेशिक रोजगार कम्पनी, वैदेशिक रोजगारमा जानुअघि गर्नुपर्ने पूर्वप्रस्थान तालिम केन्द्र या सम्बन्धित कुनै पनि संयन्त्र नभएका कारणले पनि यो विषयमा धेरै चर्चा नहुने गरेको विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरूले बताए । ‘मुलुक रेमिटेन्सले धानेको भए पनि हामी वरिपरिका जिल्लावासीका धेरै घर भने भारतमा बेचिएको श्रमले धानिरहेको छ’ उनीहरूले भने जुन श्रम र श्रम बजारको क्षेत्र अहिलेसम्म बहसको विषय बन्न सकेको छैन । पासपोर्ट देखाउनु नपर्ने र कुनै तथ्याङ्क पनि राख्नु नपर्ने भएका कारण वर्षेनी विभिन्न नाकाबाट कति नेपाली भारत जान्छन् भन्ने कुराको निश्चित तथ्याङ्क छैन । अनेक जोखिमपूर्ण काम गर्दागर्दै कतिको त्यतै मृत्यु हुन्छ, कतिले राम्रै आम्दानी गरेर बसेका छन्, भारतमा काम गरेर घरखर्च र चाडबाड धान्नेहरूको सङ्ख्या धेरै छ । कति चाहिं साथमा एचआईभी लिएर आउंछन् । अछाम, डोटी, बैतडीलगायत जिल्लाका धेरै महिला लोग्नेका कारण एचआईभीग्रस्त भएका छन्, कतिले त सोही कारणले यो संसार छोडिसके । ती जिल्लामा एचआईभीको नाम नै बम्बैया रोग बनेको छ । सङ्क्रमणको यो डरलाग्दो वास्तविकताबाट महिला र बालबालिकालाई जोगाउन सुदूरपश्चिमका जिल्लामा तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ ।
महिला कामदारको कुरा गर्दा धेरैजसो महिला घरेलु कामदारको रूपमा खाडी मुलुक जाने गरेका छन्, पैसा उल्लेखनीय छैन न त भाषा नै बुझिन्छ । एक्लोपन, घरमुलीको टोकसो, अमिल्दो खाना, कामको बोझलगायतका कारणले हुने डिप्रेसन र आत्महत्याको दर बढ्दो छ । नेपालीको रोजगारीको गन्तव्य मुलुक भारत हिजो पनि थियो, आज पनि छ, यसलाई व्यवस्थित र सुरक्षित गर्नका लागि सरकारी प्रयास गरिए घरेलु कामदारमा जाने महिलाका लागि पनि यो एउटा सुरक्षित गन्तव्य हुनसक्छ । घरेलु कामदारका रूपमा महिलाले कुवेतलगायतका मुलुकमा जम्मा दश हजार रुपैयां पाउने गर्छन् । यता महिनाको आठ–दश हजार भारतीय रुपैयां दिएर घरेलु कामदार राख्ने भारतीयको सङ्ख्या धेरै छ । त्यसैले वैदेशिक रोजगारीमा लागू हुने सबै प्रकारका ऐन, कानुन र संयन्त्रहरू लागू हुने गरी भारतीय श्रमबजारलाई हेरिनु जरुरी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही,

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको

काठमाडौं । सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले

काठमाडौं । चितवनमा दैनिक पाँच हजार रुपैयाँ दिएर यौन धन्दामा लगाइएका १० जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार चितवनको