यसरी ढल्दै छ सुशीलको सरकार

१४ जेष्ठ २०७२, बिहीबार ०७:५४ मा प्रकाशित

जयप्रकाश त्रिपाठी, काठमाडौं , १४ जेठ । चीन भ्रमणको इच्छा पूरा गर्न पहिले भारतको भ्रमणमा जान व्यग्र चाहनामा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्रीका रूपमा भारत र चीन दुवै मुलुकको भ्रमण गर्ने सम्भावना क्षीण हुँदै गएको छ । सुशील कोइरालालाई विस्थापित गर्नुपर्ने आवाज देशव्यापी रूपमा उठिरहेको सन्दर्भमा राजनीतिक दलहरूको उच्च तहसमेत सरकारको नेतृत्व परिवर्तनमा केन्द्रित हुन थालेपछि कोइरालाको छिमेकी मुलुकहरूको भ्रमण गर्ने इच्छा पूरा नहुने सम्भावना बढेको हो । सुजाता कोइराला र आफ्ना परराष्ट्र मामिलासम्बन्धी सल्लाहकारमार्फत चीन भ्रमण गर्ने इच्छा चिनियाँ कूटनयिकहरूसमक्ष प्रकट गरेपछि चीनले तत्काल सकारात्मक जवाफ दिएको बताइन्छ । तर, पहिले भारतको भ्रमणमा गएर मात्र चीन जानु उपयुक्त हुनसक्छ भन्ने विज्ञहरूको सुझाव भएकोले कोइराला यसै महिना (जेठ) भित्र भारतको भ्रमण गर्ने व्यग्रतापूर्ण पर्खाइमा रहनुभएको छ । बालुवाटारनिकट एक सूत्रले जनाएअनुसार जेठभित्रै प्रधानमन्त्रीको भ्रमण गराउन भारत सकारात्मक भएको छ र त्यसनिम्ति औपचारिक प्रक्रियासमेत सुरु भइसकेको छ । सोही सूत्रले जनाएअनुसार जेठको अन्तिम साताको अन्त्यतिर कोइरालाको भारत भ्रमण हुनेछ । भ्रमणको तिथि ११ या १२ जुन (जेठ २८ वा २९ गते) हुनसक्ने बताइएको छ । प्राप्त जानकारीअनुसार प्रधानमन्त्री सुशील कोइरालाले नयाँदिल्लीका अतिरिक्त उत्तरप्रदेश र बिहारको पनि भ्रमण गर्ने आकाङ्क्षा भारतसमक्ष राख्नुभएको छ । उहाँको दिल्ली भ्रमण लगभग टुङ्गो लागिसकेको भए पनि उत्तरप्रदेश तथा बिहार भ्रमण भने निश्चित हुन सकेको छैन । यसरी सुशील कोइरालाको इच्छा पूरा गर्न भारत सकारात्मक रहेको भए पनि नेपालको आन्तरिक राजनीतिक कारणले उहाँ भारत जान पाउने देखिएको छैन । भारत भ्रमणको निर्धारित तिथिभन्दा पहिले नै सुशील कोइरालाको नेतृत्व विस्थापित भइसक्ने या चरम सङ्कटमा पर्ने सङ्केतहरू देखिएका छन् । महाविपत्तिको यस घडीमा राज्यका कुनै पनि निकायले राम्रोसँग काम गर्न सकेका छैनन्, त्यसैले प्रधानमन्त्रीको भ्रमण सफल बनाउने तहको आवश्यक तयारी नेपालमा भइरहेको छैन । तत्काल सरकार परिवर्तन हुने चर्चा व्याप्त हुँदै गएकोले परराष्ट्र मन्त्रालय प्रशासन पनि भ्रमणप्रति त्यति उत्साही देखिएको छैन । नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्याय भने सुशील कोइरालालाई भारत भ्रमण गराउन र उहाँकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको लागि अनुकूल परिस्थिति बनाउन निकै सक्रिय हुनुभएको छ । दीपकुमारको सक्रियताबाट कुनै सकारात्मक परिणाम आउने आशा गरिएको भए पनि नेपालमा सरकार परिवर्तनका निम्ति भइरहेको आन्तरिक तयारीले व्यवधान पैदा गर्ने निश्चित हुँदै गएको छ । सुशील कोइरालालाई बिदा गर्न देश यति हतार गर्दै छ कि जेठ महिनाका आगामी कुनै पनि दिन उहाँका लागि अनिष्टको हुनेछ । कोइरालाप्रति सत्तासाझेदार एमाले, प्रमुख विपक्षी एमाओवादी, मधेसकेन्द्रित समूहहरू र काङ्गे्रसभित्रको ठूलो हिस्सा मात्र होइन, नेपाली सेना, प्रहरी तथा प्रशासनिक निकायसमेत असन्तुष्ट बनेका छन् । राजनीतिक वृत्तमा बाहिर त्यति हलचल नदेखिए पनि भित्रभित्रै सरकार परिवर्तनका निम्ति विभिन्न स्तरमा विभिन्न चरणका बैठकहरू भइरहेका छन् । भावी सरकारको नेतृत्वलाई लिएर विगतमा देखिएको अन्योल पनि अब समाप्त प्रायः भइसकेको छ । कुनै अनपेक्षित एवम् अप्रत्याशित मोड आएन भने सुशील कोइरालालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले विस्थापित गर्नुहुने निश्चित छ । ओलीको पक्षमा अन्तर्राष्ट्रिय समुदाय सकारात्मक बन्दै गएको, एमाओवादी र मधेसी मोर्चासम्बद्ध समूहहरूले पनि ओलीको नेतृत्व स्वीकार गर्ने मानसिकता बनाएको तथा काङ्गे्रसभित्र समेत सुशीलले भन्दा अरू जो कसैले राम्रोसँग चलाउन सक्छन् भन्ने मत सुदृढ बन्दै गएकोले सहमतीय सरकार ओलीको नेतृत्वमा बन्ने सम्भावना बढेको हो । तर, सुशील कोइरालालाई कसरी विस्थापित गर्ने भन्ने विषयमा भने स्पष्ट धारणा बन्न सकेको छैन । एमाओवादी र मधेसी मोर्चासम्बद्ध दलहरूले अविश्वासको प्रस्ताव दर्ता गर्ने र अन्य दलहरूले पनि प्रस्तावका पक्षमा मतदान गरेर प्रधानमन्त्रीलाई हटाउने कुरा एउटा विकल्पका रूपमा आएको छ । त्यस्तै एमालेले सरकार छोड्ने र सुशील कोइरालालाई विश्वासको मत लिन बाध्य पारी अल्पमत रहेको पुष्टि गराउँदै हटाउने अर्को विकल्पबारे पनि गम्भीर विचार–विमर्श भइरहेको छ । विश्लेषकहरूको विचारमा एमाले सरकारबाट बाहिरिनेबित्तिकै सुशील कोइरालाले राजीनामा दिनुहुनेछ । तर, सुशील कोइराला यसप्रति सचेत हुनुहुन्छ । एमाले सरकारबाट फिर्ता हुनेबित्तिकै एमाओवादीलगायतलाई साथ लिएर सरकारलाई निरन्तरता दिने योजना कोइरालाले बनाउनुभएको छ । यस निम्ति उहाँले आफ्ना सर्वाधिक विश्वासप्राप्त नरहरि आचार्य र महेश आचार्यलाई एमाओवादी अध्यक्ष प्रचण्ड तथा अन्य समूहका नेताहरूसँग कुरा मिलाउन खटाउनुभएको छ । आचार्यहरूले एमाओवादीलगायत अन्य दलका नेताहरूसँग केही चरण कुराकानी पनि गरिसकेका छन् । यसरी सुशीलले आफू सत्तामा बसिरहन अनेक प्रयास गरिरहनुभएको भए पनि उहाँको नेतृत्व कसैलाई पनि स्वीकार्य हुने देखिएको छैन । कदाचित केपी ओलीको बाटोमा अड्चन पैदा भएछ भने शेरबहादुर देउवा प्रधानमन्त्री बन्न सक्नुहोला, तर सुशील कोइराला नेतृत्वको सरकारचाहिँ अब केही दिनमै विस्थापित हुने पक्कापक्की छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

गोरखा । गोरखाको लाप्राकमा निर्माण गरिएको नमूना वस्ती आगामी वैशामा हस्तान्तरण हुने भएको छ । गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका नेताहरु निर्वाचन आयोग पुगेका छन् । पार्टीको नयाँ निर्णयबारे जानकारी गराउन र

खलङ्गा । जुम्ली मार्सी चामल र जैविक सिमीलगायत कृषिवस्तुका माग अन्तररष्ट्रिय बजारमा बढ्न थालेको छ । जिल्लाबाट पहिलोपटक रु छ

कोरोना महामारीका कारण अहिले धेरैजसो चिजबस्तुहरुको खरिद विक्री अनलाईनबाटै हुन थालेको छ । थुप्रै ब्यापारिक अनलाईन साइटहरु पनि सञ्चालनमा आएका