सुसंस्कृत हुने कि संस्कृत छोड्ने–ध्रुवहरि अधिकारी

५ असार २०६९, मंगलवार १९:३८ मा प्रकाशित

खोलाको देशमा पानीको दुःख। मुलुकवासीले केही वर्षयता बेहोर्दै आउनुपरेको यस विडम्बनालाई ‘नेपाली उखान–टुक्काको कोष’ मा प्रविष्टि दिलाउने प्रस्ताव अत्युक्ति नहोला। पुष्करशमशेरले त्यो कोष तयार पार्दा परिस्थिति त्यत्ति बिग्रेको थिएन होला भन्ने अड्कल काट्न गाह्रो छैन।
विषय पानीमा सीमित छैन। जनजीवनका अनेक पक्षमा अन्तर्विरोध टड्कारा छन्। इतिहास र प्रचलनले बताउँछन्, श्रुति स्मृति ग्रन्थ परम्पराहरूले यस हिमाली देशलाई ज्ञान–गुन–सीपका असीमित स्रोत भनेर चिनिनु पर्दछ। वैदिक सनातन र बौद्ध दर्शनमा आधारित आध्यात्मिक ज्ञानको हिसाबले त यो भारतवर्षकै केन्द्रीय थलो मान्न सकिने आधार रहेछन्। तर विचित्र, यस्तो देशको आधाजसो जनआवादी ओगट्न पुग्ने संख्यामा नर–नारीले निरक्षर भएर बस्नु, बाँच्नु परेको छ। अर्थात् दशौं लाख मानिस लेखपढको सुविधाबाट वञ्चित छन्। शिक्षाको उज्यालो घाम तिनको आङमा पर्न पाएको छैन। पाएको भए आत्मकेन्द्रित राजनीति गर्नेहरूको छलकपटमा परेर उत्पादनशील समय खेरफाल्नु पर्ने थिएन। सामाजिक सद्भाव खल्बल्याउने किसिमका नारा, योजनाले हत्पति बहकाउन सक्ने थिएनन्।
असार १ गते संस्कृत दिवस थियो। त्यो अवसर पारेर ललितपुरको एक शैक्षिक प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्राज्ञ ज्ञानमणि नेपालले संस्कृत भाषामा रहेका ज्ञान–विज्ञान, अध्ययनका असंख्य विधाहरूको बेलि–विस्तार सुनाउनु भएको थियो। राष्ट्रिय योजना आयोगका अध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री र आयोगकै सदस्य प्रा.डा. शिवकुमार राई समेतका सयकडौं श्रोताले संस्कृतसित संस्कृति गाँसिएको बुझिने किसिमका व्याख्यान, विवरण सुन्न पाए। कुनै बखत माओवादी कार्यकर्ता भएर संस्कृत पुस्तक, पुस्तकालय जलाउने अभियानमा सामेल भएका कुलबहादुर बुढाथोकीको मन्तव्य निकै विचारणीय हुनपुग्यो : दोलखाका तीन ग्रामीण इलाकामा फैलिने गरी ‘गौरीशङ्कर संस्कृत ग्राम’ स्थापना गर्ने प्रयोजनका लागि सहयोग जुटाऔं भन्ने उहाँँको अपील थियो। पहिले मह140व नबुझ्दा संस्कृतका ग्रन्थ पोल्नेहरूको हुलमा पसेका बुढाथोकी अचेल संस्कृतमा पाइने असीमित ज्ञान–गुणका संरक्षण गरौं र देश–देशावरमा फैलाऔं भनी अहोरात्र खट्दै हुनुहुन्छ।
प्रदीप नेपाल सूचना तथा सञ्चारमन्त्री छँदा रेडियो नेपालबाट संस्कृतमा समाचार प्रसारण थालियो। त्यस बखत एक हुल मानिसले मन्त्रीको कार्यकक्षमै पसेर संस्कृतप्रति चर्को विरोध गरेका थिए। त्यो विरोध सके संस्कृतलाई ब्राह्मणको भाषा र कर्मकाण्डमा केन्द्रित भाषा मात्र होे भन्ने ठानेर गरिएको थियो। तर यथार्थ त्यस्तो थिएन, हुँदै होइन।
नेपालीलगायत कतिपय भाषाकी जननी संस्कृत त ज्ञानको भण्डार हुन्। संस्कृतमा जीवनभर पढेर नसकिने बौद्धिक खजाना मात्र होइन ६ महिनामा व्यावहारिक ज्ञान हासिल गर्न सकिने पाठ्यक्रम पनि छन्। पञ्चतन्त्रजस्ता नीतिकथामा आधारित पाठ्यक्रम दृष्टान्त हुन्। अमरशक्ति नामक राजाका मूर्ख छोराहरूलाई ६ महीनामै राजनीतिक र नैतिक आचरणको शिक्षा दिन विष्णु शर्माले पञ्चतन्त्रको रचना गरेको मानिन्छ। अहिलेको चटारोमा परेका मानिसले त्यही पञ्चतन्त्र मात्र पढेर पनि आफ्नो जीवनको अर्थ, उद्देश्य पत्ता लगाउन सक्छन्। धर्मनिरपेक्ष छिमेकी भारतमा संस्कृत अध्ययन, उपयोग भै नै रहेको छ। हिजो–आजै पनि टेलिभिजन दर्शकहरू ‘सत्यमेव जयते’ श्रृङ्खलाका कार्यक्रम हेर्न रुचाउँछन्। युरोपको शक्तिशाली देश जर्मनीको प्रसारण संस्था ‘डोयचे वेला’ बाट संस्कृत प्रसारण हुन थालेको वर्षौं भैसक्यो।
ढङ्ग नपुग्दा र चाँजो नमिल्दा नेपालले दोहोरो–तेहोरो नोक्सानी बेहोर्नु परिरहेको छ। कृषिप्रधान देशले महँगा खाद्य पदार्थ अन्यत्रका देशबाट झिकाउन थालेको दशकौं भैसक्यो। यही कुरालाई आंैल्याइएको थियो बीबीसी नेपाली सेवाको गत मंगलबारको एउटा प्रसारणमा। दाङमा नगदेबाली तरकारी खेतीमा संलग्न युवा किसान मुकुन्दबहादुर मल्लको यस्तो बेहोराको उद्गार थियो : हामी त सुनको खानीमाथि बसेर फलामको खोजीमा भौंतारिन व्यस्त मानिस पो रहेछौं। अर्थात् आफ्नै देशमा रोजगारीका अनेकानेक अवसर छँदाछँदै खाडीक्षेत्रका मरुभूमिजन्य देश, प्रदेशमा भेंडा चराउन दगुर्दा रहेछौं।
कस्तुरी मृगले आफ्नै नाइटोबाट आएको सुगन्ध पत्ता लगाउन नसकेर त्यसैको खोजीमा टाढा–टाढासम्म दगुर्दै गएजस्तो। आशा गरौं, माल पाएर पनि चाल नपाउने हाम्रो बानीमा अब छिट्टै सुधार आउन थाल्नेछ।

प्रतिक्रिया
सम्बन्धित खवर

भाषा मानव जातिले मौखिक, लिखित वा सांकेतिक माध्यममा प्रयोग गर्ने संचार माध्यम हो। संसारका कतिवटा भाषाहरू छन् भनेर एकिन का

बाबा राजेश्वरी थापा, भिएना, अस्ट्रिया: थोरै घाम लाग्ने युरोपमा घाम लागेको दिन मन फुरुंग हुन्छ।  केहि दिन अघि घाम लागेको

भक्त वाग्ले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एकिकरण हुंदाका दुई पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये व्यवस्थित,अनुशासित र विधिमा

काभ्रेपलाञ्चोक । पुरातत्व विभागले पाँचखाल नगरपालिकास्थित पुरातत्वस्थलमा ‘जियोफिजिकल सर्वे’ (भू–भौतिकी सर्वेक्षण) गर्न काभ्रेपलाञ्चोकको सरोकारवाला निकायसँग सहयोगको अपिल गरेको छ ।