गर्भमै मारिन्छन् भारतका छोरीहरू

३ असार २०६९, आईतवार १२:३५ मा प्रकाशित

एकराज पाठक / रासस, काठमाडौ, अषाढ ३ – आफ्नै बुबाले पिटेर टाउकोमा कैयौँ घाउचोट लागेको अवस्थामा बैङ्गलोरको एक सरकारी अस्पतालमा ल्याइएको तीन महिनापछि शिशु नेहा अफ्रिनको गत अप्रिल १० मा ज्यान गयो । छोरा पाउने उत्कट चाहना राखेका बुबाले ती शिशुलाई छोरी भएकै कारण मार्ने नियतले पिटेका थिए ।

अस्पतालका कार्यकारी एवम् चिकित्सक गङ्गाधर बेलावादीले भन्नुभयो– हामीले ती शिशुलाई बचाउन निकै प्रयास गर्‍यौँ तर पनि टाउकोमा धेरैवटा गहिरो चोट रहेकाले हामी सफल हुन सकेनौँ । जिउनका लागि छ दिनसम्म सङ्घर्ष गरेकी नेहा पनि अन्ततः असफल भइन् ।

नेहाकी आमा रेश्मा बनुले सो अस्पतालमा पुगेका एएफपीका समाचारदातासँग भनिन्– मेरो श्रीमान्‌ले छोरी जन्माएका कारण मलाई पनि यातना दिइरहेका थिए र घरमा म नभएको बेलामा थाहा नपाउने गरी यसरी छोरीको टाउकोमै हिर्काएछन् । जन्मिनासाथै छोरीलाई थिचेर मार्न उनले मलाई धेरैपटक भने तर मैले नमानेकाले उनले मारी नै दिएका छन् ।

चिकित्सक बेलावादी भन्छन्– भारतका छोरीहरूको नियति नै हो यो । यसरी अनिच्छित सन्तानका रूपमा जन्मिनै नपाउने र जन्मिए पनि मारिनुपर्ने नियतिको पछिल्लो प्रतिनिधि पात्र नेहा बन्नपुगिन् । छोराको अत्यधिक चाहना भारतका अधिकांश क्षेत्रको संस्कार नै बनिसकेको छ ।

त्यस्तै नयाँ दिल्लीदेखि पश्चिमको सहर जोडपुरमा पनि गएको मार्च महिनामा एक अस्पतालमा छोरी जन्मिएको थाहा पाउनासाथ एक दम्पतीले छोरीलाई अस्पतालमै छोडेर भागेका थिए । प्रहरीले सो दम्पतीलाई समाते पनि उनीहरूले आफ्नो सन्तान नभएको दाबी गरे । एघारौँ दिनपछि डीएनए परीक्षणबाट मात्र उनीहरूले आफ्नो सन्तान स्याहार्न कर लाग्यो ।

हिन्दू धर्म संस्कारमा छोराले आफ्ना आमाबुबालाई गर्ने कर्मको फल राम्रो मिल्ने आस्थाका कारण भारतमा छोराको चाहना बढी हुने गरेको पाइन्छ । त्यसका अतिरिक्त छोरीलाई बिहे गरेर दिनुपर्ने र छोराले भने बुढेशकालमा पाल्ने सोच पनि उनीहरूमा छ । साथै धेरै छोरी हुँदा विवाहमा दाइजो धेरै दिनुपर्ने समस्या भारतमा निकै नराम्रोसँग रहिआएकाले पनि यसरी छोरी जन्मिएपछि मार्नुपर्ने अवस्था रहेको पाइन्छ ।

भारतीय आमाबाबुका लागि विगतका केही वर्षयता भने छोरीको हत्या गर्न धेरै सजिलो भएको छ । चिकित्सा–विज्ञानमा विकसित पछिल्ला प्रविधिले उनीहरूलाई लिङ्गको पहिचान गरी गर्भपतन गराउन सजिलो बनाइदिएको छ । यसरी अहिले भने मात्र पाँचसय रूपैयाँमा छोरीको भ्रुण हत्याको सजिलो सुविधा भारतीयहरूमा उपलब्ध छ ।

भारतीय दम्पतीमा छोराको चाहनामा वृद्धि हुनु र यो सजिलो उपाय जस्तोसुकै अस्पतालमा पनि उपलब्ध हुनुले भ्रुण हत्याको क्रम दिनदिनै बढ्दै गएको उत्तर प्रदेशकी एकजना वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.निलम सिंह बताउनुहुन्छ । उहाँको अनुभव छ– प्रत्येक दिन दर्जनभन्दा बढीको सङ्ख्यामा भ्रुणको लिङ्ग पहिचान गराइ गर्भपतन गराइदिन भन्दै म कार्यरत अस्पतालमा आउने गर्छन् ।

हुनत यस्तो कार्य भारतमा अवैध मानिन्छ । नारीलाई हुने गरेका केही अप्ठेरा बाहेक भारतमा गर्भपतन अवैध मानिन्छ । तर पनि कडा कानुनी कारबाही तथा निगरानीको अभावमा यस्तो अवैध काम फस्टाइरहेको छ । एक अध्ययनबाट भारतमा हरेक वर्ष कम्तीमा छ लाख शिशुको यसरी हत्या हुने अनुमान गरिएको छ  ।

तर यो काम लुकिछिपी हुने हुँदा यो भन्दा अरू कैयौँ गुणा बढी हत्या भएको हुनसक्ने अनुमान अरू अध्ययनहरूमा गरिएको छ । यसका कारण भारतमा अहिले नै ठूलो लैङ्गिक असन्तुलन देखिएको छ । भारतको सन् २०११ को राष्ट्रिय जनगणनामा प्रति एक हजार केटामा ९१४ मात्र केटी रहेको देखिएको छ । यो लैङ्गिक असमानताको अवस्था भारतका ग्रामीण क्षेत्रहरूमा भन्दा बढी सहरी क्षेत्रमा पाइन्छ । सहरी क्षेत्रमा प्रति एक हजार केटामा ९०२ मात्र केटी छन् ।

यो अवस्थालाई भारतीय अधिकारीहरूले स्वतन्त्रतापछिकै विस्फोटक रूपको लैङ्गिक असमानता भनेका छन् । सन् २००१ कै राष्ट्रिय जनगणनामा पनि प्रति एक हजार केटामा ९३३ केटी रहेका थिए । भारतीय अधिकारीहरू आगामी दशकमा यसले झनै विस्फोटक रूप लिनसक्ने बताउँछन् ।

भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंहले त संसदमा बोल्दै यो अवस्थालाई सभ्य भारतको कलङ्कित कार्यको संज्ञा दिए ।

भारतको जनसङ्ख्या हाल एक अर्ब २२ करोड पुगेको छ । यसमा पुरुषको सङ्ख्या ६५ करोड ८८ लाख र महिलाको ५९ करोड रहेको छ । भारतमा २५ वर्षमुनिको जनसङ्ख्या ५० प्रतिशत रहेको छ । त्यसैगरी भारतमा ३५ वर्षभन्दा मुनिको जनसङ्ख्या ६५ प्रतिशत रहेको छ । भारतको पछिल्लो जनगणनाअनुसार प्रति मिनेट ५१ शिशुले जन्म लिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा