गैरजिम्मेवारहरूको देश ! :: देवप्रकाश त्रिपाठी

२८ जेष्ठ २०७२, बिहीबार ०२:३२ मा प्रकाशित

आफ्ना कुनै नागरिकले पान खाएर सडकमा रस फाल्दा सिंगापुरका तत्कालीन नेता ली क्वान यु लज्जाबोध गर्थे । सडक फोहोर बनेकोमा त उनलाई चिन्ता छँदै थियो, आफ्ना नागरिकलाई सभ्य बनाउन नसकिएकोमा त्यसको जिम्मेवारी महसुस गर्दै उनी लज्जित भएका थिए । कालान्तरमा निकै कडा कानुन कार्यान्वयनमा ल्याएर लीले जनतालाई सभ्य बनाउने आफ्नो जिम्मेवारी पूरा गरेका थिए । अब्राहम लिङ्कन दास थिएनन् दास बनाउने कित्तामा उनको जन्म भएको थियो । लिङ्कनभन्दा अगाडि पनि अमेरिकामा जनताबाट निर्वाचित राष्ट्रपति नै थिए, तर दासप्रथाको उन्मूलन गर्नुपर्ने जिम्मेवारीबोध लिङ्कनले गरे । विकृति या बेथिति देखिसकेपछि त्यसको निराकरण खोज्नु कुनै पनि जिम्मेवार नागरिकको कर्तव्य हो । कानुन, राज्य र सामूहिक हितको रक्षा गर्नु सबैको कर्तव्य भए पनि औपचारिक पद धारणा गरेर बस्नेहरूको प्रमुख जिम्मेवारी रहन्छ । सिङ्गापुरका प्रधानमन्त्री ली या अमेरिकाका राष्ट्रपति लिङ्कनले आफ्नो जिम्मेवारी पदासीन भएकै बेला पूरा गरेका हुन् । यदि पदासीनहरूले कुनै जिम्मेवारीबोध गरेनन् भने त्यस्तो देश नेपाल बन्न सक्छ । हुनत नेपालमा पनि यदाकदा कसै–कसैले जिम्मेवारीबोध गरेको दृष्टान्त भेटिन्छ । २०२९ (वि.संं.) सालमा सिंहदरबार जल्यो, तात्कालिक प्रधानमन्त्रीले सिंहदरबारमा आगो लगाएका थिएनन्, तर सिंहदरबारको रक्षा हुन नसकेकोमा त्यसको जिम्मेवारी लिँदै कीर्तिनिधि विष्टले पदबाट राजीनामा दिएका थिए । वि.सं. २०४४ मा दशरथ रङ्गशालास्थित खेलकुद मैदानमा असिनासहितको वर्षा र आँधी–बेहरी तात्कालिक खेलकुदमन्त्रीले ल्याइदिएका थिएनन्, तर वर्षात् र आँधीका कारण भएको भागदौडका क्रममा केही मानिस हताहत भए, त्यसको जिम्मेवारी लिँदै केशरबहादुर विष्टले पद त्याग गरेका थिए । यसप्रकारका एकाध घटना भए पनि देश निर्माण, समाज सुधार र विकासका कुरामा अन्तरहृदयदेखि नै जिम्मेवारी महसुस गर्ने नेपालीको भने सधैँ अभाव खट्किएको छ । खासगरी २०४६ को राजनीतिक परिवर्तनपश्चात् जनता र कानुनको शासन लागू भएपछि प्रधानमन्त्रीदेखि पियनसम्मले जिम्मेवारीबोध गर्न छोडेको महसुस हुँदै छ ।
सडकमा बनेको खाडलका कारण कैयन यात्री दुर्घटनाको सिकार बनिरहेका हुन्छन् । सडक विभागका महानिर्देशक या अन्य अधिकारी दिनहुँ त्यही खाल्डो हेर्दै गुड्छन्, पुर्ने कुरा गर्दैैनन् । भुस्याहा कुकुर पनि सडकमा बिजुलीका खम्बालाई ‘स्नान गराउँदै’ र खाल्डाखुल्डीतर्फ आँखा लगाउँदै हिँडिरहेका हुन्छन् । ती कुकुरले यसरी दिन बिताइरहँदा सडक विभागका अधिकारीले झैं भत्किएको सडकप्रति कुनै जिम्मेवारीबोध गरेको महसुस गर्न सकिँदैन । सडक निर्माण, सुधार र मर्मतको जिम्मेवारी पाएका सरकारी अधिकारी नै भत्किएको सडकप्रति जिम्मेवारी लिन तयार छैनन् भने सडकमा कुद्ने मात्र ‘काम पाएका’ कुकुरहरूले जिम्मेवारीबोध नगरेकोमा प्रश्न या गुनासो गर्नु व्यर्थ छ । धारामा पानी नआउनुमा खानेपानी विभाग या सम्बन्धित मन्त्रालयका अधिकारीहरू त्यसको जिम्मेवारी लिन तयार छैनन् । शान्ति सुरक्षाको स्थिति खलबलिनु, अराजकता बढ्नु या अपराधीहरू खुलेआम हिँड्नु र अपराध बढ्नुको जिम्मेवारी लिन गृह प्रशासनका कोही पनि मञ्जुर छैनन् । भूकम्पले पु-याएको क्षति र त्यसको त्रासदीबाट उत्पन्न परिस्थितिको जिम्मेवारी त कसैले लिने कुरै भएन, पीडितहरूले राहत या क्षतिपूर्ति नपाउनुको जिम्मेवारी लिनसमेत कोही तयार देखिँदैनन् । गलत ढङ्गले नक्सापास गरिएको या मापदण्डविपरीत घर निर्माण गरिएकोले भूकम्पका बेला कैयनले ज्यान गुमाउनुप-यो, तर त्यसको निम्ति नगरपालिकाका अधिकारी, नक्सा पास गर्नेहरू या नियमन निकायका कर्मचारी आफूलाई जिम्मेवार ठान्दैनन् । त्यस्तै अव्यवस्थित सहरी विकासका निम्ति सहरी विकास मन्त्रालय र आवास तथा भौतिक योजना मन्त्रालयका उच्चाधिकारीहरू आफूलाई ‘पानीमाथिको ओभानो’ ठान्छन्, जिम्मेवारी लिन तयार छैनन् । सवारीसाधनले सडकमा लेन अनुशासन तोडिरहेको हुन्छ, जथाभावी हर्न बजाएर तिनले ध्वनि प्रदूषण बढाइरहेका हुन्छन्, तिनलाई नियन्त्रण या व्यवस्थित गर्ने जिम्मेवारी पाएका ट्राफिक प्रहरी टुलुटुलु हेरिबस्छन् । सार्वजनिक यातायातका साधनहरूबीचको आपसी प्रतिस्पर्धाले नेपालको राजधानी विश्वकै सर्वाधिक असभ्यहरूको बसोबास भएको सहर पुष्टि गरिरहेछ, ट्राफिक प्रहरी असभ्य नागरिकका साक्षी बनेर त्यही सडक किनारामा उभिरहेका भेटिन्छन् । सडक असभ्यताको जिम्मेवारी लिन ट्राफिक प्रहरी तयार देखिँदैनन् । सडक र पैदलमार्गमा जहाँत्यहीँ फोहोर मिल्किरहेका हुन्छन्, नगरका प्रमुखदेखि पियनसम्म त्यही सडक भएर हिँड्छन्, तर तिनमा सहर फोहोर भएकोमा न पीडाबोध छ, न जिम्मेवारीबोध भएको नै महसुस गर्न पाइएको छ । देशमा यस्तो क्षेत्र छैन जहाँ विकृति र बेथिति नभएको होस्, तर त्यसको जिम्मेवारी लिने कोही छैनन् ।
धराहरा मक्किएको अनुमानका आधारमा त्यसभित्र प्रवेश गर्न रोक लगाइएको थियो– पञ्चायतकालमा । विपत्ति कुनै पनि बेला आइपर्न सक्छ र जनधनको क्षति हुनसक्छ भन्नेमा त्यसबेलाको राज्य सायद अलिक बढी नै संवेदनशील थियो, त्यसैले धराहरा चढ्न रोक लगाइएको हुनुपर्छ । प्रजातन्त्र आगमनपछिको एक कालखण्डमा मेयर रहेका कुनै केशव स्थापित नामक व्यक्तिले आफूमा निहित अधिकारको प्रयोग (कि दुरुपयोग ?) गर्दै ‘धराहरा आरोहण’ खुला गरे । धराप बनिसकेको धराहरामा मानिसलाई प्रवेश गराउन थालेपछि त्यसको व्यापक विरोध भएकोले सरकारद्वारा रोक लगाइएको पनि हो । तर, केशव स्थापितले ‘मुद्दा–मामिला’ गरेर धराहरा प्रवेशलाई पुनः सुचारु गराए । जसका कारण त्यहाँ सयौँ नागरिकले ज्यान गुमाउनुप-यो । यस बीभत्स घटनाका लागि केशव स्थापित र ‘धरहरा खुलाउन’ सहयोग पु-याउनेहरू प्रमुख जिम्मेवार हुन् कि होइनन् ? यिनलाई सामूहिक हत्याको अभियोगमा मुद्दा चलाउनुपर्ने हो कि होइन ? तर, सबै मौन छन्, जिम्मेवारी लिन या कुनै घटनाका लागि कसैलाई जिम्मेवार ठह-याउने निकाय सबै चुपचाप छन् । यसले पनि यो देश गैरजिम्मेवारहरूको भएको पुष्टि गरिरहेछ ।
चिकित्सक गोविन्द केसीले केही समयअघि स्वास्थ्य क्षेत्रको सुधारका निम्ति आमरण अनशन सुरु गरेका थिए । सरोकारवालाहरू केसीको जीवनरक्षाको माग गर्दै प्रधानमन्त्री सुशील कोइरालासमक्ष पुग्दा कोइरालाले झोक्किँदै भनेका थिए, ‘मरे म के गरौँ त ?’ त्यसअघि गोरखाका नन्दप्रसाद अधिकारी नामक एक नागरिकले न्याय माग्दा माग्दै देहत्याग गर्नुपरेको थियो । नन्दप्रसादले न्याय नपाउनुको त प्रधानमन्त्रीले जिम्मेवारी लिएनन् नै, उनको पीडादायी निधनको जिम्मेवारी लिन पनि सुशील कोइराला तयार हुनुभएन । मुलुकमा भएका कुनै पनि नकारात्मक घटनाको जिम्मेवारी लिन नचाहने सुशील कोइराला नै प्रमुख जिम्मेवारीमा रहेका बेला कसैले पनि कुनै जिम्मेवारीबोध नगर्नुलाई अस्वाभाविक भए पनि स्वाभाविक मान्नुपर्ने बाध्यात्मक अवस्था छ । तर, संस्कार बन्दै गरेको गैरजिम्मेवारीबाट मुलुकलाई मुक्त गर्न नसक्दासम्म देश बन्न असम्भव छ भन्ने यथार्थबोध हामी सबैमा हुन आवश्यक छ, चेत खुलोस्– शुभकामना ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपलाई अमेरिकाले स्वीकृति प्रदान गरेको छ । अमेरिकी नियामक निकाय एफडीएले खोपलाई सर्वासाधारणको

लस-एन्जलस । दक्षिण क्यालिफोर्नियालाई कर्मथलो बनाएर अमेरिकामा रहेको नेपाली समुदायको हितमा निरन्तर क्रियाशील अगुवा नेपाली अमेरिकन ज्ञानेन्द्र गुरुंगले गैर आवाशीय

डेन्भर । संयुक्तराज्य अमेरिकाको डेन्भरबाट हवाईतर्फ उडेको युनाइटेड एयरलाइन्सको विमानको एउटा इन्जिनमा उड्नासाथ आगो लागेपनि पाइलटहरुले सकुशल अवतरण गराएका छन्

न्यूयोर्क । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिका पूर्ववत स्थितिमा फर्किएको बताउनु भएको छ । महामारी, जलवायु परिवर्तन र इरानको परमाणु