बहुराष्ट्रिय सेनाले आफूखुसी काम गर्ने अवस्था रहेन :: जगदीशचन्द्र पोखरेल (प्रवक्ता, नेपाली सेना)

१४ जेष्ठ २०७२, बिहीबार ०८:०१ मा प्रकाशित

० वैशाख १२ को भूकम्पपछि मुलुकमा आइपरेको विपत्तिबाट पार पाउन नेपाली सेनाले प्रधानमन्त्री राहत कोषमा २४ करोड प्रदान गरेको छ, राहत कोषको रकम सदुपयोग हुनेमा तपाईंहरू कत्तिको विश्वस्त हुनुहुन्छ ?
– नेपाली सेनाका सकल दर्जाका तर्फबाट प्रधानमन्त्री राहत कोषका लागि प्रधानसेनापतिज्यूबाट सम्माननीय प्रधानमन्त्रीज्यूसमक्ष २४ करोड ३६ लाख ६ हजार नौ सय ८६ रुपैयाँ ६७ पैसाको चेक हस्तान्तरण भएको छ । भूकम्पका कारण पीडित बन्न पुगेका, अनेक क्षति व्यहोर्नुपरेका आहत नेपालीजनको पीडामा मल्हम लगाउन यस रकमले केही मद्दत पुग्ने र रकमको सदुपयोग हुनेमा नेपाली सेना विश्वस्त छ ।
० उद्धार, राहत र अन्य सहयोगमा नेपाली सेनाले निर्वाह गरेको भूमिकाको चौतर्फी प्रशंसा भइरहेको परिवेशमा कतिपय दुर्गम स्थानमा आवश्यक राहत नपुगेको गुनासो पनि आइरहेको छ । जनताको घरदैलोमा राहत कसरी पु-याउने सोच नेपाली सेनाले राखेको छ ?
– निश्चय पनि यो संवेदनशील विषय हो । यसमा व्यवस्थित र समन्वयात्मक ढङ्गबाट हामी काम गरिरहेका छौँ र आवश्यकताअनुसार नयाँ–नयाँ योजनासमेत बनाइरहेका छौँ । अतिप्रभावित जुन चौधवटा जिल्ला छन्, ती जिल्लाका अति विकट स्थानमा नेपाली सेनाको टुकडीहरू पुगिसकेका छन् । ती टुकडीले मोटर बाटो नभएको स्थानमा आवश्यक राहत तथा खाद्य सामग्री पु-याउने, हेलिप्याड बनाउन मद्दत गर्ने, प्रभावित ठाउँका आवश्यक सूचना सम्बन्धित निकायसम्म पु-याउने, स्थानीयवासीलाई छाप्रो निर्माणलगायतमा सघाउने काम गर्छन् । नेपाली सेनाले आफ्ना समस्त हवाईसाधनहरू परिचालित गरेकाले विकट स्थानहरूमा पनि राहत सामग्री र खाद्यान्न पु-याउन सहयोग पुगेको छ ।
० अति प्रभावित जिल्लाका कतिपय विकट स्थानमा अहिलेसम्म हेलिकोप्टरहरू पुगेका छैनन्, राहत पुग्न सकेको छैन भन्ने गुनासो त आइरहेकै छ नि ?
– नेपाल सरकारले बनाएको योजनाअनुसार समन्वयात्मक रूपले हामी काम गरिरहेका छौँ । नेसनल इमर्जेन्सी अपरेसन सेन्टरअन्तर्गत रही मल्टिनेसनल मिलिटरी को–अर्डिनेसन सेन्टरको व्यवस्थापनको काम नेपाली सेनाले नै गरेको हो । कुन स्थानमा के–कति राहत तथा खाद्यान्न र मेडिकल सेवा आवश्यक परेको छ, निर्देशनअनुसार प्राथमिकताका आधारमा विमानस्थलमा रहेको वयर हाउसबाट गाडी जाने ठाउँमा गाडीबाट र नजाने ठाउँमा हवाईसाधनमार्फत सामग्रीहरू लैजाने काम सेनाले गरिरहेको छ । चौधै जिल्लामा रहेका फौजलाई सकभर विकट स्थानमा पुगेर सेवा गर्न केन्द्रबाट निर्देशन रहेकाले सोअनुसार ६ सयभन्दा बढी स्थानमा स–साना टुकडीमा विभक्त सेनाका जवानहरू खटेका छन् । उनीहरूले सबै स्थानका सूचना पनि दिइरहेका छन्, त्यो सूचना हामीले माथिल्ला निकायमा पास गर्छौं र आवश्यकताअनुसार समन्वयात्मक रूपबाट सेवा पु-याइरहेका छौँ । केन्द्रको निर्देशनअनुसार हामीले प्रभावित जिल्लामा पु-याएका राहत तथा खाद्य सामग्रीको समुचित वितरण गर्ने जिम्मेवारी जिल्ला दैवी प्रकोप उद्धार समितिको पनि हुने हुनाले समितिले कसरी गरिरहेको छ, कुनै कमी–कमजोरी भएको छ कि, यसको डिटेल्स जानकारी लिने काम त नेपाली सेनाको होइन । जिल्लाले आफू पुग्न–पु-याउन नसक्ने स्थानमा सेनालाई अनुरोध गर्छ, त्यतिबेला हामी निर्देशनअनुसार सेवा दिन प्रतिबद्ध छौँ र गरिरहेका पनि छौँ ।
० विपत्तिमा सघाउन आएका मित्रराष्ट्रका सेनामध्ये कैयन अझै पनि यहीँ रहेका बुझिन्छ, अब नेपाली सेनालगायतका सुरक्षाकर्मीबाटै बाँकी काम गर्न सकिन्न र ? विदेशी सेना कहिलेसम्म राखिरहने ?
– पीडितलाई भग्नावशेषबाट उद्धार गरी जोगाउने सवालमा मित्रराष्ट्रहरूका सुरक्षाकर्मीले ठूलो सहयोग पु-याएका हुन् । हामीले आफूसँग भएका इक्विपमेन्ट, सीप, कौशल र जनशक्ति पनि यथासम्भव उपयोग ग-यौँ । त्यसका बाबजुद अपुग हुने अवस्था निम्तिएपछि या हामीले मात्र नभ्याउने अवस्था देखेर लगभग चार हजारको सङ्ख्यामा विदेशी फौज सघाउन नेपाल आएका थिए । चीन, क्यानडा, अमेरिका र भारतका गरी जम्माजम्मी १२६१ जति विदेशी सुरक्षाकर्मी यहाँ बाँकी छन् । उहाँहरू पनि व्यवस्थित योजना बनाएर बिस्तारै फिर्ता जाने क्रममा हुनुहुन्छ ।
० कहिलेसम्ममा विदेशी फौज नेपालबाट बाहिरिइसक्नेछन् त, केही अन्दाज छ तपाईंहरूसँग ?
– आउँदाखेरि पनि योजनाबद्ध रूपले उहाँहरू आउनुभएको हो र जाँदा पनि योजनाबद्ध किसिमबाटै जानुहुनेछ । कुन खालको म्यानपावरको कतिबेला जरुरत थियो, अहिले कति र कस्तो म्यानपावरको खाँचो छ, कहाँ के–कति काम बाँकी छन् भन्ने कुराको मिहीन लेखाजोखाका आधारमा जरुरत नरहेका विदेशी फौजहरू फर्किने क्रम जारी छ । मेडिकल सेक्टरमा सहयोग पु-याइरहेका बहुराष्ट्रिय सेनाका सुरक्षाकर्मीहरूको जरुरत अझै पनि रहेकाले उहाँहरू अझै कार्यरत हुनुहुन्छ । उहाँहरूबाट उपचार सेवा पाइरहेका बिरामीको उचित व्यवस्थापन भएपछि उहाँहरू पनि फर्कनुहुनेछ । बहुराष्ट्रिय सेनाका फौज जथाभावी किसिमले आएका पनि होइनन्, योजनाबद्ध र व्यवस्थित ढङ्गबाटै आएका र सोहीअनुसार सहयोगका चरण पूरा गरी फर्कने छन्, जुन क्रम जारी छ ।
० नेपाली सेनाको अनुमति या जानकारीमै सबै काम भइरहेको छ त बहुराष्ट्रिय सेनाबाट ?
– यहाँ जति पनि बहुराष्ट्रिय सेनाका व्यक्तिहरू छन्, मल्टिनेसनल मिलिटरी कोअर्डिनेसन सेन्टरको कोअर्डिनेशसनमै काम गरिरहेका छन् । कति फौज कुन स्थानमा बस्ने, आज कहाँ के काम गर्ने, दिनभरमा के–कति काम भयो, के काम बाँकी छ, भोलिको काम कसरी बाँडफाँड गर्ने आदि बारेमा सेन्टरमा हरेक दिन छलफल र निर्णय हुन्छ ।
० विदेशी सेनाले आफूखुसी काम गरे भन्ने कुरा पनि आएका छन् नि ?
– यस्तो होइन । सबै काम हामी समन्वयात्मक ढङ्गले नै गर्छौं । जस्तो कि स्वास्थ्य सेवासम्बन्धी काम छ भने स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, सम्बन्धित स्थानविशेषको कुरा पनि यसमा जोडिएर आउँछ । आफूखुसी गर्ने भन्ने त प्रश्नै आउँदैन, त्यो व्यावहारिक नै हुँदैन नि ।

प्रतिक्रिया
सम्बन्धित खवर

लामो इतिहास बोकेको राजतन्त्रलाई ठूलो सङ्घर्ष गरी पाखा लगाएर जनताको पोल्टामा सत्ता सुम्पिएको दाबीसँगै राजनीतिक दलहरू अधिक मात्रामा लोकतन्त्रको नारा

० भूकम्प कहिले आउँछ भन्नेबारेमा यकिन गर्न त सकिँदैन भनिन्छ, तर भूगर्भीय अवस्थितिका आधारमा यसपटक नेपालमा आएको भुइँचालो कति सम्भावित

राष्ट्रिय प्रजातन्त्र पार्टीको असन्तुष्ट पक्षले संस्थापन पक्षमाथि पार्टी फुटाउन खोजेको आरोप लगाउँदै आएको छ । महाधिवेशनको म्यान्डेट लत्याएर पूर्वअध्यक्ष सूर्यबहादुर

० कानुनको शासन–व्यवस्थाका लागि भनेर नेपालमा राजनीतिक परिवर्तन गरिएको सात–आठ वर्ष भयो, कानुनको शासनको निम्ति लड्नेहरूले कानुनको पालना कत्तिको गरिरहेको