सङ्घर्षको तयारी गर्दै माओवादी

२३ असार २०७२, बुधबार ११:२९ मा प्रकाशित

काठमाडौँ, २३ असार । संविधानसभामा प्रस्तुत गरिएको नेपालको संविधान मस्यौदामाथि छलफल चलिरहेको बेलामा संविधानसभाभन्दा बाहिर रहेको दलहरू भने आन्दोलनको तयारीमा व्यस्त भएका छन् । उनीहरू आन्दोलनलाई कसरी सफल बनाउने र संविधानसभाबाट जारी गर्ने भनिएको संविधान विफल पार्ने भन्नेमा केन्द्रित रहेका छन् । तर, कुनै पनि हालतमा संविधानसभाबाट संविधान जारी हुने देखिएपछि उनीहरू त्यसपछिका विकल्पका बारेमा समेत योजना बनाउन लागिपरेका छन् ।
संविधानसभाको निर्वाचन हुनु पहिलेदेखि नै विरोधमा रहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीले आन्दोलनको प्रारम्भिक खाकासमेत तय गरिसकेको छ । स्रोतका अनुसार उसले आन्दोलनको दुईखाले खाका तयार गरेको छ । एउटा भूमिगत आन्दोलन र अर्को संविधानसभाबाट जारी हुने संविधानको सामान्य विरोध गर्ने र त्यसपछि हुने भनिएको निर्वाचनमा केन्द्रित कार्यक्रम गर्ने । तर, उनीहरू के गर्ने भन्ने निष्कर्षमा पुगिसकेका छैनन् ।
‘अहिले नेपाली राजनीतिको एक्लो प्रतिपक्षी दलको रूपमा चित्रित गर्दै आन्दोलनको खाका बनाउँदै छौँ,’ माओवादीका एक केन्द्रीय नेताले भने, ‘हाम्रो आन्दोलन वर्षा सकिएलगत्तै सुरु हुन्छ, आन्दोलनको मोडालिटी करिबकरिब तय भइसकेको छ ।’ आन्दोलनका लागि आफूहरूसँगै रहेका अन्य साना दलसँगको छलफललाई पनि अघि बढाइरहेको छ । तर, साना दलहरूले भने भूमिगत आन्दोलनप्रति भन्दा पनि संविधान जारीपछि हुने निर्वाचन केन्द्रित कार्यक्रमलाई रुचाएका छन् । स्रोतका अनुसार माओवादीले भूमिगत केही महिनाअघि पार्टीबाट अलग भएको चन्द समूहसँग पनि छलफल गरिरहेको छ । एकै भएर आन्दोलनमा जाने योजनासहित चन्द नेतृत्वसँगको छलफल अघि बढाइएको हो । तर, चन्दले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।
माओवादी अध्यक्ष मोहन वैद्य किरणले पनि विरोध कार्यक्रम अघि बढ्ने र त्यो कस्तो हुन्छ अहिले नै भन्न नसकिने बताए । ‘कस्तो खालको विरोध गर्ने भन्नेबारेमा गम्भीर छलफलमा हामी छौँ,’ अध्यक्ष वैद्यले भने, ‘अब हामी नयाँखालको क्रान्तिको सुरुआत गर्दै छौँ, त्यसखाले क्रान्तिमा हतियार उठाउने बाध्यता सिर्जना भयो भने हामी त्यसको निम्ति पनि तयारी अवस्थामै छौँ ।’ ०५२ सालमा जनयुद्धको थालनी गर्दाको भन्दा अहिलेको देशको अवस्था झन् समस्याग्रस्त रहेको भन्दै वैद्यले थपे, ‘राष्ट्रिय स्वाधीनता कमजोर अवस्थामा छ । जनताका अधिकारहरू समाप्त पारिँदै छ । जनयुद्धका उपलब्धिहरूलाई ध्वस्त बनाइएको छ । यस्तो अवस्थाबीच हुने आन्दोलन जस्तो पनि हुन सक्दछ ।’
उनले जनघाती र पश्चगामी गन्तव्यतिर संविधानसभालाई मोडिएको आरोप लगाउँदै संविधानमै बहुलवादलाई जबर्जस्ती घुसाउने प्रयास भइरहेको छ र यस्तो कार्य संसदीय व्यवस्थालाई दार्शनिक रूपले पुष्टि गर्ने दुस्प्रयास भएको बताए । संविधानसभामा रहेका दलका नेताहरू पनि आफ्नो पक्षमा रहेको र उनीहरूले पनि आन्दोलनलाई साथ दिने विश्वास लिएका छन् । उनले भने, ‘हाम्रो आन्दोलनमा सत्तारुढ दलका नेताहरूबाटै सहयोग रहन्छ ।’ वैद्यका अनुसार नयाँ जनवादको स्थापनाकै निम्ति आन्दोलन गर्ने हो त्यसखाले आन्दोलनलाई राज्यले कस्तो रूपमा लिन्छ ? राज्यले हाम्रा मागहरूलाई सम्बोधन गर्दै अगाडि बढ्छ वा दमनको बाटो अपनाउँछ भन्ने कुरामा आन्दोलन निर्भर हुनेछ ।’
आन्दोलनको तयारीसँगै माओवादीले एकीकृत माओवादीसँग गर्ने भनिएको एकतासम्बन्धी छलफललाई पनि स्थगित गरिएको छ । नेतृ पम्फा भुसालले भनिन्, ‘हामीले पार्टी एकीकरणका लागि कमिटी नै बनाएर एमाओवादीसँग छलफल गरिरहेका थियौँ, तर अहिले ती सबै प्रक्रिया रोकिएका छन्, र आन्दोलनको तयारीमा लागेका छौँ ।’ उनले दुई पार्टीको धार नै फरक भएकोले एकता अब असम्भवजस्तै देखिएको बताइन् । उनले अब हुने आन्दोलन कल्पना गरेभन्दा निकै फरक हुने र त्यसखाले आन्दोलनले ढिलै भए पनि उपलब्धि प्राप्त गर्ने दाबी गर्दै भनिन्, ‘अब हुने आन्दोलनले अहिले देखिएको यथास्थितिवादी र प्रतिगामी सबैलाई बढारेर लैजाने र जनपक्षीय संविधान बनाउनेछ ।’ आन्दोलनको धरातल तय हुँदै गरेको जानकारी गराउँदै भुसालले भनिन्, ‘हामीले अहिले सामान्य रूपमा विरोधका कार्यक्रम मात्र गर्छौं, त्यसमा जनताको खासै सहभागिता नहुन पनि सक्छ, तर संविधान जारी भएको दिन जनताले संविधानमा आफ्नो अधिकार गुमेको कुरा बझ्छन् अनि हाम्रो आन्दोलनमा पक्कै पनि साथ दिन्छन् ।’ भुसालले थपिन्, ‘त्यतिबेलासम्म हाम्रो आन्दोलनको सबै तयारी पूरा भइसकेको हुनेछ ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो

ओछ्यानमै सुतिरहेको अवस्थामा अज्ञात समूहद्वारा १५ दिन पहिले बेपत्ता पारिएका पिपरा गाउँपालिका– ५ सहोडवाका वृद्ध दम्पती अझै फेला परेका छैनन्

काठमाडौं । निर्वाचन आयोगमा सरिता तिवारीको अध्यक्षतामा दर्ता भएको नेकपा एमालेले बैठक बोलाएको छ । सर्वोच्च अदालतले नेकपालाई पार्टी एकीकरणको

आफन्तसँग ढाँटेर रु एक लाख ऋण लिएर व्यवसाय शुरु गरेका एक युवा १५ वर्षमा ११ होटल र रेष्टुराँको मालिक बनेका