राष्ट्रपति यादवद्वारा पुनर्निर्माण अध्यादेश जारी

७ असार २०७२, सोमबार २२:३५ मा प्रकाशित

काठमाडौँ, ७ असार । राष्ट्रपति डा. रामवरण यादवले ‘भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी अध्यादेश–२०७२’ लाई सोमबार प्रमाणीकरण गर्नुभएको छ ।

राष्ट्रपति डा. यादवले नेपालको अन्तरिम संविधान–२०६३ को धारा ८८ को उपधारा (१) बमोजिम सो अध्यादेश प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता चक्रबहादुर बुढाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो अध्यादेशलाई पारित गर्दै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको थियो । अध्यादेश प्रमाणीकरण भएपछि यसले कानुनी मान्यता पाएको छ र पुनर्निर्माणसम्बन्धी कामलाई अगाडि बढाउन सरकारलाई बाटो खु्लेको छ ।

यसैबीच, एकीकृत नेकपा माओवादीका सचिव एवम् संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री सुशील कोइरालाको अध्यक्षतामा गठन भएको पुनःनिर्माण प्राधिकरणमा बस्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उहाँले आफूहरूले अधिकारसम्पन्न स्वतन्त्र नवनिर्माण प्राधिकरणको कुरा गरेकोमा प्रधानमन्त्रीको नेतृत्वमा प्राधिकरण गठन गरेको आरोप लगाउँदै भन्नुभयो, “प्रधानमन्त्रीको नेतृत्वमा सरकार छँदै थियो नि, त्यसैले गरेको भए भइहाल्थ्यो, किन प्राधिकरण चाहियो ? सरकार आफैले नवनिर्माणको काम गरेको भइहाल्थ्यो नि, किन यो नाटक गरेको ? यसको औचित्य छैन, हामी बस्दैनौँ ।”

नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पुनःनिर्माण सम्बन्धित मन्त्रालयले गर्ने कि प्राधिकरणले गर्ने भन्नेमा अन्योल भएको भन्दै नवगठित प्राधिकरण पर्फेक्ट संयन्त्रका रूपमा गठन नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विनाशकारी भूकम्प हुनासाथ प्राधिकरण गठन हुनुपर्नेमा ढिला भयो ।”

उहाँले असार १० गते हुने दातृ निकायको सम्मेलनमा धेरै मुलुक र निकाय आउने भएकोले उनीहरूले आपूmले गर्ने प्रस्ताव ल्याउन सक्ने आशङ्का व्यक्त गर्दै आए जति सबै सहयोग सरकारी संयन्त्रमार्फत जानुपर्नेमा जोड दिनुभयो ।

डा. महतले संविधानसभाले दिएको समय असार १५ गतेभित्र मस्यौदा संविधानसभामा पुर्याउने प्रतिवद्धता व्यक्त गर्दै असारभित्रै संविधान जारी गर्नुपर्ने बताउनुभयो ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञावलीले पुनःनिर्माण प्राधिकरण गठन हुनु राम्रो भए पनि कसरी जाने भन्ने विषयमा सत्ता पक्षले अरु दलसँग पनि छलफल गर्नुपर्नेमा नगरेकोप्रति असन्तुष्टि प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, “प्राधिकरणमा एमाओवादी पनि समावेश हुनुपर्दथ्यो । अरु दलसँग पनि छलफल, सल्लाह गर्नुपर्दथ्यो ।”

ज्ञवालीले दातृ निकायको सम्मेलन अघि नेपालका राजनैतिक दलहरू एक भएर निर्माणमा लागेका छन् भन्ने विश्वास दिलाउन आवश्यक रहेको तर्क गर्दै सम्मेलन अघि दलहरूले कुनै पनि खाले विवाद गर्न नहुने धारणा राख्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी