बाढीपहिरो जोखिमयुक्त जिल्लामा जेठ १५ अगावै कार्यक्रम र बजेट

४ जेष्ठ २०७२, सोमबार २३:०९ मा प्रकाशित

काठमाडौँ, ४ जेठ । सरकारले जेठ १५ अगावै बाढी पहिरोको जोखिम रोकथामका लागि कार्यक्रमसहित बजेट निकासा गर्ने भएको छ । भूकम्पबाट क्षतविक्षत जमिन जोगाउन र पीडितको पुनर्वासको व्यवस्था गर्न कार्यक्रमसहित बजेट निकासा गर्न लागेको हो । भैँचालोले धाँजा फाटेको जमिन र मलिलो माटो संरक्षणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन आफूहरू जुटेको वन तथा भू–संरक्षण मन्त्रालयका सचिव शङ्कर प्रसाद अधिकारीले बताउनुभयो ।

सरकारले जमिन जोगाउने र पुनर्वासको प्रबन्ध गर्न भू-तथा जलाधार संरक्षण विभाग,जल उत्पन्न प्रकोप नियन्त्रण विभागलाई निर्देशन दिएको तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रलाई पनि सोही अनुरुपको योजना तर्जुमा गर्न अनुरोध गरेको उहाँले बताउनुभयो ।

भूकम्पीय दृष्टिले भारतीय र तिब्बती प्लेटबीच रहेको नेपालको भूखण्ड संवेदनशील रहेकाले भूस्खलनको समस्याबाट जोगिन वर्षा अगावै कार्यक्रम ल्याउन लागेको भू–तथा जलाधार विभागका महानिर्देशक प्रेमनारायण कँडेलले जानकारी दिनुभयो ।

“नेपालमा भूउपयोगको वैज्ञानिक नीति छैन । भूकम्पजस्ता प्राकृतिक विपद्का बेला पहिरो खस्ने सम्भावना बढ्ने गरेको छ,” जीविकोपार्जनको महत्वपूर्ण आधार जमिन भएकाले उपयुक्त भूउपयोग नीतिको आवश्यकतामा जोड दिँदै उहाँले भन्नुभयो ।
वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनबाट जमिन क्षतविक्षत भएकाले बाढी पहिरोको जोखिम बढेको छ । भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकदेखि दोलखाको १८० किलोमिटर क्षेत्र भएकाले दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ र गोरखामा बाढीपहिरोको जोखिम अधिक रहेको उहाँले बताउनुभयो ।

भूकम्पबाट थिलथिलो भएका ११ जिल्ला बाढीपहिरोको उच्च जोखिममा रहेका भन्दै ती जिल्लामा बसोबास गरिरहेकाहरूलाई सचेत रहन महानिर्देशक कँडेलले अनुरोध गर्नुभयो । ती जिल्लामा अहिले सुक्खा पहिरो जाने क्रम नरोकिएको र भुईंचालोले धाँजा फाटेको स्थानमा वर्षामा पानी पसेर पहिरो जाने खतरा बढेकाले भविष्यमा आइपर्ने विपत्तिबाट जोगिन समय छँदै सतर्क रहन उहाँले भूकम्पपीडितलाई आग्रह पनि गर्नुभयो ।

जमिन फाटेको क्षेत्रको संवेदनशीलता जाँच गरी सुरक्षित स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने सुझवसहितको प्रस्ताव भूसंरक्षण विभागले मन्त्रिपरिषद्मा प्रस्तुत गरेको छ ।

“जमिन तलैदेखि फाटेको छ, पानी पर्ने वित्तिकै पहिरो जान्छ, यस्तो समस्या सिन्धुपाल्चोक, दोलखा, गोरखा र काठमाडौँमा देखिएको छ”–महानिर्देशक कँडेलले भन्नुभयो– “यस्ता समस्या देखिएका जिल्लामा ग्याविन, तारजाली र अन्य आवश्यक सामग्रीको व्यवस्थाका चाँडो बजेट निकासाको प्रस्ताव गरेका छौँ । ”

बाढी पहिरोको जोखिम देखिएको गोरखाको बारपाक र लाप्राक, सिन्धुपाल्चोकको तातोपानी, लिस्तीकोट, फुल्पिङकट्टी, भोताङ, गुम्बा, गोल्चे र गुन्सा, दोलखाको सिँगटीमा प्रकोप देखिन थालेको जानकारी विभागलाई प्राप्त भएको छ ।

भूसंरक्षणका कार्यक्रम ठेक्कापट्टामा नभई उपभोक्ता समितिमार्फत सञ्चालन गरिने भएकाले विपत्का बेला पारिश्रमिकसमेत जनतालाई दिन सकिने अवधारणा विभागले अघि सारेको छ । रासस

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन्।

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ । आगामी शुक्रवार दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरस्थित ल्होत्से

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई