एउटा राष्ट्रिय बोझ :: देवप्रकाश त्रिपाठी

१४ जेष्ठ २०७२, बिहीबार ०७:४८ मा प्रकाशित

मानिस बूढो हुन्छ र बूढो हुनु कसैको दोष होइन । गगन थापाझैँ ‘सधैँ जवान रहिरहन’ कोही जन्मिएका पनि छैनन् । बूढो हुनका लागि कसैमा कुनै योग्यता या दक्षताको दरकार पर्दैन । अकाल नमर्नेहरू सबैलाई बूढो हुने अवसर प्राप्त हुन्छ, त्यसैले मालपोत कार्यालय परिसरमा ग्राहक पर्खेर बस्ने लेखनदासदेखि स्वयम्भूको सिँढीमा भीख माग्न बस्नेसम्म सबैले बूढो हुन पाएका छन् । तर, बूढो भइसकेपछि वास्तविकता आत्मस्वीकार गर्दै अवस्थाअनुसारको भूमिकामा आफूलाई सीमित गर्न नसक्ने व्यक्ति परिवारको बोझ बन्न सक्छन् र राष्ट्रिय जिम्मेवारीमा भए राष्ट्रकै बोझ बन्छन् । अशक्त भइन्जेल सत्ता नछोडेका कारण एकताक चीनमा माओ त्से तुङ र तेङ सियाओ पिङजस्ता महान् नेताहरू पनि देशको बोझझैँ प्रतीत हुन थालेका थिए । फिडेल क्यास्त्रोलाई एक समय क्युवालीले बोझ ठान्ने गर्थे । उमेरले सत्तरी नाघेका आफ्ना भाइ राउल क्यास्त्रोलाई सत्ता हस्तान्तरण गर्नुअघिसम्म फिडेलको पदमोह देखेर क्युवाली मात्र होइन संसार नै चकित परेको थियो । अहिले रोवर्ट मुगावे जिम्बाबेका बोझ हुन् । विश्वका अल्पविकसित एवम् विकासोन्मुख देशहरूमा जहाँ प्रजातान्त्रिक प्रणाली छ त्यहाँ अशक्त वृद्धहरूले पार्टीपद ओगटेर हैरान तुल्याएको देख्न पाइन्छ । नेपाल पनि यतिबेला यस्तै हैरानी व्यहोर्दै छ ।
परिपक्व मानिसलाई अनुभवहरूको पिरामिड मानिन्छ र कतिपय सन्दर्भमा महान् विद्वान्हरूले प्राप्त गरेकोभन्दा अनुभवीहरूको ज्ञान समाजोपयोगी हुनसक्छ । तर, अनुभव सङ्ग्रह गर्न पनि व्यक्तिमा योग्यता, क्षमता र कार्यकौशल हुनुपर्छ । व्यक्तिको पृष्ठभूमिले उसको अनुभवी ज्ञान र कार्यक्षमता निर्धारण गर्दछ । हालका प्रधानमन्त्री सुशील कोइराला बूढो त हुनुभएकै छ, अशक्त पनि । वृद्ध या अशक्त हुनु उहाँको चाहना अवश्य होइन, तर राष्ट्र–चिन्तन गर्दागर्दै उहाँ वृद्ध हुनुभएको मान्न नसकिने अनगिन्ती कारण छन् र कार्यव्यवहारले पनि उहाँको योग्यता र उपादेयता स्पष्ट गरिसकेको छ । ‘सिनेम्याटोलोजी’ पढ्न इच्छुक सुशीललाई तात्कालिक मन्त्री डा. तुल्सी गिरीको ‘पीए’ बन्दाको रोमाञ्चक अनुभव उहाँसँग नभएको होइन, तर ‘पीए’ बनेको अनुभव प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्न पर्याप्त मानिँदैन । त्यसमाथि तात्कालिक प्रधानमन्त्री बीपी कोइरालाले जुन उद्देश्यले सुशीललाई गिरीको ‘पीए’ मा खटाउनुभएको थियो, त्यही न्यूनतम उद्देश्य पनि सुशीलबाट पूरा भएको थिएन भन्ने जानकारी धेरैलाई नहुन सक्छ । वि.सं. २०१७ सालमा तात्कालिक राजा र तुल्सी गिरीको प्रपञ्चबाट जननिर्वाचित सरकार अपदस्थ गरी राजाको शासन सुरु गरियो । बीपी कोइरालालाई अपदस्थ गरिँदै छ भन्ने सुइँको पाएर पनि सुशीलले बीपीलाई त्यसको सङ्केतसम्म दिनुभएन । तुल्सी गिरीले केही दिनमै राजनीतिक उथलपुथल हुने भएकाले तिमी तत्काल बनारसतिर लाग्नु उपयुक्त हुन्छ भनी दिएको सुझाव र बाटोखर्च लिएर बनारसतिर लाग्दा बीपी कोइरालालाई कुनै सूचना दिन सुशीलले आवश्यक ठान्नुभएन । त्यतिखेर बीपीले आफूमाथि सुशीलबाट ठूलो धोखा पाएको महसुस गर्नुभएको थियो । त्यसो त सुशीलले बीपीलाई मात्र होइन, धेरैलाई र रामचन्द्र पौडेलदेखि कमला थापासम्मलाई पनि धोखा दिएका अनेकौँ दृष्टान्त छन् । प्रकाशमान सिंह र दीपकुमार उपाध्यायसम्मलाई साक्षी राखेर थापाथलीस्थित दिव्यकुमार श्रेष्ठका घरमा एक सम्झौता भएको थियो । गिरिजाप्रसाद कोइराला जीवित रहँदै २०६६ को आरम्भमा भएको सम्झौताअनुसार सुशीललाई सभापति बन्न रामचन्द्र पौडेलले सहयोग पु-याउने र प्रधानमन्त्री बन्न रामचन्द्रलाई सुशीलले सघाउनुपर्ने थियो । रामचन्द्रले समझदारीअनुरूप सुशीललाई पार्टी सभापति बन्न सघाउनुभयो, तर सुशीलले प्रधानमन्त्रीको जिम्मेवारी पनि रामचन्द्रलाई नदिएर आफैँ लिनुभयो । प्रधानमन्त्री बनेपछि पौडेललाई कार्यवाहक सभापति बनाउने समझदारीलाई पनि सुशीलले पालना गर्नुभएन । त्यस्तो सहमति गराउने नरहरि र महेश आचार्यहरू आफैँले गराएको सहमतिको जिम्मेवारी लिन तयार छैनन् । काङ्गे्रस नेतृ कमला थापा पनि सुशील कुन दर्जाका धोखेबाज हुन् भन्ने विषयमा राम्रो जानकारी राख्दछिन् । यी केही दृष्टान्त मात्र हुन्, बीपीलाई नै धोखा दिन सक्नेले रामचन्द्र, कमला या अरू कसैलाई धोखा दिनुलाई सामान्य मान्नुपर्ने हुन्छ ।
आठ वर्षको काराबासबाट मुक्त भएपछि बीपीले आप्रवासमा जाने निर्णय नगर्नुभएको र त्यस्तो गन्तव्य बनारस नै नबनेको भए सुशीलसँग बीपीको पुनः भेट हुन मुस्किल थियो । बनारस गएपछि त्यहाँको बसोबासलाई सहज बनाउने सन्दर्भमा सुशीलको समेत सहयोग लिन बीपी बाध्य हुनुभएको थियो । आठ वर्षदेखि बनारस बसिरहेका सुशीलसँग सहयोग लिनुपर्ने बाध्यताले काङ्गे्रसको कोइराला परिवारसँग फेरि जोडिने मौका उहाँलाई मिलेको हो । तर, प्रवासमा रहिन्जेल बीपीले सुशीललाई कुनै राजनीतिक जिम्मेवारी दिनुभएन । आगन्तुकहरूलाई चियापान गराउने र भान्साका लागि आवश्यक सामान खरिद गर्ने कार्यमै सुशीललाई सीमित गरिएको थियो । सुशीलको यस्तो कार्यअनुभव पार्टी सभापति र प्रधानमन्त्रीको जिम्मेवारी पूरा गर्न अपर्याप्त रह्यो, कार्य–व्यवहारले प्रमाणित गरिसकेको छ । घरायसी काममा सीमित गरिएका सुशील कोइराला ‘हिप्पीजम्म्’को चपेटामा परेपछि सुशीलको दिनचर्या धेरै नराम्रोसँग बेग्लिएको थियो । सुशीललाई ‘हिप्पी’बाट साधारण मानिस बनाउन बीपीले विशेष अग्रसरता नलिनुभएको भए सुशील कोइराला नामको यो बोझ सम्भवतः देशले व्यहोरिराख्नुपर्ने थिएन । सुशीलको राजनीतिक आबद्धता एउटा प्राविधिक संयोग मात्र हो । बुढ्यौलीसँगै सुशीलका विकल्पहरू सीमित हुँदै गए, त्यसैले बीपीको देहावसानपश्चात् गिरिजाप्रसाद कोइरालाको ‘द्वार प्रतीक्षा’ गर्नुमै सुशीलले आफ्नो भविष्य देख्न थाल्नुभयो र ०४७/४८ देखि यताका सबै समय उहाँले गिरिजाप्रसादको द्वारमै बिताउनुभएको हो । तथापि गिरिजा सुशीललाई विश्वास गर्नुहुन्नथ्यो, यस तथ्यको पुष्टि गर्ने अनेकौँ घटनाक्रम छन् । एकपटक काङ्गे्रसका युवानेतासमेत रहेका स्वकीय सचिव लक्ष्मण ढकालमार्फत सुशील कोइरालाले भिन्न मत राखेर असन्तुष्ट बन्नुभएकी नेतृ शैलजा आचार्यसँग भेटवार्ता गरेको सूचना पाएपछि गिरिजाप्रसादले लक्ष्मण ढकाललाई बोलाएर गाली गरेको सन्दर्भ पनि निकै स्मरणीय छ । गिरिजाले ‘सुशील धोखेबाज भएकोले उसलाई यताउता गर्ने–गराउने काम नगर्न र आफैँ पनि सचेत रहन’ लक्ष्मणलाई चेतावनी दिनुभएको थियो । यसप्रकारको अविश्वास कायम हुँदाहुँदै पनि गिरिजाप्रसादले सुशीललाई ढोका कुर्नबाट वञ्चित गर्न भने आवश्यक ठान्नुभएन । बरु आफ्ना गलत निर्णय वा क्रियाकलापहरू जसको पार्टीका नेता–कार्यकर्ताबाट आलोचना हुने गर्दथ्यो, त्यस्ता काम–कारबाही सुशीलको इच्छाबाट भएको देखाउने गरियो । ०४८ मा प्रधानमन्त्री भइसकेपछि गिरिजाप्रसादले सुशीललाई एकप्रकारले आफ्नो ‘डम्पिङ साइट’को रूपमा प्रयोग गर्नुभएको हो । गिरिजा आफ्नो उत्तराधिकारी ‘सु’पुत्री सुजाता कोइरालालाई बनाउन चाहनुहुन्थ्यो, ‘सु’पुत्रीलाई पन्छाएर कुनै बेला आफैँ पार्टी सभापति र प्रधानमन्त्री बन्ने सम्भावना सुशीलमा देखेका भए गिरिजाप्रसादले ०४८ सालतिर नै सुशीललाई बनारस या ठमेलतिर धपाउने प्रबल सम्भावना थियो । खु्रस्चेवबाट स्तालिन जसरी झुक्किएका थिए, करिब त्यसैगरी गिरिजा सुशीलबाट झुक्किएको मान्न सकिन्छ ।
गिरिजाप्रसाद ‘पावर’मा हुँदा उहाँको लडाइँ सर्वोच्च नेता गणेशमान सिंह र सन्तनेता कृष्णप्रसाद भट्टराईसँग चलिरहेको थियो । महान् नेताहरूसँग लड्ने कुटिल सूत्रहरूको तानाबाना बुन्न गिरिजाप्रसादलाई कसैले सिकाउनुपर्दैनथ्यो, तर त्यस्ता विवादास्पद सन्दर्भमा सिखण्डी सुशीललाई बनाइन्थ्यो । सधैँ प्रधानमन्त्रीनिवासको ढोकावरिपरि देखापर्ने र प्रधानमन्त्रीले लिने निर्णयहरूमा सुशीलको प्रभाव पर्ने भनी हुने गरेको प्रचारका कारण कैयन मानिसले सुशीललाई गिरिजापछिको नेताका रूपमा बुझ्न थालेका थिए । खासगरी कसै न कसैलाई ‘मालिक’ मान्ने मनोवृत्तिका कार्यकर्ताहरूका निम्ति सुशील एउटा मालिक नै बन्न पुगेको हेक्का गिरिजाप्रसादले राख्नुभएको थिएन । यसरी शक्तिकेन्द्रको ढोकामा स्थिर भएर रहन सक्दा पनि राजनीतिमा ‘लाभ’ प्राप्त गर्न सकिन्छ भन्ने कुराको दृष्टान्त सुशील कोइराला बन्नुभएको छ । तर, ढोका कुरेको अनुभव प्रधानमन्त्री या पार्टी सभापतिको जिम्मेवारी पूरा गर्न पर्याप्त हुँदोरहेनछ भन्ने पुष्टि पनि सुशीलले नै गर्नुभएको छ ।
पृष्ठभूमि, कारण र योग्यता–क्षमता जे–जस्तो भए पनि सुशील कोइराला यतिबेला देशको सर्वाधिक शक्तिशाली पार्टी नेपाली काङ्गे्रसका सभापति र सरकार प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । सभापतिका रूपमा काङ्गे्रसलाई गति र ऊर्जा दिने मामिलामा सुशीललाई जिरो अङ्कको हकदार मँन्नुपर्ने अवस्था छ । तीनवर्षे कार्यकालका लागि चुनिएका सुशीलले केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनेजस्तो न्यूनतम एवम् आधारभूत काम गर्न तीन वर्ष पूरै लगाइदिनुभयो । प्रत्येक ६ महिनामा बस्नुपर्ने महासमितिको बैठक सुशीलले चार वर्षमा एकपटक मात्र, त्यो पनि झारा टार्ने किसिमले गराउनुभएको छ । प्रभावकारी मानिने नेपाल विद्यार्थी सङ्घ र तरुण दललगायतका भ्रातृ संस्थाहरूको अधिवेशन हुन नदिएर सुशीलले पार्टीको नयाँ नेतृत्व विकासमा अवरोध पु-याउनुभएको छ । कार्यकर्तालाई गति र ऊर्जा दिने एउटै काम सुशीलको कार्यकालमा भएको छैन र हुने आशा गरिएको पनि छैन । प्रजातन्त्र र राष्ट्रप्रति प्रतिबद्ध कार्यकर्ता एवम् शुभेच्छुहरूको प्रतापमा मात्र काङ्गे्रस पार्टी टिकिरहेको छ । तर, सधैँ यसरी कुनै पनि राजनीतिक शक्तिले निरन्तरता पाइरहन सक्दैन । सुशील कोइराला नै काङ्गे्रसको नेतृत्वमा अझै लामो समय रहिरहने हो भने बीपीको क्षमता, त्याग, प्रतिबद्धता, परिश्रम र समर्पणबाट आर्जित काङ्गे्रस पार्टीले प्रजापरिषद्को नियति भोग्न लामो समय प्रतीक्षा गर्नुपर्ने नहुन सक्छ ।
सरकार प्रमुखको रूपमा पनि सुशील कोइरालाले देखिने कुनै काम गर्नुभएको छ भने त्यो आफ्नै रोगको उपचार हो । देशको करोडौँ रुपैयाँ खर्चेर सुशीलले अमेरिकामा उपचार गराई आफ्नो आयु लम्ब्याउने ‘महत्वपूर्ण’ काम गर्नुभयो, आमदेशवासीले उहाँको कार्यकालको ‘स्मरणीय उपलब्धि’ का रूपमा यस प्रकरणलाई लिएका छन् । यसबाहेक वर्षांैदेखि रिक्त रहेका संवैधानिक निकायमा पदपूर्ति गर्नु र अमेरिका तथा भारतजस्ता मुलुकमा राजदूतहरूको नियुक्त गरेर देखाउन सक्नुलाई पनि सुशीलकालको ‘महान् उपलब्धि’का रूपमा लिइदिनुपर्ने अवस्था छ । प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि एक वर्षभित्र संविधान जारी गरेर पद त्याग गर्ने घोषणा उहाँले गर्नुभएको थियो । उमेर, अवस्था र रोगले जीर्ण बन्नुभएका सुशीलको प्रतिबद्धतालाई देशवासीहरूले गम्भीरतापूर्वक लिएका थिए । वर्ष दिनभित्र संविधान जारी गर्न नसकिए पनि पदत्याग गर्ने घोषणा गरेर उहाँले आफू पदलोलुप नभएको सन्देश दिन खोज्दा जनताले त्यसलाई झन् सकारात्मक मानेका थिए । तर, आफ्नै बोली, वचन र प्रतिबद्धताप्रति पनि इमानदार नरहेको प्रमाणित गर्दै सुशील कोइराला अझै सत्तामा रहिरहन लालयित हुनुहुन्छ ।
सेताम्मे दाह्री र खुम्चिएको रसविहीन अनुहार सुशीलप्रति सहानुभूतिको कारण बनेको हो । ०६३ को राजनीतिक परिवर्तनयता विभिन्न पार्टीका नेताहरूलाई रहर पु-याउन एकपटक प्रधानमन्त्री बनाइदिने क्रमारम्भ भयो र यस अवधिमा अनेकौँ आकार–प्रकारका मानिस प्रधानमन्त्री बने–बनाइए । यही शृङ्खलाको एउटा अंश सुशील कोइरालाको प्रधानमन्त्रीत्व काल हो । दूरदर्शिता र निर्णयक्षमता छ, राम्रो काम गर्छन्, देशलाई स्थिरता र समृद्धिको दिशातिर लैजान सक्छन् भनेर सुशीललाई प्रधानमन्त्री बनाइएको थिएन । देशको करिब साढे ६ दशक बर्बाद भइसकेको पृष्ठभूमिमा अर्को एकाध वर्ष बर्बाद भए पनि होस् भनेरै उहाँलाई प्रधानमन्त्री बनाइएको हो । देशको स्थिति सामान्य रहेको भए सुशीललाई थप केही समय दिन कञ्जुस्याइँ नगर्दा पनि हुन्थ्यो, तर मुलुक यतिबेला शताब्दीकै महाविपत्तिको सामना गर्दै छ । निकम्मा कर्मचारीतन्त्रलाई राष्ट्रका पक्षमा उपयोग–प्रयोग गर्नुपर्ने, देशको समृद्धिमा घातक अवरोध पैदा गर्दै आएका टेड युनियनहरूलाई नियन्त्रण गर्ने, माफियागिरी, दादागिरी र अराजकतालाई उन्मूलन गर्दै देशमा लगानीमैत्री वातावरण बनाउने, भूकम्पप्रभावित जनताको भविष्य सुनिश्चित गर्ने र देश पुनर्निर्माणको अभिभारा पूरा गर्नुपर्ने यो समयमा दूरदृष्टि, गतिशील, निर्णयक्षमता भएको इमानदार एवम् कुशल नेतृत्व अनिवार्य ठानिएको छ । रुझेको बिरालो च्यापेर काशी जाने भन्दै कुतितिरको बाटो पछ्याउने स्तरको पात्रबाट देशमा विद्यमान चुनौतीको सामना सम्भव हुन सक्दैन । वृद्धाश्रम या अस्पतालमा राख्नुपर्ने तहमा पुगेका सुशील कोइरालाको कुरुवा बस्न अब देशले सक्दैन र हुँदैन पनि । राष्ट्रिय सरकारको समेत नेतृत्व आफैँले पाउनुपर्ने दाबी गरेर सुशील कोइरालाले मानिस वृद्ध भएपद्धि अनेकौँ निहुँ खोज्न थाल्छ भन्ने भनाइको पुष्टि गर्दै हुनुहुन्छ । नयाँ नेतृत्वलाई मार्ग प्रशस्त गरेर देशको उपचार गर्न सहयोग पु-याए सुशीलको स्वास्थ्योपचार गराउन जनता आफैँ तयार हुनेछन्, समयको मागलाई बुझेर व्यवहार गर्न सक्नुहुन्न र पशुपतिनाथको काखमा नपुगुन्जेलसम्म सत्तामै बसिरहने सोच उहाँले बनाउनुभएको हो भने सम्भवतः सबैभन्दा अपमानजनक किसिमबाट हटाइएका प्रधानमन्त्रीको ऐतिहासिक रेकर्ड सुशीलको नाममा कायम रहने अवश्य छ, हामी त्यसबेला भन्न सक्छौं– राम ! राम ! राम !

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोखरेलको श्रीमती तुलसीपुर उपमहानगरपालिका–५ निवासी

काठमाडौं । विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो ।

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली

काठमाडौं । सरकारले फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ