दाता सम्मेलन : के माग्ने, कसरी माग्ने ? :: बबिता बस्नेत

३ असार २०७२, बिहीबार ०१:०१ मा प्रकाशित

नेपालीमा एउटा भनाइ छ, ‘दिनु परोस्, लिनु नपरोस् ।’ प्रायः सबैको मनमा यो कुरा लागिरहेको पनि हुन्छ कि हे भगवान् मुठ्ठी फुकाएर दिन पाइयोस्, तर हात फैलाएर माग्नु नपरोस् । आकाश र जमिनबीच जति अन्तर छ, माग्नु र दिनुबीचको फरक त्यति नै छ । दिनेको हात सधैँ माथि हुन्छ भन्ने भनाइ पनि हामीकहाँ त्यत्तिकै प्रचलित छ । भारतीय लेखक अमित कालान्त्रीले मलाई चुनौती स्वीकार्य छ च्यारिटी होइन भनेका छन् । जुन कुरा म कमाउन सक्छु त्यो कुरा कहिल्यै पनि हात थापेर माग्दिनँ भन्ने भनाइ पनि उनकै हो । माग्नु भनेको झुक्नु पनि हो, आफू तल पर्नु हो । सधैँ शिर उचालेर, छाती फुकाएर हिँड्ने रहर सबैलाई हुन्छ, म नेपाली शिर उचाली भन्ने गीत कण्ठै भए पनि हामी नेपाली गरिब मुलुकका नागरिकको सूचीमा परेकाले कहिले कसको सहयोग त कहिले केमा सहयोग हात थाप्नु परिरहेको छ । सामान्यतया मानव समाजले माग्ने कामलाई तुच्छ र उपेक्षापूर्ण ठान्दछ भने दिनुचाहिँ सम्मानित र गौरवपूर्ण कार्य । विश्वमा माग्नेहरूको सम्मान कहीँ पनि छैन भनेर जान्दाजान्दै पनि हामी विगतदेखि नै कसैले दिनेहरूको सूचीमा थियौँ, अब त झन् समयले हामीलाई हातै फैलाएर माग्नुपर्ने अवस्थामा पु-याइदिएको छ । त्यसो त गरिबी र मगन्तेबीच ठूलो फरक छ । गरिब नै भए पनि आत्मसम्मानपूर्वक बाँच्नेहरूको सङ्ख्या विश्वमा ठूलो छ । उनीहरूसँग जस्तो सम्पन्नता छैन त के भो हामीसँग स्वाभिमान छ भनेर आफ्नै दुःखसुखमा रमाउने र कसरी मुलुकलाई उकास्न सकिन्छ भनेर पहल गरिरहेका मुलुकहरूको सङ्ख्या पनि राम्रै छ । विनाशकारी भूकम्पले सहयोगका लागि हात फैलाउने परिस्थितिमा पुगियो होला, तर स्वभिमान नै दाउमा राखेर माग्नुपर्ने अवस्थामा हामी छैनौँ ।
आगामी साता नेपालमा दाताहरूको सम्मेलन हुँदै छ । दाता सम्मेलन अर्थात् दिनेहरूको सम्मेलन । यस्तो सम्मेलनका लागि सरकारले गौरव गरेझैँ गरी प्रचार गरे पनि यो त्यस्तो गौरव गर्नुपर्ने कुरा भने होइन । दान भन्ने कुरा मानिसले आफ्नो स्वविवेकले दिने कुरा हो । हिन्दूधर्मशास्त्रमा त छ नै– मुस्लिम, शिख, क्रिश्चियन सबै धर्मशास्त्रमा दानको कुरा उल्लेख गरिएको छ । सबै धर्मशास्त्रहरूले परेको बेला दुःखीलाई सहयोग गर भनेका छन् । संस्कृतमा श्लोक छ, ‘दक्षिणहस्तेन दत्तं दानं बामहस्ते तैब जनातु’ अर्थात् दाहिने हातले दिएको कुरा देब्रे हातले थाहा पाउन हुँदैन । भूकम्पपछि जे–जति मुलुक र व्यक्तिहरूले स्वस्फुर्त सहयोग गरे त्यो सहयोग उनीहरूले सम्झिइरहनका लागि गरेका होइनन् । दुःख परेको बेला सहयोग गर्नु मानवीय धर्म ठानी गरेका हुन् जसको बदलामा उनीहरूले आत्मसन्तुष्टिबाहेक अर्को अपेक्षा गरेका हुँदैनन् । तर, अब हुने दाता सम्मेलन फरक छ । यसमा के–केमा नेपाललाई सहयोग आवश्यक परेको हो त्यो सबै कुरा जानकारी गराउनुपर्नेछ र आवश्यकताअनुसारको सहयोग गर्न सक्ने–नसक्ने या के–के चाहिँ गर्न सक्ने भन्ने कुरा दाताहरूले तय गर्नेछन् । जसको परिणाम आत्मसन्तुष्टि नभएर दाताहरूको ‘इन्ट्रेस्ट’ पनि हुन सक्छ ।
एउटा ठूलो विपत्तिबाट गुज्रिएर मुलुक अलकति तङ्ग्रिएझैँ भएको छ । तत्काल राहतबाट अलिकति माथि उठेर पुनर्निर्माणमा जुट्नका लागि सहयोगको खाँचो छ । सोही सहयोग जुटाउन यो दाता सम्मेलनको आयोजना गरिएको हो । हो, हामी गरिब छौँ, तर हामी माग्ने हिजो पनि थिएनौँ र आज पनि होइनौँ । त्यसैले सरकारले आत्मसम्मानपूर्वक कुराहरू राख्नुपर्नेछ ता कि नेपालका कुनाकन्दरामा बस्नेदेखि विश्वका कुनाकुनामा बस्ने कुनै पनि नेपालीको स्वाभिमानमा आँच नआओस् । यसको अर्थ मोही माग्ने ढुङ्ग्रोचाहिँ लुकाउने गरौँ भन्न खोजेको होइन, यो दाता सम्मेलन ‘डिग्निफाइड’ बनोस् भन्ने हो ।
विगतलाई हेर्ने हो भने हाम्रा नेताहरूले माग्नुलाई गौरव ठानेका अनेक घटना–प्रसङ्गहरू छन् । कोही चीन गएर यस्तो मागेर आएँ भन्ने, कोही भारतमा मैले यस्तो मागेँ भन्ने । विदेश यात्राबाट फर्किंदा बडो युद्धै जितेर आएझैँ गरी मैले यस्तो मागेर आएँ भन्ने चलन छ । अहिले त झन् हामी माग्नकै लागि सम्मेलन गर्दै छौँ । हामीलाई के–के कुरामा सहयोग चाहिएको हो भनेर स्पष्ट खाका दिन सकेनौँ भने सम्मेलनले खासै ठूलो अर्थ राख्ने छैन । भूकम्पपछिको अवस्थामा निर्माण गर्नुपर्ने स्कुलहरू कति हुन्, कुन–कुन जिल्लामा कति, अस्पताल या अन्य भौतिक संरचना के–के हुन् ? कुनै बस्तीलाई पुनस्र्थापित गर्नु छ भने कति लाग्ने हो या नयाँ स्थानमा सार्ने हो भने हाम्रो ढाँचा के हो ? दिन सक्नुपर्छ । पाकिस्तानका पूर्वजनरल नदिम अहमद (जसले नेसनल डिजास्टर अथुरिटी पाकिस्तानका अध्यक्षका रूपमा काम गरिसकेका छन्) को अनुभवमा कुनै बस्ती नै अर्को ठाउँमा सार्ने कुरा त्यति सफल नहुँदोरहेछ । वर्षौंदेखि एकप्रकारको भौगोलिक वातावरण र समुदायमा बसिरहेका मानिसलाई अर्को स्थानमा सामूहिक रूपमा सार्नुभन्दा उनीहरू कतै अन्तै बस्न चाहन्छन् कि ? बुझेर मात्र निर्णय गर्नु राम्रो हुन्छ । जस्तो, कसैका आफन्त र नातेदारहरू अर्कै जिल्लामा होलान् जहाँ उनीहरू बस्न जान चाहन्छन् । हाम्रो बसाइँसराइलाई हेर्ने हो भने पनि त मानिसहरू कुनै न कुनै आफन्त या नातेदारहरूको समीपमै गएको देखिन्छ । उस्तै–उस्तै खर्चको आसपासमा त्यस्तो व्यवस्था गर्न सकिन्छ ।
अहिले यसो हेर्दा हाम्रो सरकारले सहयोगका रूपमा पैसा (क्यास) लाई बढी महत्व दिएको देखिएको छ । तर, कतिपय दाताहरू यस्ता हुन सक्छन् जसले यो बस्ती हामी आफ्नै प्राविधिक र अन्य सामग्री ल्याएर आफँै बनाइदिन्छौँ भन्लान् । किनभने दाताहरूको कार्यक्षेत्र, दिने संयन्त्र र तरिका फरक–फरक हुन सक्छ । कतिले यो जिल्लाका यति स्कुलचाहिँ हामी आफँै बनाइदिन्छौँ भन्लान् । सरकारले आवश्यक न्यूनतम आधार तोकिदिनुपर्छ । न्यूनतम आधारभन्दा माथि गएर कसैले भौतिक सहयोग गर्छ भने त्यसमा होइन तिमीहरू पैसा देऊ, हामी आफैँ बनाउँछौँ भन्न थाल्यो भने दाताहरूलाई शङ्का गर्ने ठाउँ रहन्छ । हामीलाई चाहिएको पुनर्निर्माण हो, देशको उन्नति र जनताको समृद्धि हो । यदि कसैले त्यसप्रकारको सहयोग गर्न चाहन्छ भने सरकारको काम खाका दिनु र अनुगमन गर्नु हो । अहिले यसो हेर्दा सरकारले ठूला दाताहरूलाई बढी महत्व दिएको देखिएको छ । तर, ठूला दाताभन्दा साना दाताहरूको सहयोग कहिलेकाहीँ बढी हुन सक्छ भनेर पनि बिर्सनुहुँदैन । पैसाभन्दा ठूलो कुरा विश्वास हो । तिमीहरूले दिएको सहयोग दुरुपयोग हुँदैन भनेर विश्वास दिलाउनु अहिलेको सबैभन्दा ठूलो चुनौती हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडाकी मायाकुमारी विष्टको कक्षा ८ मा पढ्दा पढ्दै सामाजिक सञ्जाल फेसबुकमा एक युवकसँग चिनजान भयो ।

विगतमा घैयाको भाउमा जाने अदुवाले अहिले राम्रै मूल्य पाउन थालेपछि कर्णालीका अदुवा किसान मख्ख छन् । प्रतिकिलो रु पाँच–१० मा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मृगेन्द्र शिखरबाट राजधानीको सभ्यताको स्रोत वाग्मती प्रकट भएको छ । यो स्थल अहिले गोकर्णेश्वर नगरपालिकाको भौगोलिक

नेपाली युवायुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् र विदेशिन निकै पहल पनि गर्ने गर्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो विदेशिने