सरोज फर्किंदा को–को पलायन ?

३ असार २०७२, बिहीबार ०१:०७ मा प्रकाशित

राजन घिमिरे, काठमाडौ, ३ असार । चलचित्रहरूका छायाङ्कन बन्द छन् । नयाँ चलचित्रहरूको रिलिज हुन सकिरहेका छैनन् । यसकारण पनि कलाकारहरू यतिबेला कामविहीनको अवस्थामा पुगेका छन् । यस्तो अवस्था रहँदा उनीहरूमा विदेश पलायनको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ । १७ वर्ष अगाडिदेखि अमेरिकामा बस्दै आएका अभिनेता सरोज खनाल अब नेपाल फर्किए भन्ने समाचारले प्रमुखता पाएकै समयमा नेपालमा केही नायक र नायिका गुपचुप रूपमा अमेरिका भासिएको समाचारले भने खासै स्थान पाएको देखिएन । सरोज नेपाल फर्कनुभन्दा नेपालमा चलेका केही कलाकार विदेश भासिनु अर्को महत्वपूर्ण विषय हुन पुगेको छ । अभिनेता खनाल काठमाडौं आएको केही घन्टा नबित्दै नेपालबाट अभिनेता सुवास थापा र अभिनेत्री निशा अधिकारी अमेरिका पलायन भएका छन् भने गत महिना मात्र नायक मुकेश ढकाल र निर्देशक श्याम भट्टराईले त अमेरिकामा काम पनि सुरु गरिसकेका छन् । राजबल्लभ कोइराला उतै बसे भने जीवन लुइँटेल पनि आफूलाई सुरक्षित बनाउँदै ग्रिनकार्ड लिएर नेपाल आए ।
चलचित्र क्षेत्रको खस्कँदो बजारसँगै चलचित्रकर्मीहरूमा देखिएको यो पलायनको रोग यतिबेला साँच्ची नै महामारीको रूपमा अगाडि बढेको छ । चलचित्र प्रदर्शन गर्न वा कार्यक्रममा सहभागी हुने बहानामा अमेरिका छिर्ने अधिकांश चलचित्रकर्मीको एउटै भनाइ छ, ‘जति गरे पनि नहुने र नसकिने भयो नेपालमा…’ । एक महिनाअगाडि अमेरिका छिरेका नायक नीरज बराल पनि यतिबेला ग्रिनकार्ड बनाउनका लागि दिलोज्यानले लागिपरेका छन् । यसकारण अमेरिबाट फर्कने चलचित्रकर्मीको सङ्ख्या कम छ भने उताको आकर्षणले तान्नेको सङ्ख्यामा कमी आएको छैन ।
चलचित्र ‘शक्ति’मा समावेस गरिएको ‘अमेरिकामा सरोज खनाल नेपालमा राजेश हमाल…’ बोलको गीत पनि अब असान्दर्भिक हुने देखिन्छ । सधैँ नेपालमै बस्ने निधो गरेर पुराना पुस्ताका नायक सरोज खनाल नेपाल फर्किएका छन् भने खनालको भनाइ र तर्कले खासै प्रभाव पार्न नसकेपछि युवा पुस्ताका कलाकारहरू भने अमेरिका छिर्न लालयित देखिन्छन् । हिसाबै गर्ने हो भने यतिबेला नेपालमा भन्दा अमेरिकामा नाम चलेका र कुनै समय व्यस्त मानिएका नायक–नायिकाहरूको सङ्ख्या बढी छ । रेखा थापा यतिबेला अमेरिकामा नै छिन् । तर, उनको अमेरिका भ्रमणचाहिँ सधैँ उतै बस्नका लागि नभएर कामका लागि हो । तर, उनीभन्दा अगाडि र पछाडि गएका अभिनेत्रीहरू भने अमेरिकामा बस्ने निधो गरेर उतै पुगेका छन् । पछिल्लोपटक भारतको बाटो हुँदै अभिनेत्री उषा पौडेल पनि अमेरिका पुगेकी छिन् भने ग्रिनकार्ड पाउनका लागि उनी यतिबेला नेपालमा रहेका केही मिडियाहरूसँग कागजपत्र बनाइदिन आग्रह गरिरहेकी छिन् ।
त्यसो त अमेरिकामा बसिरहेका सबै कलाकारको अवस्था सुखद नै छ पनि भन्न सकिने अवस्था छैन । कसैले चाँडै ग्रिनकार्ड हात पारेर स्वदेश फर्कने र फेरि आवतजावत गर्ने अवसर पाइरहेका छन् भने केही ग्रिनकार्डको आसमा उतै दशौँ वर्षदेखि तड्पिइरहेका छन् । यस्तै तड्पाईमा रहेकी अभिनेत्री रञ्जना शर्मा र गायक कर्ण दासले दशौँ वर्ष भइसक्दा पनि ग्रिनकार्ड हात पार्न सकिरहेका छैनन् । ग्रिनकार्ड हात नपारीकन नेपाल फक्र्यौं भने फेरि जिन्दगीभर अमेरिका जान प्रतिबन्धित भइने र ग्रिनकार्डको आसमा बस्दा कहिले पाइने हो निश्चित नहुने ? यस्तै हविगत व्यहोरिरहेका छन् केहीले । अमेरिकाको कानुनअनुसार जीवनभर अमेरिका जान नपाउने गरी स्वदेश फर्किएका हास्य कलाकार राजाराम पौडेल र अभिनेत्री गौरी मल्ल पनि ग्रिनकार्ड नभएपछि आजित भएर नेपाल फर्किएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । दुई वर्ष अघि निर्माण तथा प्रदर्शन भएको चलचित्र प्रसादले व्यावसायिक सफलता हाँसिल गरेपछि अब यसको सिक्वेलका रूपमा चलचित्र

काठमाडौं । युवा गायक प्रविन राजथलाले आफ्नो नयाँ म्युजिक भिडियो ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका छन् । अमेरिकामा बसेर आफ्नो संगीत

मुम्बाइ । बलिवुड अभिनेत्री करीना कपूर दोस्रो पटक आमा बनेकी छन् ।करीनाले आइतबार विहान छोरालाई जन्म दिएकी हुन् । भारतीय

काठमाडौं । नेपाली संगीत क्षेत्रमा गायिका इन्दिरा जोशी निकै चर्चित छिन् । आफ्नो सुन्दरताका साथै सुमधुर स्वरका कारण पनि इन्दिराको